सुकुमवासीका नाममा फेरि जग्गा बाँड्दै सरकार
काठमाडौँ । सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ । राजनीतिक पार्टीले विगतमा पटकपटक सुकुमवासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो। अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्गा बाँड्ने चलाखी गरेको हो । कानुनी प्रक्रिया पूरा गर्न सरकारले भूमिसम्बन्धी ऐन, २०२१ लाई आठौंपटक संशोधन गर्न विधयेक तयार पारेको छ। उक्त विधयेक गत फागुन १९ मा मन्त्रिपरिषद्ले निर्णय गरी फागुन २९ मा संसद्मा दर्ता भएको छ । अव्यवस्थित बसोवास र सुकुमवासीका नाममा राजनीतिक दलनजिकका कार्यकर्तालाई जग्गा बाँड्दा विरोध आउन सक्ने देखेर सरकारले विधेयकमा आयोग बनाउने र त्यसको सिफारिसमा जग्गा पाउने व्यक्तिले मूल्यको २५ प्रतिशत रकम तिर्नुपर्ने उल्लेख गरेको छ। विरोधबाट बच्न सरकारले आयोग बनाउने र २५ प्रतिशत मूल्यको व्यवस्था ल्याई चलाखी गर्न खोजेको टिप्पणी भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले यस्तो विधेयक संसद्मा दर्ता भएको जानकारी दिए। ‘अव्यवस्थित बसोवास गर्नेहरुलाई बसोवासका लागि जग्गा उपलब्ध गराउँदा निजले भोगचलन गरी आएको सरकारी जग्गामध्येबाट तोकिएको क्षेत्रफलको हद ननाघ्ने गरी रजिस्ट्रेसन प्रयोजनका लागि तोकिएको जग्गाको मूल्यांकनको २५ प्रतिशत दस्तुर लिई जग्गा उपलब्ध गराउन सकिनेछ,’ विधेयकमा भनिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
महिला सहयात्रा माईक्रोफाइनान्स ‘राजकुमारी सविका विन्त अब्राहिम अल-खालिफा ग्लोबल अवार्ड’बाट सम्मानित
काठमाडौं । महिला सहयात्रा माईक्रोफाइनान्स वित्तीय संस्था “राज कुमारी सविकास विन्त अब्राहिम अल-खालिफा ग्लोबल अवार्ड” बाट सम्मानित भएको छ । विभिन्न मुलुकका १८८७ का प्रतिस्पर्धीहरुकाबीच संस्थाले विभिन्न चार विधा (सार्वजनिक संस्था, निजी, गैर सरकारी र स्वतन्त्र) मा विभाजित पुरस्कारमा उक्त सम्मान पाएको हो । गत मार्च ११मा संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्था सम्बन्धी ६३औँ महासभायस संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. सुमित्रा मानन्धर गुरुङले एक लाख डलर धनराशीको पुरस्कार ग्रहण गरेकी हुन् । संस्थाले नेपालका अति दुर्गम र पिछडिएको क्षेत्रका २८ हजार भन्दा बढी महिलाहरुबीच लघुवित्त सेवा प्रदान गर्दै आएको छ । साथै, लघुउद्यम विकास सेवा मार्फत समुदायको आर्थिक तथा सामाजिक विकास कार्यमा यस संस्थाले सक्रिय रुपमा काम गरिरहेको छ । राष्ट्रिय स्तरको यस संस्थाको हाल कुल २६ वटा शाखा कार्यालयहरु संचालनमा छन् । सो मध्ये २१ वटा शाखा कार्यालयहरु अति विकट जिल्लाहरुमा रहेको छ । संस्थाले कुनै पनि लघुवित्त पुग्न नसकेका क्षेत्रमा महिला शसक्तिकरण तथा वित्तीय सेवाको पहुँच पुर्याउने उद्देश्यले उक्त विकट जिल्लाहरुमा शाखा विस्तार गरी संचालनमा ल्याएको संस्थाले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त यस संस्थामा हाल ९३ जना महिला र ४ वटा बैंक संस्थापक रहेको छ । संस्थापकमा नबिल बैंक, सिभिल बैंक, प्राइम बैंक र गोर्खाज फाइनान्स रहेका संस्थाकी सीईओ गुरुङले जानकारी दिएकी छिन् ।
होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए । महाशाखाले तीनजना राखेर चलाउने ७६, हेल्मेट नलगाई चलाउने ४३, कागजपत्र नलिई चलाउने ३३०, मादक पदार्थ सेवन गरी चलाउने १३५, जथाभावी लापरवाही तरिकाले चलाउने ३६, सरकारी २५ र अन्य कसुरमा ३० चालकलाई कारवाही गरेको छ । जसमध्ये २४३ सवारी साधनलाई कारवाही गरेर छाडेको र बाँकी ६७५ सवारी साधनलाई महाशाखामा ल्याएर राखिएको छ । महाशाखाले होली पर्वलाई दुर्घटनारहित र मर्यादित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाएको थियो । बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखाले ७७ स्थानबाट ट्राफिक जाँच गरेको थियो भने १९ वटा मोबाइल चेकजाँच र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गरेकोे महाशाखाले जनाएको छ । महाशाखाले होली पर्वमा कारवाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरेको छ । रासस