‘हरेक दिन धाउँदा धाउँदा खुट्टा दुखिसक्याे, चामल कहिले आउँछ बाबु ?’
काठमाडौं । “कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुपर्यो बाबु ।” जुनिचाँदे गाउँपालिका–११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको भोलिको दैनिक खाद्य डिपोमा धाएर रित्तो हात फर्कुनुमा बित्छ । गाउँमा पुरानो अन्न सकिएको छ । नयाँ गहुँ बाली पाकेको छैन । मजदुरी गर्न जान लकडाउनले रोकेको छ । खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटले ताँगाका लागि निर्धारण गरेको कोटा सकिएका कारण सो ठाउँमा चामल प्राप्त हुन सकेको छैन । जुनिचाँदे गाउँपालिका जिल्लाको अति दुर्गम क्षेत्र मानिन्छ । यहाँ खेतीयोग्य जमिन काम भएकाले खाद्यान्न उत्पादन समेत कम हुने गरेको छ । ताँगामा चामल ल्याउन ढुवानी भाडा नभएका कारण समस्या भएको कम्पनीका जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले बताए । जुनिचाँदे गाउँपालिका – १० का पदम खड्काले भने, “हाम्रो ठाउँमा सिंचाइ गर्नक पानी भएपनि खोलामै छमछम बगेर जान्छ । खेतमा लगाउन पैसाले पुग्दैन ।” अहिले जिल्लाको बारेकोट गाउँपालिकामा रहेको घाट डिपोमा समेत चामल सकिएको छ । शनिबार झण्डै २ सय भन्दा बढी गाउँलेहरु कम्पनीको कार्यालयमा गएपनि पचास प्रतिशतले चामल नपाएर फर्किएको तोलखानाका डम्बर सिंहले जानकारी दिए । उनका अनुसार चामल नपुगेकै कारण धेरै स्थानीयावासीहरु फर्कनुपरेको थियो । गाउँपालिकालाई तुरुन्तै खाद्यान्नको व्यवस्था गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारेकोट गाउँकमिटीले आग्रह गरेको छ । बारेकोट गाउँपालिकाका अध्यक्षले महेन्द्रबहादुर शाहले चामल अभावबारे आफूले थप बुझ्ने बताए । बारेकोटमा खाद्यान्न ढुवानी गर्ने ठेकेदारले फागुन १५ सम्म २ हजार क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरेपनि अहिले सम्म ढुवानीको काम पूरा नगरेको कम्पनीका प्रमुख बस्नेतले जानकारी दिए । अहिले कार्यालय आफैले केही चामल खच्चडमा ल्याउने गरेको छ । आवागमन रोक्न पुलमा ताला लकडाउन कार्यान्वयनका लागि डोल्पा सडक खण्डको विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा ताला लगाइ बिरामीबाहेक अन्यलाई आवतजावत ठप्प पारिएको छ । जिल्लाको नलगाड नगरपालिका –७ चामेखेत, वडा ८ को वगरा र वडा ११ को तल्लु लगायतका ठाउँमा रहेका झुलुङ्गे पुलमा ताला लगाएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकासँग जोडिएका यी ठाउँमा भेरी नदी पर्छ । त्यस्तै डोल्पा, जाजरकोट र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीमा समेत पुलमा ताला र सडकमा बार लगाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । सुरक्षा व्यवस्था कडा भएका कारण खाद्यान्नलगायत सामग्री लिन समेत निकै समस्या भएको नलगाड नगरपालिका –८ का नेत्र बिसीले बताए । नगरपालिका –८ का शिक्षक बीरबहादुर खत्रीले गाउँबाट तरकारी, दूध र दहीसमेत बजार लान नसकिएको जनाएका छन् । रासस
कोरोना रोकथामकाे लागि सहयोग बढाउँदै नेपाल रेडक्रस, देशभरीका क्वारेन्टाइनमा स्वास्थ्य सामाग्री वितरण
काठमाडाैं । कोभिड-१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको छ । सोसाइटीका सबै निकायहरुले शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् । देशभरीका क्वारेन्टाइन क्षेत्रमा संस्थाबाट ३ हजार ४ सय ८९ कम्मल, २ हजार २ सय तारपोलिन र टेन्ट, १ हजार १ सय ४२ बाल्टी र जग, ५ हजार १ सय साबुन, १ हजार ५ सय ३ वटा म्याट्रेस, २ सय ५३ तन्ना, १ हजार २ सय झुल, लगायतको सामग्री सहयोग उपलव्ध गराइएको छ । देश भरीमा गरिएका सेवाको दैनिक अपडेट सम्बन्धित अधिकारीहरुलाई दिइएको छ र अहिलेसम्म ४९ वटा अपडेट प्रकाशन गरिएको छ । नेपाल रेडक्रसका उप महामन्त्री हरि प्रसाद न्यौपानेले भने- ‘नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसंग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको हो । समस्याको सुरु हुने वित्तिकै नेरेसो आपत्कालीन अपरेसन सेन्टरलाई सक्रिय बनाइयो । सोही अनुसार जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासँघ, यूएन, लगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको छ ।’ युवा स्वयंसेवकहरु सक्रिय: १ लाख ४२ हजारमा पुगे समुदायमा चेतना कार्यक्रम, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, एफ एम रेडियो मार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा नेरेसोका युवा स्वयंसेवकहरु परिचालित भएका छन्। अग्रपंतिका स्वयंसेवकहरुले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरुको वितरण गर्ने, जस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायहरुको सहकार्यमा गरिरहेका छन् । यस्तो गतिविधिबाट १ लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएका छन् । ५ लाख १८ हजार थान पम्प्लेट, फ्लेक्स र स्टीकरहरु वितरण गरिएको छ । अस्पताल र क्वारेन्टाइनका हेल्प डेक्समा ९ सय १४ जना स्वयंसेवकहरु खटिएका छन् । त्यस्तै हात धुने अभ्यास शिक्षा २ हजार २२ जनालाई दिइएको छ भने मनोवैज्ञानिक सहयोग आवश्यक परेका ८१ जनालाई टेलिफोनमार्फत् सहयोग गरिएको छ । भावी कार्यक्रमबारे नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भने- क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्याउने गरी प्रतिकार्य गतिविधिको कार्यविधि र कार्ययोजना नै तयार भैसकेको छ । सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक र सहयोग कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन हुनेछन् ।स्रोतको उपलव्धता अनुसार तनहुँ, कास्की, ललितपुर लगायतका जिल्लामा अपांगता भएका, अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । नेरेसोको निशुल्क हटलाईन् ११३० सञ्चालन गरिएको छ जसमा लकडाउन पछि १७५ कलको सम्बोधन गरिएको छ । त्यस्तै मनोबैज्ञानिक समस्या, महिला तथा बालबालिका हिंसा विषयमा परामर्शको लागि छुट्टै दक्ष समूह बनाइएको छ । विभिन्न तरिकाले फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउन तर्फपनि वेभ, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन जस्ता माध्यमबाट सञ्चार भइरहेको छ । कोभिड सचेतनाका विविध विषयलाई समेटिने गरी २५ वटा रेडियो कार्यक्रम विभिन्न एफएम स्टेशनबाट प्रसारित भैसकेका छन् । युवालाई थप सक्रिय बनाउन सामाजिक सञ्जाल स्वयंसेवा समूहलाई सक्रिय बनाइएको र यो “NRCS Social Media Volunteers on COVID-19” मा ७५० वढी स्वयंसेवकहरु आवद्ध भैसकेका संस्थाले जनाएकाे छ । सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रवन्ध अस्पताल तथा स्वास्थ्य डेस्कमा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देशका विभिन्न हव अस्पतालका हेल्प डेक्समा सहयोग गरिरहेका छन् । यसैवीच थप सजगता अपनाऊन केन्द्रीय कार्यालयमा लगायत सवै कार्यस्थलमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने बित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ । रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आऊने विरामीका आफन्तहरुलाई पनि यस्तै शुरक्षाका उपायहरु अपनाइएका छन् । ३४२ परिवारलाई सरसफाई किट उपलव्ध गराइएको छ । देशभरीमा ३०० जना रक्तसञ्चार सेवामा कार्यरत कर्मचारी र २४० एम्बुलेन्सहरुलाई फूलबडी गाउन उपलव्ध गराइएको छ । समुदायको सहयोगको लागि एकलाख एकसय मास्क र ग्लोब वितरण गरिएको छ । जिल्ला जिल्लामा कोभिड १९ मा खटिने स्वयंसेवकलाई दुर शिक्षाबाट प्रविधिको प्रयोगबाट तालिम दिइएको छ । १०० जना एम्बुलेन्स चालकलाई शुरक्षा सम्बन्धी दुर शिक्षाबाट जानकारी दिइएको छ । काभ्रे र सिन्धुपाल्चोकमा चल्ने सवै संस्थाका एम्बुलेन्सको कन्पार्टमेन्ट नेरेसोको अगुवाइमा भैरहेको छ । धनुषा, कञ्चनपुरमा शाखा आफैको पहलमा र कतिपयमा सरकार वा समितिको सहयोगमा सो काम भैरहेको छ । शव व्यवस्थापनमा सहयोगः नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५० थान शव व्यवस्थापन व्याग उपलव्ध गराइएको छ । त्यस्तै धुलिखेल अस्पताललाई ५० वटा तथा नेपाली सेनालाई ५० वटा व्याग दिइएको छ । पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरु लाई सहयोग, मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिएका छन् । केन्द्रीय कारागरमा १० थान टेन्ट उपलव्ध गराईएको छ । जिल्लाहरुको विशेष सहयोग भक्तपुर शाखाले जिल्लाका ४ वटा हरेक नगरपालिकालाई एक एक लाख सहयोग उपलव्ध गराएको छ । निर्देशिकाहरु तयारीः अहिले काम गर्ने तरीकालाई निर्देशित गर्न काेभिड-१९ रेसपाेन्स गाइडलाइन तयारी गरी निकायहरुमा पठाइएको छ । यसले नेरेसोका विभिन्न निकायहरु र स्वयंसेवकको भूमिका प्रष्ट पारेको छ । त्यस्तै संक्रमण रोकथामको लागि चाल्नुपर्ने व्यवहारिक कदमको लागि इन्फेक्सन, प्रिभेन्सन एण्ड कन्ट्राेल(आईपीसी) गाइडलाइन तयारी गरिएको छ । यसैगरी पारिबारिक सम्पर्कको पुनस्थापनाको लागि निर्देशिका पनि तयार भएको छ ।
नयाँ वर्षका दिन सुनसान पर्यटकीयस्थल
रुपन्देही । नयाँ वर्ष २०७७ को पहिलो दिन । यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पर्यटकीय स्थल सुनसान छन् । आज जिल्लाको बुद्ध जन्मस्थल लुम्बिनीसहितका पर्यटकीयस्थल खाली छन् । बुटवलको मणिमुकुन्द सेन उद्यान, हिलपार्क, पिसपार्कलगायत स्थल पनि सुनसान नै रहेका छन् । कोभिड—१९ को संक्रमणका कारण लकडाउ भएँपछि नयाँ वर्ष घरमै बसेर मनाइएको बुटवल १३ निवासी पुष्पा थापाले बताए । “बाहिर हिडौँ भने लकडाउन छ, त्यसैले घरमा परिवारसंँगै नयाँ वर्ष मनाउँदै छु ।” हरेक नयाँ वर्षमा नयाँ ठाउँमा घुम्नेहरु पनि यस वर्ष कोरोना महामारीका कारण घरमै छन् । नयाँ वर्षमा अत्यन्तै भीड लाग्ने बुद्ध जन्मस्थल लुम्बिनी पनि आज सुनसान छ । कोरोना भाइरस संक्रमणका कारण लुम्बिनीमा कुनै पनि पर्यटक नदेखिएको व्यवसायी मञ्जु ढकाल बताए । “कोरोना संक्रमण शुरु भएसंँगै लुम्बिनीमा पर्यटक आउन छाडेका हुन्, अहिले त लकडाउनका कारण झन् आउने कुरै भएन,” उनले भने, “ लुम्बिनीमा रहेका बिहारका भिक्षुहरुबाहेक मायादेवी मन्दिरको दर्शन गर्नसमेत कोही पनि गएनन् ।” नयाँ वर्षमा पर्यटकको भीडले गर्दा होटल तथा पसललाई व्यापार गर्नसमेत भ्याइनभ्याइ हुन्थ्यो । एक दिनमा पनि राम्रो व्यापार हुन्थ्यो तर कोरोना भाइरसका कारण यो नयाँ वर्षका दिन धेरै घाटा लागेको व्यवसायी ढकालको भनाइ छ । अधिकांशले सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाएका छन् । “ सबैभन्दा प्रमुख कुरा भनेकै स्वास्थ्य रहेछ । जीवन छ र पो सबै छ । कोरोना संक्रमण नियन्त्रण भए अर्को नयाँ वर्ष नयाँ ठाउँमा मनाउँला तर अहिले घरमै रहनु नै उत्तम हुन्छ”, बुटवल बेलबासकी गीता आचार्य भने । विश्व नै कोरोना संक्रमणसंग लडिरहेका बेला नयाँ वर्षको उत्साह त्यति नभएको बुटवल नहरपुरकी रचना पाण्डे बताए । “नयाँ वर्षको आगमनसंँगै रोग नियन्त्रण भए खुशीको कुरा त्यही हुने छ”, उनले भने । घरमा बसेर मनाइँदै रामपुर –विसं २०७७ को पहिलो दिन आज रामपुरवासीले एकापसमा शुभकामना साटासाट गरी घरमै बसेर मनाइरहेका छन् । रामपुर नगरपालिकाका विभिन्न पर्यटकीयस्थल विगतका नयाँ वर्षका दिन भीडभाड लाग्ने गथ्र्यो । विशेष गरेर एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत तालपोखरामा नयाँ वर्षका दिन ठूलो सङ्ख्यामा पर्यटकको चहलपहल हुने यो क्षेत्र सुनसान छ । अहिले तालपोखरामा अनिश्चितकालसम्मका लागि प्रवेशमा रोक लगाइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताए । “अघिल्ला वर्षमा सम्हाली नसक्नु भीड लाग्थ्यो, तालपोखरामा डुङ्गा चढ्ने, पार्कमा घुम्नकै लागि टाढा टाढाबाट पर्यटकको उपस्थिति रहन्थ्यो भने अहिले तालपोखरा क्षेत्रको वातावरण शान्त र सुनसान छ”, उनले भने । भुजात सिद्धबाबाधाम, रामघाट, राम्चे भ्युटावर, सीताकुण्ड, तातोपानीधामलगायत क्षेत्रमा नयाँ वर्षका दिन भीड लाग्ने गथ्र्यो । यस वर्षको पहिलो दिन आज घरका सदस्यसँग बसेर नयाँ वर्षको शुभकामना आदानप्रदान भइरहेको रामपुरका दीपेन्द्रप्रसाद भट्टराई बताए । “नयाँ वर्षको पहिलो दिन सधैं अन्यत्र घुमफिर गरेर साथीभाइसँग रमाइलो गरेर मनाइन्थ्यो भने यस पटक नितान्त पारिवारिक वातावरणमा मनाइरहेका छौँ”, उनले भने । अधिकांशले सामाजिक संजाल तथा मोबाइलमार्फत कुराकानी, म्यासेज आदानप्रदान गरेर घरभित्रै बसेर नयाँ वर्षलाई स्वागत गरेका छन् । कालीगण्डकीका विभिन्न घाटमा वैशाखे सङ्क्रान्ति नुहाउनेको भीड पनि छैन । प्युठानका धार्मिकस्थलमा छैन रौनक झिमरुक–प्युठानका धार्मिक तथा पर्यटकीयस्थल सुनसान छन् । पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा पनि लकडाउनको प्रभावमा पर्याे । स्वर्गद्वारीम चैत ८ गतेदेखि दर्शनार्थीलाई प्रवेशमा रोक लगाइएको छ । प्रत्येक नयाँ वर्षका दिन करीब सात हजारभन्दा बढी दर्शनार्थी पुग्ने स्वर्गद्वारीम् यस वर्ष लकडाउनका कारण खाली छ । स्वर्गद्वारीसंँगै पर्यटकीय तीर्थस्थल गौमुखी, मल्लरानी, भित्रीकोट, ऐरावती, स्नाथान, ओखरकोट, दिहाल्नाचौर, बुलबुलताल, रकगार्डेन, सारीको भूबनोट, लिस्ने लेकलगायत सुनसान छन् । नयाँ वर्षका दिन राँगा, बोका, कुखुरा बलि दिइने धार्मिकस्थल झाँक्री स्थानमा पनि प्रवेश निषेध गरिएको मल्लरानी ४ खंलगाका विजय श्रेष्ठले बताए । नयाँ वर्षको दिन लकडाउन अवज्ञा हुन नदिन विशेष सतर्कता अपनाइएको प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । रासस