रोशीमा ‘डम्फु जीवन्त सङ्ग्रहालय’ १० करोड लागतमा निर्माण हुँदै
काठमाडाैं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कालढुङ्गामा डम्फु जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । तामाङ जातिको रीतिरिवाज र पहिचान झल्किने गरी निर्माण हुने सङ्ग्रहालयमा सांस्कृतिक बाजा डम्फुलाई पहिचानका रूपमा स्थापित गर्दै जीवन्त बनाइने बताइएको छ । रोशी सरकारको पहलमा वडा नं ११ कालढुङ्गामा बनाउनका लागि ६० रोपनी जग्गाको व्यवस्था गरी गुरुयोजनासमेत तयार गरिसकेको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । राष्ट्रिय योजना आयोगबाट बजेट स्वीकृत भएसँगै डम्फु जीवन्त सङ्ग्राहलय निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको उनले बताए । “त्यसका लागि डेढ करोड बजेट परेको छ”, उनले भने, “त्यससँगै गाउँपालिकाले पनि बजेटमा सम्बोधन गर्छ ।” सबै प्रक्रिया अगाडि बढिसकेकाले अब साउनभित्रमा बोलपत्र प्रक्रिया अगाडि बढ्ने उनले बताए । साठ्ठी रोपनी सार्वजनिक जग्गालाई व्यवस्थापन गरी निर्माण गरिने उक्त सङ्ग्रहालय नेपालकै नमूना सङ्ग्राहलय बन्ने अध्यक्ष लामाको भनाइ छ । सङ्ग्रहालय बनाउनका लागि गाउँपालिकाले जग्गा सम्याउने, माटो परीक्षण गर्ने र गुरुयोजना तयार गर्ने काम सम्पन्न गरिसकेकाले अब उक्त स्थानमा संरचना निर्माणको काम अघि बढ्नेछ । सङ्ग्रहालयसँगै डम्फु पार्क निर्माण हुने र वरिपरि बुद्धचित्त मालाको बिरुवा, टटलाको फूल रोपेर सङ्ग्रहालयका लागि आवश्यक पर्ने अन्य विविध संरचना निर्माण गर्ने पालिकाको योजना छ । तामाङ समुदायको बाहुल्य रहेको रोशी गाउँपालिकामा सो समुदायको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । डम्फु तामाङ जातिको विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत जन्मदेखि मृत्युसम्मको कार्यमा प्रयोग हुने सांस्कृतिक बाजा भएकाले सङ्ग्रहालयको नामकरण नै डुम्फु जीवन्त सङ्ग्रहालय राखिएको अध्यक्ष लामाले बताए । करिब १० करोड लागतमा आर्थिक वर्ष २०७७/७८ भित्र सम्पन्न गर्ने गरी भइरहेको सङ्ग्रहालय निर्माणले पर्यटन प्रवद्र्धनसमेत हुने गाउँपालिका अध्यक्ष लामाले बताए । रासस
मर्मतको माग गर्दै युवाद्वारा सडकमै धान रोपेर विरोध
राजविराज । भारदह–राजविराज सडक खण्डअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै युवाले मङ्गलबार सडकमै धान रोपेर विरोध जनाएका छन् । तोपा गाउँस्थित सडकखण्डमा उनीहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन् । सोही वडाका युवा कौशल यादवले जीर्ण सडकका कारण वर्षामा हिलो र सुक्खा याममा धूलोले सास्ती हुने गरेको बताए । “सडक मर्मत सम्भारमा स्थानीय र सङ्घीय सरकारले लामो समयदेखि कुनै चासो नदिएपछि बाध्य भएर आफूहरुले सडकमै धान रोपाइँ गर्नुपरेको हो”, उनले भने । डेढ वर्षदेखि लथालिङ्ग सडकको अवस्थाप्रति सरकारको ध्यान नपुग्दा यो सडकमा कैयौँ पटक दुर्घटनासमेत हुने गरेको छ । आफूहरुलाई सडकमा रोपाइँ गर्नु रहर नभई बाध्यता नै बनेको कौशलले बताए । रासस
पाकिस्तानका १० क्रिकेटर्समा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले मंगलबार ७ खेलाडीमा कोरोना भाइरस संक्रमणको पुष्टि गरेको छ । संक्रमित खेलाडीहरुमा फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाज हुन् । यसअघि सोमबार मात्र शादाब खान, हरिस रउफ र हैदर अली कोरोना संक्रमित भएको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको थियो । पछिल्ला दुई दिनमा १० जना पाकिस्तानी क्रिकेटरहरु कोरोना संक्रमणबाट प्रभावित भएका छन् । खेलाडीहरू, जसको परीक्षण नकारात्मक छ, उनीहरु सबै २८ जूनमा बेलायत प्रस्थान गर्नेछन् । पाकिस्तान क्रिकेट टिमको बेलायतसँग तीन टेस्ट र तीन टी–२० म्याचको रिसिज अगस्टमा प्रस्तावित छ । पछिल्ला दिनहरुमा पाकिस्तानमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ । हालसम्म १ लाख ८५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भइसकेका छन, भने ३ हजार ९ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । (बीबीसीबाट)