राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान

काठमाडौं, ३० मंसिर । भिजी सुजुकी अटोमोबाइल्सद्धारा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी सम्मानित भएका छन् । किर्तिपुर क्रिकेट मैदानमा सञ्चालित इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगिताका म्यान अफ द सिरिज नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कामीलाई भी.जी. अटोमोबाइल्सका बजार प्रबन्धक समित सिंहले सम्मान गरेका छन् । उक्त प्रतियोगिता गत असोज ८ गतेदेखि असोज १७ गतेसम्म सम्म सञ्चालन भएको थियो । साथै, सिंहले त्रिपुरेश्वर स्थित भिजी सुजुकी अटोमोबाइल्स शोरुममा आयोजित एक कार्यक्रममा सोमपाल कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरेका छन् ।

करिब १० लाख रुपैयाँको लागतमा लन टेनिसका खेल मैदान निर्माण हुँदै

पोखरा, ३० मंसिर । पोखरा रङ्गशालामा लगभग १० लाख ५० हजार रुपैयाँको लागतमा लन टेनिसका खेल मैदान निर्माण भइरहेको छ । सातौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल पूर्वाञ्चलमा आयोजना हुने भए पनि एउटा मात्र खेल लन टेनिस पोखरामा हुने भएपछि मैदान निर्माणमा जुटेको खेलकुद सङ्घ, कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए । “हामीले आम खेलप्रेमी पोखरेलीलाई लन टेनिसको राष्ट्रिय खेलमा प्रत्यक्ष अवलोकनका लागिसमेत आह्वान गर्ने छौँ”, उनी भन्छन्– “यो बृहद् कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक छ ।” पुस महिनाको दोस्रो साताबाट सुरु हुने टेनिसको राष्ट्रिय खेलका लागि छनोटका सम्पूर्ण कार्यक्रम सम्पन्न भइसकेको बताउँदै उनले लन टेनिस प्रतियोगितामा पोखराबाट ४० जना महिलासहित ८० जनाले प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रत्येक विकास क्षेत्रबाट १० जना खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा पाँचजना महिलासहित विभागिय टिमबाट १०–१० जना खेलाडीको सहभागिता रहने व्यवस्था छ । रासस

राउटे बस्तीमा सबै किशोरी आमा, छोरी जन्मनेबित्तिकै कसैकी श्रीमती तोकिने १२ वर्ष नपुग्दै विहे

काठमाडौं ३०, मंंसिर ।  अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ । जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन् । ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन् । तर, उनीहरू सबै एकरदुई सन्तानका आमा बनिसकेका छन् । जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ । ‘केटाहरू धेरै हुन्छन्,’ राउटेका महामुखिया महिनबहादुर शाहीले भने, ‘बिहे ९विवाह० गर्न वर्षौं कुर्नुपर्छ । तर पनि कत्ति केटाको त निकै मुस्किलले मात्रै पालो आउँछ ।’ केटी नपाउँदा धेरैजसो पुरुषको त ४० वर्ष काटेपछि मात्रै बिहे हुने गरेको उनको भनाइ छ । ‘केटी नपाउँदा धेरैजसो केटाको त ४० पार गरेपछि मात्रै लगन जुर्ने गरेको छ,’ महामुखिया शाहीले भने । पुरुष लामो समय कुर्नुपर्ने तर महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै विवाह गर्नुेपर्ने बाध्यता परम्परा नै बनेको छ यो बस्तीमा । ‘महिलाले १२ वर्ष पुग्नेबित्तिकै बिहे गर्नुेपर्ने बाध्यता अहिले परम्पराजस्तै बन्न थालेको छ,’ किशोरी आमा किताब शाहीले भनिन् । शाहीका अनुसार छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा । ‘छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे,’ उनले भनिन्, ‘कोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुंगो लगाइन्छ । उमेरको कुनै वास्ता हुन्न ।’ सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कत्तिका सन्तान खेर गएका छन् भने कत्तिले अकालमा ज्यान गुमाएका छन् । त्यसरी ज्यान गुमाउनेको कुनै तथ्यांक नै छैन राउटे समुदायमा । उमेर पुगेर मात्र आमा बन्ने जन्मान्तरका लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने र प्रजनन स्वास्थ्यबारे खुलेर बहस गर्ने राउटे महिलाहरूको चाहना छ । तर, पुरुषहरू त्यसो गर्न मान्दैनन् । जसका कारण परिपक्व भएर सन्तान जन्माउने र सुरक्षित रूपमा सुत्केरी हुने उनीहरूको रहर अधुरै रहने गरेको छ । राजधानी दैनिकबाट ।