टिकटकले नेपालमा सुरु गर्यो यौन दुर्व्यवहार सम्बन्धी ‘सर्च गाइड’
काठमाडौं । टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि नयाँ 'सर्च गाइड' सेवा सुरु गरेको छ । बिहीबार सार्वजनिक गरिएको यो सुविधा अन्तर्गत अब प्रयोगकर्ताहरूले यौन दुर्व्यवहारसम्बन्धी विषयमा खोज गर्दा आवश्यक सहायता र सुरक्षा सम्बन्धी जानकारीमा 'रिडाइरेक्ट' हुनेछन् । टिकटकको ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरशिप म्यानेजर वास्कितो जटीले भने, 'टिकटकमा प्रयोगकर्ताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । कठिन परिस्थितिमा प्रयोगकर्ताहरूलाई सही सूचना र सहायता स्रोतमा डोहोर्याउनु हाम्रो दायित्व हो ।' नयाँ सर्च गाइडमार्फत सेक्सुअल एसल्ट, एब्युज, जस्ता शब्दहरू खोज्दा स्थानीय हेल्पलाइन, प्रोफेसनल सहयोगदाताहरू, उजुरी गर्ने तरिका र टिकटकको 'सेफ्टी सेन्टर' मा रहेको यौन दुर्व्यवहार सहयोग पेज देखाइनेछ । उक्त पेजमार्फत यौन हिंसाका स्वरूपहरू (जस्तै : बाल यौन शोषण, सहमति बिना गरिने यौन क्रियाकलाप, बहकाउने व्यवहार) बारे जानकारी दिइनेछ । साथै, उजुरी प्रणाली, ट्रमा व्यवस्थापन, कानुनी सहयोग, पीडितको गोपनीयता, र पुनःस्थापनासम्बन्धी सहायता संस्थाहरूको डेटाबेस पनि समेटिएको छ ।
आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै, १५ छात्र टिमको सहभागिता रहने
काठमाडौं । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा पहिलोपटक आयोजना गरिने ‘आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता’ सोमबारदेखि सुरू हुँदैछ । चारदिने यो प्रतियोगिता सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीको मैदानमा हुनेछ । प्रतियोगितामा आयोजक एकेडेमीका दुई टिमसहित कुल १५ छात्र टिमको सहभागिता रहनेछ । एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउँदै सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रारूपमा खेल संचालन गरिने बताए । समूह ‘ए’ मा एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड रहेका छन् भने समूह ‘बी’ मा अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, समूह ‘सी’ मा भ्याली पब्लिक, गेट्वे, मोक्षदा र रेडियन्ट ‘बी’ रहेका छन् भने समूह ‘डि’ मा बालकुञ्ज, मृगसिरा वर्ल्ड स्कूल र आयोजकको अर्को टिम रेडियन्ट ‘ए’ रहेका छन् । प्राविधिक प्रमुख रविन्द्र गुप्ताका अनुसार खेल १० ओभरको हुनेछ । प्रत्येक टिममा १० खेलाडी रहने र आठ जना खेलाडीले मैदानमा खेल्ने व्यवस्था मिलाइएको छ । प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता संयोजक तथा संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीलाई अध्ययनसँगै खेलकुदमा पनि प्रोत्साहन गर्न रेडियन्टले निरन्तर पहल गर्दै आएको बताए । उनले क्रिकेट प्रतियोगिताले खेलको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा प्रतियोगितालाई अझ व्यापक बनाउने योजना रहेको जानकारी दिए ।
पर्वतमा एक वर्षमा ४५ किलोमिटर ग्रामीण सडक कालोपत्र
पर्वत । यहाँ झण्डै तीन हजार किलोमिटर बराबर सडक सञ्जाल फैलिएको छ । जिल्लाका सातवटै पालिकाका प्रत्येक वडा र टोलसम्म पनि सडकको पहुँच पुगेको छ । अधिकांश सडक हिउँदयाममा सञ्चालन हुने र वर्षायाममा ठप्प हुने गर्छन् । जिल्लाका ग्रामीण सडकमध्ये गत आर्थिक वर्ष २०८१/८२ मा ४५ किलोमिटरभन्दा बढी सडक कालोपत्र भएको छ । संघीय सरकार तथा प्रदेश सरकार मातहतका विभिन्न कार्यालय र आयोजनामार्फत विनियोजित बजेटबाट कालोपत्र र ढलान गरी ४५ किलोमिटरभन्दा बढी सडक पक्की बनाइएको हो । सबैभन्दा बढी संघीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय पोखरामार्फत जिल्लाका विभिन्न क्षेत्रका सडक आयोजनामा १३ किलोमिटर ६६० मिटर सडक कालोपत्र भएको छ । त्यसमध्ये १० किलोमिटर ६६१ मिटर कालोपत्र र तीन किलोमिटर आठ मिटर ढलान गरिएको छ । यसैगरी गण्डकी प्रदेशअन्तर्गतको पुर्वाधार विकास कार्यालयमार्फत विभिन्न सडकखण्डमा गरी १० किलोमिटर ९८ मिटर कालोपत्र भएको छ । गत आर्थिक वर्षमा १५ किलोमिटर कालोपत्र गर्ने लक्ष राखेको कार्यालयले १० किलोमिटर ९८ मिटरमात्र कालोपत्र गर्न सफल भएको कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए । यसैगरी स्थानीय पुर्वाधार विकास आयोजना कार्यालय कास्कीमार्फत आठ किलोमिटर २८६ मिटर सडक कालोपत्र भएको छ । अयोजनाले विभिन्न सडकमा गरी झण्डै चार किलोमिटर सडक कालोपत्र र चार किलोमिटर ३६२ मिटर सडक ढलान गरेको आयोजनाका प्रमुख इन्जिनियर जनकराज पन्तले जानकारी दिए । यस्तै सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत पाँच किलोमिटर २१७ मिटर सडक कालोपत्र गरिएको छ । यो आयोजनामार्फत बजेट विनियोजन भएका विभिन्न सडकखण्डमा कालोपत्र र ढलान गरी पाँच दशमलव २१७ मिटर सडक ढलान तथा कालोपत्र गरिएको इन्जिनियर सुशिल आचार्यले जानकारी दिए । यसैगरी ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत पर्वतको लुंखुदेउराली–हुवास सडक पनि कालोपत्र भएको छ। गत आर्थिक वर्षमा झण्डै पाँच किलोमिटर सडक कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ । केही ठाउँमा ढलान र कालोपत्र गरि पाँच किलोमिटर सडक कालोपत्र भएको हो । पन्ध्र किलोमिटर लामो उक्त सडकको केही खण्डमात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यसबाहेक जिल्लाका विभिन्न स्थानीय तहले पनि सडक स्तरोन्नती र ढलान कार्यलाई तिव्रता दिइरहेका छन् । पर्वतमा अघिल्लो आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गरिएको थियो। योसँगै जिल्लाभर करिब ३०० किलोमिटरको हाराहारीमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार गत आर्थिक वर्षमा कच्ची सडक एक दशमलव ३४९ किलोमिटर विस्तार गरिएको छ भने सात दशमलव ३६ किलोमिटर सडक ग्राभेल गरिएको छ । करिब २९ किलोमिटर सडकको चौडाइ विस्तार गरिएको छ भने १८ किलोमिटर लामो नाली निर्माण गरिएको छ । कार्यालय प्रमुख अर्यालका अनुसार ४७ हजार ४४८ घनमिटर टेवा पर्खाल निर्माण गरिएको छ भने ७६ वटा कल्भर्ट र १० किलोमिटर सडक मर्मत सम्भार गरिएको छ । जिल्लामा गत आवमा लिदिखोला मोटरेबल पुल निर्माण सम्पन्न भएको र मल्याङ्दी खोला तथा छत्तिसेघाट मोटरेबल पुल निर्माणाधिन अवस्थामा पुगेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा पाँच करोडभन्दा बढीको सडक आयोजनामा हिमालय मावि–नुहार–खनियाघाट सडक कालोपत्र गरिएको छ । चार किलोमिटर ८०० मिटर लामो उक्त सडकमध्ये तीन किलोमिटर कालोपत्र र एक हजार ८०० मिटर ढलान गरिएको हो । यस्तै पाँच करोडभन्दा कम लागतको सडकमध्ये फलेवासको उपल्लो बाच्छाचोकदेखि–हरेचौपारी सडक फलेवास सडक सम्पन्न भएको छ । अन्य सालबसाली र अधिकांश टुक्रे योजनाको काम पूर्णरुपमा सम्पन्न भएको अर्यालले जानकारी दिए । गत आर्थिक वर्षमा बजेट विनियोजन भएका १३३ सडक आयोजनामध्ये झण्डै आधा दर्जनको सङ्ख्याका सडकमा बजेटमा दोहोरोपना, बजेट अपुग र जग्गा विवाद तथा मन्त्रालयद्धारा रोक्का गरिएकाले अघि बढ्न नसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर अर्जुन शर्माले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा कार्यालयले ७५ दशमलव ७७ प्रतिशत वित्तिय प्रगति र ७८ प्रतिशत भौतीक हासिल गरेको छ । पूर्वाधार कार्यालयमा चालु आर्थिक वर्षमा ७५ सडक स्तरोन्नतीका लागि बजेट विनियोजन भएको छ। गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा झण्डै १९ करोड ४५ लाख रुपैयाले घटेको छ । चालु आर्थिक वर्षका लागि जम्मा ६३ करोड २२ लाख बजेट विनियोजन भएको शर्माले जानकारी दिए । रासस