एक करोडभन्दा बढी खानेपानीको बक्यौता असुल्न बाँकी, पानीकाे महशुल नतिर्ने कसकाे कति ?
राजविराज । सप्तरीस्थित खानेपानी डिभिजन कार्यालयले रु एक करोडभन्दा बढी बक्यौता असुल गर्न बाँकी रहेको जनाएको छ । करिब ५६ वर्ष अघि स्थापना भएको उक्त कार्यालयमा ग्राहकले लामो सयमदेखि प्रयोग गरेको पानीको महशुल नर्तिदा रु एक करोड २१ लाख ८६ हजार २१७ बक्यौता असुल्न बाँकी रहेको सूचना अधिकारी प्रकाशचन्द्र गुप्ताले बताएका छन् । कार्यालयका लेखा प्रमुख अजयबडियैत यादवका अनुसार लामो समयदेखि महशुल उठाउन बाँकी रहेका ग्राहकमध्ये राजविराज नगरपालिका–८ निवासी बिमला अर्यालकोे रु ७९ हजार, ८४०, बद्रीनारायण यादवको रू ७९ हजार ७४५, उदायबहादुर पाण्डेको रू ६२ हजार ५९०, अनिता भगतको २२ हजार ३५० र वडा नं ४ का राधादेवी साहको ३२ हजार ३५० रहेकाे छ । चार लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीबाट नगरपालिकाभित्र दुई हजार छ सय ग्राहकको घरमा पाइप जडान गरिएको छ तर पुरानो नक्साअनुसार बनाइएको पुरानो राजविराज नगरपालिका शहरमा नयाँ संरचनाअनुसार क्षेत्रफल बढेकाले एउटा ट्याङकीबाट सबै ग्राहकलाई समेटन नसक्ने सरोकारवालाको भनाइ छ । अहिले राजविराज नगर क्षेत्रभित्र खानेपानी कार्यालयले बिहान एकदेखि डेढ घण्टा र साँझ एक घण्टा पानी दिने गर्दछ । राजविराज बजार क्षेत्रमा अधिकांश ठाउँमा पानी तान्ने ट्युबेलमासमेत आइरनयुक्त पानी आउनाले पनि यहाँका जनता शुद्ध पानी पिउनबाट बञ्चित रहेको राजविराज नगरपालिका–३ का बिन्दु चौधरीले बताए । रासस
२ अर्ब २१ करोडको लागतमा बृहत खानेपानी योजना निर्माण हुने, उपभोक्ताबाट जुट्यो १० करोड
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा २ अर्ब २१ करोडको लागतमा बृहत खानेपानी योजना निर्माण हुने भएकाे छ । सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजनाका लागि उपभोक्ताको लगानीसँगै उपभोक्तसँग ऋण सापटी गरी रु १० करोड १० लाख जुटेको हो । हालसम्म पाँचखालका ६० उपभोक्ताले सुनकोशी पाँचखाल बृहत खानेपानी उपभोक्ता समितिलाई रु दुई लाखका दरले ऋण सापटी पनि दिएका छन् । अन्य रकम उपभोक्ताबाट सङ्कलन गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिएका छन् । “आयोजनाको सम्झौताअनुसार उपभोक्ताले व्यहोर्नुपर्ने रकम जुट्दैछ”, लामिछानेले भने । उनका अनुसार उपभोक्ताले परियोजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख जम्मा गर्नुपर्ने शर्त छ । पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष लामिछानेले बताए । नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । खानेपानी आयोजनाको शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्तबीच गत भदौ १२ गते सो परियाजना सम्बन्धी सम्झौता भएको थियो । परियोजना तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । योजना शुरु गर्न बोलपत्र प्रक्रियामा रहेको अध्यक्ष लामिछानेले जानकारी दिएका छन् । “कात्तिक महिनाभित्र बोलपत्र भई काम शुरु हुन्छ”, उनले भने । शर्तअनुसार रकम जम्मा नभएपछि रु १८ हजार दिन नसक्ने उपभोक्तालाई स्थानीय सहकारीमा ऋणी बनाइएको छ । सहकारीमा ऋणी बनाइएका उपभोक्ताबाट रु एक करोड ४३ लाख रकम जुटेको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखाल क्षेत्रका करिब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाइएको हो । उपभोक्तासँग लिएको ऋण सापटी भने आउँदो तीन महिनाभित्र फिर्ता गर्ने उपभोक्ता समितिको योजना छ । सहकारीले पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई चलनचल्तीभन्दा न्यून व्याजदरमा ऋण दिलाएको नगरप्रमुख महेश खरेलले बताए । उनले भने, “आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नपा कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाइएको हो ।” यदि उपभोक्ताले एक वर्षसम्ममा पनि सहकारीको ऋण तिर्न नसके नपा कार्यालयले तिरिदिने उनले जानकारी दिए । सहकारीमा सदस्य भएकालाई सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर ऋण दिलाइएको हो । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानी व्यवस्थापन गर्न लागिएको छ । परियोजनाबाट पाँचखाल क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् । रासस
२० वर्षदेखि गिट्टी कुट्ने एकजोडीलाई आएन दशैं, महिना भरिको कमाइ ८ हजार रुपैयाँ
बझाङ । असोज २१ गते बिहानैदेखि महान पर्व दशैं मनाउन मानिसहरू घरमा अभ्यस्त थिए । कोही महान पर्व दशैंका टिका जमरा लगाउँदै, कोही दशैंको खुसियालीमा पिङ खेल्दै, कोही साथीभाइहरूसँग रमाइलो गर्दै त कोही वर्षौंदेखि भेटघाट नभएका आफन्तजनहरूसँग भोलाकुसारी गर्दै दशैं मनाउन व्यस्त देखिन्थे । बिहानीको समय । सूर्यको किरणले पनि दशैं आएको गज्जवै सञ्चार गरिरहेको थियो । बझाङ चैनपुरका चारै तर्फका पहाडहरूबाट सूर्यको चमत्कारिक किरणहरूको आगवमनले दशैं आएको भान जोकोहीले पनि महशुस गरेको हुनुपर्छ । यहि माहोलमा बिहानै बाउली खोलाको छेउमा गिट्टी कुट्न एकोहोरो सुरमा थिए जलबिर नेपाली र उनकी श्रीमती बिमा नेपाली । दशैंलाई धेरैले मिठो–मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा पनि चिन्ने गरिन्छ । वर्षौंदेखि भेटघाट नभएका आफन्तजनहरूसँग मिलन गर्ने पर्व पनि हो दशैं । तर यहि दशैंको माहोलमा बिहानै सुनशान बाउली खोलाको किनारमा बृद्ध बिमल नेपालीको परिवारले गिट्टी कुटेको दृश्य देख्ने जोकोहीको पनि आँखा रसाएको अवश्य हुनु पर्छ । यहि दृश्यले पंक्तिकारलाई पनि यो विषयमा बुझ्न उनी तर्फ तान्यो । दशैंको दिन पनि गिट्टी कुट्दै ? दशैं मनाउनु भएन ? बिमल नेपालीलाई पंक्तिकारको पहिलो जिज्ञासा थियो यो । पंक्तिकारको पहिलो जिज्ञासा सकिन नपाउँदै बिमा नेपाली बोलिन् – जसको कुनै आफन्त नै छैनन्, जोसँग एक छाक टार्न गाँस छैन, उसलाई के को दशैं ? प्रश्नमा प्रतिप्रश्न गर्दै पंक्तिकारलाई उनले भावविभोर बनाईन् । ‘विगत ३० वर्षदेखि राम्रोसँग चाँडवाड मनाउन पाएका छैनौं’ बिमलले भने, गिट्टी कुट्न शुरु गरेको पनि ३० वर्ष भयो ।’ घर रोल्पा हो, उनले थपे, संकटकालमा धेरै दु.ख पाएर भाग्दै बझाङसम्म पुगियो ३० वर्षदेखि नै गिट्टी कुट्दैछौं ।’ ‘पहिले आफन्त थिए, मिलेर दशैं मनाउन्थ्यौं’, बिमाले भनिन् – अहिले साथमा न छोराछोरी छन्, बुढो भइयो, साहारा दिने कोहि छैनन्, नदीको छेउमा बसेर गिट्टी कुट्नुको विकल्प छैन ।’ जन्मेका सबै बच्चाहरू मरे अन्तिममा एक छोरा र एक छोरी बाँचेका थिए । छोरी बिहे गरेर गई । २० वर्षको छोरा भने कहाँ छ कुन ठाउँ छ अत्तोपत्तो छैन उनले भनिन् । मासिक आठ हजार कमाइ दुवै जनाले दिनभरी गिट्टी कुटेर मासिक आठ हजार रुपैयाँ आम्दानी गर्ने गरेको बिमलले बताए । उमेरले ८६ वर्ष भएको बताउने उनी पेट पाल्नकै लागि भएपनि सकिनसकि काम गर्नु परेकोे सुनाए । उनी र उनकी श्रीमती हाल चैनपुरमै मासिक दुई हजार कोठा भाडा तिरेर बस्दै आएको छ । बिमलका दुवै जना उमेरले बृद्ध भएपनि काम गर्ने जोश भने अझै जिवितै देखिन्छ । पहिले रोल्पा घर भएको बताउने उनीहरु बझाङका विभिन्न ठाउँमा बसेर मजदुरी गरेको बताउँछन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरूको जीवनमा विभिन्न समयमा विभिन्न समस्याहरु आउने गरेको छ । आर्थिक स्थिति नाजुक भएकै कारण दशैंले आफुलाई छुन नसकेको बिमलले भावविभोर हुँदै बताए । दुईजनाले दिनभर गरेर दुई कट्टा गिट्टी कुट्ने उनले बताए । ‘महिनाको दुई ट्राली गिट्टी कुट्छौं’ उनले भने, एक ट्रालीको चार हजार रुपैयाँ मूल्यमा विक्रि हुन्छ, दुई ट्राली मिलाएर मासिक आठ हजार रुपैयाँ कमाइ हुन्छ ।’ कहिले काहीँ त गिट्टी विक्रि नहुँदा छाक टार्न पनि समस्या हुने गरेको बिमाले बताइन् । २० वर्षदेखि बाउली खोलामै गिट्टी कुट्दैछौं बिमाले भनिन्– अब त बाउली खोला नै आफन्त जस्तो भइसकेको छ । यसैको किनारमा बस्न मन पर्छ । हुनपनि यसको किनारमा बस्न वाहेक अन्य विकल्प छैन उनले भनिन् । ‘२० वर्ष यो नदिमै बितायौं’ अलि निराश भावमा बिमा भन्छिन्न् ‘उहाँ ८६ वर्षको भइसक्नु भो, मेरो उमेर ६३ वर्ष भयो, अझै काम गरी रहेका छौं । मरेको दिन यसै नदिले बगाएर लैजान्छ ।’ बिहानै बाउलीखोला गएर दिनभरी गिट्टी कुटेर राती अबेर चैनपुर डेरामा फर्किनु यी दुई दम्पतीकोे दैनिकी बनेको छ । बृद्ध अवस्थामा पुगिसक्दा समेत केही गर्नुपर्छ भनेर रातदिन काममै लागि रहने बिमलका परिवार सबैका लागि उदाहरणका पात्र समेत बनेका छन् ।