‘दोस्रो टोखा महोत्सव’ फागुन २३ गतेदेखि
काठमाडाैं । धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–२ र ३ टोखा बजारमा फागुन २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाभित्रको धार्मिक, ऐतिहासिक, पौराणिक, संस्कृतिलाई आम जनतामाझ परिचित गराउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । मेलामा स्थानीय कला, संस्कृति, झाँकी, स्थानीय नेवारी खानाको प्रदर्शन गरिनेछ उनले भने । नेवाः गुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा टोखा नगरपालिकामा रहेका सांस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष२०२०’ लाई सफल पार्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेको छ । महोत्सवमा पाँच लाखले अवलोकन गर्ने लक्ष्य राखिएको छ । रासस
भक्तपुरमा अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता हुँदै
मध्यपुरथिमि । भक्तपुर नगरपालिकाले यही फागुन ८ गतेदेखि १२ गतेसम्म अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा १६ वटा नगरपालिकाले भाग लिने र प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । अन्तरनगर एथ्लेटिक्स प्रतियोगितामा घोराही उपमहानगरपालिका, ललितपुर महानगरपालिका, चाँगुनारायण नगरपालिका, रामेछाप नगरपालिका, कीर्तिपुर नगरपालिका, शङ्खरापुर नगरपालिका, मनोहरा कागेश्वरी नगरपालिका, मध्यपुरथिमि नगरपालिका, चौडण्डीगढी नगरपालिका रहेका छन् । त्यसैगरी, टाेखा नगरपालिका, भक्तपुर नगरपालिका, साँगाचोक चौतारागढी नगरपालिका, मन्थली नगरपालिका, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र विदुर नगरपालिको सहभागिता रहनेछ । प्रतियोगितामा फिल्ड इभेन्ट्सअन्तर्गत सटपुट, लङ जम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइ जम्प, ट्रिपल जम्प र ट्रयाक इभेन्ट्सअन्तर्गत १०० मिटर, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, १०००० मि, ४२.१९५ किमी (म्याराथुन), २१.०९ किमी (हाफ म्याराथुन) खेल समावेश छन् । त्यस्तै, फिल्ड इभेन्ट्समा प्रथम हुनेलाई रु पाँच हजार, दोस्रो हुनेलाई तीन हजार, तेस्रो हुनेलाई रु दुई हजार, ट्रयाकतर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रो हुनेलाई रु तीन हजार, तेस्रो रु दुई हजार नगद पुरस्कार दिनेछ । म्याराथुनमा प्रथम हुनेलाई रु ३० हजार, दोस्रो हुनेलाई रु २० हजार तेस्रो हुनेलाई रु १० हजार, हाफ म्याराथुनमा प्रथम हुनेलाई रु. ३० हजार, दोस्रो हुनेलाई रु २० हजार, तेस्रो हुनेलाई रु १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको रु ३० लाख खर्च हुने अनुमान गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।
गायक प्रमोद खरेलको स्वरमा ‘धोकेबाज’ गीत सार्वजनिक
काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । दिपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शान थापको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।