खल्तीमा अनुदान टहरामा बास, जग खन्नसम्म नपुगेपछि भूकम्पपीडितको घर बनाउने सपनै अनिश्चित

काठमाडौं ९, पुस । चोकटी गाविस–३ की ५५ वर्षीया राममाया थामीले दसैंअघि नै सरकारले भूकम्पपीडितका लागि घोषणा गरेको ५० हजार रुपैयाँ अनुदान रकम हात पारिसकेकी छन्। घर निर्माणका लागि दिएको अनुदान रकम पोल्टामा राखेको चार महिना पुग्न लागेको छ। चिसो टहरोमा रात बिताएको पनि राममायाले लामो समय भइसकेको छ तर उनको घर बनाउने कुनै सुरुसार छैन। उनी पोल्टाको रकम बेलाबेलामा गन्छिन्। तर, घर बनाउने उनको योजना छैन। किन त रु ‘यति पैसाले कसरी घर बनाउनु, पुग्दैन त्यही भएर नबनाएको,’ राममाया भन्छिन्। पाँग्रेटार गाविस माझी गाउँका सबै पीडितले अनुदान पाइसकेका छन्। अनुदान खल्तीमा हालेर बसेका लामो समय भइसक्यो तर सुरक्षित जग्गा नभएर माझी समुदायले घर निर्माण सुरु गर्न सकेका छैनन्। सुनकोसी नदी किनारमा बस्ने माझी समुदायसँग जेजति जग्गाजमिन छ, सबै सुनकोसी नदी किनारमा छ। जुरे पहिरोपछि आएको बाढी र केही महिनाअघिको भोटेकोसी बाढीको प्रकोप यहाँका समुदायले भोगेका छन्। ‘घर निर्माणका लागि अनुदान त पाइयो तर सुरक्षित जग्गा नै छैन,’ स्थानीय रामकाजी माझीले भने, ‘पहिलेको थलोमै बनाऊँ भने कति बेला नदीले लैजान्छ भर छैन, अन्त जाऊँ जग्गै छैन।’ रकम हुनेसँग घर बनाउने जग्गा नै छैन भने जग्गा हुनेसँग घर बनाउन पुग्ने पैसा छैन। समस्यै समस्याबीच जिल्लाका भूकम्पपीडितले टहरोमा रात बिताएको २० महिना भयो। तर, पुनर्निर्माणले भने गति लिनै सकेको छैन। घर निर्माण सुरु गरेपछि दोस्रो किस्ता प्राप्त भएपछि निर्माण अघि बढाउने योजनामा रहेका धेरै पीडितहरू लामो समयसम्म पनि अनुदानको दोस्रो किस्ता नआउँदा अन्योलमा छन्। राजधानी दैनिकबाट ।

घरमै बसेर लाइसेन्स आवेदन, अनलाइन आवेदनले ८० प्रतिशत भिड नियन्त्रण हुने

फाइल तस्बिर काठमाडौं ८, पुस । लाइसेन्स आवेदनका लागि कार्यालय नपुगी अनलाइनबाटै फारम भर्न सकिने यातायात व्यवस्था विभागले गरेको छ । ‘सेवाग्राहीको सास्तीलाई ध्यान दिई अनलाइन आवेदन लिने तयारी गरेका हौं’ विभागका प्रवक्ता टोकराज पाण्डेले भने ‘अर्को साताबाट आवेदन दिन लाइन बस्नुपर्ने बाध्यता हट्नेछ । पाण्डेका अनुसार आईतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले अनलाइन आवेदन प्रणालीको उद्घाटन गरेसँगै लाइसेन्सका लगि अनलाइनमार्फत आवेदन दिन सकिनेछ । यसअघि मंसिर १४ गते यातायात व्यवस्था कार्यालय बागमतीको अनुगमनको क्रममा लाइसेन्सका लागि सास्ती देखेपछि मन्त्री लेखकले १० दिनभित्रै व्यवस्था गर्न निर्देशन दिएका थिए । अनलाइन आवेदन सुरु भएसँगै कार्यालयमा आवेदनका लागि लाग्ने भीडमा ८० प्रतिशत कमी हुने विभागले जनायो । नागरिक दैनिकबाट ।

दाइजो सम्धीलाई फिर्ता, दाइजो स्वरुप केटापक्षले लिएको रकम फिर्ताले सकारात्मक सन्देश

काठमाडौं ६, पुस । काठमाडौँ – रौतहटमा छोराको विवाह गर्दा लिएको दाइजो रकम केटापक्षले छोरीका बाबुलाई फिर्ता गर्न थालेको छ । कटहरिया गाविसका २१ वर्षीय सद्दाम मनसुर र संखुवा धमौरा गाविसकी १९ वर्षीया हास्मुन खातुनको विवाहमा दाइजो स्वरुप केटापक्षले लिएको रकम फिर्ता गरेका हुन् । एक वर्षअघि छोराको विवाह गर्न कुरा छिन्दा कटहरिया मो। इम्रानले छोरीका बाबुसँग लिएको ५० हजार रुपैयाँ गत बिहीबार विवाहको दिन केटीका बाबु मुकन्दरलाई फिर्ता गरेका हुन् । रोतहटको सखुवा धमौरा गाविस ५ स्थित मुस्लिम टोलमा छोराछोरीको विवाहको कुरा छिन्दा लेनदेन गरेको दाइजो रकम फिर्ता हुन थालेको हो । इम्रान बाहेक अन्य दुई परिवारले पनि दाइजो रकम फिर्ता गरेका छन् । दाइजो लिनेदिने काम राम्रो नभएको र यसले समाजमा नराम्रो असर पर्ने बुझेपछि रकम फिर्ता गरेको इम्रानले बताए । अन्नपूर्ण पोस्टबाट ।