हावाहुरी पीडितलाई स्वावलम्बन लघुवित्तको ४ लाख ६० हजार नगद सहयोग

काठमाडौँ । स्वावलम्बन लघुवत्ति वित्तीय संस्था लि.ले बारा जिल्ला स्थित फेटा गाउँपालिकाको पुरैनिया र भर्वलिया तथा प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी गाउँमा आएको विनासकारी हावाहुरी पीडित घरपरिवारलाई रु.४ लाख ६० हजार नगद सहयोग गरेको छ । संस्थाले हावाहुरीका पिडितलाई पहिचान गरी थप राहत तथा सहयोग गर्ने बताएको छ । वित्तीय संस्थाले हावाहुरीबाट घर भत्किएर हाल सार्वजनिक स्थानमा बस्दै आएका, घरमा रहेको खाद्यान्न तथा लत्ता, कपडा साथै पशुपंक्षीको समेत नोक्सान भएको प्रारम्भिक तथ्यांकको आधारमा शाखा कार्यालय कलैया, बारा मार्फत उक्त रकम उपलब्ध गराएको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा आउने प्राकृतिक प्रकोपबाट पिडित घरपरिवारलाई पटक पटक राहत तथा विभिन्न सहयोग कार्यक्रम निरन्तर रुपमा गर्दै आएको प्रबन्धक राजेन्द्र धितालले बताए ।

उपत्यकामा चार नयाँ शहर, डिपिआर यसै बर्ष

काठमाडौं । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ । व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका काठमाडौंको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो । चार वटा नयाँ शहरको डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त दिलिप भण्डारीले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समचार छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखालाई नाडाले गर्यो ७० थान कुर्सी सहयोग

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विशेष कार्यक्रम गरी ७० थान कुर्सी प्रदान गरेको छ । नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले मंगलबार एक कार्यक्रमका बीच महाशाखाका प्रमुख बसन्त पन्तलाई उक्त कुर्सीहरु हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा नाडाका उपाध्यक्षद्धय कृष्णप्रसाद दुलाल तथा प्रकाश कपुरीको महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा महाशाखाका उच्च अधिकृतहरु समेतको उपस्थिति रहेको थियो । नाडाले विगतमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका समय देखि नै सो महाशाखालाई विभिन्न किसिमको सहयोग पुर्याउँदै आएको छ ।