छ महिनादेखि भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

परासी । छ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो । आफ्ना छोरीलाई बन्धक बनाई राखिएकाले उद्धार गरिदिनु भन्ने युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान पनि चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। ‘युवती लैजाने राई थरकी महिला र अन्य संलग्नहरुको खोजी भइरहेको छ’, उनले भने । उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदीबहिनी हुन् । एक महिलाले पसलमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारी भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिने, अर्केष्ट्रामा नाच्न लगाउने र घरमा आउनसमेत नदिएपछि उनीहरुले घरमा खबर गरेको युवतीकी आमाले बताए । रासस

आज महाशिवरात्रि पर्वः पशुपति लगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडाैं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । पूजा आराधना गर्दा महादेव छिट्टै प्रसन्न हुने भएकाले आशुतोषसमेत भनिन्छ । यसैले आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । पशुपतिका चार ढोका तीन बजे नै खुल्यो पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिए । पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उनले सुनाए । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले बताए । यसैगरी, तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको थियो । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी, राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिनमात्र यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ । दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताएका छन् । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । यसपटक नेपाल भ्रमण वर्षको अवसर समेत परेकाले पशुपति क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ । लाखौँ भक्तजनलाई पशुपति क्षेत्रको भ्रमण गराउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत ११ उपसमिति पनि गठन गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । ११ वटै उपसमितिको सक्रियतामा आज रातभर पनि भक्तजनले पशुपतिनाथको पूजा आराधना एवं दर्शन गर्न सक्ने गरी व्यवस्थापन मिलाइएको छ । रासस

गायक भुवन प्यासीको ‘तिमी आऊ न बुद्ध’ गीत सार्वजनिक

चितवन । गायक भुवन प्यासीको स्वरमा ‘तिमी आऊ न बुद्ध’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । समय अनुकूलका गीत बजारमा ल्याउँदै दर्शक र श्रोता दुवैको मन जितेका उनले यो पटक देशभक्ति गीत लिएर आएका हुन् । आफ्नै अफिसियल युटुबमार्फत उनले सुशीलराज रेग्मीको शब्द तथा अर्जुन पोखरेलको एरेन्ज र राजेन्द्र बजगाईको संगीतमा गीत बजारमा ल्याएका हुन् । धुम्सीको गुम्बा परिसरमा जीवन शाहीको निर्देशन तथा आफ्नो अभियानसँग उनलाई अवि खनाल र समृद्धि पौडेलले साथ दिएका छन् । नवीन निरौलाले सम्पादन गरेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीतमा गौतम बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने सन्देश फैलाइएको छ। यसअघि फरक शैलीको गीत ‘हे बरै’ को भिडियो सार्वजनिक भएको थियो । विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र याप मिसाउँदै ‘हे बरै’ को गीत बजारमा लिएर आएका थिए । केही समय अघि ‘माइली’ गीत लिएर आएका गायक भुवन प्यासीको ‘हल्का हल्का ट्राफिक जाम’ जस्ता सफल गीतहरू बजारमा लिएर आइसकेका छन्।