रानीपोखरी निर्माण कार्य सुरु भएपनि बालगोपालेश्वर ओझेलमा
काठमाडौं । विनासकारी भुकम्पले क्षति पुर्याएको रानीपोखरी निर्माण कार्य सुरु भएपनि पोखरीभित्र अवस्थित धार्मिक र पुरात्वातिक महत्व बोकेको बालगोपालेश्वर मन्दिर निर्माणको भने टेण्डर समेत लाग्न सकेको छैन । भूकम्प गएको ठिक एक वर्ष २०७३ वैशाख १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माण गर्न शिलान्यास गरेपनि विभिन्न विवादका कारण ढिला काम सुरु भएको हो । पोखरी निर्माणसँगै मन्दिर निर्माण कार्य अघि बढ्नु पर्नेमा ओझेलमा पारिएको छ । पोखरी निर्माण कार्य केही समय अघिमात्रै सुरु भएपनि बालगोपालेश्वर निर्माण कार्यको टेण्डर समेत हुन नसकेको राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका पुरातत्व विद् धु्रव पौडेलले बताए । पोखरीजस्तै मन्दिर निर्माण कुन शैलीमा गर्ने भन्ने विवाद लामो समयसम्म रहेकाले सो कार्य अघि बढ्न नसकेको हो । निर्माण कार्य अघि बढाउन अब प्राधिकरणले चाडै प्रक्रिया मिलाउने बताएको छ । गोपालेश्वर मन्दिर निर्माणका लागि गुम्बज वा शिखरमध्ये कुन शैली अपनाउने भन्ने विषयमा प्राधिकरणले टुंगो लगाएर शिखर शैलीमा अपनाउने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरको सहमतिमा रानी पोखरी निर्माणका लागि भक्तपुर नगरपालिकासँग सहकार्य गरेका छन् । दुई स्थानीय तहबीचको सर्वसहमतिमा रानी पोखरी निर्माणको जिम्मा भानु पोखरी उपभोक्ता समितिलाई दिइएको हो । प्राधिकरणले रानी पोखरी निर्माणको लागि साढे नौं करोडमा सम्झौता गरेको छ । पोखरी निर्माणमा हालसम्म ८० लाख बरावरको काम भएको रानीपोखरी पूनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले बताएका छन् । निर्माणको कार्यमा खासै प्रगति नदेखिएपनि हालसम्म पोखरी निर्माण कार्य २० प्रतिशत जानकारी स्थापितले बताए । ‘रानीपोखरीबीचमा रहेको गोपालेश्वर मन्दिर निर्माणको अझै टुङ्गो लागेको छैन,स्थापितले भने ‘पोखरी निर्माण कार्य सुरु भएको ३ महिना बितेको छ ।’ पोखरी निर्माणमा दैनिक ५८ जनाले काम गर्दै आएका छन् । सोमध्ये महिला ४७ जना र पुरुष ११ जना छन् । भक्तपुर नगरपालिका वडा नं.१ देखि १० भित्रका दैनिक सो संख्यामा कामदार आउने गरेको र काम गर्न आउने सबै भक्तपुरको भानुपोखरी उपभोक्ता समितिले मातहतका कामदार रहेकाे भानुपोखरा उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद दुमरुले बताएका छन् । कामदारहरु दैनिक जसो विहान १० बजेदेखि बेलुका ५ बजेसम्म काम गर्ने छन् भने मन्त्रालयको साझेदारीमा प्रतिव्यक्तिका लागि १ हजार ५० रुपैयाँ ज्यालामा प्रदान गर्ने गरेको भानुपोखरा उपभोक्ता समितिका अध्यक्ष दुमरुले जानकारी दिए । शिलान्यास भएको करिब ३ वर्षपछि भक्तपुरको काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाको सम्झौतामा रानी पोखरी निर्माणको जिम्मा भक्तपुरको भानु पोखरी उपभोक्ता समितिलाई दिएको छ । रानीपोखरी १ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने उपभोक्ता समितिको लक्ष्य रहेको छ । निर्माणका लागि पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले ५६ औं प्रतिवेदनमा उल्लेख उल्लेख गरिएको छ ।
खानेपानीको क्षेत्रमा दशककै सबैभन्दा बढी बजेट
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि खानेपानी तथा सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैंया बजेट विनियोजन गरेको छ । जुन बजेट आर्थिक वर्ष २०७५/०७६ को तुलनामा १९ अर्ब ४१ करोड बढी हो । विभिन्न अधुरा खानेपानी आयोजनालाई पूर्णता दिन, नयाँ आयोजना सुरु गर्न र साना सहरी खानेपानी आयोजनाहरु सम्पन्न गरी आगामी वर्ष ९२ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवाको पहुँच पुर्याउने योजना सहित सरकारले खानेपानीको क्षेत्रलाई बढी प्राथमिकता दिएको हो । संविधानमा समेत स्वच्छ खानेपानीको हकलाई मौलिक अधिकारमा समेटिएको छ । सोही अनुसार सरकारले खानेपानी तथा सरसफाइ जस्तो विषयलाई यस पटकको बजेटमा बढी महत्व दिएको हो । खानेपानीको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले गत आर्थिक वर्षको भन्दा झण्डै दोब्बरले बजेट बढाएको छ । जुन खानेपानी तथा सरसफाइको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हो । खानेपानी मन्त्री बिना मगरको सक्रियतामा खानेपानी तथा सरसफाइको क्षेत्रमा अघिल्ला आर्थिक वर्षहरु भन्दा ह्वात्तै बजेट बढाईएको हो । आर्थिक वर्ष २०७५/०७६ मा खानेपानी र सरसफाइका लागि सरकारले २४ अर्ब ५ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा २२ अर्ब ७० करोड छुट्याइएको थियो । २०७२ सालदेखि खानेपानी मन्त्रालयलाई अलग मन्त्रालयको रुपमा स्थापना गरिएको हो । त्यसअघि खानेपानी मन्त्रालयको जिम्मेवारीहरु सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत राखिएको थियो । खानेपानीको लागि अलग गरेर बजेट छुट्याउने गरिएको थिएन । खानेपानीको लागि भनेर आर्थिक वर्ष २०६५/०६६ मा १ अर्ब ७९ करोड रकम विनियोजन भएको थियो । त्यसको ठीक तेस्रो वर्षमा आइपुग्दा खानेपानी र सरसफाइ क्षेत्रमा भएको पूँजीगत खर्च बढेर २ अर्ब ७ करोड पुग्यो । आर्थिक वर्ष २०७०/०७१ मा आइपुग्दा खानेपानीका लागि भनेर ५ अर्ब २३ करोड छुट्याइयो । आर्थिक वर्ष २०७२(०७३ मा खानेपानीको शीर्षकमा छुट्टै बजेट नभएपनि विभिन्न मन्त्रालयका कार्यक्रमहरुसँग जोडेर खानेपानीका लागि बजेट बनाइयो । आर्थिक वर्ष २०७३/०७४ मा खानेपानीको लागि १६ अर्ब ३४ करोड रुपैयाँ पुर्याइयो । अब आउने आर्थिक वर्षका लागि सरकारले खानेपानी र सरसफाइलाई बढी महत्व दिएको छ । बजेटले केही वर्षभित्रै अधिकांश नेपालीलाई आधारभूत खानेपानी सेवाको पहुँच पुर्याउने गरी खानेपानी तथा सरसफाइका कार्यक्रम अघि बढाउने बताएको छ । तराई मधेस खानेपानी सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन खानेपानी आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन बजेट छुट्याइएको छ । सुख्खाग्रस्त क्षेत्रहरुमा खानेपानी आयोजना सञ्चालन गर्ने योजनापनि छ । खानेपानीको लागि मात्रै नभई सरकारले सरसफाईको क्षेत्रमा समेत उत्तिकै ध्यान दिएको छ । खानेपानी वितरण प्रणाली तथा ढल व्यवस्थापनलाई प्रभावकारी बनाउन खानेपानी संस्थान, काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन लिमिटेडको संस्थागत पुनर्संरचना गरिने बजेटमा उल्लेख छ । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै आधारभूत स्तरको सरसफाइ सुविधा सुनिश्चित हुनेगरी स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा संचालनमा ल्याइने घोषणा सरकारले गरेको छ । खानेपानी मन्त्रालय अन्तर्गत रहेको निर्माणाधीन प्रथम चरणको मेलम्ची खानेपानी आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्दै दोस्रो चरणका लागि यांग्री र लाक्रे खोलाको प्रवेश मार्ग र विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिने घोषणा बजेटमा छ । सरकारले एक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेकाले यस पटकको बजेटमा मेलम्ची खानेपानी आयोजनाको लागि रु ७ अर्ब ३९ करोड रकम विनियोजन गरेको हो । यो आयोजना राष्ट्रिय गौरवको आयोजना हो । बजेटमा खानेपानी आयोजनाहरु अघि बढाउने सँगै सरकारले नीति तथा कार्यक्रममा नेपालको पानी विदेश निर्यात गरिने घोषणा गरेकाले सोही अनुसार खानेपानी मन्त्रालयले कार्य समेत अघि बढाएको छ ।
दुर्घटना अपडेटः नवलपरासी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
कावासोती । पूर्वपश्चिम रागमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालीका-२, स्थित हमाल चोकमा आज दिउँसो बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मनकामना अस्पताल चितवनमा उपचारका क्रममा नाम ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । यसअघि दुर्घटनामा परी गैँडाकोट नगरपालिका–१४ बस्ने ६५ वर्षीया कुमारी सुनारी र गैँडाकोट नगरपालिका–१८ बस्ने ७० वर्षीया जमुना मापछनको मृृत्यु भएको थियो । उनीहरु दुवै जनको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको थियो । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका एक जनाको पुरानो मेडिकल कलेज भरतपुर, १२ जनाको मनकामना अस्पताल चितवन, आठ जनाको नयाँ मेडिकल कलेज भरतपुर र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वप्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । ना४ख ५२९५ नंको बस र ना२ख ४८९० नंको ट्रक एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । रासस