फोहोरको व्यवस्थापन मुलुकको लागि चुनौति, पानीलाई शुद्ध पार्न ९ गुणा खर्च लाग्ने
काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले हरेक नागरिकको स्वच्छ वातावरणमा बस्न पाउने संवैधानिक अधिकारको संरक्षण र प्रत्याभूतिको लागि फोहर पानी र ढलको समूचित प्रशोधन र व्यवस्थापन आवश्यक रहेको बताएका छन् । नेपालमा फोहर पानी प्रशोधनको विकेन्द्रीत मार्गचित्र : दक्षिण एशियाली अनुभवबाट सिकाई विषयक राजधानीमा शुरु भएको एक दिवसीय अन्तराष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री बस्नेतले फोहोरको व्यवस्थापन गर्नु पर्ने आवश्यकता महसुस गरेका थिए । कार्यक्रममा उनले पानीको अभावलाई पूर्ति गर्ने, वातावरण स्वच्छ पार्ने र सफा पानीको स्रोतलाई जोगाउनका लागि फोहर पानीको प्रशोधन अनिवार्य रहेको सुझाए । कानूनी व्यवस्था, उपयुक्त संरचनाको निर्माण, व्यवस्थापकीय पक्षहरुलाई संबोधन गर्दै सबै तहका सरकारको सक्रियता र समन्वयमा स्वच्छ वातावरणमा बस्न र बाच्न पाउने नेपाली नागरिकको अधिकारको प्रत्याभूति गरिने उनको प्रतिवद्धता छ । कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले फोहरलाई पनि स्रोतको रुपमा प्रयोग गर्न सकिने वताउदै भन्ने, ‘हरेक प्रकारको फोहर मोहरमा बदल्न सकिन्छ ।’ फोहर पानीलाई प्रशोधन गरेर शुद्ध बनाउन ९ गुणा खर्च लाग्ने बताउदै प्रदुषण गर्नु अपराध भएकोले त्यस्तालाई दण्ड वा जरिवानाको सरकारले व्यवस्था मिलाउनु पर्ने उनको बुझाइ छ । उद्घाटन कार्यक्रमलाई वातावरण तथा स्वास्थ्य संस्थाका अध्यक्ष तथा वातावरणविद् भूषण तुलाधरले नेपालमा ९६ प्रतिशत घरपरिवारमा चर्पीको सुविधा भए पनि चर्पीमा जम्मा भएको फोहरको व्यवस्थापन चुनौति पूर्ण रहेको बताए । ढल र नालीबाट निसृत फोहर पानीको प्रशोधनमा ठूला प्रणाली सञ्चालन गर्दा पूर्वाधार निर्माण र फोहर प्रवाहित गर्न बढी खर्च हुने भएकोले साना वस्तीका फोहर स्थानीय तहमा नै प्रशोधन गर्ने प्रविधि र अनुभवहरुलाई बढाउदै लैजानु पर्नेमा उनको जोड छ ।
१२० दिनसम्म चल्ने तङ्ग इल मोदोको प्रशिक्षण सुरू
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध भएर लोकप्रिय बन्दै गएको मार्सल आर्टस् सम्बन्धि खेल तङ्ग–इल मो–दो संघले नेपालमा पनि सफलता हात पार्दै गएको बताइएको छ । केही वर्षअगाडि मात्रै यो खेल राष्ट्रिय खेलकुद परिषद्मा १२८ नंम्बरमा दर्ता भएको थियो । नेपालमा दोस्रोपल्ट १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु भएको छ । तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा आइतबारदेखि विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको राष्ट्रिय तालिम केन्द्र, जोरपाटीमा प्रशिक्षण शुरु भएको हो । पूर्वमन्त्री एकनाथ ढकालले प्रशिक्षणको उद्घाटन गरेको बताइएको छ । उनले सो अवसरमा तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको जानकारी गराएका थिए । उद्घाटन कार्यक्रममा युपीएफ नेपालका महासचिव विनोद डाँगीले तालिमको उद्घाटनमा आउन पाएकोमा खुसी व्यक्त गरे । साथै उनले खेलाडीले सिकेको शिप राष्ट्रको सम्पत्ति हुने बताए । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलकुद स्वस्थ जीवन, अनुशासन, राष्ट्रको गौरवका लागि महत्वपुर्ण हुने बारे प्रकाश पारे । उनले खेलाडीहरू देशका गहना र शक्ती रहेको बताए । तालिममा सहभागी खेलाडीहरूलाई मार्सल आर्टका अलवा अग्रेजी तथा कोरियन भाषा प्रशिक्षण, सरसफाई, सामाजिक उतरदायित्व , व्यक्तित्व विकास सामाजिक कार्यमा समेत सहभागिता गराइने राष्ट्रिय तालिम केन्द्रका निर्देशक रुपसिंह भण्डारीले जानकारी गराए । प्रशिक्षणमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १३० युवा–युवतीहरूको सहभागीता रहेने आयोजकको भनाइ छ ।
लक्ष्मी केयर्सको माउन्टेन बाइक र्याली सम्पन्न, २ सय बढी सहभागी
काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसै सिलसिलामा ‘गो ग्रिन’ अभियानअन्तर्गत रही ‘उज्यालो अभियान’को एक हिस्साको रुपमा १० औं वार्षिक लक्ष्मी केयरस् माउन्टेन बाइकर्याली केही दिन अघि सम्पन्न गरेको छ । २ सय भन्दा बढी साइकल यात्रीहरुको सहभागीता रहेको उक्त र्याली लीले १३ किलोमिटरको दुरी तय गरेको आयोजकको भनाइ छ । सो कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । र्याली जावलाखेलस्थित सदर चिडियाखानाबाट सुरु भइ टंगाल उड, टंगाल पुगी सकिएको थियो । सम्पन्न स्थलमा एड्रियन प्रधान एण्ड फ्रेन्डजको लाइभ कन्स्र्ट पनि भएको बताइएको छ । आयोजकको अनुसार वार्षिक कार्यक्रमले जनचेताना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गरेको छ । यस अघि उज्यालो अभियानले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल एवं च्यारिटिसँग सम्बन्धित संघ संस्थाहरुमा सहयोग गर्दै आएको छ । गत वर्षहरुमाउज्यालो अभियानले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार क्षेत्र तथा बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सोलार लाइट जडान गरेको आयोजकको भनाइ छ ।