सावधानः वनको च्याउमा विष हुन्छ

चितवन । मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेलले जानकारी दिएका छन् । अहिले अस्पतालको सघन उपचार कक्षमा दुई जना बिरामी छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । वर्षा शुरु भएसँगै जङ्गलमा च्याउ उम्रने र त्यही च्याउ तरकारीको रूपमा प्रयोग गर्दा विषाक्त भई कतिपयको ज्यानै जाने पौडेलले बताए । अस्पतालको सघन उपचार कक्षमा यस्ता बिरामी लामो समय राख्नुपर्ने बाध्यता हुन्छ । अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी सबै च्याउ सामान्य नभएर विषालु हुने बताउँछन् । विशेषगरी वनको च्याउ बढी विषालु हुने र तिनमा विष देखिने गर्दछन् । त्यस्ता च्याउमा हरेक वर्ष हरेक समय फरक फरक विष देखिने गरेको अधिकारीको भनाइ छ । च्याउको जात सामान्यतया झट्ट हेर्दा उस्तै उस्तै हुने हुनाले कुन बढी विषालु हो र होइन भनेर मानिसलाई छुट्याउन कठिन हुने उनले बताए । जानकारीको अभावमा कुन च्याउ विषाक्त हो भनेर पहिचान गर्न नसक्दा समस्या देखिने गरेको छ । अधिकारीले भने, “यिनीहरुमा पहिले नै तयारी विष हुन्छ, ती कीटाणु होइनन् ।” यिनीहरुले सोझै शरीरको कलेजो, मिर्गौला र आन्द्रामा असर गरेर अचानक पखाला लाग्ने, बान्ता हुने, रक्तचाप घट्ने, पिसाब कमी भएर मिर्गौलाले काम नगर्ने, जण्डिस देखिने, मुटुको धड्कन कम हुनेजस्ता लक्षण देखिने उनको भनाइ छ । विषालु च्याउ खाएर अस्पताल आउने बिरामीमा विषलाई सिधै कम (न्यूट्रलाइज) गर्ने पदार्थ नहुने हुनाले उनीहरुलाई सहयोग गरेर जुन अङ्गमा असर छ त्यसलाई औषधि प्रयोग गरी जोगाउनुपर्ने उनले बताउँछन् । विष रोक्ने औषधि नहुने भएकाले त्यसले शरीरका कुन अङ्गलाई असर गरेको छ त्यही अङ्गको उपचार गर्नुपर्ने उनको भनाइ छ । अधिकारीले समाजमा यस्ता खालका च्याउहरु पखालेर, उमालेर खायो भने विष जान्छ भन्ने भ्रम रहेको भन्दै यस्तो भ्रमबाट मुक्त हुन सुझाव दिए । च्याउलाई उमाल्दैमा विष नजाने उनको भनाइ छ । पहिले हल्का हल्का विष लाग्यो भने अरु केहीले होला भन्ने सोचेर पुनः च्याउ खाने प्रचलन रहेको भन्दै यस्तो गर्न नहुने उनको सुझाव छ । अधिकारीले एउटै ढुसीमा पछि पनि विष कडा खालको बन्ने गरेको बताएका छन् । वनको च्याउ नचिनी नखान र थाहा नपाई खाइहालेमा तत्काल अस्पताल पुग्नुपर्ने अधिकारी बताउँछन् । उनका अनुसार च्याउ खाएको छ घण्टाभित्रमा अस्पताल आएमा ९० प्रतिशत बच्छन् भने दुई दिनपछि आउँदा ४० प्रतिशतलाई मात्र बचाउन सक्ने अधिकारीको भनाइ छ । जिल्लाको ग्रामीण क्षेत्र रहेको इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङले च्याउ खाएर बिरामी पर्ने अधिकांश ग्रामीण तथा दुर्गम भेगका हुने गरेको बताएकी छिन् । आर्थिक अभावका कारण दैनिक छाक टार्ने क्रममा पोषिलो खाना खोज्दै गर्दा च्याउलगायतका वनका कन्दमूल खान बाध्य हुने अवस्था रहेको छ । गुरुङले च्याउ किनेर मात्र खान अनुरोध गरिएको जानकारी दिए । उनले भुईंच्याउ खानै नहुने बताएका छन् । रासस

माछापुच्छ्रे बैंकद्धारा धनगढीमा राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले धनगढी उप-महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई रु. एक लाख एकाउन्न हजार एक सय एघार रुपैँयाको चेक राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि हस्तान्तरण गरेको छ । जेठ २३ गते आएको भीषण हावाहुरीका कारण धनगढी उप-महानगरपालिकाका १९ वटै वडाहरुमा करोडांैको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करिब ४,७२४ घरधुरीहरु प्रभावित भएका थिए । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरी ऐरले उक्त चेक धनगढी उप-महानगरपालिकाका मेयर नृपबहादुर वड तथा कार्यकारी प्रमुख नारायणप्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

एभरेष्ट बैंकद्वारा पोखरामा शवदाह गृह मेशीन स्थापना

काठमाडौं । एभरेष्ट बैंकले शान्तिघाट, पोखरामा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाह गृह प्रणाली स्थापना गरेको छ । यसले २५० केजीभन्दा बढी प्रति दाहसंस्कारका लागि प्रयोग हुने काठ जोगाउँछ र वन विनाशलाई नियन्त्रण गर्दछ । यस प्रणालीमा चिसो स्क्रबरको माध्यमबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपूर्ण वायू प्रदूषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नुअघि हटाउँछ र प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउने जनाइएको छ । यो मेशीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका उममेयर तथा सम्पूर्ण वडा अध्यक्षहरुको उस्थितिमा मेयर मान बहादुर जिसीलाई हस्तान्तरण गरिएको छ । निर्देशक तथा ईबीएल सीएसआर समितिका अध्यक्ष डा. बाल गोपाल बैद्य, ईबीएल सीएसआर समितिका सदस्य डा. गणेश गुरुङ तथा एभरेष्ट बैंकका डेपूटी जनरल म्यानेजर राजीव जैनले मेशीन हस्तान्तरण गरेका हुन् ।