छिटो विहाव हुने गरेकोले विवाह गर्ने उमेर पुग्दासम्म सम्बन्ध विच्छेद
लिबाङ (रोल्पा) २०, पुस । धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी हुन्। विवाहपछि एकअर्काका बीचमा अनेक चाहना र बाध्यताहरु सुरु हुन थाले। विवाह भएको करिव २ वर्षमै डाँगीले २०७३ साल मङ्सिर २७ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरिन्। डाँगीका अनुसार २०७१ साल फागनुमा उनका श्रीमान् वैदेशिक रोजगारीका लागि बिदेसिएर फोनबाटै गालीगलौज गर्ने, घरमा खर्च नपठाउने, फोनबाटै मेरो घर तुरुन्त छोड भन्ने जस्ता शब्द प्रयोग गरेर डर धम्की दिने गर्न थालेपछि डाँगी अन्तमा सम्बन्ध विच्छेदको निर्णयमा पुगेकी हुन्। हाल उनले दर्ता गराएको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ। राङ्सी–५ रोल्पाकी दीपा घर्तीमगरले आजभन्दा ८ वर्ष पहिले १५ वर्षको कलिलो उमेरमा कोर्चाबाङ–७ रोल्पाका खडकबहादुर घर्तीसँग प्रेम विवाह गरेकी थिइन्। १६ वर्षको उमेरमा आमा बनेकी घर्तीले आफ्नो अध्ययनलाई ४र५ कक्षाभन्दा माथि उठाउन सकिनन्। दुबैको मञ्जुरीमा प्रेम विवाह गरेकी घर्तीका पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गए। दिनभरि काम गर्दा पनि श्रीमान्ले पेटभर खान नदिएको, रातदिन कुटपिट गर्ने गरेको, वैदेशिक रोजगारीमा पुगेपछि आफू र आफ्नो बच्चाको बेवास्ता गरेको तथा विभिन्न किसिमका घरेलु हिंसा गरेको भन्दै न्यायको ढोका ढक्ढक्याउन उनी पटक पटक इलाका प्रहरी कार्यालय घर्तीगाउँमा पुगिन्। पटकपटक घर्तीगाउँ प्रहरीले श्रीमान् श्रीमतीका बीचमा मेलमिलाप गराएर पठायो। तर स्थायी रुपमा उहाँहरुका बीचमा सुमधुर सम्बन्ध कायम हुन सकेन। अन्तमा घर्ती सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा पुगिन्। त्यसैगरी, कोटगाउँ–७ रोल्पाका १७ वर्षीया कमला बुढा र कोर्चाबाङ गाविस–२ रोल्पाका २० वर्षीय समीर बुढाबीच २०७० साल भदौ २५ प्रेम विवाह सम्पन्न भएको हो। बुढा दम्पतीका बीचमा पनि सुमधुर सम्बन्ध कायम हुन सकेन। विसं २०७१ असोज १० गते पारिवारिक झगडा भएपछि माइतीघरमै बस्दै आएकी श्रीमती कमला बुढाले २०७३ साल साउन १९ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराइन्। राजधानी दैनिकबाट ।
बैंक र मालपोत कर्मचारीसँग भूमाफिया, किर्ते गरेर जग्गा हडप्ने गिरोह सक्रिय
काठमाडौं १९, पुस । सार्वजनिक तथा निजी स्वामित्वका जग्गा तथा जमिन हडप्न मालपोत बैंकरवित्तीय संस्थाका कर्मचारी र भूमाफिया संगठित रुपमा सक्रिय हुन थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले त्यसविरुद्ध अपरेसन थालेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नापी विभाग तथा बैंकरबित्तीय संस्थासँग समन्वय गरेर व्यूरोले देशभर सक्रिय भूमाफियाको सञ्जाल भत्काउन अग्रसरता देखाएको हो । यसका लागि व्यूरो देशभरका सरकारी, सार्वजनिक तथा गुठीका जग्गाको विवरणदेखी धितो राखेर कर्जा प्रवाह गरिएको शंकास्पद कारोबारसम्मको अभिलेख संकलनमा जुटेको छ । । फाइल तस्बिर व्यूरोका निर्देशक डीआइजी नवराज सिलवालका अनुसार सार्वजनिकरगुठी तथा व्यक्तिका नाममा रहेका जग्गा हडप्न मालपोत, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र भू–माफियाबीच मिलेमतो हुने गरेको बताए । मालपोतका कर्मचारी र गिरोहले कागजात किर्ते गरेर सार्वजनिक तथा निजी जग्गा हडप्ने र उक्त जग्गा धितो राखेर बैंकबाट कर्जा झिक्न गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ । “निजी, सार्वजनिक, सरकारी तथा गुठीका जग्गा हडप्न माफियाले त्रिकोणात्मक सञ्जाल विस्तार गरेको अनुसन्धानले देखाउँछ,” व्यूरो प्रमुख सिलवालले भने, “अनुसन्धानका क्रममा भेटिएका तथ्य र प्रमाणले यसमा भू–माफिया, मालपोतका कर्मचारी र कर्जा विभागका कार्यरत बैंकका अधिकारीबीचको मिलेमतो विना यस्तो ठगी अघि बढाउँन सम्भव नै हुदैन ।” दलालले मालपोत र नापी कार्यालयमार्फत व्यक्ति तथा सार्वजनिक जग्गाको विवरण पाएपछि नक्कली लालपुर्जा, नागरिकता, नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्रलगायतका महत्वपूर्ण कागजात तयार पार्छन् । गिरोहको उक्त सेटिङलाई नापी र मालपोत कार्यालयका कर्मचारीले साथ दिँदै आएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । नक्कली कागजात तयार भएपछि मालपोतका कर्मचारीले माफियाकै योजनामा नक्कली जग्गाधनी खडा गर्ने र त्यसपछि बैंकमा धीतो राखेर कर्जा निकाल्ने र विक्री गर्ने गर्छन् । त्यसक्रममा नाता प्रमाणीकरण, जन्मरमृत्युदर्ता, नक्कली पति–पत्नीको विवाह दर्ता प्रमाणपत्र, अपरिचित जग्गाधनीका लालपुर्जा फोटोकपी लगायतका गाविस सचिवदेखी मालपोतका कर्मचारी सम्मको मिलेमतो देखिएको व्यूरोको दाबी छ । माफियाले जग्गा हडपेको थाहा पाएपछि प्रहरीमा कारबाहीको माग गर्दै उजुरी दिनेको लर्को लागेको छ । भण्डारा गाविस–२ चितवनका लोकेन्द्रराज पाठकको करिव २२ करोड रुपैयाँ मूल्य बराबरको जग्गा माफियाले किर्ते कागजातका आधारमा हडप्न सफल भयो । १ लाख मूल्य राखेर माफियाले उक्त जग्गा आफ्नो स्वामित्वमा ल्याएपछि हिमालयन बैंक र प्राइम बैंकबाट क्रमशः ५ करोड र ८ करोड रुपैयाँ कर्जा लिएका थिए । कारोबार दैनिकबाट ।
उपभोगमै ९५ प्रतिशत आय, प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँ, बचत नै हुँदैन नेपालीको आम्दानी
काठमाडौं पुस १८, आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२/७३ को राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९४.७४ प्रतिशत अन्तिम उपभोग हुने गरेको छ । यो हालसम्मकै उच्च अनुपातको उपभोग हो । आव ०७१र७२ मा कुल उपभोग खर्च जीडीपीको ९१.२१ प्रतिशतमात्र थियो भने पाँच वर्षअघि ८६ प्रतिशतमात्र थियो । उपभोग बढ्दै जाँदा कुल राष्ट्रिय बचतमा त्यसको सोझो असर पर्छ । आव २०६७/६८ का जीडीपीको झन्डै १४ प्रतिशत राष्ट्रिय बचत हुने गरेकोमा गत आवसम्म आइपुग्दा यो ५.२६ प्रतिशतमा झरेको । तथ्यांक विभागका अनुसार अहिले नेपालीको प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँबराबर पुगेको छ । अमेरिकी डलरमा भने प्रतिव्यक्ति आय ७५२ डलरमात्र छ, यो अघिल्लो आव ०७१/७२ भन्दा १० डलरले घटेको हो । अमेरिकी डलरसँगको विनिमयमा नेपाली मुद्रा कमजोर भएकाले नेपालीको प्रतिव्यक्ति आय पनि घटेको हो । अहिले नेपालको अर्थतन्त्रको कुल आकार २२ खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँमात्र पुगेको छ । गत वर्षको भूकम्प, मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण आर्थिक वृद्धिदर ०.५६ प्रतिशतमा खुम्चेको विभागको प्रतिवेदनमा उल्लेख छ । खुम्चियो कृषि विभागका अनुसार जीडीपीमा कृषिको योगदान ३१.२ प्रतिशतमा खुम्चेको छ, जुन आव ०५८/५९ मा ३५.६ प्रतिशतमा थियो । यसैगरी उद्योग क्षेत्रको योगदान पनि ५.५३ प्रतिशतमा खुम्चिएको छ, अघिल्लो आवमा यसको अंश ६.५ प्रतिशत थियो । अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ५४.३ प्रतिशत पुगेको छ, जसमध्ये रियल इस्टेट र व्यावसायिक क्षेत्र, शिक्षा र वित्तीय क्षेत्रको योगदान ह्वात्तै बढेको पाइएको छ । पछिल्लो दशकमा अत्याधिक विस्तार भएको रियल इस्टेट क्षेत्र र व्यावसायिक क्षेत्रले जीडीपीमा ९.२ प्रतिशत, शिक्षा क्षेत्रले ६.८ प्रतिशत र वित्तीय क्षेत्रले ५ प्रतिशत हिस्सा ओगटेका छन् । कृषिपछि अर्थतन्त्रमा सर्वाधिक योगदान गर्ने क्षेत्र भने थोक तथा खुद्रा व्यापार नै छ, जसले १४.२ प्रतिशत हिस्सा ओगटेको छ । होटल तथा रेष्टुँरा क्षेत्रको योगदान भने २.१ प्रतिशतमा स्थिर छ । कारोबार दैनिकबाट ।