राजनीतिक निष्क्रियता र बेथिति विरुद्ध २८ जनाको सामूहिक अपिल, वैकल्पिक शक्ति निर्माणको आह्वान
काठमाडौं । वर्तमान राजनीतिक अन्योल, भ्रष्टाचार, गैरजिम्मेवारी र सत्ताको भागबण्डाले निराश नेपाली नागरिक समाजका विभिन्न क्षेत्रमा सक्रिय २८ जना व्यक्तिहरूले संयुक्त अपिल जारी गरेका छन् । ‘हाम्रो आह्वान’ शीर्षकको अपिलमार्फत उनीहरूले पुराना दलहरूप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक विकल्प निर्माणको आह्वान गरेका हुन् । उनीहरूले नेपालको राजनीतिक नेतृत्वले जनताको भावना अनुसार देशको दिगो भविष्यको दिशा तय गर्न नसकेको बताएका छन् । अपिलमा दलहरूबीचको सत्ताको हानथाप, भ्रष्टाचार र अनैतिक अभ्यासहरूको आलोचना गर्दै अब नयाँ सोच, नेतृत्व र संरचनाको खाँचो रहेको उल्लेख गरिएको छ । अपिलमा कलाकार, लेखक, पत्रकार, अधिवक्ता, अधिकारकर्मी, अभियन्ता, प्राध्यापकलगायत विभिन्न पेशाका व्यक्तिहरूको हस्ताक्षर रहेको छ । अपिलको अन्त्यमा उनीहरूले भनेका छन्, 'हामी समयले तेस्र्याएका प्रश्नहरूलाई टारेर होइन, जुझेर भविष्यको बाटो बनाउने प्रयत्नमा छौँ ।'
विशेष महाधिवेशनका लागि २४ असोजभित्र हस्ताक्षर गरिसक्न विश्वप्रकाश शर्माको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेभित्र हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् । भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, 'हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्रै गर्नुस् ।' आगामी असोज २६ गते नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने तय भएको छ । सो बैठकपछि हस्ताक्षर गर्ने सोच बनाएका केही प्रतिनिधिहरूलाई सन्देश दिँदै शर्माले भनेका छन्, 'लगनपछिको पोते के काम !' महामन्त्री शर्माले विशेष महाधिवेशन सम्पन्न हुँदा पार्टी अझ बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गरेका छन् ।
कोशीमा प्रदेश सरकार सक्रिय, विपद् क्षेत्रमा पठाइयो राहत सामग्री
काठमाडौं । कोशी प्रदेशको इलामका बाढी–पहिरो पीडितहरूका लागि प्रदेश सरकारले राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार चामल, दाल, आलु, तेल, नुन र बेसारसहितका दैनिक उपभोग्य वस्तु इलाम पठाइएको छ । यसबाहेक ब्ल्यांकेट, म्याट्रेस, त्रिपाललगायतका न्याना कपडा पनि इलाम पठाइएको कार्कीले जानकारी दिएका छन् । जिल्लाका माङसेबुङ र इलाम सदरमुकामसहितका प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइसकिएको छ । इलामका सूर्योदय र देउमाई नगरपालिका तथा सदरमुकाम इलाम नगरपालिका बाढीबाट बढी प्रभावित देखिएका छन् । यसबाहेक जिल्लाका सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माईजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा पनि बाढीले क्षति पुर्याएको छ । जिल्लाका बाढी–पहिरो पीडितहरूका लागि थप आवश्यक सामग्री पठाउने तयारी प्रदेश सरकारले गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् । मुख्यमन्त्री कार्कीले सुरक्षा निकायलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार जिल्लामा कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । जिल्लामा पहिरोले १४ घरमा पूर्णरूपमा क्षति पुर्याएको छ ।