विद्युतकाे डिमान्ड शुल्क मिनाहा गर्न हान पोखराको आग्रह
चिप्लेढुङ्गा । बन्दाबन्दीले समस्यामा परेको भन्दै पश्चिमाञ्चल होटल सङ्घ (हान) पोखराले विद्युतकाे डिमान्ड शुल्क मिनाहा गरिदिन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को महामारीसँगै जारी बन्दाबन्दीका कारण बन्द होटल क्षेत्र धरासायी हुने अवस्थामा पुगेको भन्दै सङ्घले त्यस्तो आग्रह गरेको हो । सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा सोमबार नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय गण्डकी प्रादेशिक कार्यालय पोखरा पुगेको होटलकर्मीको टोलीले व्यवसाय ठप्प भएका कारण डिमान्ड शुल्क मिनाहा भए केही राहत हुने भन्दै निर्देशनालयका प्रमुख टेकनाथ तिवारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । अध्यक्ष तुलाचनले आगामी आर्थिक वर्षको बजेट आउनुअघि नै उल्लिखित आग्रहसहित केही मागहरु होटल क्षेत्रका तर्फबाट सरकारलाई बुझाएको भए पनि सम्बोधन हुन नसकेको भन्दै विद्युत्को डिमान्ड शुल्क हटाउन प्राधिकरणको सम्बन्धित विभागको ध्यानाकर्षण गराएको बताए । होटल क्षेत्रलाई उद्योगको मान्यता दिइएको भनिए पनि सेवा सुविधा र सहुलियतमा भने सरकारका तर्फबाट सो अनुसारको व्यवहार नगरिएको उनको गुनासो थियो । यसैगरी खपत भएको विद्युतकाे महसुल तिर्न व्यवसायी तयार रहेको तर त्यस्तो शुल्क अवस्था सामान्य भएपछि तिरे हुने व्यवस्थाका लागि समेत व्यवसायीले प्राधिकरण समक्ष आग्रह गरेका थिए । गण्डकी अञ्चल प्रादेशिक प्रमुख तिवारीले व्यवसायीका आग्रह र मागहरु आफूले सम्बन्धित निकायमा सम्प्रेषण गर्ने प्रतिबद्धता जनाए । होटल र सिङ्गो पर्यटन क्षेत्र अहिले कठिन अवस्थाबाट गुज्रिएकोप्रति आफू जानकार रहेको भन्दै उनले व्यवसायीले सहुलियतको कुरा उठाउनु जायज भएको भनाइ राखे । सो अवसरमा व्यवसायीले बैङ्कको ऋण, ब्याज र अन्य किस्ताहरु तिर्नुपर्दा होटल क्षेत्र घाटाको अवस्थामा रहेको, सरकारले सहुलियतको कुनै पनि कार्यक्रम ल्याउन नसकेको र सरकारका तर्फबाट शुल्क र करका सन्दर्भमा अन्य सामान्य अवस्थामा जस्तो व्यवहार गर्न खोजिएको भन्दै गुनासो गरेका थिए । रासस
राज्य व्यवस्था समितिबाट पारित नागरिकता विधेयकको एनआरएनएद्वारा स्वागत
टेक्सस । राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले स्वागत गरेको छ । गैर आवासीय नेपालीले नागरिकता पाउने भनी नेपालको संविधानले नै सुनिश्चितता गरेको अवस्थामा राज्य व्यवस्था समितिबाट पारित विधेयकले नागरिकता प्राप्तीको निम्ति अर्को कदम अघि बढेको सङ्घले जनाएको छ । विधेयकले तीन प्रकारका नागरिकतालाई बढाएर चार प्रकार बनाई गैर आवासीय नेपालीसम्बन्धी छुट्टै व्यवस्था गर्नुलाई अत्यन्त सकारात्मक पाटोको रूपमा सङ्घले लिएको सङ्घका उपाध्यक्ष डा बद्री केसीले बताए । गैर आवासीय नेपाली नागरिकतासम्बन्धी गरेको व्यवस्थालाई असर नपर्ने गरी आगामी दिनमा प्रतिनिधिसभा र तत्पश्चात राष्ट्रिय सभाबाट समेत समितिबाट पारित विधेयक पारित हुने विश्वास सङ्घले लिएको छ । “गैर आवासीय नेपालीहरुले सन् २००९ देखि उठाइरहेको आवाज सम्बोधन हुने दिशामा अघि बढेको छ”, सङ्घका उपाध्यक्ष डा केसीले भने, “सबै राजनीतिक दल तथा नेताहरु सकारात्मक नै हुनुहुन्छ, हामी निरन्तर छलफल गरिरहेकै छौं, विश्वास छ गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका सम्बन्धमा आगामी दिनमा पनि सकारात्मक नै परिणाम आउनेछ ।” उनले समितिबाट विधेयकमा तीन पुस्ताको प्रसङ्ग उल्लेख भएकोमा त्यसलाई लिएर कुनै अलमल वा चिन्ता गर्न नपर्ने बताए। यद्यपि गैर आवासीय नेपालीले प्राप्त गर्ने अधिकारमा राजनीतिक अधिकार नरहने उल्लेख भएकाले त्यो राजनीतिक अधिकार भनेको के के हुने भन्ने सम्बन्धमा स्पष्ट हुन आवश्यक रहेको र ती विषयमा कानून आयोगबाट कानून निर्माणको प्रक्रिया सँगसँगै सम्बोधन हुने अपेक्षासमेत सङ्घको रहेको डा केसीले बताएका छन् । “राज्य व्यवस्थाबाट पारित अहिलेको विधेयकले नागरिकताको निरन्तरता त गरेको छ तर अधिकार भने काटिदिएको छ, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, संवैधानिक आयोगका पदाधिकारीहरुमा नियुक्ती वा निर्वाचित हुनेबाहेक अन्य सम्बन्धमा खुकुलो हुनुपर्छ भन्ने हाम्रो कुरा हो”, डा केसीले भने । नागरिकता केवल कागज मात्र नभएकाले नागरिकता प्राप्त गरेपछिको जिम्मेवारीको पनि कुरा आउँछ भन्दै उनले भने, “गैर आवासीय नेपालीले नागरिकता कहाँबाट लिने, कसरी लिने, हक अधिकार के रहने, हाम्रो जिम्मेवारी कस्तो हुने भन्नेबारे समेत अगामी दिनमा बहसहरु भई एउटा ठोस परिणाम निस्कने छ भन्ने विश्वास छ ।” सम्पत्तिको अधिकारका बारेमा अहिलेको व्यवस्थाले सीमितता प्रदान गरेको र भौगोलिक क्षेत्रगत रूपमा पनि फरक फरक व्यवस्था रहेको भन्दै डा केसीले यस्तो सीमितता नराख्न सङ्घले माग गर्दै आएको बताए । गैर आवासीय नेपालीले प्राप्त गरेको नागरिकता छाडी फेरि सधैंका लागि नेपाल फर्कन चाहे पुरानै नागरिकतासहित पूर्ण राजनीतिक अधिकारको व्यवस्थाका सम्बन्धमा पनि कुरा भइरहेको डा केसीको भनाइ छ । रासस
पाल्पामा पहिरो: दुई गाडी बगे, दुई जनाको शव भेटियो, बाँकीको उद्दार हुँदै
काठमाडौं । पाल्पाको तानसेनमा पहिरोले दुई गाडी बगाएको छ । तानसेनसको रिडी सडक खण्ड अन्तर्गत पाल्पाको सम्मोबारी भन्ने ठाउँमा पहिरो गएर दुई वटा गाडी बगाएको हो । पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। प्रहरीका अनुसार एक जनाको उद्धार गरिएको छ । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन ।