काठमाडौंको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’, साउन २२ गते हुँदै
काठमाडौं, १२ साउन । आगामी साउन २२ गते शनिबार राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ हुने भएको छ । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा हुने उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ३० वटा अफरोड डर्ट बाइक राइडरको सहभागिता रहने छ । तिनकुनेमा निर्माण गरिने करिब ५५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कौशल प्रदर्शन गर्ने छन् । अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन गरिने उक्त च्याम्पियनसिपमा भाग लिने खेलाडीहरुलाई समेत रेसिङ सम्बन्धी आधारभूत प्राविधिक ज्ञान र निर्देशन प्रदान गरिने छ । च्याम्पियनसिपका बिजेताहरुलाई नगद, सिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने छ । अफरोड राइड रुचाउने बाइक राइडरहरुका लागि यो एउटा उपयुक्त प्लेटफर्म हुने र यसको माध्यमबाट उनीहरुका लागि अन्तर्राष्ट्रिय लेभलको प्रतियोगितामा समेत सहभागी हुने ढोका खुल्ने छ । नेपाल जस्तो कठीन भौगोलिक बनोट भएको देशमा यस प्रकारको इभेन्टले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली युवाहरुका बीचमा अत्यन्तै लोकप्रिय एसिया विङ अन्तर्गतको क्रसफायर बाइकको मूख्य प्रायोजनमा हुने उक्त च्याम्पियनसिपको अन्य प्रायोजकमा यूएम बाइक, टीभीएस टायर, रेडबुल लगायत रहेका छन् । उक्त च्याम्पियनसिपको प्रमोसनल पार्टनर नेपाल अटो इन्फो, म्यगेजिन पार्टनर अटोमोबाइल मासिक, इभेन्ट पार्टनर नेपाल कल्चर एन्ड एड्भेन्चर इभेन्ट र ट्राभल पार्टनर फुटमार्क ट्राभल एन्ड एड्भेन्चर्स रहेका छन् । जिल्ला खेलकुद विकास समिति काठमाडौं र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत सहयोग रहेको उक्त च्याम्पियनसिपले अफरोड बाइक राइडिङको क्षेत्रमा नयाँ पहिचान स्थापना गर्ने विश्वास गरिएको इभेन्ट म्यानेजर सन्तोष न्यौपाने बताउछन् ।
भूकम्पले ३२ प्रतिशत व्यक्तिमा उदासीनताको समस्या
काठमाडौँ, ९ साउन । गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ३२ प्रतिशत व्यक्तिमा उदासीनताको समस्या देखिएको एक अनुसन्धानले देखाएको छ ।बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल र इन्टरनेसनल मेडिकल कोरले काठमाडौँ, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गरेको अनुसन्धानले उक्त तथ्य निकालेको हो । तीनवटै जिल्लाका ५१३ जना भूकम्प प्रभावित व्यक्तिसँग गरिएको अनुसन्धानमा उदासीनताको समस्या देखिएको छ । त्यस्तै ३०.८ प्रतिशतमा चिन्ता, २०.४ प्रतिशतमा लागुपदार्थ तथा दुव्र्यसनीको समस्या, १०.९ प्रतिशत व्यक्तिमा आत्महत्याको समस्या र ५।२ प्रतिशतलाई आघातजन्य घटना भएको जनाइएको छ । अनुसन्धान प्रमुख नगेन्द्र लुइँटेलले मानसिक समस्याबाहेक ८२.९ प्रतिशत व्यक्तिमा अझै डर, ५५.८ प्रतिशतमा निद्राको समस्या, ३२ प्रतिशत व्यक्तिलाई बिनाकारण चिन्ता लाग्ने, ३१ प्रतिशतमा खाना खान मन नलाग्ने गरेको बताए । यस्तै उनले ३०.९ प्रतिशतलाई केही काम गर्न जाँगर नलाग्ने, २८.९ प्रतिशत व्यक्ति टोलाइ रहने, २१.३ प्रतिशत व्यक्तिलाई अझै पनि भूकम्प आउँछ कि भन्ने डर हुने गरेको बताए । अनुसन्धानले ६० प्रतिशत व्यक्तिमा बस्ने ठाउँको आवश्यकता रहेको, ४१ प्रतिशत व्यक्तिले तनाव व्यवस्थापन र मानसिक समस्याको सहयोग खोजेको, ४१ प्रतिशतले जीविकोपार्जनको खोजी, ३३ प्रतिशतले खानेपानीको राम्रो प्रबन्ध नभएको, ३० प्रतिशतले शौचालय समस्या, २३ प्रतिशतले सरसफाइ, २३ प्रतिशतले नियमित खानाको समस्या रहेको बताएको लुइँटेलले बताए । भूकम्पले आठ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै चार लाख मानिस विस्थापित भएका थिए । रासस
लण्डनमा पाईलटले मदिरा पिएर विमान उडान भर्न खोजेपछि तनाव
लन्डन, ५ साउन । मदिरा सेवन गरेर उडान गर्न लागेको आरोपमा दुई जना विमान चालकलाई स्कटल्यान्डमा सोमबार पक्राउ गरिएको छ । विमान चालकले स्कटल्यान्डबाट टोरोन्टोका लागि सोमबार एयर ट्रान्साटको ए ३१० विमानमा २५० यात्रु लिएर उडान भर्ने तयारीमा रहेका बेला मदिरा सेवन गरेका बताइएपछि तत्कालै उनीहरुलाई पक्राउ गरिएको थियो । मङ्गलबार स्कटल्यान्डका ३९ वर्ष र ३७ वर्षका दुवै जनालाई पेस्ली सेरिफ कोर्टमा उपस्थित गराइने बताइएको छ । चालकहरुलाई मदिरा सेवन गरेको आरोपमा पक्राउ गरिएपछि उक्त विमानको उडान स्थगित गरी यात्रुहरुलाई होटलमा राखिएको थियो । एयर ट्रान्साटका प्रवक्ताले विमानका दुई कर्मचारी पक्राउ परेको पुष्टि गरेपनि उनीहरुको मुद्दा अदालतमा पुगिसकेकाले अनुसन्धानपूर्व केही नबताउने बताए । हामी चालक दलका सदस्य र यात्रुको सुरक्षाप्रति सजक छौँ र रहने छौँ एयर ट्रान्साटका प्रवक्ताले बताए । स्थगित विमानको मङ्गलबार टोरोन्टोका लागि उडान हुने बताइएको छ । रासस÷एएफपी