ताइवानी संस्थाद्वारा नेपाललाई दुई हजार थान ह्वीलचियर निःशुल्क वितरण

काठमाडौं । ताइवानका विभिन्न संस्थाले नेपाललाई अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलमा सहयोग पुर्याउने उद्देश्यले उच्च गुणस्तरका दुई हजार थान ह्वीलचियर प्रदान गरेका छन् । प्रतिथान करिब रु पाँच हजार ६०० पर्ने उक्त उच्च गुणस्तरका ह्वीलचियर २०० थान काठमाडौँ आइपुगेका र सोमबार नै १८० थान विभिन्न जिल्लामा निःशुल्क वितरण गरिएको हो । सो संस्थाले हाल नेपालमा ३० चिकित्सक तथा ९० स्वयंसेवकद्वारा सहयोग गर्दै आएको छ । ताइवानको चाओ झोँग झी फाउण्डेशन ताइपेइले गरेको कार्यक्रममा सात अशक्त व्यक्तिलाई प्रतिनिधिमूलक रुपमा ह्वीलचियर वितरण गरिएको हो । फाउण्डेशनका संस्थापक अध्यक्ष चाओ झोँग झीले आफ्नो संस्थाले विश्वका विभिन्न मुलुकमा स्वास्थ्य सेवासहित अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गर्दै आएको जानकारी दिँदै नेपालजस्तो गरिब मुलुकका जनता ह्वीलचियरको अभावमा पीडा भोगिरहेकाले यसले केही भए पनि राहत पुग्ने बताएका छन् । उनले नेपाल र ताइवानबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै फाउण्डेशनको सानो सहयोगबाट यो मैत्री जनस्तरमा थप विस्तार भएको बताए । ताइपेइ रोटरी क्लब ३५२३ का डिष्ट्रिक्ट गभर्नर जोयले नेपाल र ताइवानबीचको सहयोगको आदान–प्रदानबाट दुई मुलुकबीचको घनिष्ट सम्बन्ध बढेको समेत जानकारी दिएका छन् । रोटरी क्लब अफ नेपालका डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले ताइवानले नेपाललाई दिएको ह्वीलचियर सहयोग महत्वपूर्ण रहेको चर्चा गर्दै यसबाट हजारौँ लाभान्वित हुने बताएका छन् । रासस

२३ राष्ट्रका युवा वैज्ञानिकलाई पछि पार्दै नेपालीले जिते स्वर्ण पदक

काठमाडौँ । रुसमा सम्पन्न आठौं एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्ड सहित तीन पदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकहरुले पदक जितेका हुन् । नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विधार्थी मध्ये साउथवेस्र्टन स्टेट कलेज बसुन्धराका बिधार्थी स्वराजसागर प्रधानले गोल्ड मेडल जितेका छन् । प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदक जितेका हुन् । प्रधानले युज अफ माइक्रो स्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस बिषयमा आफ्नो प्रस्तुती दिएका थिए । यस्तै, अस्मिता स्कुलकी दिक्षा सञ्जेल र काठमाण्डौं मोडेल कलेजका ऋषीकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् । अक्टोबर १४ देखि १९ सम्म आठौं एशिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजना भएको थियो । नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली बिधार्थीले प्रस्तुती दिएका थिए । गत महिना नेपाल पोलिमर इन्ष्टिच्यूटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विद्यामा उत्कृष्ट विधार्थीलाई उक्त सम्मेलनमा पठाइएको थियो । सम्मेलनमा विश्वभरका २३ राष्ट्रका युवा वैज्ञानिकहरुले प्रतिस्पर्धा गरेका थिए । सम्मेलनबाट नेपाली वैज्ञानिकको टोली सोमबार स्वदेश फर्किएको छ ।

‘गरिमा’ जातकाे धान नफलेपछि पीडित किसानको लगत सङ्कलन गर्दै प्रदेश सरकार

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा लगाइएको ‘गरिमा धान’ नफलेर पीडित बनेका किसानको लगत सङ्कलन गरिरहेको छ । गरिमा जातको धान लगाएका किसानले धानमा बाला नै नआएपछि यहाँका किसान समस्यामा परेका बेला कञ्चनपुरबाट प्रदेशसभा सदस्यसहित किसानहरुको टोलीले धनगढी पुगेर मुख्यमन्त्री र कृषिमन्त्रीसित भेट गरेको हो । भेटका क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरिमा जातको धानबाट कैलाली र कञ्चनपुरका किसानहरु समस्यामा परेको भन्दै अहिले प्रदेश सरकारले क्षतिको लगत सङ्कलन गरिरहेको बताएका छन् । “पहिलो चरणमा हामी किसानलाई समस्यामा पार्ने धानको बीउबिजन वितरण गर्ने कम्पनीलाई कारबाही गर्छौँ ।” मुख्यमन्त्री भट्टको भनाइ उद्यृत गर्दै कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य लालबहादुर खड्काले भने, “हामीले पनि किसानलाई क्षतिपूर्ति माग गरेका छौँ ।” आइतबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ क्षेत्रमा लगाइएको गरिमा धानको स्थलगत अनुगमनपछि प्रदेशसभा सदस्य लालबहादुर खड्का र कुलबीर चौधरीसहित किसानको टोली प्रदेश सरकारमा मागसहित पुगेको टोलीमा सहभागी धनबहादुर कुस्मीले बताए । त्यसैगरी प्रदेशसभा सदस्यहरुको टोलीले उक्त विषयलाई लिएर सुदूरपश्चिम प्रदेश भूमि व्यवस्थापन तथा सहकारीमन्त्री बिनिता चौधरीसित पनि भेट गरेको छ । मन्त्री चौधरीले पनि मन्त्रालय उक्त समस्याप्रति गम्भीर रहेको भन्दै क्षतिको विवरण सङ्कलन गरेर अघि बढ्ने बताएको कुस्मीको भनाइ थियो । मन्त्री उक्त गरिमा जातको धानको प्रयोगशाला परीक्षण भइरहेको बताउँदै भने मन्त्रालयले पनि विभिन्न विज्ञसहितको टोली स्थलगत अनुगमनमा खटाएको छ । मन्त्री चौधरीले कैलाली र कञ्चनपुरमा उत्पादन भएको खाद्यान्न सात पहाडी जिल्लामा पुर्याउन सकिएको बताउँदै धान नफल्दा प्रदेश सरकारलाई पनि घाटा हुने बताए। यस वर्ष कञ्चनपुर र कैलाली गरी ९६८ किसानहरुले यहाँ करिब २७२ हेक्टर क्षेत्रफलमा गरिमा जातको धान लगाएकोमा अहिलेसम्म बालासमेत आएको छैन । “किसानहरुले धेरै फल्छ भनेर झन् महङ्गोमा बीउ खरिद गरेर गरिमा धान लगाएका रहेछन्”, सुदूरपश्चिम प्रदेशसभाका सदस्य लालबहादुर खड्काले भने, “धान अहिलेसम्म पसाएको छैन, अरू जातको धान किसानले भित्र्याइसके ।” यता कृषि ज्ञान केन्द्र कञ्चनपुरले यस वर्ष कञ्चनपुर र कैलालीमा २५ प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान गरेको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले जानकारी दिए । गत वर्ष कञ्चनपुरमा एक लाख ५० हजार २८ मेट्रिक टन र कैलालीमा तीन लाख ५९ हजार ८०० मेट्रिक टन धान उत्पादन भएको थियो । रासस