आज लिग चरणको अन्तिम खेल हुँदै, प्रतिष्ठाका लागि कर्णाली र जनकपुर भिड्ने

काठमाडौं । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपरान्ह ३:३० बजे हुने खेलमा कर्णाली याक्स र साबिक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । ६ खेलबाट समान २ अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले  इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् ।      स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटाक मोटरसाइकल दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।      अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ । दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।      दुघटनास्थलमा रहेका पत्रकार आशीष ठकुरीअनुसार दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौंतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ । रासस

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ । उक्त कार्यदलमा डा वाग्लेसँगै केन्द्रीय सदस्यहरू डा अरनिको पाँडे, डा नन्दन यादव र क्रान्तिशिखा धिताल छन् । योसँगै रास्वपाले निर्वाचनलक्षित गतिविधि पनि तीव्र बनाएको छ । रास्वपाले निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधिसँगै प्रचारप्रसारलाई थप सक्रिय बनाएको हो । पार्टीले हाल अधिवेशन, सङ्गठन विस्तार र समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दिन आह्वान गरिरहेको छ । सोही क्रममा प्रारम्भिक निर्वाचनका गतिविधि व्यवस्थापनका लागि अडिट समितिले काम सुरु गरेको रास्वपाले जनाएको छ । समितिले उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण पक्षलाई तथ्यपरक रूपमा मूल्याङ्कन गर्ने जनाएको छ । आगामी निर्वाचन केन्द्रित प्रशिक्षणका लागि केन्द्रीय प्रशिक्षण विभागले अनलाइन तालिमका माध्यमबाट कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला भेला, पूर्वउम्मेदवारहरूसँग छलफल र सङ्गठन सुदृढीकरणका कार्यक्रम पनि अघि बढाइएको प्रवक्ता झाले जानकारी दिए । निर्वाचन तयारीलाई व्यवस्थित बनाउन रास्वपाले राजनीतिक अध्ययन कार्यदल, निर्वाचन रणनीति कार्यदल र सञ्चारमाध्यम अध्ययन कार्यदल गठन गरेको छ । यी कार्यदलले नीति विश्लेषणदेखि रणनीति निर्माणसम्मको कार्य गर्ने जनाइएको छ ।