बालेनले कात्तिक ३० भित्र नयाँ पार्टी खोल्न सम्भव छ ?

काठमाडौं । अहिले नेपाली राजनीतिमा सबैभन्दा बढी चासोका रुपमा हेरिएका पात्र हुन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । स्वतन्त्र उम्मेद्वार बनेर महानगरको मेयरमा विजयी बनेका बालेन नेपाली राजनीतिमा थप बलियो र प्रभावशाली बन्दै गएका छन् ।  सञ्चार माध्यम र सार्वजनिक मञ्चमा देखिन खासै नरुचाउने उनी सामाजिक सञ्जाललाई प्रमुख हतियार बनाएर सर्वसाधारण सामु आफ्ना मत र धारणाहरु राख्दै आएका छन् ।  विशेषगरि भदौ २३ र २४ को जेनजी आन्दोलन हुनुमा बालेनको प्रमुख हात रहेको भन्नेहरू पनि प्रशस्त छन् । उनले जेनजीहरुलाई खुलेरै अगाडि बढ्न समेत सामाजिक सञ्जालमार्फत ढाडस दिएका थिए । जेनजीहरुले भदौ २४ गते विध्वंश मच्चाएपछि अब नगर, सार्वजनिक संरचना नजलाउ भनेर सामाजिक सञ्जालमा पोष्ट राखेर फर्काउने पनि उनै बालेन थिए ।  जेनजी आन्दोलनपछि उनै बालेनको थप चर्चा हुन थालेको छ । धेरैले उनले अब नयाँ पार्टी खोलेर अगाडि बढ्न सक्ने विश्लेषण गरिरहेका छन् भने कतिपयले उनी आफ्नो कार्यकालभर महानगरकै मेयर भएर बस्न सक्ने अनुमान पनि गरिरहेका छन् ।  जेनजीहरुले उनलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दा उनले फोन स्विच अफ गरेर बसे । धेरैले ६ महिनापछि हुने संघीय चुनावमा उनी पार्टी खोलेर अगाडि बढ्ने तयारी गरिरहेकोले अहिले ६ महिनाका लागि प्रधानमन्त्री नबेको टिप्पणी पनि गरिरहेका छन् । तर, यसबारे बालेनले भने मुख खोलेका छैनन् । बालेनको नजिक रहेर काम गर्नेहरु भने उनले पार्टी खोलेर अगाडि बढ्न सक्ने सम्भावना रहेको सुनाउँछन् । अहिले जेनजीहरुबाट पनि उनलाई नयाँ पार्टी खोलेर अगाडि बढ्न दबाब आइरहेको बुझिएको छ ।  अहिले बालेनकै समर्थनमा सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । उनकै कानूनी सल्लाहकार ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् । त्यसैले पनि वर्तमान अन्तरिम सरकार रहेको बेला हुने चुनावमा उनले पार्टी खोलेर अगाडि बढेमा आफूलाई सरकारबाट सहयोग मिल्न सक्ने आशामा बालेन देखिन्छन् ।  त्यसैले पनि उनलाई पार्टी खोल्ने यो सुनौलो अवसर हो । तर, समय धेरै छैन । अन्तरिम सरकारले आगामी पाmगुन २१ गते निर्वाचन हुने घोषणा गरिसकेको छ ।  निर्वाचन आयोगले पनि निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने दलले कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । यदि अब बालेनले पार्टी खोलेमा पनि फागुन २१ को चुनावमा भाग लिन कात्तिक ३० गते अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्नेछ । त्यसका लागि धेरै समय छैन । किनकी नयाँ दलका लागि गर्नुपर्ने तयारी धेरै नै हुन्छ ।  आयोगको कार्यतालिकाले बालेनलाई दबाब परेको छ । अब उनले नयाँ पार्टी खोल्छन् वा खोल्दैनन् भन्ने विषय ठूलो चासोका रुपमा हेरिएको छ । बालेनको सचिवालयमा रहेर काम गरिरहेका एक सदस्यले पार्टी खोल्ने विषयमा चर्चा भए पनि आफूसँग पूर्ण सूचना नभएको जानकारी दिए ।  ‘उहाँले अहिलेसम्म पार्टी खोल्नेबारे कुनै कुरा भन्नु भएको छैन, जेनजीहरुबाटै दबाब भने आइरहेको छ, जनताले पाँच वर्षका लागि मेयरमा निर्वाचित गरेको हुनाले बिचमै छोड्नु होला जस्तो मनसाय म देख्दिनँ,’ उनले भने । 

कोशी प्रदेश सरकार राहत तथा उद्धार कार्यमा सक्रिय

मोरङ । कोशी प्रदेश सरकारले हालको बाढी–पहिरोले प्रभावित क्षेत्रमा आफ्नो स्रोतसाधनलाई भ्याएसम्म स्रोतको परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममा रही राहत तथा उद्धारमा खटिएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसैगरी प्रदेशका अन्य मन्त्रीसमेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रुपमा उद्धार तथा राहत कार्यमा सहभागी भएको कार्यालयले जनाएको छ ।      मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सबै मन्त्री स्थलगत रुपमा रहेर राहत कार्यमा जुटिरहेको जानकारी दिए । उनले भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत बाढी–पहिरोका कारण अवरुद्ध भएका सडक तथा साना बाटो खोल्नका लागि १४ वटा पूर्वाधार कार्यालयलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् ।      मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाई प्रदेश सरकार विपद् व्यवस्थापनमा पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट पारे । यसैगरी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लास्तरीय सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय र सहकार्य गरिरहेको तथा सबैतिर आवश्यक समन्वय गरी उद्धार कार्यमा सक्रियता देखाइएको छ ।      आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी फिल्डमा नै रही जनताको सुरक्षाका लागि काम गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले केही दिनअघि प्रदेशका सुरक्षा निकायलाई लाइफ ज्याकेट, बोटलगायतका रु दुई करोड मूल्य बराबरका विपद्–उद्धार सामग्री वितरण गरेका कारण उद्धार कार्य सहज भएको जनाइएको छ । 

वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौं । केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौं उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौंका सडकमा गाडीको चाप बढेको छ भने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ । शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौंको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौंका सबै प्रमुख सडक सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, 'शुक्रबारदेखि परेको वर्षाका कारण यहाँको जनजीवन केही असमान्य बनेको थियो, आइतबारदेखि मौसममा सुधार आएको छ, सडकमा  गाडीको चाप पनि सामान्य अवस्थामा फर्किएको देखिन्छ ।'      काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुङ्गा, अरनिको राजमार्ग, टोखा सडकखण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेका तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेका प्रवक्ता सुवेदीले बताए ।      वर्षा रोकिएसँगै काठमाडौंका बजार क्षेत्रमा पनि मानिसहरुको भीड देखिन थालेको छ । अहिले दैनिक उपभोग्य लगायतका सामग्री किनमेल गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । असन, इन्द्रचोक, न्युरोड, पुरानो बानेश्वर, गोङ्गबुलगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीले बताएका छन् ।     वर्षाका कारण जनजीवन असमान्य भएको काठमाडौंमा अहिले वर्षा रोकिएर घाम लागेपछि स्थानीय र व्यवसायीहरुले राहतको महसुस गरेका पुरानो बानेश्वरस्थित फेन्सी पसल सञ्चालक सरिता थापाले बताइन् । उनले भने, 'शनिबारसम्म यहाँका सडकमा हिँड्नै सक्ने अवस्था थिएन, आइतबारसम्म जताततै पानी जमेको अवस्था थियो, आज मौसम खुलेर घाम लागेकाले निकै सहज भएको छ ।'      जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराईका भू–भागका स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।       आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । रासस