टिच फर नेपाललाई नेपाल बङ्गलादेश बैँकले गर्यो १० लाख सहयोग

काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत टिच फर नेपाल काठमाडौँलाई १० लाखकोे रकम हस्तान्तरण गरेको छ । सोमबार बैंकका प्रतिनिधि, कनिष्ठ नायव महाप्रबन्धक सलोनिका सिंह र टिच फर नेपाल काठमाडौँको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिशिर खनालद्वारा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको भयो । सो रकम संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न विश्व विद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयम्सेवी शिक्षकको रुपमा अंग्रेजी, गणित र बिज्ञान बिषयहरु सार्वजनिक विद्यालयमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेछ ।

बाराका हावाहुरी प्रभावितलाई सनराइज बैंकको सहयोग

काठमाडौँ । सनराइज बैंकले १७ चैत्रमा आएको विनाशकारी हुरीका कारण बारामा प्रभावित हर्दिया र पर्शुराम गाउँका २०० पीडित परिवारहरुलाई सहयोग गरेको छ । दैनिक प्रयोजनको लागि आवश्यक समाग्रीहरु जस्तै भाँडाकुडा, टर्चलाइट, साबुन, तेल, टूथ पेष्ट, टूथ ब्रस आदि राहत सामग्री सहयोग स्वरुप प्रदान गरेको हो । हावहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति पुर्याएको छ ।

‘हिमाल मेरो देश’ कविता संङ्ग्रह लिएर आए युवाकवि दिनेश घिमिरे

काठमाडौं । युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता कविता संङ्ग्रह ‘हिमाल मेरो देश’ को विमोचन गरिएको छ । बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवम् साँस्कृतिक कार्यक्रममा उक्त कविता संङ्ग्रहको पूर्वमन्त्री कृपासुर शेर्पा र प्रदेशसभा– ३ का सांसद् रामेश्वर फुयाँल र साहित्यकार जगन्नथा देवकोटाले संयुक्त रूपमा गरेका हुन् । उक्त संङ्ग्रहमा ४८ वटा कविताहरू छन् । संङ्ग्रहको समीक्षा गर्दे साहित्यकार प्रयागराज भट्टराई ‘वाशिष्ठ’ ले संङ्ग्रहको शीर्षकले, साजसज्जाले कविताहरूको गाम्भीर्यतालाई प्रस्ट्याएको बताए । संङ्ग्रहभित्र शिक्षा, समाज सेवा, समाजका विभिन्न अङ्गहरूको वर्णन, विश्लेषण र राजनीतिका सकारात्मक र नकारात्मक पक्षप्रति व्यङ्ग्य गरिएका कविताहरू रहेको उनले बताए । उनले भने, ‘कृतिभित्र शिक्षा छ । राजनीतिको सकारात्मक पक्ष र नकारात्मक पक्षप्रति व्यङ्य छ । समाज सेवा र समाजका विभिन्न अङ्गहरूको पनि यसमा वर्णन, विश्लेषण रहेको छ ।’ कविताहरू शास्त्रीय छन्दमा रहेको बताउँदै भट्टराईले नेपाली साहित्यमा लोकप्रिय गजलको लयमा पनि कविता आधारित रहेको बताए । उनले भने, ‘संङ्ग्रहमा शास्त्रीय छन्दमा कविताहरू रहेका छन् । नेपाली साहित्यमा लोकप्रिय बनेको गजलका जुन लय छ, त्यसमा आधारित पनि छ ।’ कवितामार्फत् कविले असल बनेर देशको सेवा गर्न उत्प्रेरित गरेको उनको भनाई छ । ‘शिक्षा लिनका लागि जो लालाहित छन्, देश निर्माणका लागि अगाडि जुटेका छन्, समाजसेवामा जुटेका छन्, धर्मसंस्कृतिको सेवामा जुटेका छन्, यि सबैलाई लेखकले असल बनेर नेपाल देशको सेवा गर्न उत्प्रेरित गर्नुभएको छ ।’ साहित्यकार भट्टराईले भने । कविताहरूमा भावनाको निखार छ । भावनाको तिखार छ । भावनाको मश्रिल अनुभूति भएको बताउँदै भट्टराईले कविको कलमले, अनुभूतिले देशलाई, उँचो बनाउन मद्दत पुगेको बताए । त्यस्तै अर्का समीक्षक रमेश शुभेच्छुले फरक शैलीका कविताहरूले कविले क्षमता प्रदर्शन गरेको बताए । उनले भने, १४ वटा बाल कविताहरू छन् । ४ वटा प्रौढ कविताहरू छन् । २८ वटा गीति कविताहरू छन् । यि तिनवटै शैलीका कवितामा कविले क्षमता प्रदर्शन गर्नुभएको छ ।’ कवि प्राध्यापक भएकाले बालकविताहरूमा बालकालिकाहरूलाई नैतिक उपदेशको पक्षलाई बढी महत्त्व दिएको समीक्षक शुभेच्छुले बताए । घिमिरेका भोजपरे खिचडी (कवितासंङ्ग्रह) २०६७, मेरा जीवनका चरणहरू, भाग–१ (खण्डकाव्य) २०७०, फूल र म (कवितासंङ्ग्रह) २०७०, शालीकराम (शोककाव्य) २०७० प्रकाशित भएका छन् । उनका कृतिमा हिमाल मेरो देश (कवितासंङ्ग्रह) २०७६ पनि थपिएको छ । उक्त कविता संङ्ग्रहलाई उर्वर साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।