अन्तिम सोमबार चन्द्रागिरी भालेश्वरमा महाआरती आयोजना हुने, केवलकार टिकट ४ सय मात्र
काठमाडौं । साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा भक्तिमय उत्सव तथा महाआरती आयोजना हुने भएको छ । साउन महिनाको पवित्रता र महादेवको महिमा उजागर गर्ने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा भजन–कीर्तन सञ्चालन हुनेछ भने साँझ ६ः३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ । भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै चन्द्रागिरी हिल्सले सोमबारका लागि केबलकारमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । साथै साँझ ४ बजेपछि टिकट मूल्य मात्र ४०० रुपैयाँ रहने आयोजकले जनाएको छ । यसअघि साउन महिनाका तीनै सोमबार विशेष कार्यक्रम र महाआरती सम्पन्न भइसकेका छन् । भक्तजनहरूको उत्साहजनक सहभागिताका कारण अन्तिम सोमबारलाई भक्तिमय उत्सवका रूपमा मनाउने निर्णय गरिएको हो । चन्द्रागिरी हिल्सले सबै श्रद्धालुहरूलाई समयमै उपस्थित भई दर्शन, भजन र महाआरतीमा सहभागी भई अध्यात्मिक ऊर्जा प्राप्त गर्न आमन्त्रण गरेको छ ।
निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न हुनुपर्ने
चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् । रङ्गशालाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिए । रङ्गशाला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरे । उनलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इञ्जिनियर सन्तोष आचार्यले रङ्गशालाको प्रगति बारेमा जानकारी गराएका थिए । हालसम्म ३० प्रतिशत भौतिक भएको जानकारी दिए । भरतपुर महानगरपालिका–१५ मा सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माणाधीन छ । रङ्गशाला २०८३ पुस २२ गते सम्ममा निर्माण पूरा गर्ने लक्ष्य छ । रङ्गशालाको निर्माण लागत रु ७८ करोड ५० लाख ९१ हजार छ ।
एनपीएल अक्सनमा अधिकांशको रोजाइमा परेका चार खेलाडी, तोकेभन्दा ५० प्रतिशत बढी मूल्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको अक्सनमा चारवटा खेलाडी धेरै रुचाइएका छन् । शनिबार भएको अक्सनमा चारवटा खेलाडी अधिकतम १५ लाख रुपैयाँमा बिक्री भए । ती चारवटै खेलाडीलाई खरिद गर्नका लागि अधिकांश टीम तयार भए । तर, लक्की ड्रमार्फत भाग्यमानी टीमले उनीहरूलाई पाउन सफल भए । अक्सनमा सबैभन्दा बढी रुचाइएका ए क्याटेगोरीका खेलाडी हुन् मोहम्मद आदिल आलम । जसको लागि आठवटै टिमले बोलकबोल गरे । लक्की ड्रमार्फत् उनी काठमाण्डू गुर्खाजमा आवद्ध भए । १५ लाख रुपैयाँमा उनलाई पाउन गुर्खाज भाग्यवानी सावित भयो । यस्तै, पवन सर्राफ, देव खनाल र अर्जुन साउदलाई पनि दुईभन्दा बढी टिमले बोलकबोल गरे । पवनका लागि कर्णाली, चितवन, लुम्बिनी र विराटनगरले अन्तिमसम्म बोली लगाएका थिए । तर, उनलाई पाउन कर्णाली भागमानी बन्यो । उनी पनि १५ लाखमा बिक्री भए । अक्सनमा अर्जुनलाई पाउनका लागि चितवन, कर्णाली र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत चितवनले उनलाई १५ लाखमा अनुबन्ध गर्यो । यस्तै, देव खनाल पनि १५ लाखमा बिक्री भए । अक्सनमा चितवन राइनोज र लुम्बिनी लायन्सले १५ लाख रुपैयाँको नै बोली लगाएपछि गोलाप्रथाबाट चितवन राइनोज भाग्यमानी सावित भयो । उनी यसअघि कर्णाली याक्समा थिए । ‘ए’ श्रेणीमा रहेका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ निर्धारण गरिएको थियो । अक्सनमा ए खेलाडीको १० लदाख तोकिए पनि उनीहरू भने त्यसको ५० प्रतिशत बढी मूल्यमा बिक्री भए । ‘ए’ श्रेणीमा कुल आठजना खेलाडी रहेका थिए ।