धनराज गुरूङ र रबिन्द्र अधिकारीको उद्घोषः लोकमानलाई महाअभियोग

काठमाडौं, १७ साउन । नेपाली काँग्रेस र एमालेका युवा नेताहरु अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने पक्षमा उभिएका छन् । काँग्रेस युवा नेता धनराज गुरूङ र एमाले युवा नेता रबिन्द्र अधिकारीले अख्तियारका प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाएरै छाड्ने घोषणा गरेका हुन् । काँग्रेस युवा नेता गुरूङले भने,‘उहाँमाथि गम्भिर आरोप लागेको छ, यो देश र जनताको लागि अत्यन्तै महत्वपूर्ण विषय हो, नयाँ सरकार गठन भएसँग संसदमा ५ सय ९६ सदस्यहरुवीच अवश्य छलफल हुन्छ, छलफल भैसकेपछि वास्तविक कुरा बाहिर ल्याउने विषयमा संसदीय छानविन समिति गठन भएर महाअभियोग लगाउन सम्म सकिन्छ ।’ नयाँ सरकार गठनसँगै कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथी छलफल सुरु हुने उनले बताए । उनले अघि थपे,‘समितिमा बोलाउँदा डाक्टरले नबोल्नु भनेको छ भनेर झुक्याउने काम भयो, घाँटी दुःखेको बहानामा संसद छल्न पाईन्छ र ?’ उनले विरामी भएकै कारण समितिमा भाग लिन नमानेका कार्कीले खुलमखुल्ला टेलिभिजनमा अन्र्तवार्ता दिएकोवारे प्रश्न गर्दै भने,‘उही लोकमान हो कि अर्को हो, तर त्यही अनुहार गरेको व्यक्ति त बडो शानका साथ टिभिमा अन्र्तवार्ता पो दिईरहेको छ, डाक्टरले पनि कस्तो प्रिस्क्रिप्सन दिँदा रहेछन्, समितिमा बोल्न नहुने अनि टिभीमा चाहीँ ठूलो स्वरले बोल्न मिल्ने ?’ उनले अख्तियार प्रमुखमाथि काठमाण्डौं विश्वविद्यालय प्रवेश परिक्षा, गोकर्ण रिसोर्टको शेयर काण्ड र सार्वजनिक लेखा समितिले सुन काण्डबारे अडियो–भिज्यूयल प्रमाण पेश गर्दासमेत कुनै चासो नदेखाईएकोले उसको कार्यक्षेत्रमा व्यापक प्रश्न उठेको गुनासो गरे । एमाले युवा नेता रबिन्द्र अधिकारीले संसदमा सार्वजनिक महत्वको विषयमा छलफल हुने निश्चित भईसकेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि छलफलमा भाग लिने दाबी गरे । उनले भने,‘सार्वजनिक महत्वको प्रस्ताव भएकोले हाम्रो पार्टीले भाग नलिने भन्ने कुरै आउँदैन, छलफल गर्दै जाने हो यसले अरु धेरै बाटोहरु खोल्छ भन्नेमा म विश्वस्त छु ।’ अधिकारीले एक दुईवटा राम्रो काम गरेको बहानामा संसदलाई छल्ने काम गर्न नमिल्ने बताए । उनले अघि थपे,‘अख्तियारलाई बलियो बनाउनुपर्छ, यसको अर्थ लोकमानलाई बलियो बनाउने होईन नि ।’ अधिकारीले संवैधानिक निकाय मर्यादित भएर बस्नुपर्ने उल्लेख गर्दै भने,‘संसदले बोलाउँदा अनि संसदीय समितिले बोलाउँदा संवैधानिक निकायले जवाफ दिनुपर्छ, विरामी भएको बहानामा संसदलाई छल्ने काम गर्नुहुँदैन, संसदले बोलाउँदा नगएपछि हामीले कसरी उहाँलाई उत्तरदायित्व मान्ने त ?।’ अधिकारीले आक्रोश पोख्दै भने,‘अख्तियार र यसका प्रमुख भागेका छन्, यस्तो तरिकाबाट राज्य कसरी चल्छ ?।’ तर, नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले अख्तियार प्रमुख आयुक्तलाई महाअभियोग लगाउन नमिल्ने ठोकुवा गरे । उनले भने,‘संसदमा दर्ता भएको पत्र ध्यानाकार्षण पत्र मात्रै हो, यो महाअभियोगको लागि आएको विषय होईन् ।’ साहले अहिले अख्तियार छ भन्ने बोध भएको उल्लेख गर्दै भने,‘यतिखेर अख्तियारलाई झनै बलियो बनाउन आवश्यक छ, उनले अख्तियारले केही गल्ती वा कमीकमजोरी गरेको भए सच्चिन आग्रह गर्नुपर्छ ।’

जैैविक मार्गमा गाडी रोक्दै हुनुहुन्छ ? होसियार !

रत्ननगर, १६ साउन । वन्यजन्तु आवतजावत गर्ने चितवनका जैविक मार्ग (कोरिडोर) क्षेत्रमा तपाईं गाडी रोक्दै हुनुहुन्छ ?  पहिले पहिले रोक्नुभएको पनि होला । दिसापिसाब पनि गर्नुभयो होला । अञ्जानमा वन्यजन्तुलाई गाडीले ठक्कर दिएर भाग्नु पनि भयो होला । तर अब तपाईंले यसरी गाडी रोक्नुभयो भने या कुनै अवाञ्छित गतिविधि गर्नुभयो भने निकुञ्ज ऐन वा वन ऐन आकर्षित हुने भएको छ । यसबाट तपार्इं उम्कन सक्नुहुन्न । पहिले फुत्कनु भएको भए पनि अब भाग्न सम्भव छैन । किनकि अहिले चितवनको जैविक मार्गमा सिसी क्यामेराले समेत निगरानी गरिरहेको हुन्छ । चितवनको भरतपुर र रत्ननगर जोड्ने जैविक मार्ग टिकौली जङ्गलमा वन र वन्यजन्तुको संरक्षणका लागि यसरी कडाइ थालिएको हो । पहिलो चरणमा चालकलाई जानकारी दिने कामको थालनी भएको छ । जानकारी दिएपछि पनि अटेर गरे कारबाही गरिने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । गएको बुधबार चितवनको टिकौली जङ्गलमा एक हुल मानिस जम्मा भए । सेना प्रहरी र वनरक्षक आफ्नै पोसाकमा थिए । झट्ट हेर्दा गाडी चालकलाई प्रहरी जाँच हुँदै छ भन्ने लाग्यो । कति मोटरसाइकल बीचैबाट फर्किएर भागे पनि । तर यो जाँच नभएर ‘संरक्षणका लागि एक मिनेट’ नारासहितको प्रचारप्रसारको कार्यक्रम थियो । एक मिनेट गाडी रोकेर चालक/सहचालकलाई संरक्षणबारे चेतना दिने, सिसी क्यामेराको निगरानीबारे जानकारी दिने र पछि यस्ता क्रियाकलाप भएको पाइए कारबाही गर्ने विषयमा सुसूचित गर्ने अभियानको उद्देश्य थियो । अभियान चल्दै गर्दा अलि पर टिकौलीको जङ्गलमा ढुङ्गा बोकेर टाँडीबाट नारायणगढ जाँदै गरेको बा२अ ६४५० नम्बरको ट्रक रोकियो । गाडीबाट चालक र सहचालक ओर्लिए । अनि ढुक्कसँग सडक छेउबाटै पिसाब फेरे । अलि वर आएपछि चितवन निकुञ्जका रेन्जर सुशील झाले रोकेर चालक मङ्गल लामालाई सोध्नु भो, “गुरु जी रु जङ्गलमा रोक्न पाइँदैन, पिसाब गर्न पाइँदैन भन्ने थाहा छैन ।” चालकले जवाफ दिए – “छैन सर ।” “पहिलो चोटिलाई भै’गो, अब आइन्दा रोक्नुभयो भने कारबाही हुन्छ,” झाले यसोभन्दा चालक लामाले मुन्टो हल्लाएर सहमति जनाउनु भयो । “अनि सुन्नुस्, जङ्गलमा ४० को भन्दा माथि स्पिड नगर्नुस्, जङ्गली जनावर हिँड्छन्, विचार गर्नुस्, फोहर नफाल्नुस्, सिसी क्यामेरा पनि जोड्या छ, सबै कुरा रेकर्ड हुन्छ, बुझ्नु भो नि रु” झाले थप्नुभयो । लामाले हुन्छ भन्दै गाडी हाँके । रेञ्जर झाले यसो भनिरहँदा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत शशांक पौडेल अन्य कार तथा मोटरसाइकल चाकललाई पर्चा दिँदै सम्झाउँदै हुनुहुन्थ्यो । राप्ती नगरपालिकाबाट नारायणगढ जाँदै गर्दा ना १३ प २८९७ नम्बरको मोटरसाइकलका चालक राजकुमार उप्रेतीलाई उहाँले संरक्षणबारे सचेत गराउनुभयो । वन्जयन्तु आउजाउ गर्ने स्थान भएकाले टिकौली जङ्गलमा गति सीमित गर्न उहाँले अनुरोध गर्नुभयो । उप्रेतीले सही थाप्नुभयोे, “संरक्षणको विषयमा म ध्यान दिने छु ।” लगत्तै बा १४ च १९०० नम्बरको कारलाई रोकेर उहाँले चालकको हातमा पर्चा थमाउँदै भन्नुभयो, “अब तपाईं जङ्गलमा सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ । वन्यजन्तु हिँड्दा गति सीमित गर्नुस् । बीचमा गाडी रोक्नुभएन ।” चालक रामेश्वर चौधरी हुन्छ भन्दै गन्तव्यतर्फ लाग्नुभयो । यो अभियान विगत एक सातादेखि जारी छ । यसरी अभियान थालिएको जिल्लामा यो पहिलो हो । मुख्यगरी ४÷५ कुरालाई ध्यानमा राखेर जैविक मार्गमा निकुञ्ज र सरोकारवाला निकायले कडाइ थालेको हो । “निरन्तर सिसी क्यामेराको निगरानीमा छौँ भन्ने जानकारी चालकलाई हुनुप¥यो, बीचमा रोक्न पाइँदैन भन्ने जानकारी दिनुप¥यो, गति सीमित गर्नुप¥यो र फोहर फाल्नुभएन भने सूचना दिनुप¥यो, यही चार कुरालाई ध्यानमा राखेर चालकलाई संरक्षण शिक्षा दिन थालेका हौँ,” संरक्षण अधिकृत पौडेलले भन्नुभयो । पहिलो चरणमा गाडी रोकेरै गत आइतबारदेखि अभियान थालिएको छ । साउनदेखि टिकौली जङ्गलको झन्डै सात किलोमिटर क्षेत्रमा १० वटा सिसी क्यामेरा जडान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन निकुञ्ज, मध्यवर्ती क्षेत्र, प्रहरी, सेना, स्थानीय प्रशासन र जिल्ला वनको समन्वयमा यो काम भएको हो । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल जैविक मार्ग क्षेत्र र संवेदनशील क्षेत्रमा आफूहरुले यो कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको बताउनुहुन्छ । सौराहाको संवेदनशील क्षेत्रमा पनि सिसी क्यामेरा जोडेर निगरानी थाल्ने र यस्ता गतिविधि गर्ने सवारी चालकलाई कारबाही गर्ने तयारी गरिएको उहाँको भनाइ छ । क्यामेरा जोडिएपछि अभिलेखमा गतिलो कुरा भेटिएको कँडेलको भनाइ छ । अघिल्लो साता राति करिब १ बजेको समयमा टिकौली जङ्गलको बाटो काट्न लाग्दा एउटा दुर्लभ पाटेबाघ आयो, अघिपछिको गाडीका बत्तीका कारण बाघले बाटो काट्न सकेन । ऊ ‘यु’ टर्न गरेर फक्र्यो । एक मिनेट कै अन्तरालमा एउटा रात्रि गाडी त्यहीँ आएर रोकियो, जहाँ बाघले भर्खरै बाटो मोडेको थियो । अनि यात्रु धमाधम ओर्लिए र दिसापिसाब गर्न थाले । सिसीको अभिलेखबारे बताउँदै प्रमुख संरक्षण अधिकृत कँडेलले भन्नुभयो, “एक मिनेटको मात्रै फरक नभएको भए त्यहाँ जे पनि हुन सक्थ्यो ।” यो एउटा दृष्टान्त हो । यति संवेदनशील क्षेत्रमा हेल्चेक्रयाइँले अनाहकमा वन्यजन्तुको ज्यान जाने गरेको छ भने मानिसको जोखिम पनि उत्तिकै बढ्दो छ । अझ फोहर फाल्ने गर्नाले जैविक विविधता र दुर्लभ वन्यजन्तु मै नराम्रो असर पार्ने गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । गएको वर्ष चितवनमा १५ दुर्लभ वन्यजन्तुलाई यही सडकमा गाडीले हानेर मारेको तथ्याङ्क छ । तर वन र निकुञ्जको तथ्याङ्कमा पाँच वटा गाडी मात्रै कारबाहीमा परेका छन् । “सिसी क्यामेरा भएको भए सबै गाडी पर्ने थिए,” प्रमुख संरक्षण अधिकृत कँडेलले थप्नुहुन्छ – “अब त्यस्ता गाडी उम्कँदैनन् ।” पहिलो चरणमा प्रचारप्रसार गरेर गाडी चालकलाई जानकारी दिने र दोस्रो चरणमा अटेर गर्नेमाथि कारबाही चलाइने छ । यसरी गाडीले वन्यजन्तु किचेमा रु २० हजार जरिवाना र दुई वर्षसम्म कैद हुने सजाय ऐनमा छ । अझ गैँडा, बाघ, र हात्तीलाई ठक्कर दियो भने सजाय थपिने निकुञ्जले जनाएको छ । संरक्षणकर्मी रामप्रित यादव यति महत्वपूर्ण वन्जयन्तु र जैविक विविधताका विषयमा मानिस अझै संवेदनशील नभएकामा चिन्ता प्रकट गर्नुहुन्छ । नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन निकुञ्जले बाघको विषयमा अन्तर्राष्ट्रिय क्याट्स अवार्ड समेत पाएको छ । दुर्लभ वन्यजन्तु पाटेबाघ र एकसिङ्गे गैँडाको सबैभन्दा ठूलो वासस्थान चितवन निकुञ्ज हो । यस्तो संवेदनशील क्षेत्रबाट महाभारत पर्वत जोड्ने जैविक मार्ग चितवनको टिकौली जङ्गल हो । त्यसैले यो क्षेत्रलाई सुरक्षित राख्न पहिलो चरणमा यहाँबाट ‘संरक्षणका लागि एक मिनेट’ कार्यक्रम समेत चलाइएको छ । टिकौलीको यो जङ्गलमा फोहरको डङ्गुर भने यथावत् नै छ । रासस

जमिनको प्रयोगमा भएको परिवर्तन र जैविक विविधतामा देखिएको असर

काठमाडौँ, १५ साउन । दोस्रो विश्वयुद्धपछि तीव्र गतिमा ठूलाठुला परिवर्तन भए । बितेका ७०/८० वर्षभित्र मानिसलेहरूले सवारीसाधन, सञ्चारमाध्यम र अरु प्रविधिका क्षेत्रमा निकै उन्नति गरे । यसले गर्दा संसारको अर्थिक अवस्थामा पनि निकै फड्को मारेका अनुभूति हुन्छ । अहिले थुप्रै मानिसले उच्च जीवनस्तरको आनन्द उठाइरहेका छन् जुन केही वर्ष अगाडि असम्भव ठानिन्थ्यो । अर्कातिर पृथ्वीको जनसङ्ख्या दिनदिनै बढेको छ र मानवीय गतिविधि पनि दैनिक बढ्दैछन् । झट्ट हेर्दा जनसङ्ख्या वृद्धिले पृथ्वीमा खासै असर नपारेजस्तो लागेपनि यी सबैकुरा प्राप्तगर्न विश्वले ठूलो मूल्य चुकाउनुपरेको छ । अहिलेकै अवस्थामा यस संसारमा भएका प्राकृतिक स्रोत र साधनमाथि दोहन भइरहने होे भने अब चाँडै पृथ्वीमा जीवन धान्न अत्यावश्यक प्राकृतिक चक्रले ठीक तरिकामा काम गर्न छोड्नेछन् । हामी आन्थ्रोपोसिन भनिने भौगर्भिक युगमा मानिसहरूले पृथ्वीको इतिहासमा पहिला कहिल्यै नभएका विनासकारी काम गरेका छन् र यो क्रम दिन प्रतिदिन बढ्दै गइरहेको छ । केहि वैज्ञानिक पृथ्वीमा आएका परिवर्तनले कुन हद्सम्म असर पु¥याउन सक्छ भनी पूर्वानुमान लगाउन गाह्रो हुने बताउछन् । जलवायुमा अचानक र कल्पना नै नगरेको परिवर्तन आएमा त्यसले भयानक विपत्ति ल्याउने हँुदा प्राकृतिक साधनमाथिको दोहनलाई नियन्त्रण गरिनु जरुरी भएको उनीहरू बताउछन् । अण्र्टाकटिकाको बरफको सतहमा समुद्र र पृथ्वीको तापक्रम अहिलेकै दरमा वृद्धि हुने हो भने यहाँको बरफको तह पग्लेर जान्छ जसको सङ्केत अहिल्यै देखिन सुरु गरिसकेको बताइन्छ । तापक्रम वृद्धिका कारण पग्लिएको बरफ फेरि जम्ने सम्भावना नरहने हुँदा यसलाई पग्लिनुबाट जोगाउनु नै बुद्धिमानी हुनेछ । किनकि बरफको तह पग्लिङ्दै गएमा बरफको तहमूनि भएको समुद्र बाहिर देखापर्छ । बरफले सूर्यका किरणलाई फर्काउने काम गर्छ, यदि बरफ पग्लिन थाल्यो भने समुद्रमा परिणत हुन्छ । समूद्रको कालो सतहले सूर्यको प्रकाश सोस्नथाल्छ फलतः तापक्रममा अझै वृद्धि हुन्छ बाँकी बरफ झनै बढी पग्लिन थाल्छ । बरफ पग्लिदा समुद्रमा पानीको सतहमा वृद्धिभई स्थल प्राणीले झनै विपत्ति भोग्नुपर्छ । त्यसो त मानवीय गतिविधिका कारण वातावरणमा परिवर्तन आउँदा प्रकृतिको वरदान मानिएका जमिन, वन–जङ्गल, जीवजन्तु, पशुपंक्षीलगायतका प्राकृतिक स्रोत साधन माथि अहिले निकै खतरा उत्पन्न भएको र यसलाई प्राकृतिक अवस्थामा ल्याउन सम्भव नभएको तर अव हुने थप नोक्सानीबाट जोगाउन सकिने अमेरिकी वातावरणविज्ञ तथा वरिष्ठ पत्रकार विलियम अर्नेष्ट ‘बिल’ म्याककिबनले आफ्नो वातावरणसम्वन्धि प्रकाशन “द इन्डअफ नेचरमा” बताए । पछिल्लो समयमा दीर्घकालीन दिगो विकासका लागि गरिएको विश्वव्यापी पहलकदमीका बावजुद जमिनको प्रयोगमा भएको परिवर्तनका कारण विश्वव्यापी जैविक विविधताको रेखा ‘सुरक्षित’ तहभन्दा तल झरेको छ । विश्वका हरेक मुलुकले आफ्नो बलवुताले भ्याएसम्म कार्यक्रम नै बनाएर जैविक विविधता संरक्षण गरी यस संसारमा मानवीय हस्तक्षेपका कारण आउने परिवर्तनलाई जोगाउन लागिरहेका समयमा लण्डनको यूनिभर्सिटी कलेजका न्यूवोल्डकोे नेतृत्वमा भएको एक अध्ययनले पर्यावरणविद्बाट जैविक विविधताका लागि कायम गर्न सुझाब दिएको रेखाभन्दा निकै तल पुग्नुलाई चिन्ताको बिषयका रुपमा प्रस्तुत गरेको छ । अमेरिकी एक विज्ञान पत्रिकामा हालै प्रकाशित गरिएको बेलायती विज्ञ न्यूवोल्डकोे नेतृत्वमा भएको अध्ययन प्रतिबेदनमा ३९ हजार १०० प्रजातिको १८ हजार ६०० स्थानमा गरिएको २० लाख ३८ हजार तथ्यको विश्लेषणबाट मानिसले यस संसारमा बसोबास गर्ने विभिन्न जीव र प्रजातीको बासस्थानलाई हस्तक्षेप गरी प्राकृतिक स्रोतसाधनको दोहन गर्दा कसरी हरेक वर्ग किलोमिटरमा जैविक विविधतामा असर पर्छ भन्ने निष्कर्ष निकालिएको बताइएको छ । विश्वको ५८।१ प्रतिशत भू–सतह, जसको ७१।४ प्रतिशत जमिन मानव बसोबासका लागि प्रयोग भएको छ र अध्ययनले जैविक विविधताको तह कम हुनुले मानव समाजलाई सहयोग गर्ने पारिस्थितिक प्रणालीको क्षमतामाथि पर्याप्त शङ्का उब्जाएको छ । जमिनको प्रयोगबाट आएको परिवर्तनले जैविक विविधताका तह, जो मानव गतिविधिका लागि सुरक्षित स्थान परिभाषित गर्ने अन्तरराष्ट्रिय ढाँचा हो, लाई हालसालै प्रस्तावित भूमण्डलीय सुरक्षा सीमा भन्दा टाढै राख्दछ । ‘‘हामीले बासस्थान विनासले जैविक विविधतामा पारेको विश्वव्यापी प्रभावको परिमाण यति बिस्तारमा यकीन गरेको यो पहिलो पटक हो र विश्वका धेरैजसो जैविक विविधताको विनाश पर्यावरणविद्ले बताएजस्तो सुरक्षित सीमाभित्र नरहेको पाइएको छ,” युनिभर्सिटी कलेज लन्डनका अनुसन्धाता टिम न्युबोल्डले बताए । न्यूवोल्डका अनुसार “जैविक विविधताको नासले पारिस्थितिक प्रणालीका क्रियाकलापमा असर गर्छ तर यो कसरी हुन्छ पूर्णरुपले प्रष्ट छैन ।” न्युबोल्ड थप्छन्, संसारका धेरैजसो भागमा हामी यस्तो अवस्थामा पुगेका छौँ जहाँ पारिस्थितिक प्रणालीलाई सञ्चालन गर्न मानवीय हस्तक्षेप आवश्यक छ । ग्रासल्यान्ड, सवाना र झाडी क्षेत्र साथै संसारभरिका वनक्षेत्र जैविक विविधताको विनाशको दुस्प्रभावबाट बढी प्रभावित हुने गरेका विभिन्न अध्ययनले देखाएका छन् । जैविक विविधताको क्षयीकरणले जीवजन्तुको विकास तथा पोषणचक्रको उपलब्धतालाई अझबढी अनिश्चित बनाइदिएको छ । अनुसन्धाताले जैविक विविधताको क्षयीकरणबाट अति प्रभावित खासगरी विगतमा बासस्थान विनास भएका क्षेत्रहरू थप जोखिममा भएको कुरा औल्याएका छन् । अमाजोनियाजस्ता उच्च जैविक विविधतायुक्त क्षेत्रहरू भूमी अतिक्रमणको कारणले हुने परिवर्तनका शिकार भइसकेका छैनन् र यिनीहरु थप पूर्वसंरक्षणका लागि बढी उपयुक्त रहेका छन् । घनाबस्ती वा बाक्लो आवादी हुने क्षेत्र जहाँ भौतिक र मनोवैज्ञानिक सम्पन्नताको बढी खोजी हुने गर्दछ यस्ता ठूला परिवर्तनको शिकार हुने गर्दछन् । यसलाई सम्बोधन गर्न मानवद्वारा प्रयोग भइरहेका भू–भागलाई पूर्ववत्रुपमा फर्काउने तथा बाँकी रहेका प्राकृतिक वनसम्पदायुक्त क्षेत्रलाई संरक्षण गर्ने जस्ता कदमहरू चाल्नुपर्ने आजको आवश्यकता हुनेछ । रासस