सिराहाका बाढी प्रभावितलाई आइएमई फाउन्डेसनद्वारा राहात वितरण
काठमाडौं । असारको अन्तिम साताआएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ । दैनिक उपभोगका लागि आवश्यक पर्ने सामाग्री सहितको एक-एक प्याकेट बाढी प्रभावित उक्त क्षेत्रका कूल एक सय घरमा वितरण गरिएको हो । स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा गरिएको राहात सामाग्री वितरण कार्यक्रममा आइएमई ग्रुपमा कार्यरत स्थानीय प्रतिनिधिहरू एवम् व्यवसायिक साझेदारहरू समेतको उपस्थिति रहेको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान दिँदै आएको यस फाउन्डेसनले प्राकृतिक विपत्तीबाट प्रभावितहरूको पुर्नस्थापनामा विशेष योगदान पुर्याउँदै आएको छ ।
नेपाल कतारसँग ४ विकेटले पराजित
काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले कतारलाई जीतका लागि १२३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा कतारले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । यसरी, कतारको जीतमा इनाम उल हकले सर्वाधिक ४१ रन बनाए भने कम्रान खानले २२, जाहिर इब्राहिमले १२ तथा मुहमद तानभिरले ११ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको साझेदारी गरे तापनि त्यो जितका लागि पर्याप्त भएन । कप्तान खड्काले व्यक्तिगत २८ बनाउँदा उपकप्तान मल्लले २३ रन जोडे । यस्तै, सोमपाल कामीले ११ सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे । कतारका इकबाल हुसेनले ३ विकेट लिए भने तमोर साजाद र नुमान सर्वारले दुई/दुई विकेट लिए । इनवाल हुसेनको नाममा भने एक विकेट रह्यो । अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ । यसखेलसँगै दुई खेल खेलेको कतारको यो पहिलो जीत हो । हिजो भएको पहिलो खेलमा कतार सिङ्गापुरसँग ३३ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनौटमा सहभागिता जनाउनेछन् । रासस
साउन महिनामा हरियो चुरा किन लाउने र माछामासु/मदिरा किन नखाने ?
काठमाडौं । साउन महिनामा धेरै युवती(महिला)हरुले हरियो चुरा, पोते र हरियो पहिरन लगाउने गरेका छन् । चुरा र लत्ता कपडाका पसलहरुमा जाने युवतीहरु रोजाई हरियो रंग कै सामाग्रीमा हुने गरेको छ । एकातिर हरिया चुरा, पोते र हरिया पहिरनको ब्यापार बढेको छ भने युवा(पुरुष)हरुले भने साउन १ गतेदेखि माछामासु र मदिरा सेवा १ महिनाका लागि छाडेका छन् । यसरी हेर्दा साउन महिनामा माछामासु र मदिराको ब्यापार भने केही खस्किएको ब्यापारीहरु बताउँछन् । साउन महिनामा हरिया चुरा र पहिरन लगाउने अनि मदिरा र माछामासु नखाने नेपाली संस्कृति हो कि नक्कल ? कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष धर्मसंस्कृतिका जानकार चैतन्य कृष्ण भन्छन्–‘साउन महिनामा हरियो रंगका कपडा, चुरा तथा पोते लगाउनु पर्छ भन्ने कुरा कुनै पनि धर्मशास्त्रमा समावेश छैन ।’ उनका अनुसार भारतबाट आएको संस्कृतिलाई नेपालीले पछ्याएका हुन् । धर्मसंस्कृतिका जानकार चैतन्य कृष्णका अनुसार करिब ३५ हजार वर्ष पुरानो जंगली युगबाट हाल आधुनिक सभ्यता आइपुगेका हौँ । धर्म, संस्कृति, रितिरिवाज, परम्परा आदीको विकास तथा विस्तार करिब ७ हजार वर्षदेखि शुरु भएको हो । धातु, सुनचाँदीका गरगहना लगाउने चलन प्राचीन कालदेखि चल्दै आएको हो । तर, चुरा, पोते र हरियो कपडाको चर्चा त्यो समयमा थिएन्–चैतन्य कृष्णले भने । यस्तो छ चुराको इतिहास चुरा लगाउने प्रचलन इजिप्टबाट सुरु भएपनि नेपालमा भने भारतीय संस्कृति र बजारबाट प्रवेश गरेको पाइन्छ । धार्मिक ग्रन्थ अनुसार हरियो चुरा लगाउनु पर्ने र यसको महत्व खासै बर्णन भएको देखिदैन । साउन महिनामा भगवान शिवको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, समृद्धि, शान्ती, धन, विद्या आर्जन हुने विश्वास वैदिक शास्त्रमा वर्णन गरिएको छ । शिवको आरधना गर्दा साउनको सोमबार जल, दूध, भाङ्, धतुरो चढाउने वैदिक परम्परा रहेकामा हाल हरियो जुरा र हरियो वस्त्र लगाएर शिवजीको ध्यान गरे विवाहित महिलाहरुले आफ्नो पतिको आयु बढ्ने र अविवाहित महिला आफुले खोजेजस्तो पति पाइने भन्ने जनविश्वास रहेको छ । हिन्दु संस्कृतिमा हरियो चुराको यर्थाथ महत्व नबुझी टोल, छिमेकीको वातावरणको प्रभावले गर्दा देखासिकीलाई अंगालेको धर्मसंस्कृतिका जानकारहरुको भनाई छ । युवा पुस्ताले हरियो रंगलाई प्रेम र वातावरणको प्रतीक मानेका छन् । त्यसैकारण हरियो लुगा लगाएसँगै प्रकृतिको सम्मान गरेको भन्ने भनाई पनि रहेको छ । हरियो रंग भित्र प्रकृतिको सम्मानका साथै प्रेम झल्कन्छ भन्ने बुझाई छ । मासु र मदिरा किन नखाने ? बैशाख, साउन, माघ महिनालाई विशेष गरी धार्मिक महिनाको रुपमा लिइन्छ । पशुपन्छीको हत्या गर्नु पर्छ कुनै पनि धर्मशास्त्रमा छैन् । जसका कारण माछामासु खाने कुरालाई हिन्दु धर्म अनुसार राम्रो मानिदैन । साउन महिनामा धेरै महिला पुरुषहरुले मासु नखाने र मदिरापनि नपिउने गरेको भेटिएको छ । युवा उद्यमी प्रतापजंग पाण्डेले आफु साउन महिना भर मादक पदार्थ सेवन नगर्ने बताए । त्यस्तै आइएमई ग्रुपका राजु पौडेलले पनि आफुले साउन महिना माछामासु तथा मादक पदार्थ नखाने बताए ।