यातायात व्यवसायीको लगानी डुब्न दिदैनौँः मन्त्री महासेठ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीहरुको लगानी डुब्न नदिने बताए । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले भने–‘यातायात क्षेत्रलाई सरकारको सधैँ साथ सहयोग रहन्छ ।’ उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले आफूहरु रुपान्तरित भएर कम्पनीमा आइसकेको बताए । अध्यक्ष कर्माचार्यले सरकारबाट थप सहयोगको अपेक्षा गरेको र सबै यातायात व्यवसायीहरु कम्पनीमा जाने समेत वताए । त्यसैगरी सिप्रदी सिईओ राजनबाबु श्रेष्ठले नेपालको बाटो र भौगोलिक क्षेत्रलाई हेरेर मात्र आफ्नो कम्पनीले गाडी भित्र्याएको बताए । लोत्से सहकारी संस्थाका अध्यक्ष दीपक कुवँरले सरकारले बसपार्कलाई व्यवस्थित र सहज बनाउनु पर्नेमा जोड दिएका थिए ।
आज साउने सङ्क्रान्ति, महिनाभर शिवको पूजा
काठमाडौँ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दो आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।
कान्ति बाल अस्पतालमा पानी व्यवस्थापन प्रणाली जडान
काठमाडौं । बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली(रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि(ग्राउन्ड वाटर रिचार्ज) योजना कान्ति बाल अस्पताललाई हस्तान्तरण गरिएको छ । स्मार्ट पानी प्रालिले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई कान्ति बाल अस्पतालमा हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रम असार मंगलबार कान्ति बाल अस्पतालमा भएको हो । योजना हस्तान्तरण कार्यक्रममा कान्ति बाल अस्पतालका तर्फबाट डा. गणेशकुमार राई, स्मार्ट पानीका तर्फबाटसुमन शाक्य र बोटलर्स नेपाल लि.का तर्फबाट प्रदीप पाण्डेको उपस्थिति रहेको थियो ।