१९ हजार सवारी चालकलाई कारवाही, एक करोड ४६ लाख राजश्व संकलन
चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७०० सवारी चालकलाई कारवाही गरेको छ । कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार ९८८, सिटबेल्ट नबाँध्ने र हेल्मेट नलगाएका एक हजार १७८, सवारी चलाउँदा आवश्यक पर्ने कागजपत्र नबोकेका तीन हजार ३०८ र सवारी चालक अनुमतिपत्र नभएका दुई हजार ७२६ जना रहेका छन् । यस्तै सवारी साधनमा बत्तीको अवस्था ठिक नभएका १५३, अन्यमा छ हजार ६६९, तीव्रगतिमा सवारी चलाउने ३४२, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ६२८ सवारी चालकलाई कारवाही गरिएको हो । जिल्लाको विभिन्न स्थानमा गरिएको जाँचका क्रममा कारवाहीमा परेका उनीहरुबाट एक करोड ४६ लाख ३१ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएका विभिन्न कार्यक्रम प्रभावकारी बन्दै गएको भए पनि सवारीसाधन लापरवाहीले चलाउनेको सङ्ख्यामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।
बेनी-जोमसोम-कोरला सडक आयोजना धमाधम, प्रगति ५५ %
ठिनी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ७० र ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सात वटा प्याकेजमा सञ्चालित जोमसोम–कोरला सडकको छोसेर–कोरला खण्डको १६ किलोमिटर स्तरोन्नतिको काम सकिएको छ । लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिलरसम्म गत कात्तिकमै स्तरोन्नति भएको हो । आयोजना प्रमुख मुकुन्द अधिकारीले अन्य छ वटा प्याकेजको पनि ७० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । “जोमसोम–कोरला सडकको बाँकी काम अबको एक वर्षभित्र स्तरोन्नति सकेर सहजरूपमा यातायात सञ्चालनको लक्ष्यअनुसार काम अघि बढाइएको छ”, आयोजना प्रमुख अधिकारीले भने, “जोमसोमदेखि–बेनीतर्फको सडक कालोपत्रे गर्न तयारी अवस्थामा छ । चैतमा कालोपत्रे शुरु हुन्छ ।” ट्र्याक मात्र खोलिएको अवस्थामा रहेको सडकलाई जोमसोमदेखि कोरलातर्फ ११ मिटर फराकिलो, नाली, ग्याबियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गर्न लागिएको हो । जोमसोमदेखि–बेनीतर्फको सडक कालोपत्रेका लागि चार वटा प्याकेजमा काम भइरहेको छ । जोमसोम–कोरलाखण्डको विसं २०७३ देखि सडक स्तरोन्नतिको काम शुरु भएको हो । बेनीदेखि कोरलासम्मको १८६ किलोमिटर सडकको ११ वटा प्याकेजमध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सबैभन्दा पहिले सकिएको हो । चालु आर्थिक वर्षभित्रै विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणबाहेक जोमसोम कोरला सडक स्तरोन्नतिको काम सकिने भएको छ । बर्खायाम, सवारी साधनको चाप, बाढी पहिरो र कटानका कारण सुस्ताएको बेनी–जोमसोम सडक कालोपत्रेका लागि फराकिलो बनाउने, पर्खाल लगाउने र नाली बनाउने कामले मङ्सिरपछि गति लिएको छ । समयतालिका बनाएर यातायातका साधन आवागमनलाई व्यवस्थित र सवारीको चाप पनि कम भएको अवस्थामा निर्माण व्यवसायीले विभिन्न ठाउँमा पर्याप्त जनशक्ति र उपकरण परिचालन गरेको आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले बताए । विसं २०७७ मङ्सिरसम्म काम सक्ने ठेक्का लिएका निर्माण व्यवसायीले हालसम्म ४० प्रतिशत काम गरेका छन् । २०७४ असारमा चार वटा प्याकेज (भाग)मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले दुई अर्ब ५० करोडमा ठेक्का लिएका थिए । तीन अर्ब ४० करोड कूल लागत अनुमान गरिएको थियो । शर्मा–गजुरमुखी जेभीले दुई वटा, शर्मा–युनाइटेड जेभीले एक र पप्पु–तामाङ–कोशी–न्यौपाने जेभीले एक प्याकेजको ठेक्का लिएका छन् । कोवाङ–टुकुचे खण्डमा ग्राभेल गरिएको छ । विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक कच्ची अवस्थामा छ । आयोजनाबाट कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेलीब्रिजलाई विस्थापित गरेर पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्य छ । गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीका अनुसार बेनी–घाँसा खण्डमा ‘डिबीएसडी’ र घाँसा–जोमसोम खण्डमा ‘असपाल्ट’ प्रविधिको कालोपत्रे गरिने भएको छ । नालीसहित ११ मिटर चौडाइ रहने सडकको सात मिटर चौडाइमा कालोपत्रे गरिने प्रतिनिधि क्षेत्रीले बताउनुभयो । पोखरेबगर र तिप्ल्याङस्थित कालीगण्डकी नदीमा सडक विभागअन्तर्गतको पुल विभाग सेक्टर नम्बर तीन पाल्पाले दुई वटा पुल बनाइरहेको छ । आयोजनाले गलेश्वरस्थित राहुघाट र दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण शुरु गरेको छ । बेनीदेखि कोरलासम्म ३१ वटा मोटरेबल पुल आवश्यक पर्ने आयोजनाले जनाएको छ । यसैगरी बेनी–मालढुङ्गा खण्डको सडक स्तरोन्नतिका लागि पनि नक्साङ्कनसम्बन्धी सरकारको निर्णय मागिएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । भिरकाटे र बादरजुङ भिरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन शुरु गरेको छ । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन हुन लागेको हो । “भिरकाटे र बादरजुङ भिरको कठिन भूगोल भएकाले नेपालमै नयाँ प्रविधि प्रयोगका विषयमा सडक विभागले विभिन्न विकल्पको अध्ययन शुरु गरेको छ”, आयोजना प्रमुख अधिकारीले भने, “कस्तो प्रविधि प्रयोग गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी नै छ ।” बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्रे भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । उनका अनुसार कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलबिद्युतको विकास हुने अपेक्षा गरिएको छ । रासस
चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी
काठमाडौँ । एकजना स्वयम् सेवक प्रशिक्षकले रौतहटको चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गर्न थालेका छन् । सितोरियो कराते संघ रौतहटका अध्यक्ष तथा स्वयंसेवक प्रशिक्षक पहाडीले विगत १७ वर्षदेखि स्थानीय किशोर किशोरीलाई निःशुल्क प्रशिक्षण दिइरहेका छन् । उनले नियमित प्रशिक्षणको अलावा जिल्लाका बिभिन्न किसिमका प्रतियोगिताको समेत आयोजना गर्दै आएका छन् । स्वयम् सेवक प्रशिक्षक पहाडीको नेतृत्व र बिभिन्न संघ संस्थाको सहयोगमा आउँदो फागुन १६, १७ र १८ गते चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गर्न लागिएको छ । प्रतियोगितामा भारत, श्रीलंका, भुटान, बंगलादेश र नेपालका सात प्रदेश र तीन बिभागीय टिमको सहभागिता रहने पहाडीले बताए । पूर्व साँसद रामकुमार भट्टराईको सांसद विकास कोषको रकमबाट चन्द्रनिगाहपुरस्थित तुलसीलाल स्मृति खेल मैदानसँगै बनेको कभर्ड हलमा करातेको नियमित प्रशिक्षण हुने गरेको छ । जिल्लामा राखेपको प्रशिक्षक नभएपनि पहाडीले प्रशिक्षण गराएका खेलाडीले प्रदेश नम्बर २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पछिल्लो समय जिल्लाका खेलाडीले म्याटमा प्रशिक्षण लिने गरेका छन । यसरी नियमित म्याटमा प्रशिक्षण लिने प्रदेश २ को यही जिल्ला मात्र हो । अन्य जिल्लासँग म्याट छैन । राखेपले आयोजना गर्ने विभिन्न प्रतियोगितामा स्वयंसेवक प्रशिक्षकले उत्पादन गरेका खेलाडीहरूले भाग लिने गरेका छन । पूर्व साँसद रामकुमार भट्टराईको सांसद विकास कोषको रकमबाट चन्द्रनिगाहपुरस्थित तुलसीलाल स्मृति खेल मैदानसँगै बनेको कभर्ड हलमा करातेको नियमित प्रशिक्षण हुने गरेको छ । प्रशिक्षणमा साना स्कुले बालबालिका समेत आउने गर्छन् ।