मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजबाट शुरु

जनकपुरधाम । मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरु भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ । तेह्र दिनसम्म मनाइने यस पर्वमा मैथिलपुत्री विभिन्न गीत गाउँदै श्रीमान्ले  ल्याए वा पठाएको फरिया, घोघट लगाएर सखीहरूसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रागात्मक धरातलमा उभ्याउने गर्छिन् । वर्षा ऋतुमा सर्पको भूमिमा आगमगन र विचरणले मानव जीवन त्रस्त हुनुले नाग–नागिन र प्रकृतिका प्रतीक हुने कारणबाट पनि प्रेरित यो पर्व मुख्यतः शिव, पार्वती तथा नाग–नागिनको पूजामा केन्द्रित रही मनाइने चलन छ । मौना पञ्चमीदेखि शुरु भई तृतीया तिथिका दिन समापन हुने यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिमा मनाइने गरिएको पाइन्छ । पर्वमा प्रत्येक दिन गौरी तथा नाग–नागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथा सुनाउने गरिन्छ । गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन् । वैदिक भावनानुकूल र सांस्कृतिक परम्परामा आधारित यो पर्वको उद्देश्य सुखी एवं दीर्घ दाम्पत्य जीवन भएको स्पष्ट गरेका छन्। प्राध्यापक डा. पशुपतिनाथ झाका अनुसार गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन मनकामना पूर्ण गर्ने देवी पनि हुन् । मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक आस्था पनि देखिन्छ । वाल्मीकि रामायणका अनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग भेट भएको थियो । पर्वमा कतिपय कथा शिव पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वाससमेत पाइन्छ । यो पर्व कहिलेदेखि शुरु गरिएको हो भन्न सकिने तथ्य नरहे पनि शिव पुराणको प्रसङ्गअनुसार मधुश्रावणी नामक नवविवाहिताले शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाउँदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिए । उनको सुझावअनुसार उनले व्रत गरेपछि पति निको भई स्वस्थ भए । त्यसै दिनदेखि प्रत्येक नवविवाहिताले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दे परम्परागत रूपमा मनाउँदै आएको बुझिन्छ । यस पर्वमा मौनापञ्चमी एवं विसहराको जन्म कथा, मनसा र मङ्गला गौरीको कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन, सतीको पवित्रताको कथा, शिवको पारिवारिक कथा, गङ्गा उत्पत्ति, गौरीको जन्म र कामहरूको कथा, गौरीको तपस्या, गौरी विवाहका जन्तीको कथा, कार्तिक र गणेशको जन्म, सन्ध्या र लीलीको विवाह, सुकन्या, बालवसन्त र गोसाउनीको कथा, राजाश्रीकर र गणेशद्वारा सुहाग मन्थनको कथा श्रवण गरिन्छ । पर्वको अन्तिम विधि टेमी विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । सामान्य अर्थमा यो विधि अव्यावहारिक, अन्धविश्वासी, रुढिवादी परम्परामा आधारित भएको देखिए पनि एउटा खास धार्मिक, सांस्कृतिक मान्यता प्रतीक मानिएको छ । सो विधि डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सकिने दुःख, कष्ट, पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याएको पाइन्छ । रासस

आज साउन महिनाको पहिलो सोमबार, शिवालयमा भक्तजनको भीड

काठमाडौँ । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । भक्तजन भने बिहान ३ः३० बजेदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका थिए । अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट-उमाकुण्ड-रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी-भुवनेश्वरी-शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवको महीना एवम् बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ । रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव ढकालले जानकारी दिए । विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन् । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ । गोकर्णेश्वरमा बालयन्त्रको दर्शन यसैगरी, राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भीड लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ । वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाइरहेका छन् । यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यतासमेत छ । नागेश्वरमा भक्तजनको भीड यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए । मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लागेको छ । बिहानैदेखि झरी परे पनि छाता ओढेर भक्तजन लाममा बसिरहेका छन् । रासस

सुगम पोखरेलको नयाँ गीत ‘लैजा हावा’ सार्बजनिक

 काठमाडौं। सदा वहार संगीत क्षेत्रमा आवद्ध गायक सुगम पोखरेलको लैजा हावा नामक गीत सार्वजनिक भएको छ । सुगम पोखरेलको स्वर र शैलेन्द्रमान प्रधान “बाबु”को संगीत संयोजन रहेको गीतमा प्रेम बिछोडमा तड्पिने प्रेमीहरुका भावना व्यक्त गरेका छन् । मोरङ बिराटचोक निवासी हाल कर्मभूमी अमेरिकामा रही विभिन्न ब्यबसायमा संलग्न, ब्यबसायी राजन भुजेलले “लैजा हावा” बोलको गीत दर्शक श्रोता माझ ल्याएका छन् । गीतको लय तथा संगीत राजन भुजेलको रहेको उक्त गीत शनिबार युट्युव मार्फत सार्वजनिक भएको हो । निर्देशक दिलिप समनको निर्देशन रहेको सो म्युजिक भिडियोमा अभिलाषा शर्मा र सागर थापालाई अभिनयमा देख्न सकिन्छ । भिडिया हेर्न क्लिक गर्नुहोस् ।