चन्द्रनिगाहपुरमा हुने प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा
रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा हुने प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा भएको छ । सितोरियो कराँते संघ रौतहटको आयोजनामा फागुन १७ र १८ गते चन्द्रनिगाहपुरको तुलसीलाल स्मृती रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ । नेपालका सातै प्रदेश, भारतका बिभिन्न प्रान्त, भुटान र बंगलादेशका खेलाडीले बिभिन्न तौल समुहमा प्रतिष्पर्धा गर्ने सितोरियो कराँते संघ रौतहटले जनाएको छ । । २४ स्वर्ण, २४ रजत र ४८ कास्य पदकका लागि चार देशका खेलाडी बीच प्रतिष्पर्धा हुनेछ । सातै प्रदेश, भारत, भुटान र बंगलादेशका खेलाडीको लागि आवास र खानाको ब्यवस्था भईसकेको आयोजकले जानकारी दिएको छ । प्रदेश नं २ मै पहिलो पटक आयोजना हुन लागेको अन्तराष्ट्रिय स्तरको कराँते प्रतियोगितामा आयोजक टिम सहित नेपालका ८ टिमको सहभागिता रहने छ । प्रतियोगितामा चन्द्रपुर नगरपालिका मुख्य सहयोगीका रुपमा रहेको छ भने टेन्सवर्ग बियर सह प्रायोजक रहेको आयोजक संस्थाले जानकारी दिएको छ । १७ गते बिहानबाट सुरु हुने र १८ गते साँझ सम्पन्न हुने प्रतियोगिताम चार देशका खेलाडी तथा निर्णायक गरेर करिव चार सय जनाको सहभागिता रहने छ । प्रतियोगितामा महिला र पुरुषतर्फ उत्कृष्ट हुने एक–एक जनालाई नगद पुरस्कारको समेत ब्यवस्था गरिएको आयोजक नेपाल सितोरियो कराँते संघ रौतहटले जनाएको छ ।
काठमाडौँ महानगरले थाल्यो अनुगमन, बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी कार्वाहीमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कार्वाही अघि बढाएको हो । कामपाका सहकारी विभाग प्रमुख नबराज ढकालका अनुसार अनुगमनका क्रममा अहिले सम्म १५ सहकारी कार्वाहीमा परेका छन् । ती सहकारीलाई कार्वाहीस्वरुप बचतकर्ताको रकम फिर्ता गर्न लिखित सहमति गरी समय तोकिएको छ । लिखित सहमति गर्दा पनि रकम फिर्ता नगर्ने सहकारीका विवरणसहित प्रहरीसमक्ष उजुरी गरी थप कार्वाहीका लागि प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले जानकारी गराए । न्युरोड, पुतलिसडक र बानेश्वर क्षेत्रका कम पूँजी भएका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता नगरेको पाइएको पनि उनको भनाइ थियो । न्युनमत १० हजारदेखि एक करोडसम्म बचतकर्ताको रकम फिर्ता नगरेको अनुगमनको क्रममा पाइएको पनि विभागले जनाएको छ । कामपामा रहेका सहकारी धेरैले विवरण समेत नबुझाएकाले अनुगमन गरी कानूनी प्रक्रियामा शुरु गरिएको हो । हाल कामपा भित्र एक हजार ८५६ सहकारी संस्था छन् । पहिलो छ महीनामा सहकारी संस्थालाई वार्षिक साधारणसभा समयमै गर्न र विवरण अद्यावधिक गर्न सूचित गरिएको र विभिन्न सूचनामार्फत सहकारी, कानून, प्रचलित मूल्य–मान्यता र सिद्धान्तलाई कार्यान्वयन गर्न पटक÷पटक सूचना समेत सार्वजनिक गरे पनि धेरैले अझै विवरणसमेत बुझाएका छैनन् । कामपाअन्तर्गतका सहकारीमध्ये ४८० सहकारीले मात्र विवरण बुझाएका छन् । प्रमुख ढकालका अनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानुनी व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका सहकारीलाई अनुगमन गरी कानूनी दायरामा ल्याउन थालेको हो । अनुगमनका क्रममा सहकारीका पाँच वर्षसम्मका सबै हिसाबकिताब हेरिनाका साथै आवश्यकताअनुसार निर्देशन दिने, सुधार नभए सञ्चालकलाई कार्वाही गर्ने र सहकारी खारेजीसम्मको कदम चालिने विभागको योजना छ । ‘सहकारी संस्था ठगी गर्ने संस्था हो र बचत फिर्ता दिन सक्दैन’ भन्ने जुन छाप परेको छ त्यसलाई चिर्न प्रभावकारी अनुगमन गरिएको हो, उनले भने । अनुगमनकै क्रममा साना सहकारीलाई एकीकृत गरी भएका सहकारी सङ्ख्या घटाएर ७०० बनाउने तयारी पनि कामपाकोे छ । मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएको र तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो । एक हजार ८५६ सहकारीलाई घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ । सहकारी ऐन २०७४ र कामपाको सहकारी ऐन २०७४ अनुरुप कानूनीरुपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ । कामपाका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । सर्वसाधारण ठगी गरेको भन्दै सहकारी विरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्योट भइसकेको विभागले जनाएको छ । निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाइने प्रमुख ढकालले बताए । हाल कामपामा रहेका सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेछ । कामपाका सहकारीमा करीब दुई लाख सदस्य जस्मा आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब सात अर्ब शेयर, करीब ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ । सबै सहकारीलाई दैनिकरुपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ । आफ्नो सहकारी दैनिकरुपमा कति आर्थिक कारोवार गर्दछ, लगानी र सङ्कलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्ने छ । रासस
सैनामैनामा ज्येष्ठ नागरिकलाई घरमै भत्ता, नगरपालिका-बैंकबीच सम्झौता
रुपन्देही । सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरी बैंकसँग सम्झौता गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । अशक्त ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्न पनि गाह्रोे भएकाले घरमै वितरणको व्यवस्था गरिने उनको भनाइ छ । नगरको शिक्षा स्वास्थ्य र सामाजिक सरोकारका विषयलाई प्राथमिकता दिनेगरी काम अगाडि बढेको छ, उनले भने, “विपन्न र ज्येष्ठ नागरिकको सेवामा विशेष हेक्का राखेको छौँ ।” सैनामैना नगरका पाँच हजार ९२४ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् तीमध्ये तीन हजार १२९ जना ज्येष्ठ नागरिकले भत्ता लिँदै रहेको नगरका उपप्रमुख बिना रानाले जानकारी दिए । नगरपालिकामा एकल महिला भत्ता बुझ्नेको सङ्ख्या दुई हजार चार छ भने १८ जना लोपोन्मुख आदिवासी, ३२० जना पूर्ण अपाङ्गता भएका, ४५३ जना दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता लिँदै आएको नगरका सामाजिक सुरक्षा शाखाका केशव अर्यालले जानकारी दिए ।