चट्याङ लागेर ४ जनाको मृत्यु

सप्तरी । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोशी नदीमा आज बिहान नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव मृत्यु भएको जानकारी दिए । यसैगरी खेतमा धान रोप्न गएको बेला चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका बेल्ही चपेनका ४५ वर्षीय केसी साहको आज नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । राजगढ गाउँपालिका बेल्ही चपेनामा आफनो आँगंनमा काम गरिरहेको अवस्थामा १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छिन् । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस

यात्रु ओसारपसार नगर्न यातायात व्यवसायी महासंघकाे आग्रह

काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । “सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासङ्घले घोर भत्र्सना गर्दछ,” जारी विज्ञप्तीमा भनिएको छ । महासङ्घले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ । विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको संभावित जोखिमको जिम्मेवारी महासङ्घले नलिने समेत जनाइएको छ ।   रासस

कर्णालीमा समुदायसम्म फैलियो कोरोना, स्वास्थ्य तथा सुरक्षाकर्मीसमेत अछुतो रहेनन्

सुर्खेत । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो । पिसिआर परीक्षणबाट तीमध्ये ५ जनामा सङ्क्रमण पुष्टि भयो । दैलेखका २ तथा सुर्खेतका १ गरी तीन जना बिरामी भारतबाट आएका पनि होइनन्, अर्थात् कुनै ‘ट्राभल हिस्ट्री’ नभएका अन्य रोगका बिरामीमा कोरोना पोजेटिभ देखिनु र उपचारमा संलग्न स्वास्थ्यकर्मीसम्म विस्तार हुनुले कर्णालीमा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिसकेको पुष्टि हुन्छ । कर्णालीमा एकैपटक यति धेरै सङ्ख्यामा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको यो पहिलोपटक हो । यसअघि ‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना सङ्क्रमण देखियो । उनी दुई साता प्रदेश अस्पतालको आइसोलेसनमा बसेका थिए । कोरोना निको भएपछि उनी फर्किसकेका छन् । समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको उदाहरण यतिमै सीमित छैन । डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको कोरोना भाइरस सङक्रमणका कारण मृत्यु भयो । उनी न भारतबाट आएका थिए, भारतबाट फर्किएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा नै गएका थिए । समुदायमै बसिरहेका व्यक्तिमा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि कर्णालीमा त्रास बढेको छ । आइतबार प्रदेश अस्पतालमै उपचार गर्न आएका दैलेखका एक बालकमा पनि कोरोना सङ्क्रमण देखियो । पेट दुखेपछि ती बालकलाई अस्पताल ल्याइएको थियो । एपेन्डिसाइडको शल्यक्रिया भयो । उनका बुबा भारतबाट आएर क्वारेन्टाइनमा बसेको थाहा पाएपछि अस्पतालले छोरासँगै बाबुआमाको पनि कोरोना परीक्षण गर्यो । परीक्षणबाट तीनै जनामा कोरोना सङ्क्रमण देखियो । भारतबाट फर्किएका ती व्यक्तिकै कारण उनका श्रीमती र छोरा पनि सङ्क्रमित हुन पुगे । हाल उनीहरुको प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । चिकित्सक क्वारेन्टाइन व्यवस्थित गर्न नसक्दा कोरोना समुदायस्तरमा पुगिसकेको बताउँछन् । भारतबाट आएकालाई सुरक्षित तवरले क्वारेन्टाइनमा व्यवस्थापन गर्न नसक्नु, पिसिआर परीक्षण नहुँदै घर पठाइनु, होम क्वारेन्टाइनको व्यावहारिक प्रयोग नहुनुजस्ता कारणले सङ्क्रमण दोस्रो–तेस्रो चरणमा पुगेको हो । प्रदेश अस्पताल सुर्खेतका विशेषज्ञ चिकित्सक डा नवराज केसीले कोरोना नियन्त्रणमा लापर्वाही हुँदा समुदायमा फैलिन पुगेको बताए । १४ दिन क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षणबिनै घर पठाउँदा परिवारका सदस्यलाई सङ्क्रमण सरेको ‘केस’हरु थुपै्र आउने गरेको उनको भनाइ छ । भारत सरकारले बन्दाबन्दी (लकडाउन) कै बीच जेठ १ गतेदेखि रेल तथा बस सेवा सञ्चालन गर्यो । जसले गर्दा रोजगारीका क्रममा ठूलो सङ्ख्यामा त्यहाँ रहेका कर्णालीवासी विभिन्न नाका हुँदै फर्किन थाले । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा ४१ हजार बढी कर्णालीवासी भारतबाट फर्किसकेका छन् । भारतबाट फर्किनेको सङ्ख्या बढेसँगै समुदायस्तरमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दैछ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशमा समुदायका २२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमण दोस्रो चरणमा पुगे पनि लकडाउन खुकुलो भएसँगै सावधानी अपनाउन छाडिएको छ । जसले गर्दा कोरोना भुसको आगो झैं फैलिन सक्ने स्थानीयको चिन्ता छ । “केही समयअघि क्वारेन्टाइनमा सीमित कोरोना सङ्क्रमणका बिरामी अहिले धमाधम समुदायमा पनि भेटिँदैछन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत अछुतो रहेनन्”, प्रदेश अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण सापकोटाले भने, “विशेष गरी प्रदेश सरकार र स्थानीय तहले समयमै कोरोना समुदायमा फैलिन नदिन विभिन्न उपाय अपनाउनुपर्छ, अझै लापर्वाही गर्ने हो भने अवस्था भयावह हुने सम्भावना देखिएको छ ।” प्रदेश अस्पतालका कोभिड- १९ फोकल पर्सन डाक्टर केएन पौडेलले अन्य बिरामीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि उपचारमा समस्या आएको बताए । उनले भने, “कोरोना भाइरस समुदायमा पुगेकाले थप जोखिम निम्तिएको छ, अहिले समुदायमा सङ्क्रमण शुरुवाती चरणमा छ, कसैलाई पनि लक्षण देखिएको छैन, पहिलेको तुलनामा अझ धेरै सावधानी अपनाउनुपर्ने बेला आएको छ ।” कर्णालीमा हालसम्म आशंकितबाहेक समुदायस्तरमा कोरोना परीक्षण भएको छैन । सङ्क्रमणमुक्त नहुँदै घर पठाइने र समुदायमा शङ्कास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने अवस्था थप जटिल बन्दै जाने खतरा देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिर्खबहादुर शाहीले समुदायमा केसको आधारमा ‘कन्ट्रयाक टे«सिङ’ गर्ने काम भइरहेको बताए । उनका अनुसार हालसम्म समुदायमा सङ्क्रमण देखिनेमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण छन् । जुम्लामा चार तथा जाजरकोटमा एक जना गरी पाँच प्रहरीमा सङ्क्रमण पुष्टि भइसकेको छ । कर्णालीमा कोरोना सङ्क्रमण दोस्रोरतेस्रो चरणमा प्रवेश गरेपछि सर्वसाधारण तथा कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा त्रास छाएको छ । प्रदेशमा बुधबारसम्म १ हजार ३ सय ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५ सय ६० जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भइसकेका छन् ।  रासस