दुर्घटनामा मृत्यु भएका बिमितको परिवारले अब २८ लाख पाउने
काठमाडौँ । सवारी साधनमा रहेको जोखिमलाई मध्ये नजर गर्दै सवारी दुर्घटनाबाट ज्यान गुमाउने बिमितको परिवारका सदस्यले २८ लाख रुपैयाँ हात पार्ने भएका छन् । पहिले कायम रहेको ८ लाख बीमांक रकमलाई २८ लाख रुपैयाँ बनाउन लागेको बीमा समितिले जनाएको छ । सोही निर्णयमा यातायात व्यवस्था विभागले समेत सहमती जनाएको छ । साथै, स्पाईनल कर्ड इन्जुरी (मेरुदण्ड)को समेत बीमा गर्न आवश्यक रहेको बताइन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय अनुसार बीमांक रकममा यसरी हेरफेर भएको हो । यसरी पाईन्छ २८ लाख २८ लाख रुपैयाँ रकम पाउन टाउको र स्पाईन कर्ड इन्जुरी भएको हुनु पर्नेछ । बिमितको उपचारको लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ । उपचारको क्रममा बिमितको मृत्यु भएमा २८ लाख रुपैयाँ बिमाङ्क निजका परिवारका सदस्यले पाउँछन् । बिमितले मृत्युवरण मात्र गरेको अवस्थामा १० लाख रुपैयाँ छुट्याईएको हो भने उपचारका लागि मात्र भनेर ३ लाख रुपैँया छुट्याईएको छ । तर, उपचारको क्रममा स्पाईनल कर्ड इन्जुरी र टाउकोमा चोट लागेको भएमा थप १५ लाख रुपैयाँ छुट्याईएको छ । यस्तै, मोटर बीमाका कारण बिमितको मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने सम्भावना रहेको बीमा समितिले जनाएको छ ।
‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’भन्ने नाराका साथ अभियान सुरु
काठमाडौं । कैलालीको टीकापुर नगरपालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु गरेको छ । नगरपालिकाले ‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ नगर स्वस्थ अभियान शुरु गरेको हो । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, शिक्षक, राजनीतिक दलका प्रतिनिधिलाई सामाजिकरुपमा प्रतिबद्ध गराउन थालेको छ । यसरी नगरपालिकाले सार्वजनिक कार्यक्रममा सामूहिक प्रतिबद्धता गर्न लगाएर सामाजिक सञ्जालमा हाल्न थालेको छ । जसले स्वास्थ्यप्रति सचेत रहन सहयोग गर्छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । सङ्घ र प्रदेश सरकारले पनि स्वास्थ्यप्रति नागरिकलाई जिम्मेवार बनाउन मेरो वर्ष अभियान शुरु गरेका छन् । उक्त नगरपालिकाले भने केन्द्र कार्यालय र वडा कार्यालयमा जनप्रतिनिधिका फोटोसहितका प्रतिबद्धता टासेर अभियान थालेको छ । दश बुँदामा रहेको प्रतिबद्धतामा म स्वस्थ र पोषिलो खाना खान्छु, म रक्सी चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म नियमित व्यायाम गर्छु, म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु भनी उल्लेख गरिएको छ । त्यसैगरी, प्रतिबद्धतामा म टाफिक नियम पालना गर्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु, म स्वास्थ्यलाई प्रतिकूल हुने खालका बालविवाह, छाउपडी प्रथाजस्ता सामाजिक कुरीति र कु संस्कारको अन्त्य गर्दै प्रतिबद्ध रहनेछु, म हिंसा र भेदभाव गर्ने छैन र कसैले हिंसा र भेदभाव गरेको थाहा पाए त्यसको प्रतिकार गर्छु भनी उल्लेख गरिएको छ । यी १० बुँदे प्रतिबद्धता कार्यान्वयन गरेमा नगर सुन्दर र नगरवासी स्वस्थ रहन मद्दत पुग्ने नगरप्रमुख तपेन्द्र रावलले बताएका छन् । “स्वास्थ्य नै धन हो । त्यसैले नगरपालिकाले स्वास्थ्यमा बढी लगानी गरेको छ”, प्रमुख रावलले भने, “यो अभियानले धेरैलाई जिम्मेवार बनाउने छ ।” यसै क्रममा स्वास्थ्य उपशाखा संयोजक बलबहादुर रावलले यो अभियान अब विद्यालयमा लैजाने बताउँदै भने । “जिम्मेबार व्यक्तिले मदिरा सेवनजस्ता कार्य गर्दा समाज बिग्रिएको छ”,त् संयोजक रावलले भने, “कुलतजस्ता गलत बाटोमा लागेकालाई जिम्मेवार बनाउन र स्वास्थ्यप्रति सचेत गराउन अभियानले सहयोग गर्छ ।” नेपाली काङ्ग्रेसका नगर सचिव मोतिराम भण्डारीले अभियानसँगै नगरपालिकाले मदिरा नियन्त्रण, दुव्र्यसनी नियन्त्रण जस्ता कार्यमा पनि कडाइ गर्नुपर्ने धारणा राखेका छन् । रासस
कोपा अमेरिकाबाट नेमार बाहिरिए, ब्राजिलमाथि थपियो ठूलो चुनौती
ब्रासिलिया । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ । एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ । नेमार विश्वकै सर्वाधिक सफल एवं महङ्गा खेलाडीमध्येका एक हुन् । बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रंगशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए । उनी हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनबाट खेल्छन् । नौ दिनपछि नै कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभिया विरुद्ध रहेको छ । कोपा अमेरिकाको आयोजक राष्ट्र पनि ब्राजिल नै हो । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन । रासस/एएफपी