एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल 'संग्रहालय' विमोचन
काठमाडौं । एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्षहरू समेटिएको अनुसन्धानमूलक जर्नल 'संग्रहालय' विमोचन गरिएको छ । नारायणहिटी दरबार संग्रहालयमा आज आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरे । मन्त्री पाण्डेले नेपालको संग्रहालयका विभिन्न आयाम उल्लेख गरी भएको जर्नल प्रकाशन उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै जर्नल प्रकाशनमा एनसेल फाउण्डेसनको सहयोगले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिताको प्रशंसा गरे । मन्त्री पाण्डेले हाल संग्रहालयहरुको दर्ता, मापदण्ड तथा व्यवस्थापनका सम्बन्धमा सरकारले नीतिगत तहमा काम गरिरहेको जानकारी दिए । उनले नेपालका संग्रहालय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको बताए । 'कला र संस्कृति हाम्रा पहिचान हुन्, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवर्द्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारीअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम गर्न पाएकामा हामी खुसी छौं,' एनसेलकी कर्पोरट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् । उनले नेपाली कला र सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्वर्द्धन एनसेल फाउण्डेसनको प्राथमिकतामा रहेको उल्लेख गरिन् । त्यस अवसरमा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइले सांस्कृतिक प्रवर्द्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका संग्रहालयले भूमिका खेलेको उल्लेख गर्दै संग्रहालय संस्कृतिको थप विकास गर्नुपर्ने आवश्यकता औँल्याए । इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले आइकमले नेपालमा संग्रहालयको दायरा फराकिलो पार्दै संस्कृति संरक्षणमा काम गर्ने बताए । उक्त जर्नल एनसेल फाउण्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको एक वर्षे परियोजना 'संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन' अन्तर्गत प्रकाशन गरिएको हो । परियोजनामा संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने र संग्रहालयसम्बन्धी स्रोत सामग्री निर्माण तथा प्रसार गर्ने मुख्य क्रियालापहरु कार्यान्वयन गरिएको थियो । परियोजनाअन्तर्गत संग्रहालयको आधारभूत मान्यता र अन्तर्राष्ट्रिय अभ्यासका प्रमुख पक्ष समेटेर एक जानकारीमूलक पुस्तिका तयार पारी देशभरका संग्रहालय तथा सम्पदासँग सम्बन्धित संस्थालाई वितरण गरिएको छ । आइकम नेपालका अध्यक्ष दवाडीले परियोजनामार्फत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक सयभन्दा बढी संग्रहालयकर्मीलाई संग्रहालयको आधारभूत मान्यता र अभ्याससम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिए । यो तालिम संग्रहालय, प्रदेश, स्थानीय र संघीय सरकारका सम्बन्धित निकायसँग समन्वय गरी सञ्चालन गरिएकाले तीन वटै तहका सरकार तथा समुदाय र निजी संग्रहालयलाई जोडेर संग्रहालयका आधारभूत विषयमा छलफल समेत गर्न सहयोग पुर्याएको जनाइएको छ । यसले गर्दा आगामी दिनमा संग्रहालयका वृत्त र विषयवस्तुलाई संग्रहालयकर्मीबीच छलफल गर्ने आधार समेत बनेको त्यस अवसरमा उल्लेख गरियो । तालिममा संग्रहालय सञ्चालनका अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको आवश्यकता र संग्रहालयले गर्न सक्ने र गर्नुपर्ने विषयमा छलफल गरिएको थियो । परियोजनाअन्तर्गत नेपालको पहिलो संग्रहालय स्थापना भएको समयदेखि हालसम्मको इतिहास र सो अवधिको यात्रा देखाउने श्रव्य–दृश्य वृत्तचित्र निर्माण पनि सम्पन्न भएको छ । वृत्तचित्रले संग्रहालयको इतिहास र अहिलेको अवस्थालाई समावेश गरेको छ । आइकम नेपालले यो परियोजना नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वय तथा स्थानीय र प्रदेश सरकारहरुको सहकार्यमा कार्यान्वयन गरेको हो । यस पहलले दिगो विकासका लक्ष्य, नेपाल सरकारको संस्कृति तथा संग्रहालयसम्बन्धी राष्ट्रिय नीति र स्थानीय सरकारलाई संविधानले दिएको संग्रहालय सञ्चालनसम्बन्धी अधिकार प्रवर्द्धनमा टेवा पुर्याएको सरोकारवालाहरूको धारणा छ । सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यमा सम्पन्न परियोजनाले नेपालमा संग्रहालय र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ । कार्यक्रममा सहभागीले यस किसिमका प्रभावकारी परियोजनालाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार एनसेल फाउण्डेसन र आइकम नेपालबीचको साझेदारीले निजी क्षेत्रका अन्य संस्थालाई पनि सम्पदा संरक्षण र प्रवर्द्धनमा संलग्न हुन प्रेरित गर्नेछ ।
रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार
काठमाडौं । आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन)बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रदान गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी आज सामाजिक सञ्जाल फेसबुकबाट दिएका हुन् । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई रु दुई लाख प्रदान गरिने निर्णय भएको जानकारी पनि दिए । गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका हुन् ।
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक
काठमाडौं । नेपालको प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ को आयोजक ग्लोकलले यस वर्षका ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरेको छ । यस वर्षको छनोट नेपालभरका युवाहरूको असाधारण प्रतिभा, दूरदृष्टि र नेतृत्व क्षमता प्रदर्शन गर्ने उत्कृष्ट आवेदकहरूमध्येबाट गरिएको हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो ११औँ संस्करण हो । कुल ७८६ आवेदकहरु मध्येबाट छनौटमा परेका २० जनालाई आगामी सेप्टेम्बर १ मा पुरस्कृत गरिने ग्लोकल प्रालीले जनाएको छ । साथै, सोही दिन गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम समेत घोषणा गरिनेछ । ग्लोकल टीन हिरो २०२५ को ११ औँ संस्करणमा १३ देखि १९ वर्षका किशोरकिशोरीहरूका लागि आवेदनहरू खुला गरिएको थियो । आफ्नो शैक्षिक कार्यभन्दा बाहिर गएर समाजमा उल्लेखनीय काम र सकारात्मक प्रभाव पारेका किशोरकिशोरीहरुलाई यसमा छनौट गरिएको छ । ग्लोकल २० अन्डर २० सूची विभिन्न क्षेत्रहरूका २० प्रारम्भिक परिवर्तनका वाहकहरूको लागि एक सामूहिक उपाधि हो । जसले समाजमा सकारात्मक छाप छोडेका छन् । यस वर्षका सम्मानित व्यक्तिहरूलाई उनीहरूको विभिन्न क्षेत्रहरूमा गरेका कामहरूको लागि मान्यता दिइएको छ । जसमा प्रविधि, सामाजिक सक्रियता, उद्यमशीलता, वातावरणवाद, कला, र स्वास्थ्य सक्रियता समावेश छन् । ग्लोकल २० अन्डर २०, २०२५ का लागि छानिएका आवेदकहरू मध्ये बुटवलका आविश खनाल, बाजुराका ध्रुबेश धामी, बाग्लुङका गोकुल श्रेष्ठ, धनुषाका कृष यादव, स्याङ्जाकी मानुषी न्यौपाने, वीरगन्जका मोहम्मद अफताब शेख, कपिलवस्तुका निश्चल ढुंगाना, पर्साका निशान्त राज सर्राफ, सुनसरीका ओसिस निराला, जुम्लाका अक्सफोर्ड आचार्य, डोल्पाका फुर्वा छिरिङ गुरुङ, झापाकी पूजा मैनाली, बुटवलका रक्षित पौडेल रहेका छन् । त्यसैगरी, सर्लाहीबाट रेणुका सिंह, नवलपुरबाट ऋतु घर्ती, काठमाडौंबाट रुचि ओझा, रुपन्देहीबाट सफल पौडेल र सक्षम घिमिरे, चितवनबाट सजन अधिकारी, कपिलवस्तुबाट सक्षम रुपाखेती छनौटमा परेका छन् । यी २० प्रेरणादायक सहभागिहरु अब ग्लोकल टीन हिरो २०२५ को अर्को चरणमा प्रवेश गर्नेछन् । यस सम्मानित समूहबाट, शीर्ष ६ फाइनलिस्टहरूलाई अन्तिम चरणमा जानको लागि छनोट गरिनेछ । फाइनलिस्टहरूको दूरदृष्टि, अनुकरणीय आचरण र उनीहरूको कामको दिगो प्रकृतिलाई प्रतिष्ठित निर्णायकहरूको एक प्रभावशाली समितिले मूल्यांकन गर्ने आयोजकले जनाएको छ । निर्णायक समितिमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया; डब्लु.डब्लु.एफ नेपालका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ; गोलछा ग्रुपकी निर्देशक सीमा गोलछा; भोइथका अध्यक्ष श्री सुरज वैद्य; र नेपालका लागि युरोपेली संघका कार्यवाहक थोमस मिलर रहेका छन् ।