दैनिक ९० लिटर दुध बेच्दै कृष्ण अर्याल कमाउछन् मासिक डेढ लाख
काठमाडौं । विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल भएका छन् । उनले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्दै आएका छन् । उनले उत्पादन गरेको दूध स्थानीय रामपुर बजारमा खपत हुन्छ । पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनतअनुसार आम्दानी हुन्छ भन्ने उनी नमुना साबित भएका छन् । कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रमार्फत अर्यालले भैँसीपालन गरिरहेका छन् । भैंसीपालन केन्द्रमा भैँसीको दूधसँगै मुर्रा जातका भैँसीका पाडापाडीसमेत उत्पादन हुदैं आएको छ । केन्द्रमा अहिले २२ वटा मुर्रा भैँसी रहेका छन् । हाल नौवटा भैँसी र दुईवटा गाई दुहुना छन् । केन्द्रमा रहेको एउटा भैँसीले तीन पटकसम्म दिनमा दूध दिँदै आएको उनले बताए । पचास रोपनी जग्गामा भैसीका लागि आवश्यकताअनुसार घाँस खेती गर्दै आउनुभएका अर्यालको भैंसीपालन केन्द्र यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । यसबाट अहिले पाँच जनाले रोजगार पाएका छन् । स्थानीय सीताकुण्ड दुग्ध सहकारी संस्था रामपुरले सहुलियत दरमा ऋण, भैँसी तथा गाईको बीमा, घाँसको बीउ तथा प्राविधिक सहयोग गर्दै आएको सहकारीका अध्यक्ष कमल भट्टराईले बताए । सहकारीको सहयोगकै कारण रामपुर क्षेत्रमा करीव १०० भन्दा बढी युवा पशुपालन व्यवसायमा संलग्न रहेका छन् । पछिल्ला वर्षमा रामपुरमा दूधको खपत हुँदै आएको छ । सहकारीले सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्न थालेपछि विपन्न समुदायका महिला तथा पुरुष पशुपालनमा जुटेका छन् ।-रासस
वृज सिमेन्ट, मिरा हिमालय र पुष्पतारा केडिया फाउन्डेशनबीच सम्झौता, ५ लाख अनुदान सहयोग
काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज, पुष्पतारा केडिया फाउन्डेशन र मिरा हिमालयबीच हितकारी कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा वृज सिमेन्ट तथा पुष्पतारा केडिया फाउन्डेशनको तर्फबाट अध्यक्ष मनोज केडिया र मिरा हिमालयका तर्फबाट संस्थापक एड्रिन हायसले हस्ताक्षर गरेका छन् । प्रर्बतारोहि एड्रिन हायसको नेतृत्वमा मिरा हिमालयले २०७२ सालको भूकम्प पश्चात् हिमाली भेगहरुमा सामान्य औषधी, प्राथमिक उपचार लगायत स्वास्थ्य र सरसफाई सम्बन्धी शिक्षामा काम गर्दै आएको छ । यस कार्यका लागि वृज सिमेन्ट एवं पुष्पतारा केडिया फाउण्डेशनले ५ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । आगामी ३ वर्षसम्मको यस्तो सहयोग निरन्तर केडियाले बताए । वृज सिमेन्ट केडिया समूहको धेरै उद्योगहरु मध्ये एक महत्वपूर्ण उद्योग हो । पुष्पतारा केडिया फाउण्डेशन केडिया समूह अन्तरगतको परोपकारी संस्था हो । नाफारहित यो संस्थाले स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि तत क्षेत्रमा संरक्षण तथा टेवा पुरयाउने कार्य गर्दै आएको छ । मिरा हिमालयले विगत ३ वर्षदेखि नेपालको विकट हिमाली जिल्लाका क्षेत्रहरुमा निःशुल्क औषधी, प्राथमिक उपचार, शुलभ शिक्षा क्षेत्रमा परोपकारी काम गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकद्धारा कैलालीमा खाद्य तथा पोषाक वितरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कैलालीको निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३मा खाद्य तथा पोषाक वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार(आज) उक्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई बैंककाे धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्टका साथैकापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत हस्तान्तरण गरेको जनाएको छ । बैंकले हालसम्म ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।