प्रथम गौतमबुद्ध कप टी–२० प्रतियोगिता शुरु
चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु भएको प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानद्वय राजु खड्काले ब्याटिङ र विनोद दास बलिङले गरी संयुक्त रूपमा शुभारम्भ गरेका छन् । भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले राष्ट्रकै गौरवको रूपमा निर्माण भइरहेको रङ्गशालामा यस किसिमको प्रतियोगिता आयोजना हुँदा क्रिकेटको माहोल बढ्ने बताए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्काले वडास्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता आयोजना गर्न जरुरी रहेको उल्लेख गरे । राष्ट्रिय क्रिकेट टोलीका अर्का पूर्वकप्तान तथा अण्डर–१९ टोलीका प्रशिक्षक दासले पर्यटकीय क्षेत्रको रूपमा चिनिने चितवनलाई अब क्रिकेटको हबको रूपमा विश्वले चिन्ने बताए । कार्यक्रममा भरतपुर–२१ का वडाध्यक्ष तथा भरतपुर महानगरपालिका युवा तथा खेलकूद समिति संयोजक चित्रसेन अधिकारी, प्रतियोगिताको प्रमुख प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक यज्ञविलास पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगरपालिका–१५ का अध्यक्ष आकाश थापा, नेपाली काँग्रेसका अमृत बाँनियालगायतले भरतपुरलाई क्रिकेट खेलको केन्द्र बनाउन जोड दिएका थिए । प्रतियोगिताको आयोजक संस्था चितवन आदर्श युवा क्लबका संयोजक पुष्पराज आचार्यको संयोजकत्व तथा क्लबका अध्यक्ष उमाकान्त आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वकप्तान खड्कालाई सम्मान गरिएको थियो । प्रतियोगितामा आयोजक चितवन आदर्श युवा क्लब ‘बी’ ले विजयी शुरुआत गरेको छ । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा भरतपुर–५ लाई ५४ रनले पराजित गर्दै आयोजक ‘बी’ ले विजयी शुरुआत गरेको हो । निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा आयोजक ‘बी’ ले दिएको १४६ रनको लक्ष्य पछ्याएको भरतपुर–५ ले १८ ओभरमा ९१ रन मात्र बनायो । प्रतियोगितामा महानगरका २८ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले रु एक लाखसहित ट्रफी तथा उपविजेताले रु ५० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस
नेशनल माइक्रोफाइनान्सको एकदिने समिक्षा गोष्ठि सम्पन्न
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले १ दिने समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शाखा प्रमुख र शाखाको अन्य कर्मचारीहरुको उक्त गोष्ठी सम्पन्न गरेको हो । संस्थाको प्रदेश नं २ अन्तर्गत पर्सा, बारा,रौतहट, सर्लाही र महोत्तरी जिल्लामा अवस्थित रहेको शाखा कार्यालयहरुको शाखा प्रमुख र अन्य कर्मचारीहरुको सहभागिता रहेको समिक्षा तथा गोष्ठि कार्यक्रम चन्दनिगाहपुर स्थित होटल गौतममा संचालन भएको थियो । अन्तरकृया कार्यक्रमको औपचारिक उद्घाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले पानसमा दिप प्रजवल्लन गरि उदघाटन गरेका थिए । समिक्षा तथा अन्तरकृया कार्यक्रममा संस्थाको शाखा प्रमुखहरु, सहायक कर्मचारीहरु विभागीय प्रमुखहरु बिजय घिमिरे र सिताराम पंडित सहित ५६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । समिक्षा कार्यक्रममा शाखा कार्यालयहरुको चालु आर्थिक वर्षको अर्धवार्षिक कार्यक्रम तथा बजेट अनुसार लक्ष्यको तुल्नामा प्रगतीको समिक्षा साथै शाखा कार्यालयहरुको समस्या तथा चुनौति र भावी रणनीतिको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले अगामी दिनमा सबै शाखा कार्यालयहरुलाई लक्ष्य अनुसारको प्रगति हासिल गर्न शुभकामना दिएका छन् ।
बागलुङकाे एउटै मन्दिरमा १४ करोडको पूर्वाधार
गलकोट । धार्मिक गन्तव्यका रुपमा विकास भएको बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्री रगवेंकटेश मुक्तिनारायण मन्दिरमा रु १४ करोड बराबरको पूर्वाधार निर्माण गरिएको छ । मन्दिर परिसरमा पछिल्लो १० वर्षमा लिच्छिविकालीन प्यागोडा शैलीमा आकर्षक तिरुपती बालाजिधाम मन्दिर निर्माण गरिएको छ । भू–गर्भभित्र ७६ मिटर लामो शालिग्राम सङ्ग्रहालय, गरुड स्तम्भ तथा ताम्रा पत्रले छाएको सभाहल निर्माण, मुक्तिनाथ वेदविद्याश्रम, आवास, शौचालय लगायतको दर्जनौँ संरचना अहिले तयार छन् । केही संरचना अब निर्माणको अन्तिम चरणमा छन् । शून्यताबाट शुरु भएको अभियानमा सरकारीस्तरबाट रु तीन करोड र अरु दाताबाट स्वतःस्फूर्त प्राप्त सहयोगबाट यति बृहत्तर संरचना निर्माण गर्न सफल भएको श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिरका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिए । करिब २० रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा शुरुमा एक मन्दिर, एक सभाहल र मुक्तिनाथ वेद विद्याश्रम मात्र थिए । श्रीधराचार्यले तपस्या गरेको स्थानमा २०४० सालमा मन्दिर स्थापना भएको थियो । मन्दिर धार्मिक तथा पर्यटकीय हिसावले महत्वपूूर्ण मानिँदै आएको छ । पछिल्लो समय श्रीधराचार्यको नाममा झण्डै रु छ करोड खर्च गरेर निर्माण गरिएको शालिग्राम सङ्ग्रहालय हेर्न आउने पर्यटक बढ्का छन् । शनिबार १०० देखि २०० हाराहारी शालिग्राम सङ्ग्रहालय तथा कलात्मक शैलीमा निर्माण गरिएको बालाजीधामको मन्दिर हेर्न आउने गरेको प्रपन्नाचार्यले जानकारी दिए । रु पाँच करोडको लागतमा श्रीराम लेखेको ढुङ्गा तथा कलात्मक काठबाट नौ वर्ष लगाएर बालाजीधामको मन्दिर निर्माण गरिएको छ । जहाँ १०० किलोग्रामको शालिग्राम राखेर पूजा आरधना गरिँदै आइएको छ । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलाको संरक्षणको लागि सङ्ग्रहालय निर्माण गरिएको हो । “हामीले पछिल्लो १० वर्षमा रु १४ करोडको संरचना तयार पारेका छौँ”, प्रपन्नाचार्यले भने, “जसमध्ये नेपाल सरकारका विभिन्न तहमार्फत रु तीन करोड सहयोग भएको छ अन्य दाताकै भरमा संरचना निर्माण गरेका छाैं, पछि फर्किएर हेर्दा हामी दङ्ग पर्ने गरेका छौँ ।” मन्दिर परिसरमा अत्यन्तै कलात्मक तरिकाले ताम्रापत्रले छाएको २०० भक्तजन क्षमताको सभाहल निर्माण भएको छ । बागलुङका समाजसेवी सहदेव राजभण्डारीका परिवारले रु एक करोड ५० लाख खर्चेर निर्माण गर्नुभएको थियो । सभाहल छेउमै १५ लाख रुपैयाँको लागतमा २५ फिट अग्लो गरुढ स्तम्भ निर्माण गरिएको छ । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यहाँ सवा लाख शालिग्राम, दामोदर कुण्डदेखि त्रिवेणीधाम सम्मको कालीगण्डकी सभ्यताको नमूना चित्रणसमेत गरिएको छ । “कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम चोरी पैठारी हुँदा भविष्यमा यो हराउँदै जाने भन्दै संरक्षण गरिएको हो”, प्रपन्नाचार्यले भने, “सबैको सहयोगले यस्तो पवित्र कार्य सम्पन्न भएको छ ।” हिन्दू धर्मालम्बीका लागि कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) शालिग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । वैष्णव र सनातनीले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन् । सङ्ग्रहालय नामकरण गरिएका स्वामी श्रीधरचार्य शालिग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणका एक अभियन्ता मानिन्छन् । उनको २०५६ सालमा ३९ वर्षको अल्पायुमै निधन भएको थियो । आचार्यका मुक्तिक्षेत्र महात्माय, शालग्राम महात्माय, गोदा सप्तरीलगायत दुई दर्जन बढी कृति प्रकाशित छन् । रासस