आइएमई फाउन्डेशनद्धारा शितलहर प्रभावितलाई ब्ल्याङ्केट वितरण

तराई । आइएमई फाउन्डेशनले विगत केहि दिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागि  ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ यस फाउन्डेशनले तराईका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेकाे हाे । आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका-०३, जम्दह रकल्याणपुर नगरपालिका-०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका-०९,मलेठ र खड्क नगरपालिका-०३, बानरझुलामा रहेका प्रभावित घरपरिवारलाई साे मात्राकाे ब्ल्याङ्केट वितरण गरेको हाे । आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धितक्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दै आएको छ ।

सिटिजन्स बैंकद्धारा महोत्तरीमा ४२६ थान कम्बल वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीमा ४२६ थान कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातीका विप्पन निसहाय व्यक्तिहरुलाई सो मात्राको कम्बल वितरण गरेको हो । जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा गौशाला नगरपालिकामा २२४ थान र औरही नगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल वितरण गरेको बैंकले जनाएको छ । बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने (मुसहर ,असक्त , असहाय , बिधवा, साधु, सन्त)हरुलाई कम्बल वितरण गरेको छ । उक्त हस्तान्तरण बैंकको संचालक समितिको सदस्य डा चन्दा कार्कीले गरेकी छन् । बैंकले देखाएको यस अग्रसरताले अत्यन्तै पिछडिएको मानिने मुसहर बस्तीमा न्यानोपन ल्याउन कोशेढुंगा साबित हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी गराएका छन् ।

स्वावलम्बन लघुवित्तको १७ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १७औं वार्षिकोत्सव एक समारोह बीच काठमाडौंमा सम्पन्न भएको छ । उक्त समारोहको उद्घाटन नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका का.मु.कार्यकारी निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि देवकुमार ढकालले गरेका छन् । सोही अवसरमा ढकालले वित्तीय संस्थाले यस प्रकारका कार्यक्रम गरी विभिन्न विधामा ग्राहक सदस्यहरुलाई सम्मान गरी प्रोत्साहन गर्नु अत्यन्त प्रशंसनिय रहेको बताएका छन् । कार्यक्रमका सभापति तथा बैंक संचालक समितिका अध्यक्ष बिजेन्द्र सुवालले हालको प्रतिस्पर्धामा चुनौतीहरु रहेता पनि चुनौतीलाई अवसरको रुपमा लिएर संस्था अगाडि बढ्ने बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले बैंकको विकासको १६ वर्षको समय अन्तरालमा विभिन्न साना ठूला समस्या र चुनौतिहरुलाई सहजता र सफलतापूर्वक पार लगाउदैं आजका दिनसम्म आइपुगेको बताउदैँ विगत र वर्तमान गौरव गर्न लायक रहेको बताएका छन् । बैंकले हाल ५४ जिल्लाका १२३ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख १८ हजार ९ सय ७२ ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । बैंकको हाल ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।