मेडिकल कलेजको व्यवसाय बढ्दै, यस्तो छ ८ कलेजको तीन वर्षको आम्दानी

काठमाडौं । पछिल्लो समय मेडिकल कलेजको व्यवसाय बढ्दै गएको छ । विगतका वर्षहरूको तुलनामा सन् २०२३ मा ८ वटा मेडिकल कलेजको व्यापार बढेको देखिएको हो । विकासन्यूजलाई प्राप्त तथ्यांकअनुसार ८ वटा मेडिकल कलेजले २०२३ मा कुल १२ अर्ब १४ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । २०२२ मा यी ८ वटा कलेजले ११ अर्ब ६८ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेका थिए । यो एक वर्षको अवधिमा ८ वटा मेडिकल कलेजको व्यवसाय करिब ४ प्रतिशतले बढेको देखिन्छ । यस समाचारमा हामीले देशका ठूला ८ वटा मेडिकल कलेजले विगत तीन वर्षमा गरेको व्यवसायको विश्लेषण गर्ने प्रयास गरेका छौं । आश्विन्स मेडिकल कलेज ललितपुरको भैंसेपाटीमा रहेको आश्विन्स मेडिकल कलेजले सबैभन्दा धेरै व्यवसाय गरेको छ । यो अस्पतालले २०२४ को मध्यसम्म २ अर्ब २ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेको छ । यस मेडिकल कलेजले २०२३ मा २ अर्ब ८३ करोड ४० लाख बराबरको व्यवसाय गरेको थियो । यस मेडिकल कलेजले २०२२ मा २ अर्ब ७९ करोड १० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । यस्तै, २०२१ यो मेडिकल कलेजले २ अर्ब २२ करोड ६५ लाख रुपैयाँको व्यवसाय गरेको थियो । २००७ सालमा स्थापना भएको आश्विन्स मेडिकल कलेज एण्ड अस्पताल ३ सय शय्याको छ । जसले बहु–विशेषज्ञता स्वास्थ्य सेवा सुविधा पनि दिरहेको छ । यो अस्पतालले चिकित्सा, शल्यक्रिया र डायग्नोस्टिक सेवाहरूको विस्तृत श्रृङ्खला प्रदान गर्दै आएको छ । १ सय १२ रोपनी जग्गामा रहेको यो अस्पताल व्यावसायिक घराना महतो ग्रुपले सञ्चालन गरेको हो । यसको अध्यक्ष डा. उपेन्द्र महतो हुन् । चितवन मेडिकल कलेज सन् २००६ मा चितवन जिल्लाका डाक्टरहरूको समूहले स्थापना गरेको यो निजी कलेज हो । जसलाई पछि २०२४ जनवरी २५ मा सार्वजनिक लिमिटेडमा रूपान्तरण गरिएको थियो । यस अस्पतालले विभिन्न विशेषज्ञता क्षेत्रमा उन्नत डायग्नोस्टिक सुविधासहितको सेवा प्रदान गरिरहेको छ । त्रिभुवन विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चितवन मेडिकल कलेजले २०२३ मा १ अर्ब ८७ करोड ८० लाखको व्यवसाय गरेको छ भने २०२२ मा २ अर्ब ७ करोड ९० लाखको व्यवसाय गरेको छ । यो कलेजले २०२१ मा भने १ अर्ब ८७ करोड ८० लाखको व्यापार गरेको थियाे । तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने पछिल्लो समय यस मेडिकल कलेजको आम्दानी बढ्दै गएको छ । यूनिभर्सल मेडिकल कलेज रुपन्देहीको भैरहवामा रहेको यूनिभर्सल मेडिकल कलेजले पनि व्यवसाय बढाउँदै गएको छ । १९९८ मा निजी मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको यो कलेजले २०२३ मा १ अर्ब ४७ करोड ९० लाखको व्यवसाय गरेको छ । यस मेडिकल कलेजले २०२२ मा १ अर्ब ३९ करोड २० लाखको व्यापार गरेको छ भने २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यवसाय गरेको छ । ५०० शय्याको अस्पताल रहेको यो कलेजमा विद्यार्थीहरूले व्यावहारिक प्रशिक्षणका लागि अस्पतालमा काम गर्दै आइरहेका छन् । यस कलेजमा एमबीबीएस, बीडीएस (दन्त चिकित्सा), बीएससी नर्सिङ, बी फार्मा लगायत विभिन्न स्नातक कोर्सहरूका साथै स्नातकोत्तर कोर्सहरू पढाइ हुँदै आइरहेका छन् । मणिपाल कलेज पोखरामा रहेको मणिपाल मेडिकल कलेज नेपालको सबैभन्दा पुरानो मेडिकल कलेज हो । यसको पूरा नाम मणिपाल कलेज अफ मेडिकल साइन्सेस हो । १९९४ मा भारतको मणिपाल ग्रुपले स्थापना गरेको यो मेडिकल कलेजले एमबीबीएस, बीडीएस र अन्य स्वास्थ्य विज्ञानका विभिन्न कार्यक्रमहरू प्रदान गर्दै आइरहेको छ । दक्ष चिकित्सक उत्पादन गर्न र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना भएको यो कलेजमा अत्याधुनिक प्रयोगशाला, लाइब्रेरी र अनुभवी प्राध्यापकहरू छन् । यस कलेजको आफ्नो मणिपाल शिक्षण अस्पताल पनि छ, जसमा विद्यार्थीहरूले क्लिनिकल प्रशिक्षण प्राप्त गर्छन् । कलेजले २०२४ को मध्यसम्म ७४ करोड ३० लाख रुपैयाँको व्यवसाय गरेको छ भने २०२३ मा १ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । कलेजले २०२२ मा १ अर्ब ९ करोड ९० लाखको सञ्चालन आम्दानी गरेको थियो भने २०२१ मा १ अर्ब ७ करोड ७० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । नेशनल मेडिकल पर्साको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज नेपालको एक प्रसिद्ध मेडिकल कलेज हो । यो कलेज २००१ मा देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको संस्थापक समूहले स्थापना गरेको थियाे । नेशनल मेडिकल कलेज नेपालकै उत्कृष्ट चिकित्सा शिक्षण संस्थाहरूमा गनिन्छ र यो नेपाल मेडिकल काउन्सिल र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त छ । यहाँ एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र अन्य स्नातक र स्नातकोत्तर तहका स्वास्थ्य विज्ञान कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो कलेजमा अत्याधुनिक प्रयोगशालाहरू, लाइब्रेरी र अनुसन्धान केन्द्रहरू उपलब्ध छन् । नेशनल मेडिकल कलेजसँगै अस्पताल पनि छ, जसले विद्यार्थीहरूको क्लिनिकल प्रशिक्षणलाई सशक्त बनाउँदै आएको छ । ७५० भन्दा बढी शय्या भएकाे यो कलेजले पनि आफ्नो आम्दानी बढाउँदै गएको छ । यस मेडिकल कलेजले २०२३ मा १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ भने २०२२ मा १ अर्ब १९ करोड ४० लाख र २०२१ मा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । यस मेडिकल कलेजको पनि आम्दानी बढ्दै गएको देखिन्छ । काठमाडौं मेडिकल कलेज काठमाडौं मेडिकल कलेज काठमाडौंको सिनामंगलमा अवस्थित छ । यो कलेजको स्थापना १९९७ मा भएको हो । कलेज त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ । यो कलेजले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र एमडी/एमएसजस्ता विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आइरहेको छ । यो कलेजको आफ्नै अस्पताल छ, जहाँ विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सिक्न सक्छन् । अस्पतालले विभिन्न आन्तरिक चिकित्सा, शल्यचिकित्सा, प्रसूति-स्त्री रोग, बाल रोग, मनोविज्ञानलगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यो मेडिकल कलेजले २०२३ मा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने २०२२ मा १ अर्ब २८ करोड ८० लाख र २०२१ मा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । मेडिकल कलेजको आम्दानी पनि बर्सेनि बढ्दै गएको देखिन्छ । नेपाल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको कलेजले विद्यार्थीहरूलाई नवीनतम् चिकित्सा प्रविधि सिकाउँदै आएको छ । किष्ट मेडिकल कलेज किष्ट मेडिकल कलेज नेपालको एक प्रमुख मेडिकल कलेज हो । जुन ललितपुरको इमाडोलमा छ । यसको स्थापना २००६ मा भएको थियाे । यो कलेज नेपाल मेडिकल काउन्सिल र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त छ । कलेजले एमबीबीएस, बीडीएस र बिएससी नर्सिङजस्ता विभिन्न स्नातक स्तरका स्वास्थ्य विज्ञानका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकाे छ । किष्ट मेडिकल कलेजसँगै किष्ट मेडिकल कलेज शिक्षण अस्पताल पनि छ । जसले ५०० भन्दा बढी शैय्यासहितका विविध स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको छ । कलेजमा अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र मेडिकल प्रविधि छन् । कलेजले विद्यार्थीहरूको सैद्धान्तिक र प्रयोगात्मक अध्ययनलाई सहज बनाउँदै आएको छ । कलेजमा अत्याधुनिक उपकरण र अनुसन्धानको सुविधा पनि उपलब्ध छन् । यो कलेजले पनि आम्दानी बढाउँदै लगेको छ । नेपाल र विदेशका अनुभवी प्राध्यापक र चिकित्सकहरू रहेको यस मेडिकल कलेजले पनि विद्यार्थीहरूको शैक्षिक स्तरलाई बढाउने प्रयास गर्दै आएको छ । कलेजले २०२३ मा ७८ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ भने २०२२  मा ६८ करोड ८० लाख रुपैयाँ र २०२१ मा ५१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । किष्ट मेडिकल कलेजले नेपालमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ । गण्डकी मेडिकल कलेज गण्डकी मेडिकल कलेज नेपालको एक प्रतिष्ठित चिकित्सा शिक्षा संस्था हो, जुन पोखरामा अवस्थित छ । २००७ मा स्थापना भएको यो कलेजले नेपाल मेडिकल काउन्सिल र मेडिकल काउन्सिल अफ इन्डिया र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त गरेको छ । यस मेडिकल कलेजमा एमबीबीएस, बीडीएस, बिएससी नर्सिङ र अन्य स्वास्थ्य विज्ञानसम्बन्धी स्नातक कार्यक्रमहरू सञ्चालित छन् । यो कलेजको पनि आफ्नै शिक्षण अस्पताल छ, जसमा ७५० भन्दा बढी शैय्या छन् । यो कलेजमा अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र अनुसन्धान केन्द्रहरू पनि छन् । यस मेडिकल कलेजले २०२३ मा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने २०२२ मा १ अर्ब १५ करोड ७० लाख र २०२१ मा १ अर्ब ७ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । यस मेडिकल कलेजको व्यवसाय पनि हरेक वर्ष बढ्दै गएको देखिन्छ । साढे १५ अर्ब ऋण खोज्दै ८ वटा मेडिकल कलेजले ऋणका लागि रेटिङ गराएका छन् । मेडिकल कलेजहरूले ऋणका लागि विभिन्न रेटिङ एजेन्सीमा रेटिङ गराएका छन् । ८ वटा मेडिकल कलेजले कुल १५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबर ऋणका लागि रेटिङ गराएका हुन् । ललितपुरको भैंसेपाटीमा रहेको आश्विन्स मेडिकल कलेजले ४ अर्ब ८४ करोड २० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ भने पोखराको मणिपाल मेडिकल कलेजले २ अर्ब ऋणको लागि रेटिङ गराएको छ । यस्तै, पोखराकै गण्डकी मेडिकल कलेजले ८२ करोड ५० लाख, चितवन मेडिकल कलेजले २ अर्ब ४१ करोड, नेशनल मेडिकल कलेजले ९५ करोड, काठमाडौं मेडिकल कलेजले १ अर्ब ६१ करोड ४० लाख र किष्ट मेडिकल कलेजले १ अर्ब ५० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको रेटिङ एजेन्सीहरूले जानकारी दिएका छन् ।

६० अर्बको सिमेन्ट व्यापार ३० अर्बमा झर्‍यो, कुन उद्योगीको वर्चस्व बढी ?

काठमाडौं । आन्तरिक बजारले धान्न नसकेको खपत भारतीय बजारमा निर्यात गरेर मनग्य कमाउने सिमेन्ट उद्योगहरूको सपना सपनामै विलीन हुन थालेको छ । २०७९ असारमा भारतमा पहिलो पटक सिमेन्ट निर्यात सुरु गरेर खुसीको सन्देश सम्प्रेषण गरेको सिमेन्ट बजार अहिले मरणासन्न अवस्थामा छ । वार्षिक साढे दुई करोड टन उत्पादन क्षमता भएको सिमेन्ट उद्योगहरूको अहिले करिब एक करोड टन उत्पादन मुस्किलले हुन्छ । सरकारको कमजोर पुँजीगत खर्च, बजारको न्यून माग, सुस्त बनेको निर्माण क्षेत्र र पूर्वाधार निर्माणमा मन्दीलगायत कारणले उपभोक्ताबाट सिमेन्टको माग छैन । बजारमा माग नहुँदा उद्योगीले उत्पादन घटाए । परिणामस्वरूप सिमेन्ट उद्योगहरूको व्यापार ठूलो परिमाणले खस्किएको छ । निर्यातले व्यापार बढ्ने आशा गरेका उद्योगीहरूमा निराशा थपिएको छ । अहिले अधिकांश उद्योगहरू क्षमताको २५ प्रतिशतसम्म मात्रै सञ्चालन भइरहेको उद्योगीहरूले बताइरहेका छन् । ‘व्यापार घट्यो, घाटा बेहोर्नुपर्‍यो र उद्योगहरू धमाधम बन्द भए’ भनेर गुनासो गरिरहेका उद्योगीहरूको सिमेन्ट उद्योगको वित्तीय विवरणले के देखाउँछ ? के साँच्चिकै नेपाली सिमेन्ट उद्योगहरू संकटको अवस्थामा पुगेका हुन् त ? आउनूस्, यस विषयमा चर्चा गरौं । आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण हेर्दा पब्लिक कम्पनी सोनापुर सिमेन्ट उद्योग ४७ करोड रुपैयाँ घाटामा छ । पब्लिक कम्पनी घोराही सिमेन्ट एक अर्ब २१ करोड रूपैयाँ घाटामा छ भने अन्य दुई पब्लिक कम्पनी सर्वोत्तम २१ करोड ३८ लाख र शिवम सिमेन्ट २५ करोड नाफामा छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यी दुइटै उद्योगको नाफा घटेको छ । सर्वोत्तम सिमेन्टको नाफा १७ करोड ४२ लाख रुपैयाँ घटेको छ भने शिवमको नाफा ३४ करोड ४५ लाख रुपैयाँ घटेको छ । व्यापार कम भएकै कारण यी उद्योगहरूको नाफा घटेको हो । पब्लिक कम्पनी सोनापुर सिमेन्टको व्यापार विगतका वर्षको तुलनामा उल्लेख्यरूपमा घटेको छ । सोनापुर सिमेन्टले आव २०८०/८१ मा १ अर्ब ६३ करोड, आव २०७९/८० मा साढे १ अर्ब ७३ करोड, आव २०७८/७९ मा २ अर्ब ३७ करोड, आव २०७७/७८ मा पौने ३ अर्ब रुपैयाँको व्यापार गरेको थियो । यो चार वर्षको अवधिमा सोनापुर सिमेन्टको व्यापार उल्लेख्यरूपमा घटेको छ । जसको नेतृत्व रतनलाल टोयलले गरिरहेका छन् । यस्तै, अर्को पब्लिक कम्पनी सर्वोत्तम सिमेन्टको हालत पनि त्यस्तै छ । बुक बिल्डिङ विधिबाट सर्वसाधारण सेयर जारी गरेको यस उद्योगको व्यापारमा पनि पछिल्लो समय घटेको छ । आव २०८०/८१ मा यस उद्योगको व्यापार साढे ६ अर्ब ३७ करोड, आव २०७९/८० मा साढे ५ अर्ब, आव २०७८/७९ मा ७ अर्ब ८८ करोड, आव २०७७/७८ मा करिब ९ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो चार वर्षको अवधिमा यस सिमेन्ट उद्योगकमो व्यापारमा ठूलो गिरावट आएको छ । जसको नेतृत्व विष्णु न्यौपानेले गरिरहेका छन् । लक्की, शारदा र गोयल ग्रुपको मुख्य लगानी रहेको पब्लिक कम्पनी शिवम् सिमेन्टको व्यापार पनि खस्किएको छ । उद्योगी सुरेन्द्र गोयलले नेतृत्व गरिरहेको शिवम् सिमेन्टमा ८८ प्रतिशत संस्थापक र १२ प्रतिशत सर्वसाधारणको सेयर छ । यस उद्योगको व्यापार पनि चार वर्षको अवधिमा व्यापार ६ अर्ब बढीले घटेको छ । आव २०७७/७८ मा ९ अर्ब ६० करोड रुपैयाँ बराबरको व्यापार गरेको यस सिमेन्ट उद्योगले आव २०८०/८१ मा ७ अर्बको व्यापार गरेको छ । अघिल्लो आवको तुलनामा यस उद्योगको व्यापार २ अर्बले घटेको छ । अर्को पब्लिक कम्पनी घोराही सिमेन्टको अवस्था पनि अन्यको भन्दा फरक छैन । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको घोराही सिमेन्टको व्यापारमा पनि ठूलो गिरावट आएको छ । व्यापारिक ग्रुप त्रिवेणी समूह र विशाल ग्रुपको लगानी रहेको घोराही सिमेन्टको नेतृत्व पुरुषोत्तम लाल संघाईले गरिरहेका छन् । यस सिमेन्ट उद्योगको व्यापारमा २०७७ देखि निरन्तर गिरावट देखिएको छ । आव २०७८/७९ मा घोराही सिमेन्टको व्यापार ५ अर्ब ४ करोड रुपैयाँ थियो । आव २०७९/८० मा ४ अर्ब ७९ करोड र आव २०८०/८१ मा यस उद्योगले साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । पब्लिक कम्पनीहरूको व्यापार र नाफा उल्लेख्य रूपमा घटेको सार्वजनिक वित्तीय विवरणले देखाउँछ । सार्वजनिक कम्पनीका रूपमा अगाडि बढेका सिमेन्ट उद्योगको व्यापार खस्किँदा निजी उद्योगहरूको व्यापारको अवस्था के होला ? ठूलो उद्योगीहरूले नाफा कमाएका होलान् वा छैनन् होला ? आउनूस्, अब यो जिज्ञासालाई पनि मेटाऔं । नेपालमा पाँच दर्जन बढी सिमेन्ट उद्योगहरू छन् । तीमध्ये अधिकांश बन्द भइसकेका छन् भने कतिपय आधा क्षमतामा मात्रै सञ्चालित छन् । सञ्चालनको अवस्थामा रहेका केही प्रमुख सिमेन्ट उद्योगलाई नमुनाका रूपमा लिएर समग्र उद्योगको व्यापारको वस्तुस्थिति प्रस्तुत गर्ने प्रयत्न यो समाचारमा गरिएको छ । बृज सिमेन्ट बृज सिमेन्टमा पाँच व्यक्ति तथा संस्थाको लगानी छ । यो उद्योगमा केडिया अर्गनाइजेसनको ५० प्रतिशत सेयर रहेको छ भने बाँकी भारतको शान्ता सिमेन्ट प्राइभेट लिमिटेडको रहेको छ । बृजले दुइटा ब्रान्डमा ओपीसी र पाँच ब्रान्डमा पीपीसी सिमेन्ट उत्पादन गर्ने गरेको छ । ताराचन्द केडियाले नेतृत्व गरिरहेको यो सिमेन्टको व्यापार पनि खस्किएको छ । पछिल्लो समय निर्माण कार्यमा देखिएको सुस्तताका कारण सिमेन्ट कम्पनीहरूको व्यापारमा भारी गिरावट देखिएको कम्पनीको भनाइ छ । यस उद्योगले आर्थिक वर्ष २०८०/८१ को मध्येसम्म सवा १ अर्बको मात्रै व्यापार गरेको छ । यस उद्योगले आव २०७९/८० मा २ अर्ब १२ करोड, आव २०७८/७९ मा साढे १ अर्ब र आव २०७७/७८ मा करिब ३ अर्ब रुपैयाँको व्यापार गरेको थियो । यो चार वर्षको अवधिमा बृज सिमेन्टको व्यापार पनि उल्लेख्य रूपमा खस्किएको छ । सीजी सिमेन्ट पाल्पामा अवस्थित नेपालको ठूलो सिमेन्ट उद्योगमध्ये एक हो सीजी सिमेन्ट । यसको वार्षिक उत्पादन क्षमता ४ लाख टन छ । उद्योगले भारतमा समेत सिमेन्ट निर्यात गर्ने लक्ष्य राखेको छ । नेपालमा एक मात्रै डलर अर्बपति विनोद चौधरीको सीजी ग्रुपको लगानी रहेको सीजी सिमेन्टको हालत पनि अन्य सिमेन्ट उद्योगभन्दा फरक छैन । उद्योगले आव २०८०/८१ एक अर्ब ३७ करोड रुपैयाँ बराबरको मात्रै व्यापार गरेको छ । यस उद्योगले भारतको चर्चित अदानी ग्रुपसँग सिमेन्ट व्यापारका लागि रणनीतिक साझेदारी पनि गरेको छ । होङ्सी शिवम सिमेन्ट ९ वर्षअघि स्थापना भएको होङ्सी शिवम सिमेन्ट प्रालिको व्यापार पनि सन्तोषजनक छैन । हङकङ रेड लायन सिमेन्टको ७० प्रतिशत र शिभम् होल्डिङ्स प्रालिको ३० प्रतिशत सेयर स्वामित्व रहेको यस उद्योगको व्यापार आव २०८०८१ को मध्येमा पौने ५ अर्बमा सीमित बनेको छ । चार वर्षअघि १७ अबको व्यापार गर्ने यो उद्योगको अघिल्लाे आव २०७९/८० मा १३ अर्ब रुपैयाँ बराबरको व्यापार थियो भने आव २०७८/७९ मा १७ अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामाा रहेको यस कम्पनीले सिमेन्ट प्लान्ट, क्लिङ्कर (अर्धप्रशोधित सिमेन्ट) र सिमेन्ट उत्पादन गर्दै आएको छ । वार्षिक रूपमा २० लाख टन क्लिंकर र २३ लाख टन ग्रिडिङ उत्पादन गर्ने कम्पनीको क्षमता छ । यस कम्पनीले हाल ओपीसी र पीपीसी सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको छ । अर्घाखाँची सिमेन्ट अर्घाखाँची सिमेन्टमा तीन ठूला व्यावसायिक घरानाको लगानी छ । सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत स्वामित्व रहेको यस उद्योगको नेतृत्व उद्योगी पशुपति मुरारकाले गरिरहेका छन् । यो उद्योगको व्यापार पनि सन्तोषजनक छैन । यस उद्योगले आव २०८०/८१ मा साढे ३ अर्बको व्यापार गरेको छ भने अघिल्लो आव २०७९/८० मा ५ अर्ब ७७ करोड, आव २०७८/७९ मा साढे ७ अर्ब र आव २०७७/७८ मा पौने ९ अर्बको व्यापार गरेको थियो । यस उद्योगले ओपीसी र पीपीसी सिमेन्ट अर्घाखाँची ब्राण्डमा बिक्री गर्दै आएको छ । हाल कम्पनी वार्षिक १० लाख मेट्रिक टन क्लिङ्कर र ८ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न सक्ने क्षमतामा सञ्चालन भइरहेको छ । पाल्पा सिमेन्ट आरएमसी ग्रुपको लगानी रहेको पाल्पा सिमेन्टको प्रबन्ध निर्देशक राजेश अग्रवाल हुन् । अहिले उद्योगले भारतमा सिमेन्ट निर्यात पनि गरिरहेको छ । सन् २००९ मा स्थापना भएको कम्पनीले सन् २०१९ देखि क्लिङ्कर र सन् २०२० देखि सिमेन्टको व्यावसायिक उत्पादन सुरु गरेको थियो । नवलपरासीमा रहेको सिमेन्ट उद्योगले वार्षिक ५ लाख ९० हजार मेट्रिक टन क्लिङ्कर र ७ लाख ३० हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ । भारतमा निर्यात गरे पनि उद्योगको व्यापार भने बढ्न सकेको छैन । यस उद्योगले आव २०८०/८१ को मध्येसम्म पौने २ अर्बको मात्रै व्यापार गरेको देखिन्छ भने अघिल्लो आव २०७९/८० मा सवा ४ अर्ब, आव २०७८/७९ मा पौने ४ अर्ब र आव २०७७/७८ मा साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको थियो । मारुती सिमेन्ट मारुती सिमेन्टको व्यापार पनि घटेको छ । आव २०८०/८१ को मध्येसम्म यस उद्योगको व्यापार ३ अर्ब २२ करोड रुपैयाँ, आव २०७९/८० मा ४ अर्ब ३३ करोड र आव २०७८/७९ मा ५ अर्ब बढी रकम बराबरको कारोबार थियो । विसं २०५२ सालमा सुरु भएको मारुती सिमेन्ट नेपालको ठूलोमध्येको एक सिमेन्ट उत्पादक कम्पनी हो । यस उद्योगमा राठी ग्रुप र गोयल ग्रुपको लगानी छ । यो उद्योगको नेतृत्व नन्दकिशोर राठीले गरिरहेका छन् । कम्पनीको व्यापारमा कमी आउनुको कारण विदेशी मुद्रा सटहीमा हुने उतारचढावका साथै प्रतिस्पर्धी, सिमेन्ट बजार नेपाल विद्युत प्राधिकरणले दाबी गरेको ट्रंकलाइनको महसुल तथा विद्युत आपूर्तिको समस्या रहेको बताइएको छ । जगदम्बा ग्रुप शंकर र शौरभ ग्रुपको लगानी रहेको यो सिमेन्टको स्थापना विसं २०५६ सालमा स्थापना भएको थियाे । रुपन्देहीको भैरहवामा अवस्थित यस उद्योगको उत्पादन क्षमता दैनिक १ हजार टन छ ।  यो उद्योगको नेतृत्व शंकर अग्रवालले गरेका छन् । यसकाे व्यापार पनि विगतको तुलनामा खस्किएको छ । आव २०७९/८० मा १ अर्ब ४४ करोड रुपैयाँ व्यापार रहेको यस उद्योगको आव २०७८/७९ मा २ अर्ब ६८ करोड र आव २०७७/७८ मा करिब ३ अर्ब रुपैयाँ थियो । यी आधा दर्जन उद्योगको हालत पनि त्यस्तै काबेली सिमेन्ट उद्योगको वार्षिक क्षमता १६ लाख १० हजार टन छ । तर, उद्योगको उत्पादन र व्यापार भने बर्सेनि घट्दै गएको छ । झापाको हल्दिबारीमा रहेको यो सिमेन्ट उद्योगको नेतृत्व अर्जुनकुमार मैनालीले गरिरहेका छन् । आव २०७७/७८ मा उद्योगको व्यापार ४३ करोड रुपैयाँ थियो । तर, अहिले घटेको छ । यस्तै, भूगर्भ सिमेन्टको व्यापार पनि विगतको तुलनामा घटेको छ । आव २०७७/७८ मा २ अर्ब बढीको व्यापार गर्ने यो उद्योगले २०८०/८१ को मध्यतिर साढे १ अर्ब मात्रैको व्यापार गरेको छ । यस उद्योगको प्रबन्ध निर्देशकका रूपमा नन्दीकिशोर पौडेल र सीईओको रूपमा दीपकराज गिरीले काम गरिरहेका छन् । अग्नि, शुभ श्री, सम्राट र सप्तकोशी सिमेन्टको व्यापारमा पनि ठूलो गिरावट आएको छ । अग्नि सिमेन्टले आव २०७७/७८ मा ८८ करोड रुपैयाँको व्यापार गर्ने यस उद्योगले आव २०७९/८० मा ७० करोड रुपैयाँको मात्रै व्यापार गरेको छ । मुख्य कच्चा पदार्थका रूपमा क्लिङ्कर, स्ल्याग, फ्लाइस, जिप्सम कच्चा मालमा कम्पनीको बढी खर्च हुने गरेको छ । यस उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । उनी शुभश्री अग्नि सिमेन्टका सञ्चालक पनि हुन् । ताराप्रसाद पोखरेल उद्योगको प्रबन्ध सञ्चालक रहेका छ्न् । त्यस्तै, सप्तकोशी सिमेन्टको पनि व्यापार घटेको छ । यस सिमेन्ट उद्योगले आव २०७९/८० मा २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको छ । नेपाल सिमेन्ट उद्योग संघका महासचिव केशव उप्रेती अहिले सिमेन्टको व्यापार औसतमा ६० प्रतिशतसम्म खस्किएको बताउँछन् । उनका अनुसार राम्रै चलिरहेका उद्योग पनि ५०/६० प्रतिशतको क्षमतामा मात्रै सञ्चालन भइरहेका छन् । ‘अधिकांश उद्योगले उत्पादन युनिट बन्द गरेका छन् । बजारमा माग छैन । बजार विगतको तुलनामा राम्रै खस्किएको छ,’ उनले भने । महासचिव उप्रेतीका अनुसार अहिले सिमेन्ट निर्यात पनि हुन सकेको छैन । ‘एक दुई उद्योगले निर्यात गर्थे । तर, ती उद्यागको पनि सर्टिफिकेट सकिनै लागेको छ । भारतले निर्यातका लागि त्यहाँको सरकारबाट गुणस्तर प्रमाणीकरण प्रमाणपत्र दिन सकेको छैन,’ उनले भने । गत आवमा ३ अर्ब ८५ करोडको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको छ । गत आवमा २८ लाख ३९ हजार टन सिमेन्ट तथा क्लिङ्कर भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ । जसमा ५ लाख सात हजार टन क्लिङ्कर २३ लाख ३२ हजार टन सिमेन्ट रहेको छ । अघिल्लो आवमा ७७ करोड ९३ लाख बराबरको १० लाख चार हजार टन मात्र सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको थियो । नेपाली सिमेन्ट उद्योगसँग वार्षिक तीन खर्ब रुपैयाँ बराबरको उत्पादन क्षमता छ । अहिले नेपालमा करिब एक खर्ब रुपैयाँ बराबरको सिमेन्ट उत्पादन भइरहेको उद्योगी बताउँछन् । तर, उत्पादन भएको सिमेन्ट बजारले माग गरिरहेको छैन । उत्पादन भएको सिमेन्टले पनि बजार नपाउँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गर्न चुनौती भइरहेको उद्योगीहरू बताउँछन् । विश्व महामारीका रूपमा फैलिएको कोभिड-१९ पछि देशको अर्थतन्त्र सुस्त बन्दा सिमेन्ट उद्योग त्यसको प्रत्यक्ष मारमा परेको तथ्यांकबाट प्रष्ट हुन सकिन्छ । अर्थतन्त्र सिथिल बन्दा र बजारमा निर्माणजन्य काम नहुँदा सिमेन्टको माग हुन सकेन र परिणामस्वरूप उद्योगहरू संकटमा फस्दै गएका हुन् । अघिल्लो आव ६० अर्ब बढी कारोबार गरेका यी उद्योगले गत वर्षको मध्यसम्म त्यसको आधा अर्थात् ३० अर्बको हाराहारीमा मात्रै व्यापार गरेका छन् । यो एक वर्षको अवधिमा यी सिमेन्ट उद्योगको व्यापार ५०.८० प्रतिशत घटेको तथ्यांकले देखाउँछ । ८४ अर्ब ऋणका लागि रेटिङ सिमेन्ट उद्योगहरूले ऋणका लागि पनि धमाधम रेटिङ गराउन थालेका छन् । हालसम्म डेढ दर्जन उद्योगले ऋणका लागि रेटिङ गराएका छन् । आव २०८०/८१ मा डेढ दर्जन सिमेन्ट उद्योगले ८४ अर्ब ऋणका लागि रेटिङ गराएका हुन् । तथ्यांकअनुसार बृज सिमेन्टले साढे ८९ करोड, सर्वोत्तमले ४ अर्ब २६ करोड, सीजीले १३ अर्ब, शिवमले ३ अर्ब २० करोड, होङ्शीले २ अर्ब ३२ करोड र अर्घाखाँचीले साढे ४ अर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो । पाल्पा सिमेन्टले ७२ करोड, मारुतीले पौने ७ अर्ब, जगदम्बाले १ अर्ब २३ करोड, काबेलीले ५९ करोड, भूगर्भले २ अर्ब २५ करोड, अग्निले ८८ करोड, शुभ श्रीले साढे ५ अर्ब, सप्तकोशीले १ अर्ब १२ करोड, सम्राटले १२ अर्ब, सोनापुरले ७ अर्ब र घोराहीले १० अर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।

सम्झनामा श्रवण दाई: करिअरको साथी र पारिवारिक बोण्डिङ

‘के छ चंकी ?’ ‘ठिक छ दाई’ ‘हिरो देखिएको छस् ।’ ‘थ्याङ्क्यू दाई ।’ कात्तिक ७ गते समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको डिनर पार्टी थियो सोल्टी होटलमा । दाई (श्रवण रावल) र मेरो अन्तिम गफ त्यही थियो । दाईले मलाई धेरै माया गर्नु हुन्थ्यो । धेरै जसो तँ भन्नुहुन्थ्यो । कहिले तिमी भन्नुहुन्थ्यो । सगरमाथामा म सीईओ र दाई डिसीईओ हुँदा औपचारिक सम्बोधन गर्दा मात्र मलाई उहाँले सीईओसाव भन्नुहुन्थ्यो ।’ सोल्टीबाट उहाँ घर फर्किँदा सलिकोका सुवास दीक्षित, सिद्धार्थ  प्रिमियरका योगेशकृष्ण श्रेष्ठ, यूनाईटेड अजोडका कम्पनी सचिव लगायतलाई घरघरमा पुर्‍याइदिएर आफ्नो घर जानुभएको रहेछ । श्रवण दाईले राति सुतेको बेला घुरेको जस्तो ठूलो आवाज निकाल्नु भएछ । त्यो सुनेर दिदीले उहाँलाई बोलाउनु भएछ । त्यतिबेला दाईको बोली गइसकेको रहेछ । तत्काल दिदीले मलाई धेरै पटक फोन गर्नु भएछ । तर, मेरो फोन उठेन । सम्मेलनका क्रममा म निकै व्यस्त अनि थकित पनि थिएँ । होटलबाट घर फर्किएपछि मोबाइल साइलेन्समा राखेर म सुतेको थिएँ । फोन आएको थाहै पाइनँ । बिहानै श्रवण दाई रहनु भएन भन्ने खबर सुन्दा मलाई विश्वास नै लागेन । मलाई आफू सपनामा भए जस्तै लाग्यो । तर, दुःखको कुरो त्यो सपना थिएन, हकिकत थियाे । पारिवारिक बोण्डिङ श्रवण दाई र मेरो पारिवारिक रूपमा नै निकै आत्मीयता थियो र छ पनि । हामी ओरियण्टल इन्स्योरेन्समा काम गर्थ्यौं । त्यतिबेलादेखि नै दाईसँग मेरो यति धेरै निकटता थियो कि उहाँले एक दिन बिहेको विषयमा सकसको कुरा सुनाउनु भयो । ‘चंकी । घरबाट मलाई विवाह गर्न बुबाले बोलाउनु भयो,’ दाईले भन्नु भयो । मैले भनें, ‘के भयो त, गए भैहाल्यो । विवाह गर्नु, आउनु ।’ ‘म यत्रो पढेको मान्छे । केटी देखेको नि छैन । बोलेको पनि छैन । फोटो हेरेको पनि छैन । बुबाले केटी टुङ्गो लगाउनु भएछ । मलाई सोधेको पनि छैन,’ दाईले मलाई सुनाउनु भयो । बुझ्दै जाँदा दिदी राम्रो हुनु हुँदो रहेछ । उहाँसँग नै विवाह भयो । दिदीको नाम मिना रावल । कुँवरको छोरी भएकाले मैले मिनालाई दिदी नै भन्न थालें । भाउजु भनिनँ, जबकि श्रवणलाई सधैं दाई भनें, सर कहिल्यै भनिनँ । मिना दिदी सुत्केरी हुँदा उहाँको छोरा आशिषलाई मेरो श्रीमतीले नुहाइदिन्थिन् । स्याहार्थिन् । मेरो श्रीमती सुत्केरी हुँदा पनि उहाँ दिदी आएर स्याहार्नुहुन्थ्यो । त्यो खालको बोण्डिङ थियो हाम्रो परिवारमा । तर, दाइले छोडेको त्यो रात मिना दिदीको फोन उठाउन सकिनँ । हस्पिटलमा पुगेपछि दिदीले फोन नउठाएकोमा दुःख मान्नु भयो । मलाई पनि असाध्यै ग्लानी भयो । विगत सम्झिएर भावुक भएँ । बोल्न सकिनँ । अचेल पनि सपनामा दाईसँग भेट हुन्छ, कुराकानी हुन्छ । ब्यूँझन्छु । सपना पनि विपना नै जस्तो लाग्छ । दाई अझै हुनुहुन्छ जस्तो लाग्छ । सँगैसँगै करिअर मेरो करिअर सुरुवातदेखिकै श्रवण दाईसँग राम्रो सम्बन्ध भयो । उहाँले मुम्बईमा ग्राजुएशन सकेर ओरियण्टल नेपालमा काम सुरु गर्नुभएको रहेछ । उहाँले काम सुरु गर्दा म शंकरदेव कलेजमा बीबीए पढ्दै थिएँ । उहाँले जागिर थालेको तीन वर्षपछि म पनि सोही कम्पनीमा काम सुरु गर्न पुगें । श्रवण दाईको अण्डरमा म काम गर्थें । हाम्रो भेट सोही समयमा भएको हो । दाईले पनि भारतमा कलेज पढ्नु भएको हो । मेरो पनि स्कूलिङ भारतमै हो । त्यही भएर होला, हाम्रो सोंच्ने, बोल्ने, काम गर्ने, धेरै कुरा मिल्थ्यो । २०५० सालतिरको कुरा हो । ओरियण्टलमा श्रवण, विश्व तिमिला, अनिल शर्मा, म, वीरेन्द्र वैदवार, सरला प्रसाईंलगायत थियौं । ओरियण्टलमा श्रवण दाईहरू पछिको ब्याज हामी हो । त्यसमा म, वीरेन्द्र र सर्लाव थियौं । श्रवण दाई र म एउटै डिपार्टमेन्टमा पर्‍याैं । उहाँ घट्टेकुलो बस्नुहुन्थ्यो । म शंकरदेव पढ्थें । हाम्रो भेट पुतलीसडकमा हुन्थ्यो । हामी त्यहाँबाट गफ गर्दै कमलादी गणेशस्थान, दरबारमार्ग हुँदै अफिस जान्थ्यौं । अफिस ज्योति भवन, कान्तिपथमा थियो । फर्किँदा पनि सँगै आउँथ्यौं । केही महिनापछि दाई मार्केटिङ विभागमा जानु भयो । त्यसबेला कम्पनीभित्र काम गरेर अनुभव लिएकाले मात्रै मार्केटिङ गर्न पाइन्थ्याे । मार्केटिङमा गएपछि उहाँलाई अफिसले मोटरसाइकल पनि दियो । त्यसपछि दाईकै बाईकमा हामी अफिस आउने जाने गर्‍याैं । त्यहीबेला नेपाल एसबीआई बैंकले दाईलाई एसबीआई बैंकमा काम गर्न अफर गरेको थियो । यता बीमा कम्पनीले मोटरसाइकलसहितको सुविधा दिइसकेको थियो । बैंकले मोटरसाइकल नदिने भयो । उहाँले के गर्ने होला भनेर मलाई सोध्नु भएको थियो । त्यस समयमा बैंक र बीमा कम्पनीको तलब उस्तै थियो । यता अनुभव पनि भइसकेको अवस्था थियो । मोटरसाइकलसहितको सुविधा पनि पाइसकेको अवस्था थियो । बीमा मै काम गर्न मैले सुझाएँ । उहाँले पनि बीमा मै निरन्तरता दिने निर्णय लिनुभयो । केही वर्षमा दाई, म र वीरेन्द्रलगायत आधा दर्जन कर्मचारीले ओरियण्टल छोड्यौं । श्रवण, विश्व, अनिल दाईहरू नेको इन्स्योरेन्समा जानु भयो । म, वीरेन्द्रलगायत तत्कालीन यूनाइटेड इन्स्योरेन्समा काम सुरु गर्‍याैं । यूनाईटेडमा ५ वर्ष काम गरेपछि म सगरमाथा आएँ । वीरेन्द्र सिद्धार्थमा जोइन भए । दाईले नेकोमा नै गरिरहनु भयो । म सगरमाथामा डीसीईओ हुँदै सीईओ बनें । दाईले उता नेको छोड्ने समयमा धेरै कम्पनीबाट अफर आएको रहेछ । दाई सगरमाथामा आउन इच्छुक रहेको मैले पाएँ । ‘हजुर मभन्दा सिनिअर । मेरो अण्डरमा हजुरलाई कसरी राख्नु,’ मैले भनें । त्यसपछि दाईले पनि भन्नुभयो, ‘तँ मेरो भाई होस्, कर्मले मभन्दा माथि छस् । म तेरो अण्डरमा भएर केही हुँदैन । म तँलाई साथ दिन्छु ।’ त्यसपछि उहाँ डीसीईओ बनेर सगरमाथा आउनु भयो । हामीले फेरि सँगै काम गर्ने मौका पायौं । सगरमाथामा सँगै पाँच वर्ष काम गर्‍याैं । श्रवण दाईसँग तत्कालीन सगरमाथा इन्स्योरेन्सको टिम । त्यसपछि उहाँलाई प्रुडेन्सियल इन्स्योरेन्सबाट सीईओको अफर आएछ । उहाँले मलाई भन्न अफ्ठ्यारो मान्नु भएछ । त्यतिबेला धेरै पटक मलाई भेट्नु भएको थियो । तर, मनको कुरा भन्न नसक्नु भएको रहेछ । एक दिन सुवास दीक्षितलाई लिएर उहाँ मकहाँ आउनु भयो । र, उहाँले भन्नुभयो, ‘मलाई सीईओको अफर आयो, के गर्नु ?’ ‘एस, वेष्ट विसेज,’ मैले तत्काल भनें । उहाँ सीईओ बन्न योग्य मान्छे । पहिला नै सीईओ बन्नुपर्ने । उहाँभन्दा जुनिअर भए पनि म अनि  वीरेन्द्र सीईओ भइसकेका थियौं । विश्व, अनिल पनि सीईओ भइसकेका । योग्यता, क्षमता भएर पनि उहाँले मौका पाउनु भएको थिएन । उहाँलाई आएको त्यो अफरले मलाई खुसी लाग्यो । उहाँको बोली पुरै सुन्न नपाउँदै मैले जवाफ दिएँ । मैले त्यसो भनेपछि उहाँ ट्वाँ पर्नु भयो । साँच्चै भनेको चंकी भनेर फेरि सोध्नु भयो । मैले भनें, ‘हजुर यहाँ डीसीईओ हुनुहुन्छ । सीईओको अफर आयो भने म यहाँ बस्नु भनिरहन्छु त ! गो, वेष्ट विसेज, केही पर्‍याे भने म छु ।’ त्यसपछि उहाँ धेरै खुसी हुनुभयो । उहाँले मलाई कसरी भनौं भनेर केही दिनदेखि सोचिरहनु भएको रहेछ । मैले ओके भनेपछि उहाँ चकलेट बाँड्न थाल्नुभयो । पछि आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियलबीच मर्ज हुने भयो । उहाँ मर्जर कम्पनीको डीसीईओ हुने भएपछि मलाई भन्नु भएको थियो, ‘फेरि डीसीईओ हुने भईयो । त्योभन्दा पहिला त्यहाँ नगएर यही बस्नु पर्ने रहेछ ।’ आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियलबीच मर्ज सकिनै लाग्दा यूनाईटड र अजोड पनि मर्ज प्रक्रियामा गए । मर्ज भएर बन्ने कम्पनीको सीईओमा मलाई अफर आयो । मैले भनें, ‘म आउँदिनँ । तर, म कसैलाई सिफारिस गर्न सक्छु ।’ पहिला श्रवणसँग कुरा गरें, त्यसपछि उहाँको नाम रिफर गरें । प्रुडेन्सियल र आईएमईको मर्जरकै दिन श्रवण रावल यूनाईटेड अजोडको सीईओ बन्दैछन् भन्ने समाचार आयो । मर्जर कार्यक्रममा हामी सँगै थियौं । मैले उहाँलाई सोधें, ‘के हो दाई हजुरको नाम पत्रिकामा आयो त ? ‘त्यै त’ उहाँले हास्दै भन्नुभयो । पछि उहाँ सोही कम्पनीको सीईओ बन्नुभयो । रमाइलो मान्छे श्रवण धेरै रमाइलो मान्छे हुनुहुन्थ्यो । अफिसमा आफूभन्दा माथिल्लो तहका बोसहरूसँग कसरी कुरा गर्ने ? आफूभन्दा सानासँग कसरी कुरा गर्ने ? क्लाईन्टसँग कसरी डिल गर्ने भन्नेबारे उहाँसँग सिक्न सकिन्थ्यो । गाली गर्ने ठाउँमा तँ-तँ पनि लगाउनु हुन्थ्यो । क्लाईन्टसँग ‘आईस्यो गईस्यो’ भन्ने कुरा गर्न उहाँ सिपालु हुनुहुन्थ्यो । सबैसँग मिलनसार र इमान्दार व्यक्तित्व हुनुहुन्थ्याे उहाँ । ‘नो लप्पन छप्पन’ । काममा ‘डेडिकेटेड र स्टे फरवार्ड’ हुनुहुन्थ्यो उनी । उहाँ आफ्नो स्वास्थ्यको बारेमा भने खासै सोंच्नु हुन्थेन । उहाँ ‘हेल्थ कन्सिअस’ भने होइन । ड्रिङ्क्स गर्ने मान्छे हो । सिगरेट पनि लिनु हुन्थ्यो । एक्सरसाइज खासै गर्नु हुन्थेन । तर, पनि उहाँ फिट नै देखिनु हुन्थ्यो । जहिले पनि स्मार्ट नै भएर हिँड्नुहुन्थ्यो । अन्तिम सुझाव अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा याक एण्ड यति होटलमा पनि दाईले मलाई -‘चंकी तँ इन्टनेशनल भइसकिस्, तेरो काम देखेर मलाई खुशी लाग्छ,’ भन्नुभयो । अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्दै गएको र विकासोन्मुख देशहरूका बीमाकर्ताको छाता संगठन (एआईआरडीसी) को बोर्ड अफ ट्रस्टीमा म चयन भएको प्रसंगलाई लिएर उहाँले मलाई इन्टनेशनलको ट्याग थमाउनु भएको थियो । नेपाल बीमक संघको नेतृत्व योग्य व्यक्तिलाई दिएर मलाई संघबाट बाहिरिन पनि उहाँले सुझाउनु भएको थियो । त्यो नै मलाई उहाँको अन्तिम सुझाव भयो । अन्तिम दिन त्यो दिन (कार्तिक ७ गते) उहाँ आफ्नो अफिसको सबै डिपार्टमेन्टमा गएर सबैलाई भेटेर निस्कनु भएको रहेछ । सोल्टी होटलमा उहाँले चिनेको नचिनेको सबैसँग गफ गर्नुभएछ । हाम्रै स्टाफहरूलाई पनि उहाँले भन्नु भएको रहेछ, ‘चंकीको अण्डरमा मैले काम गरें, मभन्दा सिनिअर भएपनि उसले मलाई जहिले दाईजस्तो सम्मान गर्‍याे ।’ भोलिपल्ट मेरो स्टाफले मलाई सुनाउँदा दाई स्वर्गीय हुनुभइसक्नु भएको थियो । श्रवण दाईको निधनले यूनाईटेड अजोड इन्स्योरेन्सले सीईओ गुमायो । मिना दिदीले श्रीमान, आशिषले बुबा, मैले दाई तथा साथी गुमाएँ । तर, सिङ्गो बीमा क्षेत्रले यस क्षेत्रको तारा गुमाएको छ । प्रिय श्रवण दाईप्रति हार्दिक श्रद्धाञ्जली ! (सगरमाथा इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीसँग भएको कुराकानीमा आधारित)