सुनको मूल्य फेरि बढ्यो
काठमाडौँ । सुनचाँदीको मूल्य फेरि बढेको छ । सुन प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रुपियाँ र चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपियाँ निर्धारण गरिएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ४० रुपियाँमा किनबेच भएको थियो ।
सुदूरपश्चिममा कोभिड-१९ का कारण ६ जनाको मृत्यु
धनगढी । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । कोभिड—१९ को सङ्क्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा १ सय १६, वीर अस्पतालमा गरिएको परीक्षणमा छ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६२ जना र सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३० गरी जम्मा २ सय १४ मा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । नयाँ थपिएका प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या २ हजार ७६ पुगेको छ । जसमा ४ सय २४ महिला र बाँकी पुरुष रहेका छन् । शनिबार मात्रै कैलालीमा २६ कञ्चनपुरमा तीन, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेलधुराम सात, डोटीमा ६१ बझाङमा आठ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो । जिल्लागत रुपमा हालसम्म कैलालीमा ५ सय ७७ जना, अछाममा १ सय ३३, बैतडीमा २ सय ३१, बझाङमा ७२, बाजुरामा १ सय ९१, डडेलधुरामा २ सय २६, दार्चुलामा १६, डोटीमा ३ सय २३, र कञ्चनपुरमा ३ सय ७ जना कोभिड–१९ का सङ्क्रमित पुगेका छन् । जाँचकोे अवस्थाः प्रदेशमा आरडिटी र पीसीआर पद्धतिबाट गरेर जम्मा १ लाख २५ हजार २ सय ९३ को नमूना जाँच गरिसकिएको छ । आरडीटी जाँचको तुलनामा प्रभावकारी मानिएको पीसीआर जाँच १६ हजार ९ सय ३५ जनामा गरिएकोमा २ हजार ७६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको हो । चार हजार १ सय ७४ जनाको नतिजा आउन बाँकी छ । यस्तै आरडीटी पद्धतिबाट १ लाख ८ हजार ३५८ को स्वास्थ्य जाँच गरिएको छ । प्रदेशको एक मात्र प्रयोगशाला सेती प्रादेशिक अस्पताल धनगढीमा आवश्यक स्वास्थ्य सामग्रीका साथै जनशक्तिको अप्रयाप्तता र मेसिनको क्षमता कमजोर भएका कारण शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबको नमूना समयमै जाँच गर्न नसकी थन्किने गरेका छन् । सङ्कलन भएको स्वाबको नमूना जाँचका लागि अन्य प्रयोगशालामा पनि पठाउने गरिएको छ । सङ्क्रमितहरुको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेशन उपचार भइरहेको छ । अस्पतालको आइसोलेशनमा रहेकाहरु १ सय ३५ जना रहेकोमा अधिकांश सङ्क्रमित स्थानीय तहको आइसोलेशनमा छन् । यस बाहेक कोरोनाका शङ्कास्पद थप १६ जनालाई अस्पतालको आइसोलेशनमा राखिएको छ । प्रदेशमा हाल सम्म ५ सय ९४ सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ । स्वाब नमूना जाँचको दायरा बढाउन प्रदेशको डोटी र बैतडीमा एकरएक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम पीसीआर मेसिन खरिद प्रक्रिया सकिएर सम्झौता हुने चरणमा पुगेको जनाइएको छ । स्वाथ्य महाशाखा प्रमुख कार्कीले पछिल्लो पटक क्वारेन्टिनमा बसेकाको आरडीटी किटमार्फत मेलेरिया रोगको जाँच गर्ने काम पनि भइरहेको छ । पछिल्ला महिनामा प्रदेशमा मलेरिया, कालाजार र डेंगू जस्ता सङ्क्रमक रोग देखिन थालेको जनाइएको छ । रासस
दैनिक भारी वर्षा, विपतबाट जोगिन छैन तयारी
जाजरकाेट । देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मे–हम्मे परेको समयमा वर्षायाम शुरु भएको छ । कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन । जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ । विपत् व्यवस्थापनको मुख्य भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालय समन्वयको अभावमा अलमलमा परेको छ । विपत् व्यवस्थापका लागि सामान्य छलफल भए पनि परिणाम आउने गरी काम नभएको यस क्षेत्रका सर्वसाधारण बताउँछन् । शुरुमा लकडाउनका कारण काम गर्न पाइएन, अहिले केही खुकुलो हुँदै गर्दा समय घर्कीसकेको भन्दै काम गर्न मुस्किल भएको स्थानीय तहका अधिकारीको भनाइ छ । वर्षाको भेलसँगै उर्लदैं आएका नदी, खोला नियन्त्रणका गर्नका लागि तार, जाली खरिद गरेर जोखिमपूर्ण ठाउँमा लगाउनुपर्ने भए पनि अहिले समयको अभावका कारण सबै कामले गती लिन सकेको छैन । सम्बन्धित कार्यालयसँग तारजाली माग्दा आर्थिक वर्ष सकिन केही हप्ता मात्र बाँकी रहँदा काम कसरी हुन्छ भनेर सामग्री उपलब्ध नगराउँदा हैरान भएको बारेकोट गाउँपालिका–४ मैनाका देव बोहोराले जानकारी दिए । उनले भने, “बारेकोट सामग्री लिन कठिन भएको छ । पहिले लक डाउन थियो, अहिले अलि खुकुलो हुँदा समय मात्र होइन, बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।” भेरी नदीको किनारका बस्तीहरु सबैभन्दा बढी समस्यामा परेका छन् । सरोकारवाला निकायबाट नदी नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध नहुँदा भेरी किनाराका सर्वसाधारण त्रासमा बाँच्न बाध्य भएका हुन् । त्यस्तै छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने सडकहरुको बीचमा रहेका खोलामा पानीको मात्रा बढ्दा यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ । बिहीबार जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावल योजना अनुगमन गरी फर्कदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको बाँके खोलामा पानीको मात्रा बढ्दा झण्डै ४ घण्टा रोकिनुपरेको थियो । लामो समयसम्म खोलामा पानीको मात्रा कम नभएपछि रावलले पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको गाडी सदरमुकामबाट बोलाएर आफ्नो गाडी बाँकेमै छोडेर सदरमुकाम फर्किएका छन् । त्यस्तै सदरमुकामबाट अन्य स्थानीय तहमा जानका लागि बीचबीचमा रहेका खोलाहरुमा पानी बढ्दा यात्रामा असहज भएको छ । नौं वर्षदेखि शिवालय गाउँपालिका–१ मोर्कमा सवारी साधन सञ्चालन गर्ने पुल निर्माण नहुँदा पानी पर्न वित्तिकै छेडा–जुनिचाँदे सडक बन्द हुने गर्दछ । छिन्चु–जाजरकोट सडकखण्डको पासागाड, खोदाखोलालगायत चार ठाउँमा पुल समयमै निर्माण नहुँदा पानी बढेसँगै यातायातका साधन ठप्प हुने गरेका छन् । खोलामा नियन्त्रणको काम भएन सातै वटा स्थानीय तहमा रहेका सानादेखि ठुला गाउँ, बस्तीकै छेउबाट बग्ने खोलाहरुमा रहेका बस्ती र खेतीयोग्य जमीन जोगाउने उपाय अवलम्बन गरिएको देखिएको छैन । नलगाड नदी, छेडाखोला, ताँसु गाड खोला, भेरी नदी, पासागाड खोला, सरु खोला र होलुखोलाहरुबाट पर्ने क्षतिका विषयमा अहिलेसम्म कुनै तयारी गरिएको छैन । यी त देखिने खालका खोलाहरु मात्र हुन् । अन्य दर्जनौँ साना खहरे खोला भए पनि त्यहाँ पनि नियन्त्रणका लागि पहल भएको छैन । अधिकांश कार्यालयले समय अपुग हुने भन्दै सोहीअनुसार काम गर्न लागेको बताएका छन् । विपत् प्रतिकार्य योजना यत्ता जिल्ला प्रशासन कार्यालय जाजरकोटले मनसुन विपत् प्रतिकार्य योजना बनाउनका लागि तीन महिनाअघि स्थानीय सरकारलाई पत्राचार गरिसकेको बताएको छ । स्थानीय भौतिक पूर्वाधार कार्यक्रम (सांसद विकास कोष) को खर्च हुन नसकेको रकम कोभिड कोषमा जम्मा गर्ने निर्देशन अनुसार जम्मा भएको र सोही रकमबाट मनसुन विपत्को काम गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । आफूहरुले जाजरकोटमा पर्ने समस्यालाई हल गर्न विपत् व्यवस्थापन कार्यका लागि उद्धार सामग्री भण्डार कक्ष निर्माण गरेर परेको बेला तत्काल जान सक्ने तयारी थालेको प्रजिअ पन्तले बताए । रासस