गौचरन बन्यो ‘केपी टावर’, सुकुम्वासी बस्तीमा क्रेता न बिक्रेता
झापा । गगनचुम्बी ठूलो सेतो टावर । झापाको दमक नगरपालिकाका अधिकांश बस्तीबाट यो टावर देखिन्छ । टावरबाट पनि झापाको अधिकांश गाउँहरू देखिन्छन् । झट्ट हेर्दा निकै आकर्षक । विदेशमा बनाएको कुनै भव्य भवनजस्तो । नजिकका गाउँहरूबाट अग्लो भवनजस्तो दखिने भएकोले पनि स्थानीयहरू यो के रहेछ भनेर हेर्न आइपुग्छन् । मोरङको सुनवर्षी नगरपालिकाका प्रकाश राई यही अग्लो भवन हेर्न केही दिनअघि टुकुरे आइपुगे । उनले आफ्नो गाउँबाट यो अग्लो भवन देखेका थिए । तर, केको भवन हो भन्ने थाहा थिएन । बेला बेला उर्लाबारीबाट देखिने विशाल भवन के होला ? भनेर उनको मनमा खुलदुली लागिरहन्थ्यो । त्यही खुलदुली मेटाउन उनी गत साता टुकुरे आइपुगे । श्रीमती र छोराछोरीलाई मोटरसाइकलमै राखेर टावर हेर्न आइपुगेका राईले विकासन्यूजसँग भने, ‘यो भ्यू टावर रहेछ भनेर यता आएपछि थाहा भयो, टाढाबाट हेर्दा निकै अग्लो भवन देखिएको हुनाले के रहेछ हेरौं भन्ने लाग्यो । यहाँ पुगिसकेपछि थाहा भयो- यो त केपी ओलीले बनाएको टावर रहेछ ।’ प्रकाश राई । उनले केपी ओलीले बनाएको टावर भनेर सञ्चार माध्यममा सुनेका थिए । ‘भवन त राम्रै ठडिएको छ, भित्र गएर हेर्न पाए झनै राम्रो हुने थियो,’ उनले थपे, ‘खुलदुली लागेर हेर्न आएको टावर रहेछ भन्ने बुझियो अब फोटो खिचेर फर्कनु प¥यो ।’ उनी टावरको परिसरभित्र प्रवेश गर्न पाएनन् । झापाको दमक ६ का निर्जल कार्की मोरङको उर्लाबारीमा बसेर अध्ययन गर्छन् । बेलाबेला गाउँ आउँदा उनी यो टावर हेर्न पुगिहाल्छन् । निर्माण सुरु हुँदादेखि सम्पन्न भएर भवन ठडिँदासम्म उनी बाहिरैबाट फर्केर गए । यो पटक भित्रै गएर हेर्न पाइन्छ कि भनेर पुग्दा पनि बाहिरैबाट फर्कनुपरेको गुनासो गरे । निर्जल राई । ‘टावर त राम्रै छ । तर, भित्र पस्नै पाउँदैन, यो पटक त भित्र गएर हेर्न पाइन्छ कि भनेको पाइएन,’ उनी भन्छन्, ‘धेरैलाई यहाँ पुग्नै गाह्रो हुन्छ, सोध्दै पुगेकाहरूलाई पनि आउन समस्या पर्छ, अलि बजार नजिक सबैलाई पायक पर्ने ठाउँमा टावर भइदिएको सजिलो हुन्थ्यो ।’ टावर हेर्नकै लागि दिनहुँ टाढा-टाढाबाट पर्यटक आउँछन् । तर, बाहिरबाटै हेरेर चित्त बुझाइ फर्कन्छन् । भवन वरिपरि ठूलो पर्खाल लगाइएको छ, त्यही पर्खाललाई कतै जस्तापाताले घेरेको छ भने ठाउँठाउँमा रहेका ढोका बन्द छन् । भवन हेर्न आउने कतिपय त्यही पर्खाल नाघेर भित्र जान्छन् त कोही बाहिरबाटै हेरेर फर्कन्छन् । गौचरन बन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियताबाट बनेको यो भ्यू टावरको नाम धेरैले केपी टावर भनेर चिन्छन् । दापगाछीको टुकुरेमा पर्ने यो टावर हेर्न टाढाटाढाबा गाउँबाट मान्छेहरु आउँछन् । तर, टावरको प्रवेशद्वार बन्द छ । दिनहुँ टाढा-टाढाबाट टावर हेर्न आउनेहरू बाहिरिैबाट फर्किन्छन् । आँट भएकाहरू पर्खाल नाघेर भित्र पस्छन् । बाहिरपट्टि ढोका खुल्लै भएका ठाउँमा वस्तुभाउ चर्ने गौचरन बनाइएको छ । स्थानीयहरूले टावर परिसरमा दिनभर वस्तुभाउ चराउँछन् । भवनको पछाडिपट्टि एउटा बस्ती छ । जुन सुकुम्वासी बस्ती हो । नजिकै ठूलो टावर बन्दा वरपर प्लटिङ धन्दा फष्टाएको छ । टुकुरेमा ठडिएको यो विशाल टावरको निर्माणको काम सकिएको ८ महिना भयो । तर, सञ्चालनमा आउने सुरसार छैन । यो भवन कहिले सञ्चालनमा आउँछ र कुन प्रयोजनका लागि प्रयोग गरिन्छ भन्ने स्पष्ट जवाफ कसैसँग छैन । किनकि भवन सञ्चालन कार्यविधि अहिलेसम्म बन्न सकेको छैन । त्यहाँ पुगेका सबैको एउटै जिज्ञासा छ– यो भवन कहिले सञ्चालनमा आउला ? निर्जल र प्रकाशजस्ता धेरै व्यक्ति भवन हेर्न टिकुरे आइपुग्छन् । कोही आफ्नै साधनमा त कोही हिँडेरै पनि टावर हेर्न आइपुग्छन् । सूर्य प्रसाईं । बिर्तामोडका सूर्य प्रसाईं भ्यू टावर राम्रो भएपनि उपयुक्त ठाउँमा नभएको बताउँछन् । ‘टावरको ठाउँमा राम्रो अस्पताल, विद्यालय बनाइदिएको भए स्थानीयलाई सहज हुन्थ्यो । तर, यो भवनले के फाइदा होला र,’ उनी भन्छन्, ‘दमकको हाइवे छेउछाउ बनेको थियो भने राम्रो हुन्थ्यो, बजार व्यवस्थापन हुन्थ्यो, व्यापार प्रयोजनकै लागि हो भने पनि यो ठाउँमा व्यापारी आउन मुस्किल छ ।’ न बजार, न राम्रो बाटो, न कुनै कार्यालय भएको ठाउँमा व्यापारी आउने वातावरण नरहेको उनको भनाइ छ । सुकुम्वाुसी बस्तीमा टावर भएकोले व्यापारिक प्रयोजनका लागि प्रयोग हुने सम्भावना न्यून रहेको उनी बताउँछन् । प्रसाईंले भनेजस्तै अहिले व्यापार ओरोलो लाग्दै गएको छ । धेरैजसो व्यवसायीहरू व्यापार छोडेर विदेश पलायन भइरहेका छन् । पुँजी राम्रो भएकाहरू अमेरिका, अष्ट्रेलियालगायत राम्रो देश गएका छन् भने पुँजी कम भएकाहरू अन्यत्र गएका छन् । केही नहुनेहरूले पनि देशमा बस्न छोडेको अवस्थामा पायक नपर्ने ठाउँमा सरकारले लगानी खेर फालेको उनीहरुको गुनासो छ । ‘व्यापार आरालो लाग्दै गएको यो समयमा सरकारले नै ऋण दिएर, यहाँ केही राम्रो ग¥यो भने ठिकै हो, नभए त सरकारलाई नै घाटा हो,’ प्रसाईं भन्छन्, ‘यसो गरिएन भने यो टावर हेर्न धेरै आउलान्, मनोरञ्जन पनि लेलान्, राज्यले यसको ट्याक्स पनि लेला तर यत्रो भवन के गर्ने त ?’ बुद्धशान्ति गाउँपालिका बुधबारेका उमेश भट्टराई ओलीले आफ्ना मतदातालाई खुसी पार्न मात्र भवन ठड्याएको बताउँछन् । ‘साँच्चै व्यापारिक प्रयोजनकै लागि थियो भने दमक बजार अथवा व्यापारिक केन्द्रमा बनाउनुपर्ने थियो,’ उनी भन्छन्, ‘भ्यू टावर बनाउनु नराम्रो होइन तर यो ठाउँ उपयुक्त भएन ।’ जग्गाको मूल्य बढाउन ‘केपी टावर’ देशको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा निर्माण भएको यो टावरबारे सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आइरहेका छन् । अझ कतिपयले यो टावरलाई केपी टावर भनेर सम्बोधन गर्छन् । २०७२ सालमा केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला उनले दमकवासीसँग टावर बनाउने उद्घोष गरेका थिए । २०७६ असार २७ गते उनै प्रधानमन्त्री हुँदा यसको शिलान्यास गरियो । अहिले निर्माण कार्य सम्पन्न हुँदा पनि उनै ओली प्रधानमन्त्री छन् । ओलीले नै शिलान्यास गरेको र उद्घाटनमा पनि उनी नै आउने सम्भावना रहेको बुझिएको छ । ‘दुबईमा बनेको बुर्ज खलिफा, ढुकुरेपानीमा बनेको केपी खलिफा एउटै हुन्,’ प्रसाईं भन्छन्, ‘यहाँको वरिपरिका मान्छेले आफ्नो जग्गाको मूल्य बढाउन ओलीसँग आग्रह गरेर टावर बनाउन लगाए, ओली त्यतिबेला प्रधानमन्त्री भएकै हुनाले काम पनि अघि बढ्यो, भवन बनिहाल्यो, अब कसरी सञ्चालनमा आउँछ हेनुपर्छ, यो टावर स्थानीयको जग्गाको मूल्य बढाउने बाहेकको होइन ।’ अहिले भवन निर्माण भएको ठाउँमा लगानी भएअनुसार व्यापारी आएर बस्नेमा भन्ने आशंका छ । यसले सरकारलाई नै घाटा हुने अधिकांशको भनाइ छ । तर दापगाछीका स्थानीय भने भवन निर्माणपछि खुसी भएका छन् । उत्साहित छन् स्थानीय व्यापारी झापाको धरमपुरकी हिमा कुईंकेलले ढिकुरेमा पसल सञ्चालन गरेको करिब ६ वर्ष भयो । टावरको काम सुरु हुन लाग्दा उनले त्यहाँ पसल सञ्चालन गरिन् । खुद्रा पसलदेखि खाजा पसलसमेत सञ्चालन गरिरहेकी उनी टावर सञ्चालनमा आए व्यापार हुने आशामा छिन् । ‘यो भवन के का लागि बनेको हो, किन बनेको हो त्यति थाहा छैन । तर, जे का लागि बनेको भएपनि सञ्चालनमा आइदिए राम्रो हुने थियो,’ उनी भन्छिन्, ‘अहिले भवन बनेपछि हेर्न आउनेहरू धेरै हुन्छन्, कसैले खाजा खान्छन्, कोही पानी खान्छन, पहिलेको भन्दा व्यापार बढेको छ, अझ सञ्चालनमा आइदिए त राम्रो हुने थियो ।’ भवन निर्माण गर्दा मजदूरहरूले खाने रासनपानीदेखि सबैको व्यवस्था कुईंकेलको पसलले गरेको थियो । अहिले भवन बनिसकेपछि कामदारहरू पनि गए । व्यापारमा पनि कमी आयो, तर पर्यटकहरू आउँदा अहिले पनि व्यापार हुने गरेको बताइन् । अहिले टावरको ५ मिटर वरिपरि स्थानीहरूले खाजा पसलदेखि लिएर खुद्रा पसल थापिरहेका छन् । रमेश गौतम । दापगाछीका रमेश गौतमले पनि पसल सञ्चालन गरेका छन् । उनी पनि भ्यूटावरले गर्दा पहिलेभन्दा अहिले व्यवसाय चलिरहेको बताउँछन् । पहिले यो ठाउँमा त्यहाँ स्थानीयभन्दा बाहिरको मान्छेको आऊजाऊ चल्दैनथ्यो । उनी भन्छन्, ‘अहिले टावर हेर्नकै लागि भएपनि मान्छे आउँछन्, पानी खान्छन्, चिया खान्छन्, हामीलाई फाइदै भएको छ । यस्तै हुने छ भन्ने आशामा छौं ।’ पहिले दैनिक तीन–चार सयको व्यापार नहुने गरेको पसलबाट अहिले दिनहुँ हजारदेखि दुई हजारसम्म व्यापार भइरहेको उनको भनाइ छ । पहिलेको भन्दा अहिले व्यवसाय राम्रो भइरहेको बताउँदै उनीहरू यो टावर सञ्चालनमा आए झनै राम्रो हुने बताउँछन् । पाँच बिगाहा जग्गा निःशुल्क स्थानीयहरूले निःशुल्क दिएको पाँच बिगाहा जमिनमा १८ तले भवन ठडिँदा स्थानीयहरू पनि उत्तिकै उत्साहित छन् । भवन निर्माणका लागि करिब २ कट्ठा जग्गा दिएका स्थानीय रमेश गौतम यो भवन सञ्चालन गरेर राज्यले आफूलाई केही दिने आशामा छन् । उनी भन्छन्, ‘भ्यूटावर चल्दा मान्छेको भिडभाड बढ्छ, भिडभाड बढ्दा हाम्रो पनि व्यापार बढ्छ, बस्ती बाक्लो हुन्छ, यो सडक कालोपत्रे हुन्छ, जग्गाको भाउ बढ्छ अलि माथि पुगिन्छ कि भन्ने आशामा छौं ।’ तर अहिलेसम्म भवन सञ्चालनमा नआउँदा भने उनलाई पनि पीर परेको छ । अहिले त्यो ठाउँमा धुरकै ४–५ लाख पुगेको छ । सडक कालोपत्रे भएर टावर सञ्चालनमा आउँदा अझै जग्गाको भाउ बढ्ने अपेक्षामा पनि छन् । राजकुमार बानियाँ । स्थानीय राजकुमार बानियाँ टावर बन्नेबित्तिकै पर्यटक भित्रिएर आयस्तर उक्सिने आशामा छन् । ‘टावर सञ्चालनमा आउने बित्तिकै होटेल चल्छ, व्यवसाय बढ्छ,’ उनी भन्छन्, ‘हामीलाई हुने फाइदा भनेको यही त हो नि, हाम्रो गाउँले मान्छे देख्छ, यहाँको जग्गाले भाउ पाउँछ अनि हाम्रो जीवन उक्सन्छ ।’ तर अहिलेसम्म टावर सञ्चालनमा नआउँदा भने उनको मनमा चिसो पसेको छ । यसैको लागि डेढ महिनाअघि त्यहाँको एउटा टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । बानियाँ थप्छन्, ‘यो विषयमा हामीलाई भन्दा बा(केपी ओली) लाई चासो छ, बाको भनाइअनुसार कार्यविधि बनिसकेपछि सञ्चालनमा आउँछ । हामी सञ्चालनमा आउने आशामा छौं ।’ यो ठाउँमा टावर ठड्याउँदा आलोचना भइरहेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘विकास सहरमा मात्र हुने होइन । गाउँमा विकास ल्याउँदा पो विकास हुन्छ । सहर बजार त्यतिकै विकसित छ नि त।’ सञ्चालनमै दुविधा सहरी विकास मन्त्रालयको भ्याटबाहेक करिब १ अर्ब ४५ करोडको लागतमा बनेको यो भवन सञ्चालनमा अझै दुविधा छ । करिब दुई अर्ब लगानीमा बनाएको भवन कतै भवनमै सीमित हुने त होइन भन्नेमा धेरैको आशंका छ । तर, सहरी विकास मन्त्रालयले भने भवन सञ्चालन कार्यविधि नबन्दा सञ्चालनमा ढिलाइ भएको प्रतिक्रिया दिएको छ । उसो त यो आयोजनामै कतिपयले प्रश्न उठाउन थालेका छन् । वातावरणीय प्रभाव मूल्यांकनबिना बनाइएको भवन अवैधानिक हुने कतिपयको तर्क छ । छैन कार्यविधि ढिकुरेमा अग्लो भवन ठडिए पनि सञ्चालन कार्यविधि भने अझै बनेको छैन । महालेखा परीक्षकको ६०औं प्रतिवेदनले समेत टावर सञ्चालनको कार्यविधि र त्यसबाट हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन नै नभएको ठहर गरेको छ । महालेखाले यस्ता आयोजना माग तथा आवश्यकता पहिचानका आधारमा लगानीको सुनिश्चित हुने गरी मात्र सञ्चालन गर्न सुझाव दिएको छ । कार्यविधि नै नहुँदा धेरैलाई टावर सञ्चालनमा आउँछ या आउँदैन भन्ने आशंका रहेको बेला सहरी विकास मन्त्रालयले भने भवन सञ्चालनको कार्यविधि अन्तिम चरणमा रहेकाले मन्त्रिपरिषदबाट पास हुनमात्र बाँकी रहेको जनाएको छ । मन्त्रालयका सूचना अधिकारीले कार्यविधि अन्तिम चरणमा रहेकाले अब क्याबिनेट बस्ने बित्तिकै यो विषयमा छलफल हुने बताए । सघन सहरी तथा भवन निर्माण कार्यालय झापाले पनि सञ्चालन कार्यविधि बनिसकेकाले अब पास हुन मात्र बाँकी रहेको जनाएको छ । सय मिटर अग्लो भवन कार्यविधि नै नबनाइ हचुवाको भरमा निर्माण गरिनु उपयुक्त नहुने धेरैको ठहर छ । कुनैपनि भवन निर्माण सुरु गर्दा त्यसको कार्यविधि बनाइन्छ । तर, भवन निर्माण गरेर सञ्चालनमा आउँदा कार्यविधिको कुरा गर्नुमा ठूलो भ्रष्टाचार भएको हुनसक्ने बुधबारेका उमेश भट्टराई बताउँछन् । ‘करोडौंको भवनमा लाखौंको भ्रष्टाचार गरे, धेरैले खल्ती भरे अब टावर सञ्चालनमा आवस् कि नआवस,’ उनी भन्छन्, ‘भवन निर्माण नै हचुवाको भरमा गरिएको छ, यो यहाँका स्थानीयलाई आशा देखाउने बाटोमात्र नहोस् ।’ छैन वातावरणीय प्रभाव मूल्यांकन कुनै पनि आयोजना वा परियोजना बनाउँदा सबैभन्दा पहिले त्यहाँ वरपरको वातावरण हेरिन्छ । त्यो ठाउँमा कुनै संरचना निर्माण गर्दा त्यसले पार्ने प्रभाव कस्तो पर्छ भन्ने विषयमा अध्ययन गरिनुपर्छ । तर, त्यहाँ ठड्याएको यो भवनको भने अहिलेसम्म वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भएको छैन । कुनै आयोजना निर्माण गर्दा त्यसले वरपरका बस्तीलाई असर गर्छ भने त्यो अस्वीकृत हुन्छ । तर, सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका आयोजना प्रमुख रमेश थिङ भने निर्माण सम्पन्न भएपछि पनि ईआईए गर्न सकिने भएकाले अब गर्ने तयारी भइरहेको बताउँछन् । जबकि ईआईए आयोजना बनाउनुअघि नै गर्नुपर्छ । उनी भन्छन्, ‘म यहाँ आएको दुई दिनमात्र भयो धेरै कुरा थाहा छैन, तर दमकमा बनेको भ्यूटावरको ईआईए भएको छैन भन्ने मैले पनि सुनेको छु, यो विषयमा पनि हामी चाँडै तयारी गर्ने छौं ।’ यो टावरको पश्मिपट्टि रहेको सुकुमबासी बस्ती भने टावरले आफ्नो उठीवास हुने चिन्तामा छ । आफ्नो जग्गा नभएर ऐलानीमा बसेका उनीहरू टावर सञ्चालनमा आएपछि आफू बसोवास गर्दै आएको जग्गा नै मासिन्छ कि भन्ने पीरमा छन् । स्थानीय सरकारसँग छैन समन्वय आफ्नै पालिकामा बनेको ट्रेड टावरबारे स्थानीय सरकार नै बेखबर छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले टावर निर्माण भएपनि यो विषयमा स्थानीय तहसँग कुनै समन्वय नभएको बताए । उनले पहिले भ्यू टावर भनिएपनि अहिले बिजनेश कम्पलेक्स नाम परिवर्तन भयो भन्ने बाहेक यो भवनबारे अन्य जानकारी पालिकालाई थाहा नभएको बताए । ‘भवनको निर्माण कार्य सम्पन्न भयो भन्ने थाहा पाएका छौं, अरू जानकारी छैन,’ उनले भने, ’दुई दिन अगाडि सहरी भवनका डीजीज्यूले फोन गर्नुभएको थियो, भवनकै बारेमा कुरा गर्नुथियो म दमक आउँदै छु भन्नुभएको थियो, म काठमाडौं छु, त्योभन्दा अरु कुनै पनि निकाय, व्यक्तिले हामीसँग कुरा गरेको छैन ।’ प्रमुख थापाले संघीय सरकारले बनाएको यो कम्प्लेक्सलाई उद्देश्यसहित आफूहरूको जिम्मा लगाए स्थानीय तह सञ्चालन गर्न तयार रहेको बताए । उनले भवन निर्माण भएपनि वरिपरिको सडक निर्माण गर्नेदेखि धेरै काम गर्न बाँकी रहेको बताउँदै अझै निर्माणका लागि ६० करोड बढी पैसा लाग्ने बताए । कस्तो छ टावर ? २०७८ पुस २७ गते सक्ने योजनाअनुसार सुरुमा १ अर्ब ५६ करोड १४ लाखमा यो टावर बनाउने ठेक्का लागेका थियो । तर, तीन वर्ष ढिला गरी आयोजना सकियो । सघन सहरी तथा भवन निर्माण आयोजना, झापाका अनुसार यो व्यावसायिक टावर कुल १ सय मिटर अग्लो बनेको छ । जसमध्ये १८ औं तला ७२ मिटर उचाइमा निर्माण भएको छ । बाँकी २८ मिटरमा भने मेटल फ्रेमको टावर राखिएको छ । यसरी कुल एक सय मिटरको भवन निर्माण भएको छ । टावरमा पार्किङ, उद्यान, पार्क, बाल उद्यानसहितका संरचना पनि छन् । भवनभित्र धेरै ‘पार्टेसन’ गरिएको छैन । टावरका हरेक तला चार मिटर उचाइमा बनेको छ । यो भवनमा भूकम्प प्रतिरोधी र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरिएको छ भने चट्याङबाट बचाउने प्रविधिसमेत राखिएको छ । यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदनअनुसार भवनको पहिलो चार तलासम्म व्यापारिक प्रयोजन, पाँचौं तला सेमिनार हल, छैटौंदेखि नवौं तलासम्म बैंक, वित्तीय संस्था र व्यावसायिक संस्थाका कार्यालय रहने छन् भने १०औं तलाभन्दा माथि १४औं तलासम्म कृषि तथा औद्योगिक सामग्री प्रदर्शनी हल, १५औं र १६औं तलामा रेस्टुरेन्ट बन्ने छन् । १७औं र १८ औं तला भने दृष्यावलोकनका लागि उपयोग गर्ने गरी डीपीआर बनेको थियो । यो भवनभित्र ४ वटा लिफ्ट राखिएका छन् । १६ तलासम्म लिफ्टको व्यवस्था छ भने दुई तला हिँडेर जानुपर्छ । यसका लागि स्थानीय केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईंले करिब ५ बिगाहा जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
एनपीएल : क्रिकेटमा छिरे ठूला व्यवसायी, सुस्ताएकाे अर्थतन्त्र चलायमान हुने विश्वास
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ गतेदेखि आयोजना गर्ने नेपाल प्रिमियम लिग (एनपीएल)को माहोलले यतिखेर देश तातेको छ । नेपालीहरूको महान पर्व दशैंसँगै क्रिकेटको पर्वले पनि खेलाडी, खेलप्रेमी र खेल शुभचिन्तकहरूमा एक किसिमको तंरग सिर्जना गरेको छ । आइतबार भएको एनपीएल अक्सनले धेरैलाई उत्साह मात्रै थपेको छैन, इण्डियन प्रिमियर लिग (आईपीएल)को झल्कोसमेत दिएको छ । कुनै बेला पारिश्रमिकको लागि तड्पिने नेपाली खेलाडीहरू अहिले बोलकबोलमा बिक्री भइरहेका छन् । खेलाडीहरू एकपछि अर्को खेलमा व्यस्त भइरहेका छन् । मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलले देशभर क्रिकेटमयको धुन गुञ्जायमान गरिरहेको छ । कुनैबेला कसैको नजरमा नपर्ने क्रिकेट यतिखेर ठूल्ठला उद्योगी व्यवसायीको नजरमा छ । आइतबार भएको एनपीएलको अक्सनमा ८ वटा टिमका लागि ८० खेलाडी बिक्री भए । अक्सनमार्फत् ८ वटै टोलीले १०/१० खेलाडी अनुबन्ध गरे । अक्सनमा १२ खेलाडी उच्च मूल्य १५ लाख रुपैयाँमा बिक्री भए । मार्की खेलाडीसहित सबै टिममा खेलाडीको संख्या ११ पुगेको छ । खेलाडी र टीम किन्न २२ करोड खर्च आइतबार भएको एनपिएलको अक्सनमा फ्रेन्चाइज टोलीले करिब ६करोड रुपैयाँ खेलाडी खरिद गर्न खर्च गरे । ८० खेलाडी खरिद गर्दा ८ वटा टिमले करिब ६ करोड रुपैयाँ खर्च गरेका हुन् । ५ करोड ८२ लाख रुपैयाा खर्च गरेको छ । टिम मालिक टिम खरिदका लागि पनि १६ करोड ८७ लाख रुपैयाँ खर्च गरेका छन् । लुम्बिनी लायन्स अक्सनमा सबैभन्दा महँगो टोली लुम्बिनी लायन्स बनेको छ । यस टिमले खेलाडी खरिद गर्नका लागि ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । जसको मार्की प्लेयर कप्तान रोहित पौडेल हुन् । खेलाडीको अक्सनका लागि हरेक टोलीलाई ९० लाख रुपैयाँको सिमा तोकिएको थियो । यस टिमले सूर्य तामाङ, सन्दिप जोरा र विवेक यादवलाई १५/१५ लाखमा खरिद गरेको छ भने आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १०/१० लाखमा किनेको छ । लुम्बिनीले, दुर्गेश गुप्तालाई ८ लाख, अर्जुन साउदलाई ५ लाख, दिनेश अधिकारीलाई २ लाख ७५ हजार तथा विकास आग्री र अभिषेक गौतमलाई २/२ लाखमा अनुबन्ध गरेको छ । लुम्बिनी लायन्सको स्वामित्व फोर्चुना हेल्थ केयरमा रहेको छ । यो टिमको मूल्य १ करोड ८६ लाख रुपैयाँ हो । यो टिमको टिम मालिक ईश्वर जिसी हुन् । जिसीले अनुबन्ध कार्यक्रममा क्रिकेट त देशलाई माया गर्ने एउटा आधार भएको बताएका छन् । उनले लुम्बिनीलाई लुम्बिनी गौतम बुद्धको घरमात्र नभएर क्रिकेटको पनि एउटा घर हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार क्रिकेटसँगै पर्यटन, रोजगारको पनि प्रयास हुनेछ । पोखरा एभेन्जर्स एनपीएलको अक्सनमा दोस्रो महँगो टोली पोखरा एभेन्जर्स बनेको छ । जसले १० खेलाडीका लागि ८० लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । यो टिमको मार्की प्लेयर कुशल भुर्तेल हुन् । पोखराले ए ग्रेडका खेलाडी सागर ढकाललाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने पोखराले आकाश चन्दलाई ११ लाख ५० हजार, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री र दिलीप नाथलाई १०/१० लाख तथा तृतराज दास र सुनम गौतमलाई समान ५ लाख तथा दिनेश खरेल र अमृत गुरुङलाई २/२ लाखमा अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्सको स्वामित्व नेपाल टी-२० प्रालिमा छ । जसले ३ करोड ५७ लाखमा खरिद गरेको हो । यसको टिम मालिक सुबोध त्रिपाठी र मनोबल श्रेष्ठ हुन् । जनकपुर बोल्ट्स आइतबार भएको अक्सनमा जनकपुर बोल्ट्स तेस्रो महँगो टिम बनेको छ । जसले १० वटा खेलाडी खरिद गर्नका लागि ७९ लाख २५ हजार खर्च गरेको छ । यस टिमको मार्की खेलाडी आसिफ शेख हुन् । यस टिमले अनिल कुमार साह र ललितनारायण राजवंशीलाई १५/१५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । जनकपुरले रूपेश सिंह, आकाश त्रिपाठी र किशोर महतोलाई १०/१० लाख रुपैयाँमा खरिद गरेको छ भने शुभ कंसकार, शेर मल्ल र हेमन्त धामीलाई ५/५ लाख तथा अरनिकोप्रसाद यादवलाई साढे २ लाख र तुलबहादुर थापालाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । जनकपुर बोल्ट्सको स्वामित्व ड्रिम स्पोर्ट्समा छ । यस टिमको मुल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ । यस टिमको मालिक अमित श्रेष्ठ हुन् । चितवन राइनोज चितवन राइनोजले १० वटा खेलाडी खरिद गर्नका लागि ५३ लाख रुपैयाँ खर्च गरेको छ । यस टिमको मार्की प्लेयर कुशल मल्ल हुन् । चितवन राइनोजले अक्सनमार्फत १५ लाख रुपैयाँमा कुनै पनि खेलाडी भित्र्याउन सकेन । चितवनले रिजन ढकाल, कमलसिंह ऐरी र शरद भेषवाकरलाई १०/१० लाख रुपैयाँमा अनुबन्ध गरेको छ । चितवनले विपिन रावललाई ८ लाख, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह राउटेला र दीपक बोहरालाई ५/५ लाख तथा रञ्जित कुमारलाई ३ लाख र गौतम केसीलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । चितवन राइनोजको स्वामित्व चितवन मेडिकल कलेजमा छ । जसको मालिकको रुपमा हरिशचन्द्र न्यौपाने, आयुश न्यौपाने रहेका छन् । उनीहरुले अक्सनमा १ करोड ७६ लाख रुपैयाँमा खरिद गरेका हुन् । चितवन राइनोजका मालिक आयुश न्यौपानेले अक्सन कार्यक्रममा आफूहरू स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व रहेकोले खेलकुद र स्वास्थ्य एकअर्काका परिपूरक रहेको बताएका छन् । विराटनगर किङ्स विराटनगर किङ्सले खेलाडी खरिद गर्न ६६ लाख रुपैयाँ खर्च गरेको छ । यस टिमको मार्की प्लेयर सन्दिप लामिछाने हुन् । यस टिमले प्रतिस जिसी र लोकेश बमलाई १५/१५ लाख रुपैयाँमा खरिद गरेको छ । विराटनगरले राजेश पुलामी मगर र बसिर अहमदलाई १०/१० लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने जितेन्द्र मुखिया, अनिल खरेल र दीपक बोहरालाई ५/५ लाख रुपैयाँमा खरिद गरेको छ । विराटनगरले सुभाष भण्डारीलाई साढे २ लाख, नरेन भट्ट र मिर्नल गुरुङलाई २/२ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । विराटनगर किङ्सको स्वामित्व एमएडी ड्रिम स्पोर्ट्समा छ । जसको मालिक पारस लुनिया हुन् । यस टिमले १ करोड ५१ लख रुपैयाँमा खरिद गरेको हो । लुनियाले देशमा क्रिकेको विकासका लागि आफूले लगानी गरेको बताएका छन् । सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्सले खेलाडी खरिद गर्न ७४ लाख रुपैयाँ खर्च गरेको छ । जसको मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सले अक्सनबाट आरिफ शेखलाई सर्वाधिक १५ लाख रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ । सुदूरपश्चिमले अविनाश बोहरालाई १२ लाख, विनोद भण्डारीलाई १० लाख, ईशान पाण्डेलाई साढे ९ लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने अर्जुन कुमाललाई साढे ७ लाख र खडक बोहरा तथा नरेश बुढा ऐरलाई ५/५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले भोजराज भट्टलाई साढे ४ लाख, अमित श्रेष्ठलाई ३ लाख ५० हजार तथा नरेन साउदलाई २ लाख रुपैयाँमा खरिद गरेको छ । सुदूरपश्चिम रोयलसको स्वामित्व इम्पायर स्पोर्ट्समा रहेको छ । जसले १ करोड ६८ लाख रुपैयाँमा खरिद गरेको हो । जसको मालिक स्वतन्त्रप्रताप शाह हुन् । अक्सन कार्यक्रममा बोल्दै शाहले क्रिकेटलाई पेसा बनाउँछु भन्ने सोच भएकालाई राम्रो प्लेटफर्म रहेको धारणा राखे । शाहले एउटा टिमले एनपीएलमा १५ देखि २० करोड रुपैयाँसम्म खर्च गर्ने बताएका छन् । यो आधारमा कर्णाली याक्स कर्णाली याक्सले पनि ७४ लाख रुपैयाँ खर्च गरेर खेलाडी खरिद गरेको छ । सोमपाल कामी मार्की प्लेयर रहेको कर्णालीले अक्सनमा गुल्सन कुमार झालाइै सर्वाधिक १५ लाख रुपैयाँमा खरिद गर्यो । गुल्सनका लागि ८ वटै टिमबीच प्रतिस्पर्धा भएको थियो । कर्णालीले नन्दन यादवलाई ११ लाख, मौसम ढकाल, अर्जुन घर्ती र देव खनाललाई १०/१० लाख, रित गौतम र भुवन कार्कीलाई ५/५ लाख तथा दीपेन्द्र रावत र दीपक डुम्रेलाई समान तीन लाख र युनिसविक्रम सिंहलाई २ लाख रुपैयाँमा खरिद गरेको छ । कर्णाली याक्सको मालिक हिमालयन बिल्डर्स इन्जिनियर्स हो । जसको नेतृत्व झनक दत्त खनाल र गृहेन्द्र घिमिरेले गरेका छन् । यो टिमको अक्सन मूल्य १ करोड ११ लाख रुपैयाँ हो । यस टिमका मालिक गृहेन्द्र घिमिरेले क्रिकेटमा आफूहरूले सम्भावना देखेर लगानी गरेको धारणा राखेका छन् । ‘हामी निर्माण क्षेत्रमा काम गरिरहेकाहरू क्रिकेटमा किन भनेर प्रश्न पनि उठ्न सक्छ । तर, जबसम्म निजी क्षेत्रले खेलकुद व्यावसायिक पार्न मद्दत गर्न सक्दैन, त्यो खेलले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन,’ उनले भनेका छन् । काठमाडौं गुर्खाज काठमाडौं गुर्खाजले ७० लाख ५० हजारमा खेलाडी खरिद गरेको छ । करण केसी मार्की प्लेयर रहेको काठमाडौं गुर्खाजले अक्सनमार्फत् साहब आलम र भीम सार्कीलाई सर्वाधिक १५/१५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । काठमाडौंले राशिद खानलाई १० लाख, शंकर रानालाई साढे ९ लाख, दीपेश कँडेल, सुमित महर्जन र कृष्ण कार्कीलाई ५÷५ लाख रुपैयाँमा खरिद गरेको छ । यस्तै, राजु रिजाल, विवेक केसी, र प्रतीक श्रेष्ठलाई काठमाडौंले २/२ लाख रुपैयाँमा खरिद गरेको छ । काठमाडौं गुर्खाजको मालिक कान्तिपुर मिडिया ग्रुप हो । काठमाडौं गुर्खाज मालिक टिमको नेतृत्व कैशाश सिरोहा, उपेन्द्र महतो र अरुण सरार्फले गरेका छन् । कान्तिपुरले टिम अक्सनमा खर्चेको ३ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ । टिम अक्सनमा बोल्दै काठमाडौं गुर्खाजका मालिक उपेन्द्र महतोले अब नेपाली क्रिकेट व्यावसायिक रूपमा अगाडि बढेको बताएका थिए । उनले आजका दिनसम्म नेपाली क्रिकेट लगानीको अभावमा रहेको बताउँदै अबदेखि व्यवसायीहरू पनि क्रिकेटमा लगानी गर्न तयार रहेको धारणा राखेका थिए । क्यानका सचिव भन्छन् : विश्वको ध्यान नेपालमा छ नेपाल क्रिकेट संघका सचिव पारस खड्काले अहिले विश्वको ध्यान नेपाली क्रिकेटमा रहेको बताएका छन् । उनले एनपीएलले अब नेपालका खेलाडीले आफ्नो क्षमता देखाएर विश्वको ध्यान तान्न सफल हुनेमा विश्वास व्यक्त गरे । उनका अनुसार एनपीएलले ‘रेभिन्यू जेनरेट’मा पनि ठूलो भूमिका खेल्ने बताए । ‘एनपीएलले अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्नेछ, देशलाई खेलकुदबाट एकिकृत गर्नका लागि पनि एनपीएलले महत्वपूर्ण भूमिका खेल्नेछ, खेलाडीले खेलमा आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गर्नका लागि पनि एनपीएलले भूमिका खेल्नेछ,’ उनले भने । उनले एनपीएल महान पर्व भएको धारणा राखे । उनले सबै खेलप्रेमी र खेलका शुभचिन्तकलाई पनि खेलमा सहभागी भएर साथ दिन आग्रह गरे । पछिल्लो समय देशको अर्थतन्त्र त्यति सन्तोषजनक छैन । यो समयमा एनपीएल हुनुले देशको अर्थतन्त्र केही हदमा भएपनि चलायमान हुने विश्वास गरिएको छ । नेपाली खेलाडीको अक्सनबाट टुङ्गो लागि सकेपनि विदेशी खेलाडीलाई भने खेलमा अनुबन्ध गर्न बाँकी नै छ । विदेशबाट पनि तीन दर्जन बढी विदेशी खेलाडी आईपीएल खेल्न आउने छन् । अब टिमहरूले विदेशी खेलाडीलाई भित्र्याउने पनि तयारी थालेका छन् । एउटा टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने नियम क्यानले बनाएको छ । यसले पनि नेपालको पर्यटनमा थप टेवा पुग्नेछ ।
वालेटले ओगट्छन् अर्बौ बचत, जोखिममा प्रयोगकर्ता
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी वालेटहरूले ४३ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २ करोड ४२ लाख ५७ हजार ६५६ जनाले वालेटबाट ३ करोड ८ लाख ७८ हजार ९४० पटक कारोबार गरेका हुन् । गत असारसम्म २ करोड ३४ लाख ६१ हजार १०७ जनाले ३८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । त्यस समयमा ३ करोड २१ लाख ५ हजार ९१७ पटक कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसार २०७९ असारमा १ करोड ६२ लाख ६ हजार ३५६ पटक १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । तीन वर्षअघि वालेट प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना थिए । गत वर्ष (२०८० असार) मा २ करोड ८ लाख २२ हजार ८६१ पटक २० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष वालेट प्रयोगकर्ता संख्या बढेर १ करोड ८९ लाख ४१ हजार ७९१ जना थिए । भुक्तानी वा कारोबारमा काम गरिरहेका डिजिटल वालेटको प्रयोग निरन्तर उकालो लागेको छ भने कारोबार रकम पनि बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । पाँच वर्षको अवधिमा वालेट प्रयोगकर्तासँगै कारोबार रकम पनि उच्च वृद्धि भएको छ । पाँच वर्षअघि २०७७ साउनसम्म वालेट प्रयोगकर्ता ६२ लाख ७४ हजार १२९ जना थिए । तर, ५ वर्षमा प्रयोगकर्ताको संख्या २८६.६२ प्रतिशत बढेर २ करोड ४२ लाख ५७ हजार ६५६ जना पुगेका छन् । यस्तै, कारोबार रकम पनि ४७६.५६ प्रतिशत बढेको छ । ५ वर्षअघि वालेटबाट ७ अर्ब ५७ करोड रुपैयाँ कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । कति छ वालेटमा बचत ? कुन वालेट कम्पनीमा कति बचत छ भनेर सार्वजनिक तथ्याङ्क छैन । सर्वसाधारणको अर्बाैं रुपैयाँ रहेको वालेट कम्पनीमा राष्ट्र बैंकले पनि सार्वजनिक गर्न मान्दैन । तर, वालेट कम्पनीका सीईओहरूसँगको अनौपचारिक कुराकानीका आधारमा दैनिक अर्बाैं रुपैयाँ वालेटमा बचत रहन्छ । वालेट कम्पनीहरूमा सबैभन्दा धेरै प्रयोगकर्ता (युजर) ईसेवामा छन् । ईसेवा १ करोड बढीले डाउनलोड गरेको भएपनि वास्तविक प्रयोगकर्ता भने ६० लाख हाराहारीमा मात्रै रहेको कम्पनी स्रोतको भनाइ छ । स्रोतका अनुसार दैनिक कारोबार गर्दा पनि दैनिक २ देखि ३ अर्ब रुपैयाँ ईसेवामा बचत रहन्छ । यस्तै, खल्ती र आइएमई पेका प्रयोगकर्ताको संख्या पनि उच्च छन् । खल्तीका २४ लाख प्रयोगकर्ता छन् भने आइएमई पेको पनि सोही हाराहारीमा प्रयोगकर्ता रहेका छन् । स्रोतका अनुसार यी दुई वालेटमा प्रयोगकर्ताको बचत १ अर्ब बढी नै हुने गरेको छ । यस्तै, प्रभु पे, माइ पे, नमस्ते पे टप फाइभभित्र पर्छन् । जसमध्ये माइ पेका १० लाख, प्रभु पेका ९ लाख र नमस्ते पेका ७ लाख प्रयोगकर्ता छन् । स्रोतका अनुसार यी वालेटको पनि दैनिक बचत ५० करोडभन्दा बढी हुने गरेको छ । अन्य कम्पनीको प्रयोगकर्ता कम भए पनि सर्बसाधारणको बचत रकम करोडौंमा रहेको छ । सजिलो पेका प्रयोगकर्ता २ लाख ८० हजार छन् भने पे वेलका ४ लाख बढी प्रयोगकर्ता छन् । स्रोतका अनुसार पेवेलको बचत १७ करोडभन्दा बढी रहेको थियो । त्यसैले २६ वटै वालेट कम्पनीको तथ्याङ्कलाई जोड्दा अर्बाैं रूपैयाँ हुने देखिन्छ । अप्ठ्याराेमा वालेट कम्पनी राष्ट्र बैंकको तथ्याङ्कअनुसार २६ वटा वालेट कम्पनी सञ्चालनमा छन् । कम्पनीका कर्मचारीहरू र नियामक नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग कुरा गर्दा अहिले अधिकांश वालेट कम्पनीहरू घाटामा सञ्चालन भइरहेका छन् । सर्वसाधारणको अर्बौं रूपैयाँ होल्ड गरेर व्यवसाय सञ्चालन गरिरहेका वालेट कम्पनीहरू घाटामा जाँदा सर्वसाधारणको वालेटमा रहेको रकम पनि जोखिममा छ । लामो समयदेखि वालेट सञ्चालनमा रहेपनि उल्लेख्य नाफा भने गर्न सकेका छैनन् । अहिले सञ्चालनमा रहेको ईसेवा मात्रै नाफामा रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार हालसम्म खल्ती र आइएमई पे वालेटले लागत मात्रै उठाउन सकेका छन् भने अन्य वालेट कम्पनीलाई लागत पनि उठाउन सकस परिरहेको राष्ट्र बैंकको भुक्तानी विभागका एक कर्मचारीले बताए । वालेटमा कमाइ भन्दा धेरै खर्च हुने गरेको ती कर्मचारीको भनाइ छ । खल्ती गत वर्षदेखि नाफा आर्जन गर्ने योजनाका साथ काम गरिरहेको थियो । तर, विभिन्न कारणले कम्पनी नाफामा जान नसकेको बताइएको छ । चालु आर्थिक वर्षदेखि भने नाफा गर्ने लक्ष्यमा रहेको खल्तीका एक कर्मचारीको भनाइ छ । ‘डिजिटल कारोबारको भविष्य राम्राे रहेकाले अहिले लगानीमा जोड दिइरहेका छन्, बैंकहरूले पनि डिजिटलमा लगानी मात्रै गरिरहेका छन्, त्यति धेरै नाफा गर्न सकेका छैनन्,’ एक वालेट कम्पनीका सीईओले भने, ‘वालेटमा दीर्घकालीन लगानी गरेका छौं, अब काम गर्दै जाँदा केही समय लाग्न सक्छ, अहिले नाफाभन्दा पनि एउटा आधार बनाउन लागिरहेका छौं ।’ वालेटले मागे ब्याज वालेट कम्पनीले निक्षेप जम्माको काम गर्न पाउँदैनन् । त्यसैले सेटलमेन्ट बैंकमा रकम राख्नुपर्ने हुन्छ । दैनिक अर्बाैं रुपैयाँ बचत रहने भएकाले सो बापतको ब्याज पाउनुपर्ने वालेट कम्पनीहरूले माग गर्दै आएका छन् । हाल वालेट कम्पनी घाटामा चलिरहेको र आम्दानीको स्रोत हुने भएकाले दैनिक बचतअनुसारको ब्याज सेटलमेन्ट बैंकले दिनुपर्ने माग गरिरहेका छन् । ‘वालेटको रकम सेटलमेन्ट बैंकमा जम्मा हुन्छ । त्यो रकम वालेटमा देखिने मात्रै हो, भर्चुअल पैसा जस्तै हो, राष्ट्र बैंकले दैनिक वालेटको छुट्टै र सेटलमेन्ट बैंकको छुट्टै रिपोर्टिङ गरिरहेको हुन्छ,’ एक वालेट कम्पनीका सीईओले भने, ‘जस्तो कुनै वालेटले १७ करोड रुपैयाँ राखेको छ भने त्यो सेटलमेन्ट बैंकको कम देखिएमा राष्ट्र बैंकले तत्काल एक्सन लिन्छ, वालेटको ब्यालेन्स र सेटलमेन्ट बैंकको खातामा बराबर रकम हुनुपर्छ ।’ वालेट कम्पनीलाई कल डिपोजिटमा भएको रकममा ब्याज दिने गरिएको छ । तर, सो ब्याजदर न्यून भएकाले बचत खातामा सरह ब्याज दिनुपर्ने माग वालेट कम्पनीको छ । समस्यामा प्रयोगकर्ता अर्बाैंको कारोबार हुने गरेको वालेट प्लेटफर्ममा प्रयोगकर्ताको गोपनीयतासँगै रकम पनि जोखिममा रहेको छ । राष्ट्र बैंकले गत जेठदेखि पेवेल नेपाल र सजिलो पेको सबै बैंक खाता रोक्का गरेको छ । यी दुईको बैंक खाता रोक्का भएसँगै प्रयोगकर्ताले कारोबार गर्न पाएका छैनन् । यी दुई कम्पनीको कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ । तर, ५ महिनासम्म पनि प्रयोगकर्ताको बचत सो वालेटमा रहँदा न ब्याज पाउँछन् न कारोबार नै गर्न पाएका छन् । अहिले अर्को एक अग्रणी वालेट कम्पनी पनि ठूलो समस्यामा रहेको बुझिएको छ । सो वालेट कम्पनीको विषयमा नियामक नेपाल राष्ट्र बैंकमा पनि सेवाग्राहीको गुनासो गएको छ । अहिले सहकारीमा झै वालेट कम्पनीहरुमा समस्या देखिएमा त्यसले बैकहरुलाई पनि नराम्ररी असर गर्न सक्ने जोखिम रहेको जानकारहरु बताउँछन् ।