धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । ‘एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,’ जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले उनले भने ‘सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ ।’ स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भए/नभएको स्थलगत अध्ययन गरेका थिए । स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र २०८१ को मङ्सिरमा मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चका अनुसन्धानकर्ताले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । अनुसन्धानकर्ता लरिसा गौतमले यस क्षेत्रमा रेडपाण्डा देखाउन पर्यटक भित्र्याएर समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने जानकारी दिए । 'पर्यटकीय राजधानी पोखरादेखि नजिकै पर्ने जलजला क्षेत्रमा रेडपाण्डासँगै हिमाल, मनमोहक पहाडी भूगोलको अवलोकन गर्न पाउनु रेडपाण्डा पाइने अन्य ठाउँको भन्दा फरक विशेषता छ,' उनले भने 'रेडपाण्डासँग जोडेर खेलकुद प्रतियोगिता , घरवास र पदमार्ग सञ्चालन गर्न सकिन्छ ।' डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको एकीन गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको जानकारी दिए । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भूइँमा झर्ने बताइएको छ । रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययन अनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । अनुुसन्धानकर्ताका अनुसार नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको बताइएको छ । यसैबीच दातृ निकाय टोलेडोजुका आर्थिक सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरि –२ र ३ मा पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा संरक्षण कार्यक्रम लागू गरेको छ । समुद्री सतहबाट दुई हजार दुई सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्टापन्न वन्यजन्तुको सूचीमा राखेको छ । जैविक विविधता संरक्षण समाज नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले डिभिजन वन कार्यालय, ढोरपाटन सिकार आरक्ष र सम्बद्ध स्थानीय तहसँग समन्वय गरेर समुदायस्तरमा रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बजानकारी दिए । 'चोरीसिकारी, डढेलो, सडक विस्तार र मानवीय गतिविधिका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि र संरक्षणमा चुनौती देखिएको छ,' उनले भने 'समुदायस्तरमा रेडपाण्डाको महत्व बुझाएर संरक्षणको प्रयास गरेका हौँ ।' जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, युवा क्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, किसानलाई रेडपाण्डा संरक्षणमा परिचालन गरिने अध्यक्ष पौडेलले जानकारी दिए । 'हेर्दा आकर्षक देखिने लज्जालु र अल्छी स्वभावको रेडपाण्डाको महत्व नबुझेर अनायासै मार्ने गरेको पाइन्छ,' उनले भने 'रेडपाण्डाको छाला महँगोमा बिक्री हुने भ्रमका कारण अनायासै चोरीशिकार गर्ने समस्या हटाउन सकेमा मात्रै पनि यसलाई जोगाउन सकिन्छ ।' रासस
गफले रोजगारी सिर्जना हुँदैन : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख(मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् । आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । उनले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताए । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उनको भनाई छ । उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताए । देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गरे । देश विदेशी ऋणले मात्रै नचल्ने बताउँदै उनले देश अब नेपाली आँफैले बनाउनुपर्नेमा जोड दिए । गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताए । उनले भने, ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रपन्तरणका लागि, आर्थिक रुपान्तरणको लागी हामी अब फिल्डमा निस्केर काम गर्छौं । अफिसका बसेर भाषणमा सिमित हुँदैनौँ । हामी चाँही पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ । पहिला त यो देशमा काम गर्नुपर्छ ।’ आफूहरुले दलको झण्डा नराख्ने बताए । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उनको भनाई छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उनले जानकारी दिए । परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि दाबी गरे । हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उनले जानकारी दिए । निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आइतबार मान्यता दिएको हो । साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् ।
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट
धरान । यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबाली क्षति पुर्याएको छ । जिल्लामा लगाइएको धान, तरकारीबालीमा क्षति पुग्दा करिब दुई अर्ब रुपैयाँ बराबरको नोक्सान भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएकोछ । केन्द्रका प्रमुख नीलकमल सिंहले जिल्लामा ४८ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा वर्षाले करिब १४ हजार ४०० हेक्टरमा क्षति पुर्याएको जानकारी दिए । उनका अनुसार धानमध्ये राधाबार, बास्मतीलगायत जातका बालीमा बढी क्षति पुगेको छ । 'अगौटे जातका करिब २० प्रतिशत किसानले धान काटिसकेका थिए, बाँकी हावाहुरी र वर्षाले खेतमा लडाएको छ', सिंहले भने, 'अहिलेसम्म करिब नौ हजार ६०० हेक्टर क्षेत्रफलको धान मात्र काटिएको छ । बाँकी बाढी र निरन्तरको वर्षाका कारण कुहिने अवस्थामा पुगेको छ ।' अहिले पनि वर्षा भइरहेकाले किसानले काटेर राखेको धान पनि उठाउन समस्या भइरहेको उनको भनाइ छ । 'केही दिनमा घाम लाग्यो भने पानी सुकेपछि लडेको धान निकाल्न सकिन्छ, तर केही गुणस्तर भने घटेरै आउँछ, नभए त्यही कुहिएर जाने अवस्था आउँछ', उनले भने । रामधुनी नगरपालिका–९ का किसान जङ्गबहादुर घिमिरेले दुई बिघा क्षेत्रफमा लगाउनुभएको धान वर्षाले पूरै नष्ट पारेको बताए । उनका अनुसार वर्षाले खेतमा बाँकी रहेको धान पनि कुहिने अवस्था छ । 'करिब १२ कठ्ठा जति धान खान वा गाईवस्तुलाई घाँसका रूपमा प्रयोग गर्न पनि नमिल्ने गरी क्षति भएको छ । दुई दिनको वर्षाले दुई लाखभन्दा बढीको नोक्सानी भयो', उनले भने । घिमिरेले पाकेको धान केही काटेर राखेको भए पनि वर्षाले कुटेर क्षति पुर्याएको बताए । उनले भने, 'गत असोजमा आएको वर्षाले खासै नोक्सान गरेन, तर अहिलेको वर्षाले काटेको र काट्न बाँकी धान पूरै नष्ट गर्यो । रोपाइँका सकयमा पानीको अभाव भयो, डिप बोरिङमार्फत रोपेको धान पाक्ने बेला वर्षाले तहसनहस बनायो । हाम्रो जीविकापार्जन भनेकै खेती हो, अरु केही पेसा व्यवसाय छैन ।' रामधुनीका किसान सुरकुमार राईले करिब नौ कठ्ठामा लगाएको तरकारी र आठ कठ्ठाको धान बेमौसमी वर्षाले नष्ट पारेको बताए । उनले भने, 'तरकारी फलिसकेको थियो, धान पनि पाक्न लागेको थियो, सबै खेतमै लडायो । यही धान र तरकारी वर्षभरि खाने अन्नको व्यवस्थापन गर्छौँ, अब कसरी वर्षदिन गुजारा गर्ने भन्ने चिन्ता छ ।' सुनसरीमा चार सय ५८ हेक्टरमा हुने कोदोखेतीमध्ये करिब १० प्रतिशतमा क्षति पुगेको कृषि ज्ञानमा केन्द्रका प्रमुख सिंहले बताए । उनले भने, 'कोदोको बोट अलिक होचो र बलियो हुने भएकाले कम क्षति भयो ।' आठ हजार १०० हेक्टरमा हुने तरकारीखेतीमध्ये करिब ९५ प्रतिशतमा क्षति पुगेको उनले जानकारी दिए । प्रमुख सिंहका अनुसार फलेका काँक्रो, परवल, बोडी, घिरौँलालगायत तरकारी तथा बिरुवा पनि नष्ट भएको छ । जिल्लामा ५३० हेक्टर क्षेत्रमा हुने केरा खेतीमध्ये ८० प्रतिशत वर्षाले नष्ट गरेको जनाउँदै उनले केही उखुखेतीमा समेत क्षति पुगेको बताए । जिल्लाका देवानगञ्ज, रामधुनी, कोशी, इनरुवा र भोक्राह नरसिंह गाउँपालिकामा सबैभन्दा बढी धान, केरा र तरकारीखेतीमा क्षति पुर्याएको ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सिंहका अनुसार अहिलेसम्म सङ्कलन भएको विवरणमा करिब रु दुई अर्ब ५० करोड बराबरको क्षति भएको छ । उनले भने, 'सबै पालिकाबाट क्षतिको विवरण सङ्कलन भइरहेको छ । यसका लागि सम्बन्धित निकायलाई विवरण सङ्कलनका लागि पत्राचार गरिसकिएको छ ।' रासस