सानिमा बैंकले क्रिकेटर सन्दिप लामिछानेलाई प्रायोजन गर्ने
काठमाडौं, २४ असार । सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय तथा अन्डर–१९ क्रिकेटका उदयमान खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता गरेको छ । बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गरेको छ । एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर सन्दिप लामिछानेबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सन् २०००, अगस्ट २ मा जन्मिएका लामिछाने लेग ब्रेक बलिङ्ग स्टाईल मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी सानै उमेरमा बङ्गलादेशमा हालै सम्पन्न भएको आई.सी.सी अण्डर १९ विश्व कप मा राम्रो प्रदर्शन गर्न सफल भएका थिए । प्रमुख कार्यकारी अधिकृत दाहालले सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा प्रोफेसनल क्रिकेटको विकासमा सहयोग गर्ने आशा व्यक्त गरेका छन् । साथै नेपाल क्रिकेट टिम को आगामी यू.के (बेलायत) तथा नेदरल्याण्ड भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
क्यानाडामा नेपाली नृत्य र लोक धून आकर्षित
क्यानाडा, २४ असार । क्यानाडाको टोरोन्टोको नर्थ योर्कमा प्रत्येक बर्ष “ग्लोबल भिलेज फेस्टिवल“ आयोजना हुने गरेको छ । जसले गर्दा नेपाली नृत्य र लोक धून आकर्षणको केन्द्र बनेको छ । मेलामा नेवाः गुठीका युवा सदश्यहरुले “सय थरि बाजा एउटै ताल’ बोलको गीतमा विभिन्न भौगोलिक क्षेत्रको भेष भुषामा सामुहिक नृत्य प्रस्तुत गर्दा विदेशी दर्शकहरु झुम्मिंदा आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो । नेपालका प्रसिद्ध मादल बादक सानुराजा महर्जन, उत्तम माकजु, प्रदीप बाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपाली लोक धूनहरु प्रस्तुत गरिंदा दर्शकहरु रमाएर नाचेको दृष्य हेर्न लायकको थियो । दुइ दिनसम्म संचालन भएको सो मेलामा नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल बुथ स्थापना गरि नेपाल सम्बन्धि सूचनाहरु प्रवाह गरिएको थियो । नेपाली लोक धुनको प्रस्तुति पछि गुठीका महिला सदश्यहरु मौसम ताम्राकार र श्रीजा माथेमालाई नेपालबारे जानकारी दिन हम्मे हम्मे परेको थियो । क्यानडाका सांसद सलमा जहिदले समेत नेपाल बुथको अबलोकन गरी नेपाल बारे जानकारी लिए पछि नेपालको थप प्रचार हुन पुुगेको थियो । अर्का सांसद ग्यांग तानले नेपाल क्यानडा मैत्री संघ स्थापना गर्नु पर्नेमा जोड दिएका छन् । नेपाली तथा नेवा संस्कृति सम्बद्र्धन र प्रचार गर्ने उद्देश्यले बृहत्तर टोरोन्टो क्षेत्रमा गत १० बर्ष अगाडी स्थापित गैर नाफा मुखी संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा सो नेपाली कार्यक्रमहरु प्रस्तुत गरिएका थिए भने विभिन्न मुलुकका कलाकारहरुले पनि आ आफ्नो मुलुकको संस्कृति प्रस्तुत गरेका विज्ञप्तिमा उल्लेख छ ।
बैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरु एक हुँदै
काठमाडौं, २३ असार । बैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको अनुभवलाई नेपालको विकासमा खर्चन र बैदेशिक रोजगारीलाई मर्यादित बनाउन सहयोग पुर्याउने हेतुले आप्रवासन श्रमिक संजाल निर्माण गर्ने विषयमा पहल थालिएको छ । बिडब्लु आई–नेपाल आबद्ध समिति काठमाडौंले नेपालमा आप्रवासन परियोजनाको गतिबिधि तथा कार्यक्रमहरु विषयक अन्तक्रियामार्फत संजाल निर्माण घोषणा गरि उनीहरुलाई एक पार्न पहल थाल्ने निष्कर्ष निकालेको हो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँबरले एजेन्टका कारण कामदार ठगिने गरेको भन्दै बैदेशिक रोजगारबाट फर्किएकाहरुको श्रमिक संजाल र नेटवर्क बनाईनुपर्ने बताए । उनले भने, ʽबिदेशबाट फर्किएकाहरुको एउटा युनियन बनाऔं, त्यसले नेपालमा उद्यमशीलताको विकासका साथै बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई शिक्षा दिने कार्य गर्नेछ ।ʼ बैदेशिक रोगजारबाट स्वयं फर्किएका श्रमिकले दिएको अनुभव र शिक्षा दिक्षालाई अधिकाँशले पत्याउने हुँदा पनि नेपालीहरु बैदेशिक रोजगारीमा ठगिनबाट जोगिन सकुन् भन्ने उदेश्यका साथ आप्रवासन श्रमिक संजाल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपालका अध्यक्ष नरनाथ लुइटेलले बैदेशिक रोजगारीमा जाने नेपालीहरु नेपालीबाटै पीडित बन्ने गरेको तथ्याँक प्रस्तुत गरे । पछिल्लो समय बैदेशिक रोजगारमा गएकाहरुप्रति सरकारको चासो बढेपनि त्यो पर्याप्त नभएको उनको भनाई थियो । यता बैदेशिक रोजगारबाट फर्किएकाहरु बाटै नेपालमा विशेषतः कृषिका क्षेत्रमा तरकारी, पशुपालन, फलफूल खेतीका क्षेत्रमा उद्यमशीलता बढेको उनले बताए । त्यसैले उनीहरुका अनुभवलाई कुनै नेटवर्क मार्फत नेपालको विकास र नेपालीको हितमा लगाउनुपर्ने लुइटेलको भनाई थियो । कार्यक्रममा सहभागी बिडब्लु आई आबद्ध प्रतिनिधि र अन्य सहभागीले बिदेशी भूमिमा कार्यरत ४० लाखभन्दा बढि श्रमिकहरु एकैचोटी नेपाल फर्कनुपर्ने अवस्था आयो भने त्यतिबेला के हुन्छ भन्दै मुलुकको कहालिलाग्दो अवस्थाबारे चिन्ता अनाएका थिए । त्यो कहालिलाग्दो अबस्थाबारे कसैले पनि बर्णन गर्न नसक्ने भन्दै यसबारे उनीहरुले सरकारको ध्यानाकर्षण गराए । रेमिट्यान्सबाट मुलुक चलाईरहेको सरकार र जिम्मेवार राजनीतिक दलहरुले यसबारे बेलैमा सोच्नुपर्ने उनीहरुको भनाई थियो । विदेशबाट फर्किएका श्रमिकहरुले भने कुनै जानकारीबिना बैदेशिक रोजगारमा जानुपर्ने, कुनैपनि शिक्षा, शिप र दक्षता हासिल नगरि बैदेशिक रोजगारीमा जानु भनेकै दुःख पाउनु हो भन्ने पक्का भएको ठोकुवा गरे । त्यसैले जानेर बुझेर र शिप सिकेर मात्र बैदेशिक रोजगारमा जानुपर्ने उनीहरुको सुझाव रहेको थियो ।