पहिराले कान्तिलोकपथ अवरुद्ध

बागमती । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा ढुङ्गा खस्दा सो सडकमा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । पहिरो पन्छाएर सडक सञ्चालन गराउन डोजर र जनशक्ति परिचालन गरिएको उनले बताए । त्यसैगरी, हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक अझै सञ्चालन हुनसकेको छैन । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझबाट सो सडक अवरुद्ध भएको थियो । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गामाटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । सडक सञ्चालन गराउन समय लाग्ने भएकाले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । रासस

महामन्त्रीद्वयले प्रधानमन्त्रीलाई भने - एमाले पनि चुनावबाट भाग्न सक्दैन, सहमतिमा ल्याउने प्रयास गर्दैछौं

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै सन्दर्भमा उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन् । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिएकी छन् । सो क्रममा महामन्त्रीद्वयले भने, ‘औपचारिक निर्णय गर्न बाँकी भए पनि कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। शीघ्र यसबारे आधिकारीक निर्णय पनि गर्छौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने विश्वास छ । एमालेलाई सहमतिमा ल्याउन सरकारले पनि थप प्रयास गर्नुपर्ने देखिन्छ। हामी पनि प्रयासरत छौँ ।’ उनीहरूले आफ्नो पार्टीले जेनजी युवासहित अन्य दलसँग पनि शीघ्र निर्वाचनलगायत समसामयिक विषयमा गहन संवाद गर्ने बताए । महामन्त्रीद्वय थापा र शर्माले जेनजी युवालगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचन अघि केकसरी सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा अहिले नै सहमति गरेर जानुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ । आज एमाले सचिवालय बैठक भएकाले छलफल अर्को दिन गर्ने एमाले नेतृत्वले बालुवाटारमा जानकारी गराएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरूसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्रीकै आह्वानमा यसअघि सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि भइसकेको छ ।

प्रधानमन्त्रीद्वारा आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान गरेकी छन् ।      आइतबार दिउँसो ४ः०० बजे बालुवाटारमा बस्ने गरी सातै प्रदेशका मुख्यमन्त्रीलाई जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।     प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।  बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ ।