हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा, १ करोड ७० लाख राजश्व संकलन

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताए । “उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको सङ्ख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको छ”, उनले भने । ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि सरकारले हर्नमा प्रतिबन्ध लगाएको हो । यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदुषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिशसमेत गरेको छ । महाशाखाले ध्वनि प्रदुषण गरेवापत एउटा सवारीसाधनबाट ५०० कारवाही स्वरुप लिँदै आएको छ । यसरी कारवाही स्वरुप १ करोड ७० लाख राजश्व संकलन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र आठ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् ।

५ सय सवारी चालकलाई ग्लोबल आइएमईले बाँड्यो पोशाक

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५०० थान पोशाक वितरण गरेको छ । प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लाहरुमा संचालन हुने सार्वजनिक सवारी साधनका चालक तथा परिचालकहरुले अनिवार्य पोशाक लगाउनु पर्नेे व्यवस्थालाई कार्यान्वयन गर्न/गराउन निम्न आयस्तर भएका सवारी चालक तथा परिचालकहरुलाई उक्त पोशाकहरु वितरण गरिएको हो । ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीसँगको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी दुर्घटना न्यूनीकरण एवम् ट्राफिक व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कार्यक्रहरुमा सहयोग गर्दै आएको जनाएको छ ।

मेलम्चीले बाटो खनेर छोडे पछि स्थानीयले नै शुरु गरे सरसफाई

काठमाडौं । मेलम्चीले खानेपानी आयोजनले काठमाडौंको विभिन्न ठाउँमा पानीको पाइप विछ्याउन बाटो खनेर त्यसै छाडे पछि स्थानीय वासिन्दाहरुले सरसफाई थालेका छन् । बागबजारवासीहरु बाटो सरसफाईमा जुटेका हुन् । बागवजारमा मेलम्चीले बाटो खनेर छोडेको १ महिना हुँदा पनि कुनै चासो नदेखाए पछि स्थानीयहरुले नै बाटो सफा गर्न शुरु गरेका हुन् । सरसफाइमा सहभागी रेशम भुसालले भने–‘मेलम्चीले बाटो खनेर पाइप बिछ्याएको पनि १ महिना भइसक्यो, तर बाटो खने पछि त्यसको पुननिमार्ण गरेन । बाटोमा धुलो उठेर केही नदेखीने भएपछि हामी स्थानीयहरु नै मिलेर बाटो सरसफाइमा लागेका छौँ ।’ सबै कामका लागि सरकारको मुख ताक्नुभन्दा आफुले सक्ने काम आफैँ गरौँ भनेर सरसफाइ शुरु गरेको भुसालले बताए ।