झापालीकाे नयाँ शैली, बेहुलो भाग्दा बाहुलार्इ ३५ लाख रूपैयाँ जरिवाना

झापा । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा ३५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै ३५ लाख जरिवाना तिरेका छन् । बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा दुई दिनसम्म भएको बहसपछि रेग्मीले बेहुलीका लागि भरणपोषण र पढाइ खर्चबापत सो रकम दिने सहमति भएको गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिए। राकेशले सोही ठाउँ निवासी २१ वर्षीया एक युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए । विवाहको भोलिपल्ट बेहुला र बेहुलीका आमाबुबाबीच सम्धी ढोकभेट कार्यक्रम पनि भएको थियो । सम्धी ढोकभेट सकिएपछि राकेश बेहुली छाडेर बेपत्ता भएका थिए । बेपत्ता भएका राकेश भारत गएर बसेको र केही दिनपछि आफन्तको सहयोगमा उनलाई झापा ल्याइएको थियो । झापा ल्याएलगत्तै उनी अहिले धुलाबारी इलाका प्रहरी कार्यालयको हिरासतमा छन् । हिरासतमा रहेका राकेशमा शारीरिक समस्या रहेकाले बेहुली छाडेर भागेको बताउँदै उनका बुबा लालप्रसादले बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा भने, “छोरामा शारीरिक समस्या रहेछ हामीलाई थाहा भएन, बेहुलीको भविश्य नबिग्रियोस् म उनको भरणपोषण र पढाइ खर्चका लागि ३५ लाख दिन्छु । ” सँगै बाच्ने सँगै मर्ने वाचा गरेर लगन गाँठो कसेका रेग्मीले किशोरीको अस्मितामाथि गम्भीर खेलबाड गर्दै महिला हिंसा गरेको भन्दै छलफलमा सहभागी अधिकारकर्मीले रेग्मी परिवारको आलोचना गरेका थिए । आइतबार र सोमबार भएको बहसमा बेहुलीको भरणपोषण तथा शिक्षाका लागि उक्त रकम बेहुला पक्षले दिने लिखित सहमति भए पनि जग्गेमा सातफेरी घुमेर लगनगाँठो कसेको सम्बन्धलाई कसरी टुंग्याउने भन्ने निष्र्कषमा भने पुग्न बाँकी रहेको गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताउनुभयो । त्यसको लागि पुनः आज दुई पक्षबीच छलफल हुने बताइएको छ । स्रोतका अनुसार बेहुलीले सिन्दूर पोते फिर्ता गरेर लगनगाँठोले कसेको सम्बन्ध तोड्ने तयारी भएको छ । यता विवाहमा लागेको खर्च बेहुला र बेहुली दुवै पक्षले आ–आफ्नै व्यहोर्ने, बेहुली पक्षले बेहुला पक्षलाई दिएको सबै उपहार फिर्ता गर्ने र बेहुलाले बेहुलीलाई दिएको उपहार पनि फिर्ता गर्ने निर्णय भएको छ । केटी भरणपोषणका लागि दिने भनेको ३५ लाख ३५ दिनभित्र दिने सहमति भएको बताइएको छ । गत फागुन २० गते विवाह गरेका राकेश विवाहलगत्तै २१ गते बेहुली छाडेर बेपत्ता भएका थिए । राकेश आफूमा यौन समस्या भएको भन्दै फरार भएका थिए । धुलाबारी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका राकेशको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । सामान्य बोलचाल मात्रः बेहुली दश महिना अघि फूलमाला गरेर गत फागुन २० गते विवाह गरेकी बुद्धशान्तिकी ती युवतीले केटा विदेशमा रहेको र टिकाटाले पछि फोनमा आफूहरुको कुरा नभएको तर सामाजिक सञ्जाल फेसबुकमा भने कुरा हुने गरेको बताइन्। उनले बिहेको दिन पनि केटाको घर पुगेपछि आफूलाई मोबाइलमा इन्टरनेटको पासवर्ड हालिदिएको र त्यसपछि कुनै बोलचाल नभएको भन्दै आफू दिनभरको थकानले गलेको भनेर केटा चाँडै सुतेको जानकारी दिइन् । गाउँपालिकामा भएको बहसमा केटा बेपत्ता भएलगत्तै परिवारले आफ्नो गरगहना फुकाल्न लगाएको र दुई दिनसम्म राकेश घर नफर्किएपछि माइतमा जानकारी गराएको उनले भनिन् । राकेश तीन वर्षदेखि संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारीमा रहेको र विवाह गर्नु १० दिनअघि मात्रै घर आएका थिए । रासस

खेलमार्फत ‘टिम नेपाल’लाई हौसाला

काठमाडौं । मे १०, २०१८ मा रसियाको मस्कोमा आयोजना हुन गईरहेको १८ वर्ष मुनिका फुटबल खेलाडीहरुबीच हुन लागेको सडक बालबालिकाहरुको ‘स्ट्रीट चिल्ड्रेन वल्ड कप–२०१८’ मा नेपाल २२ वटा देशहरु मध्ये छनोटमा परेको छ । उक्त नेपालको प्रतिनिधि टिम ‘टिम नेपालका’ प्रतियोगीहरुको हौसला बढाउन सन्राइज बैंकले बैंकका कर्मचारीहरु र टिम नेपालका प्रतियोगीहरुबीच मैत्रीपूर्ण खेल सातदोबाटो स्थित एन्फाको खेल मैदानमा सम्पन्न गरेको छ । सडक बालबालिकाहरुलाई उचित तालिम र अन्य सहयोग शेल्टर आश्रय नेपाल नामक गैर सरकारी संस्थाले पुर्याउदै आएको छ । बैंकका अनुसार उक्त मैत्रीपूर्ण खेलमा नेपालको प्रतिनिधि गर्ने टिम नेपाल ६–० को अन्तरले बिजयी भएको छ ।  

सिटिजन्स बैंकद्धारा हकुना माटाटा परियोजनालाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “साथ”नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको उक्त संस्थालाई सो मात्राको सहयोग प्रदान गरेको हो । बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । बैंकले एक कार्यक्रमका बीच सो मात्राको चेक संस्थाका संचालक क्रिस्टिमा कार्कीलाई हस्तान्तरण गरेको हो । हकुना माटाटा परियोजनाले काठमाडौंमा ३० र पोखरामा १० गरी जम्मा ४० जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक कार्कीले जानकारी दिएकी छिन् । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बताएका छन् ।