नुवाकोट आदिवासी महोत्सव फागुन १६ देखि, साकुरा नेपालले सहप्रायोजन गर्ने

काठमाडौँ । प्रथम नुवाकोट आदिवासी महोत्सव २०७५ को सहप्रायोजन साकुरा नेपाल कन्सल्टेन्सीले गर्ने सम्झौता भएको छ। काठमाडौं, सामाखुशी चोक स्थित साकुरा नेपाल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठ र आदिवासी जनजाति महासंघ नुवाकोटका सचिव बुद्धिबहादुर तामाङबीच सह प्रायोजकको निम्ति सम्झौता भएको आर्थिक उपसमितिका सदस्य प्रकाश लामाले जानकारी दिए । पर्यटन, उद्योग, व्यापार, कृषिमा बिकास गरी आर्थिक समृद्धिका साथ स्वावलम्बन, प्रथम नुवाकोट आदिवासी महोत्सव लोपोन्मूख भाषा, सांस्कृतिक भेषभुषा, संस्थागत संरक्षण र जातीय पहिचान भन्ने मूल नारा सहित २०७५ फागुन १६ देखि २६ गतेसम्म नुवाकोटको व्यापारिक केन्द्र बट्टार बजारमा हुदैछ । महोत्सव साँस्कृतिक एवं व्यापरिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।

नक्कले भुवनको ‘ओई नक्कली’ बजारमा

काठमाडौं । उदियमान मोडल भुवन श्रेष्ठको नयाँ भिडियो बजारमा आएको छ । चकलेटी लुक्सका भुवनको नयाँ भिडियो बजारमा आएको हो । ओई नक्कली बोलको गीतमा भुवनले आफ्नो कलाकारिता देखाएका छन् । भ्यालेन्टाइन्स डेको अवसर पारेर बजारमा आएको गीतको भिडियोमा बवुल गिरीको शब्द तथा संगीत र एरेन्ज रहेको छ । गितलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन । म्युजिक भिडियोमा रोहित शर्मा को छायाँकन, मिलन विश्वकर्माको सम्पादन र संगीत सागरको निर्देशन रहेको छ । उक्तगीतमा भुबन श्रेष्ठ , करिष्मा श्रेष्ठ , अभि सुनारको फिचरिङ रहेको छ । चकलेटी लुक्सका कारण पछिल्लो समय भुवनलाई नयाँ पुस्ताका आशा लाग्दा मोडलका रुपमा समेत हेर्न थालिएको छ । युवा पुस्तामाझ लोकप्रिय बन्दै गएका भुवनले नयाँ नयाँ म्युजीक भिडियोका लागि अफर आउने क्रम बढेको पनि बताए ।

९ हजारबढी परिवारका लागि खानेपानी योजना, ४० प्रतिशत काम सम्पन्न

काठमाडौं । काभ्रेपलान्चोकको तेमाल क्षेत्रमा ९ हजार ३१० परिवारका लागि खानेपानी आयोजना निर्माण भइरहेको छ । कूल रु १ अर्ब २७ करोडको लागतको सञ्चालन गरिएको आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिए। उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने आयोजनाको उद्देश्य हो । नेपाल सरकारको ९० र स्थानीय उपभोक्ताको १० प्रतिशत लगानीमा उक्त आयोजना सम्पन्न हुने अध्यक्ष लामाको भनाई रहेको छ । २०७२ असार महीनामा सम्झौता भएको आयोजनाको काम आउँदो २०७७ मङ्सिर २३ गते सक्ने लक्ष्य राखिएको छ । उक्त खानेपानी आयोजनाबाट तेमाल क्षेत्रका ठूला बस्ती मेथिनकोट, कटुञ्जे, कानपुर, सस्र्यूखर्क, सरमथली, बोल्देफेदिचे, पोखरी नारायणस्थन, चापाखोरी र मेच्छेका बासिन्दा लाभान्वित हुनेछन् । आयोजनाको नदीमा फिल्टर गर्ने चारवटा ट्याङ्की र तेमालको वाङ्देल डाँडामा चार लाख लिटर क्षमताका दुई वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ ।आयोजनाको लिफ्टिङ लागि १३ वटा पम्पले पानी नान्नेछन् । ती पम्पले रिजर्भ ट्याङ्कीमा प्रतिसेकेण्ड २३ लिटर पानी तान्ने अध्यक्ष लामाले बताए। आयोजनाको खानेपानी विस्तारका लागि २३ वटा ट्याङ्की, ११ वटा गार्ड घर, एक वटा खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने कार्य भइरहेको छ । आयोजनामा नेपाल सरकारको प्राविधिक खटिरहेका छन् भने हेटौँडास्थित सङ्घीय ढल तथा खानेपानी आयोजना डिभिजन कार्यालयले रेखदेख गरिरहेको अध्यक्ष लामाले भने । वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका तेमालका बासिन्दाले बृहत् खानेपानी आयोजना सञ्चालन भएपछि खुशी व्यक्त गरिरहेका छन् । तेमाल गाउँपालिका–५ का हेमलाल तामाङले पानीकै कारण ‘तेमालमा छोरी दिनु हुन्न भन्ने पुरानो समस्या बृहत् खानेपानी आयोजनाले टर्ने बताए। तामाङका अनुसार यस गाउँका बासिन्दा अहिले पनि दुई घण्टा पैदलको दूरीबाट कुवाको पानी लिन बिहान ३ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएको छ । ठूला बस्तीको बीचमा रहेको उक्त कुवामा दिनहुँ दुईदेखि ३०० सम्म गाग्रीका लाइन लाग्ने जानकारी दिएका छन् ।