पुनःनिर्माणले सिकारीटारका भूकम्पपीडितलाई बनायाे सुकुम्बासी
भक्तपुर । विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा ठूलै जनधनको क्षति भएको सिकारीटारका भूकम्पपीडितले पुनःनिर्माणले आफूहरुलाई सुकुम्बासी बनाएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले बिहीबार सूर्यविनायक नगरपालिका– ४ सिकारीटारमा आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका बासिन्दाले यस्तो गुनासो गरेका हुन् । स्थानीयबासी श्यामकुमार खड्काले भूकम्पपीडितका लागि अुनदानको पहिलो किस्ता वापत रु ५० हजार दिएर आफूलाई सुकुम्बासी बनाएको उल्लेख गर्दै भने, “त्यो रकमले घर भत्काउनै पुगेन, जमिन नबेची घर बनाउनै नसक्ने भइयो, यहाँका सबै मोही र तल्सीङका नाममा जग्गा छ, सरकारले तोकेको मापदण्डमा घर बनाउन सक्ने अवस्था नै छैन, जग्गा बेचौं, घर बनाउने ठाउँ छैन, घर बनाउ पैसा छैन, हामीलाई प्राधिकरणले सुकुम्बासी बनायो ।” अर्का स्थानीयवासी रवीन्द्र हाकजु श्रेष्ठले अनुदानको रु ५० हजारले त्यही घर टालटुल र मर्मत गर्न मै सकिएको बताए । उनले भने, “आफ्नो रैकर जग्गा हुने पनि सरकारले कित्ताकाट रोकेकाले बिक्री गरेर घर बनाउन पाएका छैनन्, आफ्नै जग्गा बिक्री गरेर घर बनाउनसमेत सरकारले रोक्यो, यो कस्तो न्याय हो ।” स्थानीयबासी सिर्जना हाकुजु श्रेष्ठले भूकम्पले घर भत्किएपछि अहिलेसम्म रेडक्रसले दिएको पालमुनि नै बस्दै आएको बताउँदै घर बनाउनै नसक्ने गरिब भूकम्पपीडितलाई सरकारले सहज राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । भूकम्पपीडित सन्तोषी श्रेष्ठ, कान्छी माया हाकजु, देवलाल राजथला, गङ्गालाल हाकजुलगायतले घर बनाउन नसकेर पीडित बनेको भूकम्पपीडितलाई रु ५० हजार पनि फिर्ता गर्नुपर्छ भनेर तर्साएको बताएका छन् । कार्यक्रममा सूर्यविनायक नगरपालिका– ४ का वडाध्यक्ष उत्तम थापाले नगरपालिकाको नक्साको मापदण्ड र अनिवार्य सडक हुनैपर्ने नियमका कारण धेरै भूकम्पपीडितले घर बनाउन नपाएको बताउँदै वडाले सिफारिश गरेर पठाएकालाई पनि नगरपालिकाले फर्काइदिनाले घर बन्न नसकेको धारणा व्यक्त गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इञ्जिनीयर हेरम्ब अधिकारीले लाभग्राही सूचीमा परेर प्रथम किस्ता लिनेले घर बनाउनैपर्ने बताएका छन् । उनले सडक मापदण्डमा परेको अवस्थामा अन्यत्र घर बनाउन सक्ने, आउँदो २१ गतेभित्र प्रथम किस्ता सम्झौता नगर्नेको नाम पीडितबाट स्वत हट्ने बताउँदै प्राधिकरणको मापदण्डभन्दा स्थानीय तहले बनाएको मापदण्डले भूकम्पपीडितलाई समस्या आएको बताउँछन् । उनले पूर्ण क्षतिको सूचीमा आएकाको आंशिक सूचीमा ल्याउन सकिने तर त्यो घर प्रबलीकरण गर्न मिल्छ भन्ने प्रमाणित प्राधिकरणले तोकेको इञ्जिनीयरले मात्रै गर्नसक्ने बताएका छन् । रासस
रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थाले पायो अनुमति, ३ अर्ब लाग्ने अनुमान
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो । यही जेठ १५ गते रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउण्डेशनले काम रोकेको थियो । रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्थानीयवासीसँग भएको विवादको टुङ्गो लागिसकेकाले फाउण्डेशनले काम अघि बढाउनुपर्ने बताए । रङ्गशाला निर्माणको काम शुरु भएसँगै आर्थिक सङ्कलनका लागि समितिले प्रक्रिया अगाडि बढाउने उनले बैठकमा जानकारी दिएका छन् । सो अवसरमा मानवअधिकार कानून तथा न्यायिक समितिका सभापति कृष्णभक्त पोखरेलले रङ्गशाला निर्माणका लागि चितवन एकताबद्ध भएको भन्दै फाउण्डेशनलाई काममा आउन आग्रह गरे । यहाँ निर्माण हुनलागेको रङ्गशाला महानगरको मात्रै नभएर समग्र जिल्लावासीको गौरवको आयोजना भएको भन्दै उनले सबैले मिलेर निर्माण सम्पन्न गर्न आवश्यक रहेको बताएका छन् । यसैगरी प्रदेश सदस्य घनश्याम दाहाल, विजय सुवेदी, कृष्ण भुर्तेललगायतले केही साना समस्या देखिए पनि अहिले वातावरण तयार भइसकेको भन्दै फाउण्डेशनलाई काममा फर्कन आग्रह गरे । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र बन्न लागेको रङ्गशाला देशकै गौरवको आयोजना भएकाले जिल्लावासी एक भएर लाग्नुको विकल्प नरहेको बताउँदै रङ्गशाला निर्माणका लागि वातावरण तयार भइसकेको र सुरक्षाको व्यवस्थासमेत गरिएकाले कामलाई नरोक्न उनले आग्रह गरेकी छन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वन र माडी नगरपालिका प्रमुख ठाकुर ढकालले इतिहासबाट सिक्दै भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्दित हुँदै रङ्गशाला निर्माणको काम गर्नु आवश्यक रहेको बताएका छन् । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण हुनलागेको रङ्गशालाका लागि जिल्लामा पाँच हजार एक सदस्यीय सहयोग समिति गठन गरिएको छ । यस्तै जिल्लाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, निजी क्षेत्रका व्यवसायी सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि रहेको ७२ सदस्यीय सचिवालय र १३ सदस्यीय आर्थिक सहयोग समिति गठन गरिएको सो अवसरमा जानकारी दिइएको थियो । जिल्ला समन्वय समिति वा महानगरमा यसको सचिवालय सञ्चालन गरी कामलाई तीव्रता दिने डल्लाकोटीले जानकारी दिए । बैठकमा उद्योगी व्यवसायीले रङ्गशाला निर्माणका लागि निजी क्षेत्रले गरेको लगानी पारदर्शी हुने/नहुनेमा चिन्ता व्यक्त गर्दै निर्माणको काम शुरु गर्न आग्रह गरेका थिए । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा करिब रु तीन अर्ब खर्च गरेर फाउण्डेशनको अगुवाइमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइएको हो । रासस
वर्षा लागेसँगै दिनरात त्रासमा मध्यपुर र बालकोटका बासिन्दा
काठमाडौं । वर्षायाम शुरु भएसँगै मध्यपुरथिमि, सूर्यविनायक र भक्तपुरका बासिन्दा दिनरात त्रासमा बसेका छन् । वर्षामा हनुमन्ते नदीमा आएको बाढी गत वर्षजस्तै बस्तीमा पसेर वितण्ड मच्चाउला भन्ने डर र त्रासमा यहाँका बासिन्दा बसेका हुन् । गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र, कमेरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायतका क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौं घर डुबानमा पर्नुका साथै करोडौँको क्षति भएको थियो । यस वर्ष हनुमन्ते करिडोर निर्माण शुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएसँगै उर्लिएको हनुमन्ते यस वर्ष पनि बस्तीमा पस्ने त्रासमा परेका छन् । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माण गर्न सरकारको रु ८१ करोड लागतमा ठेक्का सम्झौता गरी २०७५ मङ्सिरदेखि हनुमन्ते करिडोरको निर्माणकार्य शुरु गरे पनि असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हनुमन्ते करिडोर निर्माण असार लागेलगत्तै रोकिएपछि ठप्प भएको ठेकेदार पिएस गोल्डेनगुड समानान्तर जेभीका कम्पनी प्रबन्ध सञ्चालक नीरज थपलियाले बताए । उनले प्रमुख जिल्ला अधिकारीबाट काम सञ्चालन गर्ने आदेश र सुरक्षा पाए शुरु गर्न सकिने बताउँछन् । जिल्लाको चारवटै नगरपालिका भएर बग्ने वाग्मतीको सहायक नदीको रूपमा रहेको हनुमन्ते नदी नौ किलोमिटर लामो छ । तीन चरणमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको हनुमन्ते करिडोर पहिलो चरणमै काम रोकिएको हो । नदीको बहाव क्षेत्र २० मिटर, दायाँबायाँ २०–२० मिटरको फुटपाथसहितको सडक गरी ६० मिटर फराकिलो करिडोर निर्माणसँगै नदीको दुवैपट्टि ढुङ्गाको अग्लो पर्खाल निर्माण गरी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने गरी हनुमन्ते करिडोर निर्माणकार्य अगाडि बढाएको सांसद महेश बस्नेतले बताएका छन् । उनले भने, “यो सानो प्रयासले आएको आयोजना होइन, धेरै दुःख गरेर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ल्याएको योजना हो, समस्या भए छलफल गरेर समाधान गर्नुपर्छ, अरुको कुरा सुनेर विकास रोक्नु गलत हो, सधैँ रोक्न खोजे पन्छाएर गइन्छ ।” भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, जाममुक्त भक्तपुर बनाउने, अरनिको राजमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्नेसमेत विभिन्न योजनासहित आएको हनुमन्ते कोरिडोर निर्माण रोकेर विकासमा अवरोध पुर्याउनु गलत भएको उनले बताउँदै समस्या भए छलफल र सहमतिबाट टुङ्याउनुपर्ने र विकासलाई यत्तिकै रोकेर राख्न खोजे विकासविरोधी तत्वलाई पन्छाएर काम अगाडि बढाइने बताएका छन् । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा सञ्चालित ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँ मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलले हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ । राधेराधेबाट विनाअवरोध निर्माण हुँदै गएको करिडोर ब्लक कारखाना अगाडि पुगेपछि रोकिएको बताउँदै स्थानीय सरोकारवाला दामोदरप्रसाद श्रेष्ठले सार्वजनिक जग्गा हडप्न खोज्ने भूमाफियाले सांसदसमेतलाई प्रयोग गरी शक्तिको आडमा केही व्यक्तिको परिचालन गरी करिडोर निर्माण रोकेको बताउनुभयो । स्थानीय जम्मबरबहादुर केसीले वर्षौंदेखि आफ्नो जग्गामा खोला बग्दा हाँसेर बस्नेहरू अहिले विकास रोक्न आएको बताउँदै पीडित जग्गाधनीले राहत पाउने बेलामा एक आना पनि जग्गा नभएका भूमाफिया करिडोर रोकेर समस्या सिर्जना गर्न आएको बताउनुहुन्छ । मध्यपुरथिमि नगरपालिका राधेराधेका सुमित्रा थापाले हनुमन्ते करिडोर निर्माण रोकिएपछि बस्तीमा बाढी पस्ला भनेर रातभरि निदाउन नसकेको बताउँदै बाढी पसेर क्षति भए करिडोर निर्माण रोक्ने व्यक्तिले जिम्मा लिनुपर्ने बताउनुभयो । चारदोबाटो बालकोटका कुखुरा व्यवसायी मनोहर खत्रीले गत वर्ष बाढी पसेर आफ्नो खोरमा बिक्री गर्न तयार पारेको २०० कुखुरा बगाएको बताउँदै यस वर्ष थप त्रास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हनुमन्ते नदीको बीचबीचमा ढुङ्गा थुपारिएको छ, माटो जताततै थुप्रिएको छ, करिडोर निर्माण भएको ठाउँमा फराकिलो भए पनि त्यो भन्दा तल, माथि साँघुरो छ, यस्तो अवस्थामा बाढी आए थप जोखिम हुन्छ, त्यसैले यहाँका बासिन्दाले दिनानुदिन त्रासमा बाँच्नुपरेको छ ।” लामो समयदेखि रहँदै आएको नदीको धार परिवर्तन गर्ने र सिमाङ्कनको विवादलाई सम्बन्धित जग्गाधनी, सांसद, विभिन्न राजनीतिक दलका नेता, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाका प्रमुख, बालकोटका वडाध्यक्षसहित पटक–पटकको छलफलले ल्याण्डपुलिङको माध्यमबाट सबै समस्या समाधान गर्दै हनुमन्ते करिडोर निर्माण गर्ने सहमतिअनुसार काम अगाडि बढेको थियो । सहमतिअनुसार नै सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्तरूपमा तयार पारेको नक्साको आधारमा दीर्घकालीन समस्या समाधान गर्ने गरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार नै काम अगाडि बढेको हो । यसबारेमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले रोकिएको हनुमन्ते करिडोर पुनः शुरु नभए गत वर्षजस्तै बस्ती डुबानमा पर्ने जोखिम रहेको बताउँदै निर्माण पुनः शुरु गर्ने पहल भइरहेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले समस्या भए समाधान खोज्नुपर्ने बताउँदै काम नै रोकेर राख्न भने नहुने बताउनुभयो । सूर्यविनायक नगरपालिका–३ बालकोटका वडाध्यक्ष शिवशरण खत्री सबैको सहमतिमा समस्या समाधान भए पनि अहिले आर्थिक चलखेल गर्न करिडोर निर्माण नै रोक्नु गलत भएको बताउँदै बस्ती डुबानमा परे रोक्नेले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । रासस