नचायो नारायणी किनारमा एनसेल मेलाले, पोखरा, बुटवल, धरान र बिर्तामोडमा पनि नचाउँदै
काठमाडौं, ३०, भदौ । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन बिहीबार नारायणी किनारमा एनसेल मेलाको आयोजना गरेको छ । बिहान ११ बजे शुरु भएको उक्त मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण मेलामा आगन्तुकहरुले विविध कार्यक्रम, गतिविधि र कन्सर्टको भरपुर आनन्द लिएका थिए । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका रहेका थिए । मनोरञ्जनका साथ साथै मेलाका आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर लिन सकेका थिए भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्नहरुको भीड लागेको थियो । मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई, एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्ले आ—आफ्नो प्रस्तुती गरेका थिए । डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई नचाएका थिए । मेलाको विषेश आकर्षण रहेको कन्सर्टमा, गायक सुगम पोख्रेलले आफ्नो उत्कृष्ट गीतहरु जस्तै झिल्के, प्रेम गीत लगायतका गीतहरुले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । शिव परियारले क्या दामी भो, संगी डुब्दै छु गाउँदा दर्शकहरु उनीसँगै गाउँदै नाचेका थिए । मिलन अमात्यको गाला रातै, स्लोली स्लोली अनि लाउरेको नेपहपको बाटो, साथी हो र एक्स व्याण्डको लुक्न देउ, चियाबारीमा जस्ता प्रस्तुतीहरुले दर्शकहरुलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेको थियो भने कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीमा दर्शकहरु मन्त्रमुग्घ भएका थिए । मेलामा आउने जुन सुकै उमेर समुहका दर्शकलाई उक्त मेलामा मनोरञ्जनका कार्यक्रमहरु समावेश गरिएका थिए । बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी पनि मेलामा समावेश गरिएका थिए । त्यसैगरी गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु रहेका थिए र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाएका थिए । दर्शकहरुले मेलामा विविध रोचक गतिविधीहरु बाहेक नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरुमा विभिन्न परिकारहरुको मज्जा लिएका थिए । नारायणघाट पश्चात एनसेल मेला अब असोज १ गते पोखरामा आयोजना हुनेछ । यो मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ । “एनसेल मेला मार्फत खुसीयाली साट्न तथा नजिकिदै गरेको चाडपर्वको अवसरमा आदरणीय ग्राहकहरु माझ पुगेर शुभकामना आदानप्रदान गर्न पाउदा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यही शिलशिलामा हामी मनोरन्जनले भरिपूर्ण यो मेला लिएर पोखरा, बुटवल, धरान र बिर्तामोड पुग्दै छौ । ”
फिफा बरियातामा नेपाल २ स्थान उक्लियो
काठमाडौं, ३० भदौ । विश्व फुटबल महासंघ(फिफा)को बरियातामा नेपालले दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा उक्लिएको छ । फिफाले हरेक महिना सार्वजनिक गर्ने बरियाताक्रममा नेपालले दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा पुग्न सफल भएको हो । दक्षिण एशियामा भने नेपाल चौथो स्थानमा कायमै छ । सार्क मुलुकहरुमा भारत १४८ औं बरियातासहित शीर्ष छ । चार स्थान सुधार गर्दै अफगानिस्तान दोश्रो स्थानमा पुगेको छ । फिफाका तत्कालिन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको आरोपमा फिर्फाले बर्खास्त गरेपछि नेपालको फुटबलमा सुधार हुँदै आएको छ । अझ कप्तान सागर थापा लगायतलाई म्याच फिक्सिङको आरोपमा पक्राउ गरिएपछि नेपाली फुटबलमा नयाँ युग आरम्भ भएको आँकलन गर्न थालिएको छ ।
१९ दिनमा ४ सय पटक अनुगमन, कारवाहि शून्य
काठमाडौं, २८, भदौ । दसैं नजिकिँदै गर्दा आपूर्ति मन्त्रालयको सक्रियतामा सुरु भएको विशेष ‘मौसमीु अनुगमन रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आपूर्ति मन्त्रालयले निकै तामझाम गरी विभिन्न सरोकारवाला निकायको सहकार्यमा सुरु गरेको अनुगमन १९ दिनमै रोकिएको हो । १९ दिनसम्म भएको अनुगमनमा कालोबजारी गर्नेमाथि कुनै कारबाही हुन नसकेको समाचार मंगलबारको अन्नपूर्णमा छापिएको छ। प्रधानमन्त्री दाहालको ठाडो आदेशमा आपूर्ति मन्त्रालयको टोली, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग,नेपाल आयल निगम, खाद्य संस्थान, औषधि व्यवस्था विभाग, पशुपन्छी क्वारेन्टाइन, नेपाल प्रहरी, उपभोक्तावादीसहित १० वटा सरोकारवाला निकायको १२ वटा कार्यदल बनाएर काठमाडौं उपत्यकाका सानोदेखि ठूला व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । १९ दिनको अवधिमा चार सय सातपटक अनुगमन गरिए पनि कुनै व्यापारिक प्रतिष्ठानमाथि कुनै कारबाही भएन । आम उपभोक्ता तथा उपभोक्तावादीले जनताका आँखामा छारो हाल्न सरकारले मौसमी अनुगमन मात्रै गरेको आरोप लगाएका छन् । ठूला व्यापारिक र घराना मानिने मेगा मार्ट र बिगमार्ग, सेलवेज, रुचिका ट्रेडर्स, शुभ सिंगल इन्टरनेसनल, भाटभटेनी, कृष्ण नेपाल ट्रेडिङ, युनाइटेड डिस्ट्रिब्युटर, हेभेन इन्टरनेसनल, पुष्पाञ्जलि, एलाइट कन्टिनेन्टल, अनु ट्रेड लिंक, विजयकुमार अग्रवाल र ऋषभ ट्रेडजस्ता पाँच दर्जनभन्दा बढीमा छापा मार्दा कैफियत भेटिए पनि कुनै कारबाही गरिएको छैन । यस्ता व्यापारिक प्रतिष्ठानबाट म्याद नाघेका गुणस्तरहीन खाद्य पदार्थ भन्दै सरकारले तीन करोडभन्दा बढी मूल्यका खाद्य, पेय, मसला, माछा मासु, कस्मेटिक्सलगायतका सामग्री जफत गरी आपूर्तिमन्त्री दीपक बोहोराले निकै तामझाम गरी सुन्दरीघाटमा नष्ट गरेका थिए । तीन सय प्रतिशतभन्दा बढी नाफा उपभोक्ताबाट असुल गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका व्यापारिक प्रतिष्ठानमा वर्षेनि सरकारले प्रचारात्मक रूपमा अनुगमन गरे पनि हालसम्म अत्यधिक मुनाफा लिने व्यापारीलाई कारबाही गरेको छैन । वर्षेनि अनुुगमन भएर समस्या भेटिने भाटभटेनी र आँगन मिठाईलाई पनि कुनै कारबाही भएको छैन । दोषीलाई कुनै कारबाही नहुँदा सरकारी अनुगमनको प्रतिफल उपभोक्ताले महसुस गर्न पाएका छैनन् । पछिल्लोपटक अनुगमनका क्रममा आँगनको मिठाईमा प्रतिग्राममा दुई सय ढुसी पाइएको थियो । यसैगरी प्रतिग्राम मिठाईमा १६ हजारको संख्यामा कोलिफर्म र खुवाजन्य मिठाईमा पीठो भेटिएको थियो । ‘मौसमी रूपमा गरिने यस्ता अनुगमन वर्षेनि सरकारले नामका लागि मात्र गर्दै आएको छ । सरकारले वार्षिक रूपमा गर्ने प्रक्षेपणलाई भेट्ने गरी अनुगमन गर्ने तर कारबाही नगर्ने परिपाटीका कारण विमानस्थलमा अहिले पनि समस्या जहाँको त्यही छु, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘भाटभटेनी र आँगनलगायतका प्रतिष्ठानमा पटकपटक अनुगमन हुन्छ तर आजसम्म जनताले बुझ्ने गरी कारबाही नगरी उन्मुक्ति दिइएको छ । प्रचार र सस्तो लोकप्रियताका लागि मात्रै गरिने यस्ता अनुगमनको उपलब्धि शून्य भेटियो ।