सहकारी सञ्चालकमाथि प्रहरीको विभेद : पक्राउ लगत्तै काँग्रेस निकटलाई सार्वजनिक, एमाले निकटलाई गुपचुप
काठमाडौं । गत बुधबार परिचित सहकारीकर्मी तथा आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गर्यो । ३० हजार बढी बचकर्ताको ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ भएका उनको हातमा हतकडी लागेपछि सहकारी अभियान नै तरंगित बन्यो । लामो समयदेखि सहकारी क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा योगदान गरेका उप्रेतीको हिरासत बसाइँले धेरै अभियानकर्मी चिन्तित पनि बनेका छन् । केबी उप्रेती । राष्ट्रिय सहकारी बैंकको अध्यक्ष समेत रहेका उनी नेकपा एमाले निकट मानिन्छन् । एमालेको सहकारी विभागका सचिव रहेका उप्रेतीमाथि सहकारी ठगीको आरोप लागेपछि एमालेले उनलाई जिम्मेवारीबाट हटाएको थियो । प्रहरीले पक्राउ गरेपछि उनलाई प्रहरीले सार्वजनिक गरेर सबै विषयवस्तु प्रष्ट पार्छ भन्ने अपेक्षा सञ्चार जगत, अभियानकर्मी र बचतकर्तामा पनि थियो । तर, प्रहरीले उनलाई सार्वजनिक गरेन । उनी अहिले प्रहरी हिरासतमै छन् । उप्रेतीभन्दा अगाडि प्रहरीले अर्का ठूला सहकारीकर्मी तथा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको थियो । सो सहकारी संस्थाका सीईओ भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनलाई रकम ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीसहित सो सहकारीका अन्य सञ्चालकविरुद्द गत माघमा महेश थापाले उजुरी दिएका थिए । सो सहकारीका सञ्चालक तथा पदाधिकारी मिलेर ३ करोड रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता भएको थियो । यस्तै, दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धु्रब खरेल समेत भएको ठगी सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा लालिगुराँस सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू उपर आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएपछि भण्डारी लगायतका सञ्चालकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यलले जानकारी दिए । सीईओ सुरेन्द्र भण्डारीसहित अन्य सञ्चालक । सरकारले लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त संस्थाको रुपमा घोषणा पनि गरेको छ । जसको व्यवस्थापकीय नेतृत्व सुरेन्द्र भण्डारीले गरिरहेका छन् । अध्यक्षका रूपमा अमरदास श्रेष्ठलाई अगाडि सारेपनि सहकारीमा सुरेन्द्रकै हालिमुहाली थियो । अहिले अध्यक्ष अमरदास पनि पक्राउ परेका छन् । प्रहरीले असार १४ गते शुक्रबार पक्राउ गरेर असार १६ गते आइतबार उनीहरुलाई सार्वजनिक गरेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार थिए । लालिगुराँस सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि परेको छ । यस्तै, ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा असार २ गते पक्राउ परे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष थापासहित चार जना सञ्चालकलाई पक्राउ गरेर सोही दिन सार्वजनिक गर्यो । तेजविक्रम थापासहित अन्य सञ्चालक । पक्राउ पर्नेमा अध्यक्ष थापासहित सन्जना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा थिए । राजकर्णिकार थापाकी श्रीमती हुन् । सहकारीका सञ्चालकले बचकर्ताको बचत अपचलन गरेको भन्दै पक्राउ गरिएको प्रहरीको भनाइ थियो । सरकारले यो सहकारीलाई २०८० माघमा समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीका २ हजार ५३१ जनाले बचत फिर्ताका लागि उजुरी दिएका छन् । थापा पनि नेपाली काँग्रेस निकट नै मानिन्छन् । सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि यस सहकारीको नाम उल्लेख छ । सीबी लामा । यस्तै, गत जेठ १८ गते सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा सहकारी सञ्चालक चन्द्रबहादुर (सीबी) लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो । उनलाई पनि प्रहरीले सार्वजनिक नै गरेको थियो । उनी अहिले कारागारमा छन् । उनीमाथि ८ अर्ब रुपैयाँ बचत अपचनको आरोप छ । कान्तिपुर सहकारी गत फागुन ३ गते र पशुपति सेभिङ एण्ड क्रेडिट गत साउन १ गते समस्याग्रस्त घोषणा भएको हो । लामा नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् । उनी काँग्रेसबाट यसअघि समानुपातिक तथा प्रत्यक्ष दुवैतर्फ उम्मेदवारका लागि पनि सिफारिस भएका थिए । सहकारीका बचतकर्ताको ठूलो रकम अपचलन गर्ने मध्येका अर्का सहकारीकर्मी हुन् केदारनाथ शर्मा । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८० असारमा पक्राउ गरेर सार्वजनिक नै गरेको थियो । बचतकर्ताको रकम ठगेको आरोपमा उनी श्रीमतीसहित जेलमा छन् । उनले पनि शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी सहकारीका करिब ३८ हजार बचतकर्ताको ११ अर्ब रुपैयाँ बढी ठगेको आरोप छ । उनको दुइटै सहकारीमा समस्या आएको लामो समय भयो । केदारनाथ शर्मा । प्रहरीले उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको थियो । उनी भारतको मुम्बईमा एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको बुझिएको थियो । राजनीतिक रूपमा ठूलो पहुँच भएका उनले पनि राजनीतिक पहुँचकै आधारमा बचतकर्ताको बचत दुरूपयोग गरेको बुझिन्छ । शर्मा शिवशिखर सहकारीको पूर्वअध्यक्ष हुन् । पूर्वअध्यक्ष भए पनि सहकारीको साँचो भने उनको हातमा थियो । उनले सहकारीकै रकमलाई चार दर्जन बढी कम्पनीमा लगानी गरेका थिए । उनी पनि नेपाली काँग्रेस निकट मानिन्छन् । उनी पनि अहिले श्रीमती गिता शर्मासँगै जेलमा छन् । रबिन्द्र चौलागाईं । यस्तै, काँग्रेस निकट नै मानिने अर्का सहकारीकर्मी रबिन्द्र चौलागाईंलाई पनि प्रहरलिे गत वर्षको असोजमा पक्राउ गरेर सार्वजनिक नै गरेको थियो । बचतकर्ताको बचत अपचलनको आरोप लागेका चौलागाईंलाई सीआईबीले गत वर्षको असोजमा पक्राउ गरेर सार्वजनिक गरेको थियो । उद्यपि, उनलाई पत्रकार सम्मेलन भन्दा पनि प्रेस विज्ञप्ति जारी गरेर सीआईबीले सार्वजनिक गरेको थियो । अहिले पनि उनी कारागारमै छन् । इच्छाराज तामाङ । यस्तै, सहकारीको बचतकर्ताको बचत अपचलन गरेर जेल चलान भएका सहकारीकर्मी हुन् इच्छाराज तामाङ । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका बचतकर्ताका रकम हिनामिना गरेको आरोपमा उनलाई सीआईबीले २०७८ असोजमा पक्राउ गरेको थियो । नेकपा एमालेका नेता समेत रहेका उनी समानुपातिक सांसद भएर पनि काम गरिसकेका थिए । तर, उनलाई प्रहरीले सार्वजनिक नै गरेन । अहिले उनीसहित उनकी श्रीमती सिर्जना शाक्य पनि जेलमै छन् । उनीहरुमाथि ५ अर्ब बढी बचत अपचलनको आरोप छ । सीआईबीले आफूले पक्राउ गरेकालाई विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने बताए पनि उनलाई भने सार्वजनिक नै गरेन । सुधिर बस्नेत । यस्तै, सुरुमा सबैभन्दा ठूलो सहकारी ठगीको आरोप लागेका व्यक्ति हुन् शुधिर बस्नेत । उनलाई पनि प्रहरीले ओरेण्टल को–अपरेटिभ लिमिटेडका बचतकर्ताको बचत अपचलन गरेको भन्दै २०७३ मा पक्राउ गरेको थियो । सुरुमा बचतकर्ताको ८ अर्ब रुपैयाँ अपचलन गरको आरोप लागे पनि पछि सावाँ ब्याजसहित १६ अर्ब ठगेको आरोप उनीमाथि छ । अहिले पनि उनले बचतकर्ताको सवा ३ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । सरकारले सो सहकारीलाई २०७९ मा समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको थियो । संसदीय छानबिन समितिको टीओआरमा पनि यो सहकारी परेको छ । बस्नेत पनि काँग्रेस निकट मान्निथे । उनले काँग्रेस नेतृ सुजता कोइरालासँग व्यावसायिक साझेदारी गरेको पनि खुलेको थियो । प्रहरीले पक्राउ लगत्तै उनलाई सार्वजनिक नै गरेको थियो । ओरेण्टल सहकारी संस्था २०६९ सालदेखि नै बन्द छ । सहकारी ठगी र अन्य लेनदेन तथा ठगी मुद्दामा संस्थाका सञ्चालक बस्नेत तीन वर्ष जेल परेर रिहा भएका थिए । पछिल्लो समय प्रहरीले ठूला सहकारीको बचतकर्ताको बचत अपचलन गरेको आरोपमा धमाधम सञ्चालकहरूलाई पक्राउ गरिरहेको छ । सहकारी अभियानकर्मीहरूले पनि प्रहरीले एमाले निकट सहकारी सञ्चालकलाई सार्वजनिक नगरेर काँग्रेस निकटलाई मात्रै सार्वजनिक गरिरहेको गुनासो गरेका छन् । नेकपा एमाले निकट सञ्चालकप्रति प्रहरी संगठन पनि उदार बनेको र काँग्रेसका सहकारीकर्मीप्रति आक्रामक बनेको एक सहकारी अभियानकर्मी बताउँछन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकाल भने पृथक धारणा राख्छन् । उनी कुन सञ्चालक कुन राजनीतिक दल निकट भन्ने सेकेण्डरी विषय भएपनि पहिलो विषय सबै सहकारीकर्मी भएको बताउँछन् । उनी यो सकसको समयमा सबैले सहकार्य गरेर अगाडि बढ्नु पर्ने र राज्यले पनि सोही ढंगले सहजीकरण गरिदिनु पर्ने अवस्थामा धमाधम पक्राउ गरेर वातावरण नै बिगार्ने काम गर्न नहुने बताउँछन् । ‘अहिलेको विषम परिस्थितिको समयमा सबैले सहकार्य गर्न आवश्यक छ, सबैको समन्वय गरेर यस क्षेत्रको सुधार गर्न जरुरी छ । तर, धमाधम पक्राउ गरेर वातावरण नै बिगार्नु हुँदैन,’ उनले भने । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटी कुनै पनि व्यक्ति राजनीतिक दल निकट भनेर प्रहरीबाट उन्मुक्ति दिने वा जगाउने भन्ने विषय नहुने धारणा राख्छन् । ‘हामीले अपराधलाई हेर्छौं, कुन व्यक्ति कुन राजनीतिक दल निकट भन्ने विषयले हामीलाई फरक पर्दैन, सीआईबीले पक्राउ गरेर पत्रकार सम्मेलनभन्दा पनि प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने गरेको छ,’ उनले भने । दान बहादुर कार्की । यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्य पनि प्रहरी संगठनबाट त्यस्तो विभेद नहुने धारणा राख्छन् । ‘को व्यक्ति कुन पार्टीमा आवद्ध छ भनेर हामीलाई मतलब हुँदैन, हामीलाई कुनै पनि पार्टीसँग सरोकार भएन, हामीले सानो परिमाणका सहकारीलाई सार्वजनिक गर्दैनौं, ठूला सहकारीको ठगीको विषय पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्छौं,’ उनले भने । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले पनि प्रहरीले कानुन सम्मत काम गर्ने गरेको धारणा राखे । ‘को कुन पार्टीको हो हामीलाई जानकारी नै हुँदैन, हामी कानुनसम्मत काम गर्छौं,’ उनले भने । जो पक्राउ नै पर्दैनन् बचतकर्ताको अर्बौं रकम अपचलन गरेर फरार रहेका केही सहकारी सञ्चालकलाई नेपाल प्रहरीले पक्राउ नै गर्न सकेको छैन । बचतकर्ताको बचत अपचलन गरेको आरोप लागेका जितेन्द्रबहादुर (जीबी) राई, भरत महर्जन, देवकुमार नेपाली र रामबहादुर गौतम पक्राउ नै परेका छैनन् । सरकारले गौतमको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको छ भने सो सहकारी संसदीय छानबिन समितिको टिओआरमा पनि परेको छ । सहकारीका बचतकर्ताको बचत अहिलेसम्म अध्यक्ष गौतमले फिर्ता गर्न सकेका छैनन् । सरकारले २०८० को चैतमा गौतमश्रीलाई समस्याग्रस्त घोषणा गरेको थियो । यस सहकारीका १६ सय बचतकर्ताले ३ अर्ब रुपैयाँ बचत फिर्ताको माग गरेका छन् । सहकारी क्षेत्रको नियामक सहकारी विभाग र मन्त्रालयका पदाधिकारीहरूसँग पनि गज्जवको सम्बन्ध भएका अध्यक्ष गौतमले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै हात उठाएर फरार समेत भएका थिए । उनले उतैबाट लामो समय वक्तव्यबाजी पनि गरे । उतैबाट सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने बचन दिए । त्यो बिचमा नत नियामक नत अन्य सरकारी निकायबाट उनलाई बचत फिर्ताका लागि प्रतिबद्धता गराउने प्रयास हुन सकेन । पछि उनी नेपाल फर्किए । नेपाल फकिँदा उनी बचतकर्ताको पैसा अपचलन ठगको रूपमा होइन विदेशमा कुनै खेल खेलेर स्वर्णपदक जितेर फिर्ता भएको खेलाडीको जस्तो खादामाला हालेर फर्किए । त्यो उनको सरकारसँगको हिमचिम र शक्ति संघर्ष अभ्यस्त भएको कारणले हो । माओवादी निकट मानिने गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको ठूलो लाभ यतिबेलै लिए । परिणमस्वरुप उनी पक्राउ समेत पर्न सकेका छैनन् । अब सत्ता गठबन्धन परिवर्तन भएपछि भने उनको त्रासको मिटर बढ्ने देखिन्छ । क्रमश: जीबी राई, भरत महर्जन, रामबहादुर गौतम र देवकुमार नेपाली । यस्तै, सबैभन्दा बढी रकम ठगेको आरोप जीबी राईलाई पनि लागेको छ । राईले हाम्रो नयाँ कृषि सहकारी संस्था, सुर्यदर्शन र स्वर्णलक्ष्मी सहकारीको ८ अर्ब बढी बचत ठगेको आरोप छ । उनी हाल फरार छन् । प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सुर्यदर्शन र स्वर्णलक्ष्मी सहकारी संसदीय छानबिन समितिको टीओआरमा परेका छन् । यस्तै, सुमेरु बचत तथा ऋण सहकारी संस्थाको अर्बौं बचत ठगेर अध्यक्ष भरत महर्जन पनि फरार छन् । उनलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । उनी विदेशमा रहेको बुझिएको छ । महर्जन काँग्रेस निकट मानिन्छन् । यस्तै, इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीमाथि पनि सहकारीका बचतकर्ताको अर्बौं रकम ठगेको आरोप छ । उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनी हाल ढोरपाटन नगरपालिकाका मेयरका रुपमा कार्यरत छन् । उनले पनि बचतकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् । लामो समय उनी फरार पनि भए । पछि उनले सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति बिक्री गरेर बचतकर्ताको बचत फिर्ता दिने प्रतिबद्धता पनि गरेका थिए । उनीविरुद्द उजुरी परे पनि उनलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । करिब ३०० पक्राउ नेपाल प्रहरीले सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा करिब ३ सय जनालाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले बचत ठगीको प्रकरणमा मुछिएका करिब ३०० जना मात्रै पक्राउ गरेको बताएको छ भने साढे ८ सय जना फरार रहेको जानकारी दिएको छ । सीआईबीले मात्रै चालु आर्थिक वर्षमा २३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । तीन वर्षको अवधिमा सीआईबीले ६२ जनालाई पक्राउ गरेको तथ्यांक उपलब्ध गराएको छ । सीआईबीले यस वर्ष आर्जन बहुउदेश्यीय सहकारी संस्थाका ८ जना, देउराली बचत तथा ऋण सहकारी संस्थाका ३ जना, साई स्वागत बचत ऋण सहकारी संस्थाका १ जना, नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी संस्थाका २ जना, साउथ वेस्टर्न स्टेट बचत तथा ऋण सहकारी संस्थाका एक जना, रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका ३ जना र हाम्रो नयाँ कृषि सहकारी संस्थाका ५ जना सञ्चालक गरी कुल २३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
सरकारी कागजमा फष्टाएका पाँच व्यवसाय
काठमाडौं । अहिले अधिकांशको मुखबाट सुनिने शब्द हो ‘गाह्रो छ’ । साथीभाइ, व्यावसायिक साझेदार, आफन्त वा हामीले पत्रकारको रूपमा पनि विभिन्न व्यक्तिहरूसँग कुराकानी तथा अनौपचारिक छलफल गर्दा अधिकांशले सुरुमा यही शब्द उफार्छन् । गाह्रोको अर्थ हो, ‘मुस्किल वा अप्ठेरो’ । तपाईं व्यवसायीसँग भेट्नुहोस्, बैंकरसँग भेट्नुहोस् वा विभिन्न संघ संस्था वा निकायमा कार्यरत कर्मचारीलाई भट्दा पनि यो शब्द पक्कै सुनेको हुनुपर्छ । सुनेको मात्रै होइन, ती संघ संस्थाले सार्वजनिक गर्ने वित्तीय विवरणले पनि त्यो गाह्रो शब्द छर्लङ्ग हुन्छ । नेपाली सिमेन्ट उद्योगमा राज गरिरहेको विदेशी लगानीको होङ्सी शिवम् सिमेन्टको केही दिनअघि प्रकाशित वित्तीय विवरणले आम्दानीमा ठूलो गिरावट भएको देखियो । एकै वर्ष १७/१८ अर्बसम्म आम्दानी गर्ने उक्त उद्योगको आम्दानी अहिले ६ अर्ब रुपैयाँको हाराहारी मात्रै छ । बिरलै घाटामा जाने बैंकहरूको तेस्रो त्रैमासको वित्तीय विवरण नियाल्दा अधिकांशको नाफा घटेको छ । बीमा कम्पनीको हाल पनि त्यस्तै छ । अस्पताल र पर्यटन क्षेत्र पनि सुस्त गतिमै अगाडि बढिरहेका छन् । पर्यटन क्षेत्रभने पछिल्लो केही महिनायता गतिशील र चलायमान हुन थालेको छ । यातायात व्यवसायीका समस्या सुनिनसक्नु छन् । बजारमा यो हालत सिर्जना भइरहेको बेला राष्ट्रिय तथ्यांक कार्यालयले भने अर्थतन्त्र ठिकठाक छ । अझै चलायमान भएर विगतकाे भन्दा पनि वृद्धिदर बढ्ने सक्ने अनुमानसहितको तथ्यांक सार्वजनिक गरेको छ । भलै, यो तथ्यांक स्वीकार गर्नुको विकल्प छैन । तर, प्रश्न गर्न सकिने ठाउँ भने प्रशस्त छ । किनकि बजारको अवस्था र तथ्यांक कार्यालयको तथ्यांक आकाश पातालको फरक छ भन्दा अतिशयोक्ति नहोला । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाको भाषामा भन्ने हो भन्ने ‘यो तथ्यांक बनावटी र हावादारी छ ।’ तथापि, सरकारी अधिकारीहरू यसलाई स्वीकार्दैनन् । उनीहरू राष्ट्रिय लेखा प्रणालीको विधिलाई अपनाएर तथ्यांक तयार पारेको बताउँदै आफूहरूले निकालेको तथ्यांकमा विश्वास गर्न अनुरोध गर्छन् । अब कुरा गरौं फष्टाएका व्यवसायको । अर्थात् राष्ट्रिय तथ्यांक कार्यालयले फष्टाएका र फष्टाउँदै गरेका भनेका व्यवसायको । आवास तथा भोजन सेवा राष्ट्रिय तथ्यांक कार्यालयले सबैभन्दा फष्टाएको व्यवसायका रूपमा आवास तथा भोजन सेवालाई लिएको छ । यो क्षेत्रमा रेष्टुरेन्ट व्यवसाय पर्छ । कार्यालयले सबैभन्दा बढी कुल मूल्य अभिवृद्धि वृद्धिदर हुने क्षेत्रको अग्रस्थानमा आवास तथा भोजन सेवालाई राखेको छ । यो क्षेत्रको वृद्धिदर अन्य क्षेत्रको तुलनामा उच्च छ । आर्थिक वर्ष २०८०/८१ मा २१.८४ प्रतिशत वृद्धिदर हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ । गत आर्थिक वर्षमा यो क्षेत्रको वृद्धिदर १८.०३ प्रतिशत थियो भने आव २०७८/७९ मा १२.५६ प्रतिशत वृद्धिदर थियो । यस्तै, आव २०७७/७८ मा १०.७३ प्रतिशत रहेकामा २०७६/७७ मा ३६.७८ प्रतिशतले वृद्धिदर नकारात्मक थियो भने आव २०७५/७६ मा ९.९२ प्रतिशतको वृद्धिदर थियो । वृद्धिदर बढी भए पनि कुल ग्राहस्थ उत्पादनमा यो क्षेत्रको योगदान न्यून छ । चालु आर्थिक वर्षमा २.४२ प्रतिशत योगदान रहने अनुमान रहेकोमा गत वर्ष १.९६ प्रतिशत थियो । अर्थतन्त्रमा यस क्षेत्रको अधिकतम् योगदान साढे २ प्रतिशत र न्यूनतम साढे १ प्रतिशत छ । विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि र आन्तरिक पर्यटनमा भएको वृद्धिलगायत कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदरमा उल्लेख्य सुधार हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ । होटल संघ नेपालका अध्यक्ष विनय शाह बजारको अवस्था र सरकारी तथ्यांकबीच आकाश पातलको फरक रहेको तर्क राख्छन् । ‘बजार कसरी चलिरहेको छ, कस्ता समस्या भोगिरहेका छौं, हामीलाई थाहा छ, अहिले पनि हामी ३५ लाख पर्यटकलाई सेवा दिने क्षमता राख्छौं । तर, एकतिहाई पर्यटक मात्रै आइरहेका छन्, यसले त पर्यटक क्षेत्रमा यति ठूलो वृद्धि भएको नहुनु पर्ने हो, ‘उनी भन्छन्, ‘तर, विगतको तुलनामा पछिल्लो समय पर्यटकको आवागमन भने बढिरहेको छ । आन्तरिक पर्यटकलाई पनि गणना गर्दा राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले धेरै वृद्धि भएको हुन सक्ने उनको भनाइ छ । अहिले मासिक रूपमा एक लाखको हाराहारीमा पर्यटकको आवागमन भइरहेको छ । विद्युत तथा ग्याँस राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर १७.४४ प्रतिशत हुनेछ । आर्थिक वर्ष २०७९/८० मा १९.८९ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा ५२.६८ प्रतिशत, आव २०७७/७८ मा ४.१८ प्रतिशत, आव २०७६/७७ मा १९.५१ प्रतिशत र आव २०७५/७६ मा ९.६१ प्रतिशत कुल मूल्य अभिवृद्धि वृद्धिदर भएको थियो । आर्थिक वर्ष २०७२/७३ मा भने यो क्षेत्रका ९.५१ प्रतिशतले नकारात्मक थियो । केही विद्युत परियोजनाको उत्पादन थप भएसँगै चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि उल्लेख्य रूपमा वृद्धि हुने अनुमान कार्यालयको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (ईप्पान)का अध्यक्ष गणेश कार्की विद्युत क्षेत्रमा निर्माणधीन आयोजनाहरू धेरै भएकोले पनि यो वृद्धिदर देखिएको हुन सक्ने भए पनि आफूहरूका समस्या भने धेरै रहेको सुनाउँछन् । ‘अहिले पनि हामीले धेरै समस्या भोगिरहेका छौं, ट्रान्समिसन लाइनको समस्या ठूलो छ, सरकारले हाम्रा समस्या समाधानतर्फ प्राथमिकता दिन सकेको छैन,’ उनले गुनासो गरे । यातायात तथा भण्डारण यातायात तथा भण्डारण क्षेत्रअन्तर्गत यातायात र स्टोरेज पर्छ । आर्थिक वर्ष २०८०/८१ मा ११.८९ प्रतिशतको कुल मूल्य अभिवृद्धि वृद्धिदर हुने अनुमान कार्यालयको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७२० प्रतिशत बढी हो । आर्थिक वर्ष २०७९/८० मा यो क्षेत्रको वृद्धिदर १.४५ प्रतिशत मात्रै थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ४.६० प्रतिशत, आव २०७७/७८ मा ४.४४ प्रतिशत, आव २०७६/७७ मा ११.३९ प्रतिशत नकारात्मक र आव २०७५/७६मा ८.११ प्रतिशत वृद्धिदर रहेको थियो । कुल ग्राहस्थ उत्पादनमा यो क्षेत्रको योगदान भने अधिकतम् साढे ७ प्रतिशत र न्यूनतम साढे ५ प्रतिशतको हारहारीमा छ । गत आर्थिक वर्षको तुलनामा सवारीसाधनको आयातमा भएको वृद्धि, पर्यटकको आवागमनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर सुधार हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ । राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकप्रति यातायात व्यवसायी भने विश्वस्त छैनन् । उनीहरू यसको विश्वसनीयतामाथि पनि प्रश्न गर्छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यातायात क्षेत्रमा समस्याको थुप्रो रहेको र ती समस्या नै समाधान नभएको अवस्थामा यो किसिमको वृद्धिदर हुने भनेर प्रक्षेपण गर्नु वाहियात भएको तर्क राख्छन् । ‘लामो समयदेखि हामी विभिन्न समस्याहरू भोगिरहेका छौं, समस्या समाधान गर्नतर्फ सरकारले कुनै चासो दिएको छैन, व्यवसायी पलायन हुन थालेका छन्, यस्तो अवस्थामा यो क्षेत्रको सुधार हुने अपेक्षा पनि छैन, राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक हामीबाट स्वीकार्य नै छैन,’ उनले भने । वित्त तथा बीमा राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले वित्त तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर बढ्दै गएको देखाएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म यो क्षेत्रको वृद्धिदर ७.८० प्रतिशत हुने अनुमान कार्यालयको छ । गत आर्थिक वर्ष वित्त तथा बीमा क्षेत्रको वृद्धिदर ७.२७ प्रतिशत थियो । गत आर्थिक वर्षको तुलनामा यस वर्षको वृद्धिदर ७.२९ प्रतिशत बढी हो । आव २०७८/७९ मा ६.९१ प्रतिशत, आव २०७७/७८ मा ४.६६ प्रतिशत र आव २०७६/७७ मा ०.३५ प्रतिशत वृद्धिदर वित्त तथा बीमा क्षेत्रको रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । यो क्षेत्रको योगदान र वृद्धिदरमा समानता देखिन्छ । यो वर्षको अन्त्यसम्म अर्थतन्त्रमा वित्त तथा बीमा क्षेत्रको योगदान ६.८२ प्रतिशत हुने अनुमान कार्यालयको छ । गत वर्षमा वित्त तथा बीमा क्षेत्रको योगदान ७.०४ प्रतिशत थियो भने आव २०७८/७९ मा ६.८० प्रतिशत थियो । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तीय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको बृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको कार्यालयको तर्क छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकको विषयमा स्वयम् बैंकरले पनि प्रश्न उठाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको बिजनेस घटिरहेको बेला यो क्षेत्रको वृद्धि विगतको भन्दा कसरी बढ्छ भन्ने प्रश्न बैंकरले पनि राखेका छन् । ‘बैंकको कर्जा प्रवाह हुन सकेको छैन, ५ खर्ब बढी लगानीयोग्य रकम बैंकमा थुप्रिएको छ, ब्याजदर घटिरहेको छ, सेवा सुल्क पनि घटिरेहको छ, नाफा र प्रतिफ संकुचित बन्दै गएको छ, खराब कर्जा बढिरहेको छ, यस्तो अवस्थामा बैंकिङ क्षेत्रको वृद्धिदर विगतको तुलनामा सुधार हुन्छ भन्नु हाँस्यास्पद हो,’ एक बैंकरले भने । यस्तै, बीमा पहुँच पनि खस्किएको बेला, कम्पनीको बीमा शुल्क घटिरहेको अवस्थामा र बीमितबाट सरेन्डर बढिरहेको बेला यो क्षेत्रको पनि वृद्धिदर बढ्नुलाई धेरै आश्चर्यका रूपमा हेरेका छन् । स्वास्थ्य तथा सामाजिक कार्य स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्र पनि बढी वृद्धिदर हुने क्षेत्रमा परेको छ । चालु आर्थिक वर्षमा यो क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ५.५२ प्रतिशत हुने अनुमान कार्यालयको छ । गत आर्थिक वर्षमा भने यो क्षेत्रको वृद्धिदर ६.५७ प्रतिशत थियो भने आव २०७८/७९ मा ६.९९ प्रतिशत थियो । यस्तै, आव २०७७/७८ मा ६.६० प्रतिशत र आव २०७६/७७ मा ५.२० प्रतिशत वृद्धिदर थियो । वृद्धिदर बढी भए पनि यो अर्थतन्त्रमा यो क्षेत्रको योगदान १.८७ प्रतिशत मात्रै हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ । आर्थिक वर्ष २०७९/८० मा १.९२ प्रतिशत, आव २०७८/७९मा १.७४ प्रतिशत, आव २०७७/७८ मा १.७६ प्रतिशत र आव २०७६/७७ मा १.७६ प्रतिशत योगदान अर्थतन्त्रमा रहेको कार्यालयले जनाएको छ । विगतका वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा लिनेहरूको संख्यामा भएको बढोत्तरीका कारण यस क्षेत्रको मूल्य अभिवृद्धिमा वृद्धि हुने अनुमान कार्यालयको भनाइ छ । तर, स्वास्थ्य क्षेत्रका सरोकारवालाहरू व्यवसाय नभएको भन्दै पलायन भइरहेका छन् । अधिकांश स्वास्थ्य संस्थाहरू धराशायीको अवस्थामा पुगेका छन् भने चिकित्सक उचित पारिश्रमिक नपाएर विदेश पलायन भइरहेका समाचारहरू आइरहेका छन् । सर्वसाधारणले गुणस्तरीय सेवा नपाएको भन्दै सार्वजनिक स्वास्थ्य संस्थाबाट निजीमा उपचार गराउन बाध्य छन् । यसबीचमा राष्ट्रिय तथ्यांक कार्यालयले स्वास्थ्य क्षेत्र अन्य क्षेत्रको तुलनामा सुधार हुँदै गएको सन्देश प्रवाह गरेको छ । यसले पनि आम जनमानसमा एक किसिमको भ्रम सिर्जना गरेको सरोकारवालाहरू बताउँछन् । ‘विश्वसनीयतामाथि शंका नगरौं’ राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रमा निश्चित अवधिभित्र सञ्चालन भएका सबै आर्थिक क्रियाकलापबाट उत्पादित वस्तु तथा सेवाको प्रवाह र मौज्दातलगायत त्यससँग सम्बन्धित संस्थागत एकाइबीचको कारोबारको मापन गरी यो तथ्यांक गरिन्छ । देशको अर्थतन्त्रभित्र सञ्चालित आर्थिक क्रियाकलापको तथ्यांकीय मापन गरी कुल गार्हस्थ्य उत्पादन, आय, उपभोग र बचत जस्ता आर्थिक परिसूचक तयार गरेर लेखा तथ्यांक सार्वजनिक गरिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देल राष्ट्रिय लेखा प्रणालीको विधि अपनाएकोले यो तथ्यांकको विश्वसनीयतामाथि आशंका नराख्न आग्रह गर्छन् । उनले विगतको तुलनामा अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुधार हुँदै गएकोले तथ्यांक कार्यालयले तयार पारेको प्रतिवेदन पनि सोही किसिमले सार्वजनिक भएको बताउँछन् । ‘पछिल्लो समय पर्यटक बढिरहेका छन्, त्यसले पनि स्वाभाविक रूपमा आवास तथा भोजन सेवाको वृद्धिदर बढेको देखिएको हो, विद्युतमा नयाँ परियोजनारू थपिँदै गएका छन्, बैंक तथा बीमा क्षेत्रले राम्रो सेवा प्रवाह गरिरहेका छन्, यातायात क्षेत्र पनि सोही ढंगले गतिशील भइरहेको छ, स्वास्थ्य क्षेत्र पनि सधैं चलायमान हुने क्षेत्र हो, त्यसैले पनि यी क्षेत्रमा अन्यको तुलनामा वृद्धिदर बढी देखिएको हो,’ उनले भने । यस्तै, उनले वस्तु तथा सेवाको उत्पादन तथा गुणस्तर बढ्दा वृद्धिदर पनि बढ्ने तर्क दिए । ‘जस्तै बैंक घाटामा भए पनि उसले सेवाग्राहीलाई सेवा दिइरहेको हुन्छ, त्यसले सेवा उत्पादन गरिरहेको हुन्छ, कर्जा प्रवाह नभए पनि निक्षेप आइरहेको हुन्छ, त्यसले पनि वृद्धिदरमा प्रभाव पार्छ,’ उनले प्रष्ट पार्दै भने, ‘वस्तु तथा सेवाको उत्पादन बढ्नु नै वृद्धिदर बढ्नु हो ।’
माझिदै पत्रकारिता, बढ्दै आकर्षण
काठमाडौं । सामाजिक सञ्जालको प्रयोग वृद्धिसँगै पत्रकारिताको भविष्यप्रति प्रश्नहरु उठ्न थालेका छन् । पत्रकारिताप्रति युवा आकर्षण घट्दो छ भन्ने टिप्पणीहरु सुनिन्छ । तर, तथ्यहरुले पत्रकारिताको प्रभाव बढ्दै गएको देखाउँछ । स्थापित पत्रकारहरुको बुझाइमा पत्रकारिता खारिदै गएको छ, पत्रकारिताको प्रभाव बढ्दै गएको छ । पत्रकारिता पेसाले उचाई प्राप्त गर्दै गएको छ । युवा पुस्तामा पत्रकारिताको आकर्षण पनि बढ्दो छ । डिजिटल मिडियामा युवा पुस्ताको उपस्थिति राम्रो देखिन्छ । सञ्चार तथ्यांक सूचना तथा प्रसारण विभागका अनुसार नेपालमा ७ हजार ९ सय ६४ वटा पत्रपत्रिका दर्ता भएका छन् । विभागबाट ११३० रेडियो र २३० टेलिभिजनले इजाजत प्राप्त गरेका छन् । सूचना विभागका अुनसार चालु आर्थिक वर्षको असार ११ गतेसम्ममा ४ हजार ६ सय १ अनलाइन दर्ता भएका छन् । तर, विभागमा वार्षिक नवीकरण भई सञ्चालनमा रहेका अनलाइनको संंख्या १ हजार ५०० मात्र रहेको विभागका सूचना अधिकृत मिनकुमार शर्मा बताउँछन् । सञ्चार अर्थतन्त्रभित्र अर्को नियामक निकाय पनि छ, नेपाल विज्ञापन बोर्ड । बोर्डका अनुसार ८६६ वटा अर्थात् दर्ता भएका मध्ये १०.८७ प्रतिशत पत्रिका मात्र नियमित प्रकाशनमा छन् । नियमित प्रकाशित हुनेमा १८५ वटा दैनिक, ५०५ वटा साप्ताहिक र १७६ अन्य पत्रिका छन् । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंका अनुसार रेडियो ४५८ वटा नियमित सञ्चालनमा रहेका भने टेलिभिजन ८९ वटा मात्र सञ्चालनमा छन् । २ करोड ९२ लाख जनसंख्या भएको देशमा १३ हजारभन्दा बढी संख्यामा सञ्चार माध्यम दर्ता छन् भनेर धेरैले आश्चर्य व्यक्त गरेका छन् । तर, दर्ता संख्याको आधारमा विश्लेषण गर्नु गलत हुन्छ । दर्ता भएका मध्ये पत्रिका १०.८७ प्रतिशत, रेडियो ४०.५३ प्रतिशत, टेलिभिजन ३८.६९ र अनलाइन ३२.६ प्रतिशत मात्र सञ्चालनमा रहेका छन् । विभागका सूचना अधिकृत शर्माका अनुसार सूचना विभागबाट अहिलेसम्म करिब ३३ हजार ९०५ जनाले पत्रकार परिचय पत्र (प्रेस पास) लिएका छन् । यो संख्यालाई देखाएर पत्रकार धेरै भए भन्नेहरु पनि छन् । तर, विभागबाट प्रेस पास नवीकरण गर्ने पत्रकारको संख्या ८ हजार ६७१ जना छन् । यो संख्या नेपाल विद्युत प्राधिकरणमा काम गर्ने स्थायी कर्मचारीको १५ प्रतिशत कम हो । सञ्चार क्षेत्रको मुख्य आम्दानी विज्ञापन हो । नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापाका अनुसार नेपालको विज्ञापन बजार करिब १८ अर्ब रुपैयाँको हाराहारीमा छ । डिजिटल मिडियाहरुका लागि युट्युव र फेसबुक जस्ता सोसल मिडिया प्लेटफर्महरु नयाँ आम्दानीको स्रोत पनि बन्न थालेका छन् । बढ्दो मिडिया प्रभाव समाजमा सामाजिक प्लेटफर्महरुको प्रयोग बढ्दै गर्दा सञ्चार माध्यम र पत्रकारिताको प्रभाव न्यून भएको टिप्पणी सुनिन्छ । तर, सामाजिक सञ्जालमा पढ्न पाइने र बहस चल्ने कन्टेन्टहरु मुलतः अनुभवी पत्रकारले सिर्जना गरेको कन्टेन्ट नै हुने गरेको पाइन्छ । व्यावसायिक लाभका लागि प्रचार गरिने सामाग्रीहरु सामाजिक सञ्जालमा स्वतः प्रकाशित हुने गरेको छ । गलत उद्देश्यका साथ गरिएका गतिविधिको खोजी गर्ने र सार्वजनिक रुपमा पर्दाफास गर्ने काम पत्रकारहरुले नै गर्दै आएका छन् । ललिता निवास जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी स्टेट प्रकरण, सुनकाण्ड, मिटर ब्याज, सहकारीमा आर्थिक अनियमितता लगायत ठूला आर्थिक घोटालाका विषय पत्रकारले नै खोजी गरेको र आमसञ्चार माध्यमबाट नै प्रकाशित भएको बताउँछन् कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौवान । उल्लेखित घटनालाई पहिला पत्रकारले पर्दाफास गरेको र त्यसपछि मात्र प्रहरी अनुसन्धान भएको उनको भनाइ छ । लोभलाग्दो जीवनशैली शिव गाउँले । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान आफ्नो प्रोफेशन र करिअरबाट निकै खुशी छन् । ‘प्रोफेशन लाइफ’मा आफूले कुनै कमीको अनुभव गर्न नपरेको उनी बताउँछन् । उनको विचारलाई यस स्टोरीमा अलग्गै समेटिएको छ । विगत तीन दशक निरन्तर पत्रकारिता गर्दै आएका अनलाइन खबरका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले पनि पत्रकारिता पेसा अँगालेकोमा गर्व गर्छन् र खुशी व्यक्त गर्दछन् । ‘म पत्रकारितामा लागेर एकदमै खुशी छु । विभिन्न समस्याको सामना पनि गरेँ । तर, पछाडि फर्केर हेर्दा मलाई यो पेसाप्रति गुनासो छैन । पत्रकारको सार्वजनिक जीवन लोभलाग्दो छ,’ उनले नयाँ पुस्तालाई सुझाउँदै भने, ‘पत्रकारितामा आउने हो भने पहिलो महिनाकै काम र तलबलाई तुलना गर्नु हुँदैन । यो कहीँ न अभिव्यक्ति स्वतन्त्रताको पाटो हो । यसलाई मैले कति घण्टा काम गरेँ भने कति पैसा पाउँछु भन्ने आँखाबाट हेर्नु हुँदैन ।’ ठूला मिडियाका सम्पादकहरुको तलब सुविधाबारे समाजमा धेरैको चासो छ । तर, उनीहरुले तलब सुविधालाई निजी र गोप्य विषयको रूपमा चित्रण गरे । सञ्चार गृहहरुले पनि यसलाई गोप्य नै राखेका छन् । तर, अनौपचारिक भन्नेहरुले ठूला सञ्चार गृहका सम्पादकले मासिक ७ लाख रुपैयाँसम्म लिएको बताए । खोजपूर्ण समाचारमा दख्खल भएका सम्वादाताले समेत मासिक १ लाखभन्दा बढी तलब पाउन थालेका छन्, जुन नेपाल सरकारको मुख्य सचिव, सचिव वा विशिष्ट श्रेणीका कर्मचारीले पाउने तलब भन्दा बढी हो । पत्रकारहरुले राम्रो तलब पाउन थालेको वि.सं २०४६ सालपछि हो । कान्तिपुर टिभीका पूर्व सम्पादक प्रशान्त अर्याल भन्छन, ‘त्यतिबेला सरकारले शाखा अधिकृतलाई मासिक २,९०० रूपैयाँ पारिश्रमिक दिँदा कान्तिपुरका पत्रकारको तलब मासिक ४,६८० रूपैयाँ थियो ।’ त्यो बेलाको तुलनामा अहिले पत्रकारको तलब वृद्धि हुन नसकेको उनी बताउँछन् । गुणराज लुइँटेल नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल पत्रकारितमा पैसा भन्दा खुशी धेरै हुने बताउँछन् । ‘पत्रकारिता मोनिटरी वेज (मौद्रिक ज्याला) भन्दा रियल वेज बढी भएको पेसा हो । रियल वेजले व्यक्तिलाई खुशी दिन्छ, त्यसैले पत्रकारहरू वर्षौंसम्म आफ्नो पेसामा लागेका हुन्छन्’ उनी थप्छन्, ‘हरेक परिवर्तन र घटनालाई नजिकबाट हेर्न, साक्षी हुन पाउने पेशा पत्रकारिता, अरुमा यस्तो अवसर छैन ।’ हरेक दिन नयाँ विषय खोज्नु, नयाँ व्यक्तिसँग भेट्नु, नयाँ कुरा सिक्नु र समाचार लेख्नु पत्रकारिताको सुन्दर पाटो हो । मात्र ज्यालाको लागि काम नगरी दैनिक नयाँ सिर्जना गर्ने र समाजलाई पस्कने पेसा हो पत्रिकारिता । सिर्जनशील, जिज्ञासु, रुची र जाँगर हुनेलाई पत्रकारितमा अवसर पनि धेरै भएको र सन्तुष्टि हुने ठाउँ पनि प्रशस्त भएको प्रधान सम्पादक लुइँटेल बताउँछन् । २०४६ पछि सबैभन्दा बढी फस्टाएको क्षेत्र वि.सं २०४६ सालअघि पत्रकारिताको संस्थागत विकास भएको थिएन । गोरखापत्रलाई छोडेर हेर्ने हो भने व्यक्ति प्रकाशक पनि सम्पादक पनि हुन्थे । २०४७ पछि सरकारले पनि मिडिया फस्टाउने नीति लियो । ‘२०४७ को संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको थियो । त्यतिबेला पत्रकारितामा आकर्षण थियो । नयाँ माहोलमा पत्रकारिताभित्र अभ्यास हुन थाल्यो । हामी उत्साहित भएर लागेका थियौं,’ शिव गाउँले सम्झन्छन् । द हिमालयन टाइम्सका पूर्वसम्पादक प्रकाश रिमाल २०४६ सालपछि सबैभन्दा राम्रो विकास गरेको क्षेत्र भनेकै पत्रकारिता भएको बताउँछन् । त्यसलगत्तै आएको पुस्ताले निकै राम्रो काम गरेको, राजनीतिक प्रतिबद्धताभन्दा पनि व्यावसायिकता वृद्धिमा योगदान गरेको उनको विश्लेषण छ । ‘त्यतिबेला म राइजिङ नेपालमा थिएँ, राज्यले मिडिया चलाउनु हुँदैन भन्ने चर्चा हुन थाल्यो, अब सरकारी मिडियामा किन काम गर्ने भन्ने प्रश्न उठ्यो । पत्रकार अरुभन्दा अलि फरक र स्वतन्त्र हुनुपर्छ भन्ने बुझाइ रह्यो । मैलै राइजिङ नेपालबाट राजीनामा दिएँ,’ उनी भन्दछन्, ‘प्रगतिको आँखाबाट हेर्ने हो भने पनि तिनै पत्रकारले प्रगति गरेका छन्, जो अरु नागरिकभन्दा फरक हुन खोजे । संसारभरि नै पत्रकारिताको प्रकृति त्यस्तै हुन्छ । न्यायपूर्ण समाज हुनुपर्छ भन्ने सोच राख्ने चरित्र भएको व्यक्ति पत्रकार भएको हुन्छ । यस्ता चरित्र भएका व्यक्ति अन्य पेसामा जान सक्दैन । म आफैंले पनि पत्रकारिता त्यसरी नै सुरु गरेको हुँ ।’ प्रशान्त अर्याल २०४६ सालपछिको दुई दशकसम्म दैनिक अखबार, टेलिभिजन, रेडियो खुल्ने क्रम जारी रह्यो । बिट पत्रकारिताको पनि विकास भयो । पत्रकारहरूले बिटमा लेख्न थाले । एउटा सञ्चार गृहभित्र विभिन्न स्वरुपमा काम गर्न थालेपछि सञ्चारगृह संगठन जस्तो देखिन थाले । २०४६ पछिको करिब तीन दशक उचाई हासिल गर्दै गएको सञ्चार क्षेत्र अहिले धर्मराएको पत्रकार प्रशान्त अर्याल सुनाउँछन् । कोरोना महामारी र आर्थिक मन्दीपछि सञ्चार गृह संकटमा फसेको र पत्रकारहरुले तलब पाउन नै आन्दोलन गर्नुपर्ने अवस्था आएको उनी बताउँछन् । ‘हरेक चिजको उच्चतम वृद्धिपछि ओरालो क्रम सुरु हुन्छ । पत्रकारितामा पनि त्यही भएको हो कि भन्ने लाग्छ,’ अर्यालको अनुभूति छ । पत्रकारिताबाटै फड्को पत्रकारिता अभ्यास गर्दै अघि बढेका रामचन्द्र पौडेल देशको राष्ट्रपति भए, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । रवी लामिछाने, रमेशनाथ पाण्डे, जेपी गुप्ता, गोकुलप्रसाद बास्कोटा लगायत धेरै जना पत्रकारितबाट उदाएर मन्त्रीसम्म भए । पत्रकारिताबाट अगाडि बढेका लक्ष्मण अर्याल सर्वोच्च अदालतमा न्यायाधीश भए । सांसद वा राज्यका कार्यकारी पदमा पुग्ने पूर्वपत्रकारहरूको सूचि बनाउने हो भने धेरै लामो हुनेछ । लामो समय पत्रकारितामा लागेका सूर्य थापा अहिले प्रतिनिधि सभाको सदस्य छन् । पत्रकारितामै करिअर बनाएकी बन्दना राणा संयुक्त राष्ट्र संघको महत्वपूर्ण जिम्मेवारीमा पुगेकी छन् । विभिन्न गैरसरकारी तथा सामाजिक संस्थाको नेतृत्व गर्ने पत्रकार थुप्रै छन् । धेरैले आकर्षकको रूपमा लिने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक, विभिन्न मुलुकका राजदूतावास जस्ता निकायमा पत्रकारहरू पुगेका छन् । कमलप्रसाद कोइरालालगायतका कैयन पत्रकार राजदूत भए । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीजस्ता उच्च अधिकारीहरुको प्रेस सल्लाकार वा सञ्चार विज्ञ भनेर शक्तिको केन्द्रमा पुग्ने अवसर धेरै पत्रकारहरुले पाएका छन् । पूर्वपत्रकार डा. अच्युत वाग्ले हाल काठमाडौं विश्वविद्यालयका रजिस्टारको रुपमा कार्यरत छन् । पत्रकारितामा लाग्नेहरूले तत्कालका लागि मौद्रिक लाभ मात्र लिएका हुँदैनन् । पत्रकारिता कर्मसँगै पत्रकारमा सिर्जनात्मक क्षमता र बौद्धिक क्षमताको विकास भएको हुन्छ । उनीहरूले अमूल्य सामाजिक प्रतिष्ठा र प्रख्याति कमाउँदै जान्छन् । विश्वका चर्चित लेखकहरूमध्ये कयौं पत्रकारिता पृष्ठभूमिका हुन्छन् । नेपालमा पनि नारायण वाग्लेको ‘पल्पसा क्याफे’, सुधीर शर्माको ‘प्रयोगशाला’, विजय कुमार पाण्डेको ‘खुशी’ निकै चर्चित किताब हुन् । धेरै नेपाली पत्रकारले किताब लेखेर समाजमा आफ्नो उपस्थितिलाई ओजिलो बनाएका छन् । मात्र पत्रकारिता गरेर स्थापित पात्र हुन् युवराज घिमिरे, राजेन्द्र दाहाल, नारायण वाग्ले, शिव गाउँले, सुधीर शर्मा, प्रतिक प्रधान, अमित ढकाल, उमेश चौहान, विद्या चापागाईं, टीकाराम यात्री, राजेन्द्र बानियाँहरू । उनीहरुले गरेको काम, समाजमा पुर्याएको योगदान र उनीहरुले कमाएको ख्याति समाजका अन्य विधामा सफल र चर्चित पात्रको भन्दा कम छैन । बलियो प्रतिपक्ष युवराज घिमिरे पत्रकारिता हरेक चरण, हरेक ठाउँमा आकर्षण पेसा भएको अनुभवी पत्रकार एवं देश सञ्चार डटकमका प्रधान सम्पादक युवराज घिमिरे बताउँछन् । उनले नेपाली र विदेशी मिडियामा गरी चार दशकभन्दा बढी सयम पत्रकारितामा बिताइसके । ‘जहाँ पनि सत्ता र पदमा हुनेले पत्रकारलाई खलनायको रूपमा हेर्छन्, पत्रकारको वास्तविक काम सत्यलाई बाहिर ल्याउने हो’ उनी भन्छन्, ‘पत्रकारले जहिले पनि प्रतिपक्षको भूमिका खेल्नुपर्छ । पत्रकार भनेका कर्पोरेट अफिस र मालिकका नोकर पनि होइनन् । सरकारका मान्छेले मात्र होइन, कर्पोरेट हाउसका मान्छेले गलत गरेका छन् भने त्यसको पनि पर्दाफास गर्न सक्नुपर्छ पत्रकारले ।’ नेपालको मिडिया केही अपवादलाई छाडेर सधैंको प्रतिपक्ष रहने गरेको अनुभव सुनाउँछन् पत्रकार प्रशान्त अर्याल पनि । तर, नेपाली पत्रकारले रोल मोडेलको भूमिका खेल्न अझै नसकेको युवराज घिमिरे बताउँछन् । २०६२/६३ सालपछि पत्रकारितालाई व्यवसायको रुपमा लिन थालेको र पैसाको लागि मर्यादा विपरितको क्रियाकलाप हुन थालेकाले पत्रकारिताप्रति समाजको सम्मान खस्किएको उनको अनुभव छ । करिब २ दशक पत्रिकारिता गरेपछि बागमती प्रदेशको पेस रजिष्ट्रारको भूमिकामा छन् रेवती सापकोटा । उनको बुझाइमा पनि सत्ता र पत्रकारबीच सधैं द्वन्द्व हुन्छ । भन्छन्, ‘आफूलाई अप्ठेरो पर्दा पत्रकार चाहिन्छ भन्ने तर अरु बेला पत्रकार नजिक नआए पनि हुन्थ्यो भन्ने व्यवहार सत्तामा रहने देखाउँदै आएका छन् ।’ लिड गर्दै डिजिटल मिडिया छापा, टेलिभिजन वा रेडियोजस्ता परम्परागत सञ्चार माध्यममा हुने पत्रकारितालाई डिजिटल प्लेटफर्ममा आधारित पत्रकारिताले चुनौति दिँदै आएको छ । मानिसहरू सबै प्रकारका सूचनाहरु स्मार्ट फोनबाट लिन्छन् । बिहान पत्रिका पढ्ने, दिनभर रेडियो सुन्ने, साँझ टेलिभिजन हेर्ने सबै प्रकारका पाठक, स्रोता र दर्शकहरु स्मार्ट फोनको प्रयोगकर्ता भएका छन् । उनीहरू छिनछिनमा समाचार अपडेट लिन अभ्यस्त भएका छन् । उपभोक्ताको बदलिँदो जीवनशैली र रुचीबारे बेखवर वस्तु तथा सेवा उत्पादक अन्तिममा बन्द हुन्छन् । विद्या चापागाईं,सह-संस्थापक, हेर्ने कथा मानिसहरुको परिवर्तित जीवनशैली र रुचीप्रति युवा पुस्ता बढी जानकार देखिन्छन् । त्यसैले नयाँ पुस्ताका पत्रकारहरू डिजिटल मिडियामा अभ्यस्त छन् । विद्या चापागाईं, सञ्जय गुप्ता, टिकाराम यात्री, उमेश श्रेष्ठ लगायतका पत्रकारले समयमा नै परम्परागत मिडिया छोडेर डिजिटल मिडियामा नयाँ ट्रेनको सुरुवात गरेका छन् । त्यसो त युवराज घिमिरे, प्रतिक प्रधान, अमित ढकाल, शिव गाउँ, सुधीर शर्मा लगायत पुरानो पुस्ताका पत्रकारहरु पनि डिजिटल मिडियामा जम्दै गरेको देखिन्छ । ‘अहिलेको समय डिजिटलको हो । त्यसैले यो संक्रमणकालीन समय हो र जसले गर्दा अबको पत्रकारिता कता जाने भन्ने अनिश्चित छ’ पत्रकार प्रशान्त अर्याल भन्छन, ‘पुरानो शैलीको पत्रकारिता रहन्छ वा रहँदैन ? थाहा छैन ।’ नयाँ तरिकाबाट युवाको प्रवेश पत्रकारिताप्रति नयाँ पुस्ताको रुची कम भएको अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँले बताउँछन् । ‘५०/५५ जनाको समूहमा काम गरिरहेको छु । नेपाल पत्रकार महासंघको अध्यक्ष र खोज पत्रकार केन्द्रको सम्पादक भएर काम गर्दै गर्दाको अनुवभ पनि छ’ गाउँले भन्छन्, ‘मेरो अनुभवमा पत्रकारिताप्रति नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको छ ।’ नेपाली सञ्चारगृह संस्थागत हुन नसक्नु र पारिश्रमिकका लागि पत्रकारहरूले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुनुले पत्रकारिताप्रति युवा पुस्ताको आकर्षण कम भएको कान्तिपुर टिभीका पूर्व सम्पादक प्रशान्त अर्याल बताउँछन् । सञ्जय गुप्ता, यूट्युवर तर, पत्रकारितामा युवाको आकर्षण कम छ भन्ने तर्कमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल सहमत छैनन् । ‘अहिले सबै पेसामा असन्तुष्टि छ । सरकारी जागिर खाने पनि खुशी छैनन्, बैंकमा जागिर खाने पनि सन्तुष्ट छैनन् । जुनसुकै क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव भएको सुनिन्छ । पत्रकारितमा पनि हामीले त्यही भोगिरहेका छौं,’ लुइँटेल भन्छन्, ‘पत्रकारितामा युवा पुस्ता आकर्षित भएर नै नयाँ-नयाँ अनलाइन खुलिरहेका छन् । धेरै युवाले युट्युव चलाइरहेका छन् । नयाँ पुस्ताले मिडियालाई नयाँ तरिकाले चलाइरहेका छन् । डिजिटल माध्यममा समाचार हेर्ने क्रम बढेकै छ ।’ पत्रकारिताका प्लेटफर्म विविधकरण भएका छन् । युट्युवबाटै अघि बढ्न सकिन्छ भनेर युवा पुस्ताले बाटो देखाइरहेका छन् । कान्तिपुर दैनिकका पूर्वसम्पादक सुधीर शर्मा जस्ता पत्रकार अहिले यूट्युव मार्फत पत्रकारिता अगाडि बढाउँदैछन् । ‘हिजो स्वतन्त्रताका लागि मिडियामा आउने धेरै थिए । आजको पुस्तालाई त्यो आवश्यक छैन’ लुइँटेल भन्छन्, ‘समाजले जहिले पनि नयाँ हिसाबले बाटो तय गर्छ । युवा पुस्ताले प्रविधिको प्रयोगसहित नयाँ तरिकाले पत्रकारिता गर्दैछन् । ५० को दशकमा पत्रपत्रिका मौलाएको, ६० को दशकमा रेडियो मौलाएको, ७० को दशकमा टिभी मौलाएको र ८० को दशकमा डिजिटल मिडिया मौलाएको बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा बताउँछन् । प्रविधिको विकाससँगै पाठकका रुची फेरिएका छन् । समाचारका उपभोक्ताले सुन्न, पढ्न र हेर्न चाहनेका सबै कन्टेन्ट मोबाइलमा नै चाहेका छन् । पत्रकारहरुले सोही अनुसार विषयवस्तु तयार पार्न र पस्कन सक्नुपर्छ । यसरी प्रविधिको प्रयोग गर्न र मानिसहरुको रुचिअनुसार समाचार सामाग्री बनाउन युवा पुस्ता अगाडि रहेको उनी बताउँछन् । पुरानालाई चुनौती केही वर्षअघिसम्म पत्रकारिता गर्नेले कुनै एक विधा जाने पुग्थ्यो । तर, अब समाचार लेख्ने मात्र नभई अडियो, भिडियो, फोटोग्राफी पनि जान्नुपर्ने हुन्छ । यसको अर्थ अब पत्रकार थप दक्ष र बौद्धिक हुनुपर्छ भन्ने हो । भिडियो तथा तस्बिर खिच्ने, फिचर लेख्ने, तथ्यांक प्रस्तुतिकरण तथा भाषागत रूपमा दक्ष र सक्षम हुन सकिएन भने नयाँ कुरा दिन नसकिने सम्भावना बढी हुन्छ । सुधीर शर्मा, यूट्युवर कतिपयलाई लाग्न सक्छ, पत्रकारको काम लेख्ने अथवा प्रसारण गर्ने मात्र हो । त्यति मात्रै बुझे अपुरो हुन्छ । पाठक/दर्शक/श्रोता जुन माध्यममा ‘इन्गेज’ हुन्छन्, उनीहरूलाई जसरी सहज हुन्छ त्यसरी प्रस्तुति दिनु पत्रकारको कर्तव्य हुन आउँछ । त्यस्तै विषयगत दक्षता भएका व्यक्तिसँगको सम्पर्क, प्राथमिक सूचनाको प्राप्ति नयाँ-नयाँ व्यक्तिहरूसँग कुराकानीले पनि नयाँ विचार र सोच आउँछन् । समयअनुसार क्षमता विकास गर्न नसक्ने पत्रकारहरु तलब वृद्धि भएन भनेर निराश हुँदै पेसाबाट पलायन हुने क्रम सुरु भएको छ । अर्कोतिर राम्रो क्षमता भएको पत्रकारहरु पनि उच्चस्तरको आम्दानी र सुविधा पाएर नयाँ पेसामा जाने गरेको पाइन्छ । उच्चस्तरको भाषा र सञ्चार ज्ञान भएका पत्रकारहरुले कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा ठूला कर्पोरेट हाउसमा अवसर पाउने गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीजस्ता उच्च तहका सरकारी अधिकारीहरुको प्रेस सल्लाकार वा सञ्चार विज्ञको रुपमा राजनीतिक नियुक्ति खाने, त्यसपछि पनि सरकारी नियुक्तीका लागि धाइरहने वा राजनीतिमा नै लाग्ने प्रवृति पनि पत्रकारमा देखिएको छ । पत्रकार शिव गाउँले भन्छन्, ‘पैसा र जागिरको सुरक्षालाई महत्व दिनेहरु पत्रकारितामा टिक्दैनन् । पत्रकारमा पत्रकारिताप्रतिको प्रतिबद्धता चाहिन्छ ।’ पत्रकार प्रकाश रिमाल भन्छन्, ‘हाम्रो पालामा पैसाको भन्दा पनि समाजका लागि पत्रकारिता गर्नुपर्छ भन्ने थियो । तर, दोस्रो पुस्ताले यो चाहेन । नयाँ पुस्ताले अरु पेसामा जस्तै पैसाको मात्र आकांक्षा राखेको छ । पैसा कमाउने मुल उद्देश्य भएकाहरुले पत्रकारिता गर्न सक्दैनन् ।’ नयाँ पुस्ताको चाहना र बजारको विकास अनुसार सञ्चार गृहहरुले पनि समयअनुसार सेवा सुविधा नबढाउने हो भने आदर्शको विचार बिलाएर नयाँ पुस्ताले पत्रकारिता नगर्ने निश्चित छ । विशिष्टीकृत पत्रकारिता पछिल्लो समय विशिष्टीकृत पत्रकारिता विकास भएको छ । बहुदल आउनुपूर्व विधागत पत्रकारितामा साहित्य पत्रकारिता मात्र थियो । २०४६ सालको परिवर्तनपछि सरकारले खुला आर्थिक नीति लियो । त्यसपछि क्रमशः आर्थिक पत्रकारिता सुरु भयो । २०६० को दशकपछि विधागत पत्रकारितामा आर्थिक पत्रकारिताले फड्को नै मार्यो । मदन लम्साल पछिल्लो समय विधागत पत्रकारिताको विकास हुँदै गएको आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल बताउँछन् । उनी भन्छन् ‘विधागत पत्रकारिताले पैसा पनि राम्रो कमाएका छन् । विधागत पत्रकारिताको महत्व बढ्दै गइरहेको छ ।’ बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा पनि विधागत पत्रकारितामा नै जोड दिन्छन् । भन्छन्, ‘कृषि मन्त्रालयले राजनीतिक समाचार दिने सञ्चार माध्यमलाई किन समाचार दिने ? यो कुरा बुझेर पत्रकार, सञ्चार माध्यम रुपान्तरण हुन आवश्यक छ ।’ ‘मेरा विचारमा अब ‘जनरल’ पत्रकारिता रहँदैन र आवश्यक पनि छैन । अझ सुपर विशिष्टीकरणमा जाने सम्भावना देख्छु म त । यो आवश्यकता पनि हो’ पत्रकार रिमाल भन्छन् । रिमालले भनेजस्तै आर्थिक पत्रकारिता भित्र पनि बैकिङ, बीमा, पुँजीबजार, पर्यटन पत्रकारिता र सहकारी क्षेत्रका सुपर विशिष्टीकरणमा आधारित अनलाइनहरुको उपस्थिति र प्रभावकारिता बढ्दै गएको देखिन्छ । ब्रेनमा लगानी सञ्चार क्षेत्रको गुणस्तर वृद्धिका लागि ब्रेनमा लगानी वृद्धि गर्नुपर्ने बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा बताउँछन् । ‘पत्रकारको क्षमता विकासको लागि सरकारले पनि लगानी गर्नुपर्छ । सञ्चार गृहले पनि लगानी गर्नुपर्छ’ उनी भन्छन्, ‘तर नेपालमा भने ब्रेनमा लगानी गर्न समस्या रहेछ । सरकारी निकायमा बसेर सडकमा लगानी गर्न समस्या छैन । ब्रेनमा गर्ने लगानीलाई अनेक प्रश्न सोध्ने गरिन्छ । प्रकाशक, राजनीतिकर्मीलाई ब्रेनमा लगानी गर्न लगाउन निकै गाह्रो छ ।’ कुनै बेला ट्याब्लाइड साप्ताहिकको बाढी आएजस्तै अहिले अनलाइन न्युज पोर्टलको बाढी आएको छ । यसले नेपाली मिडिया क्षेत्रमा संख्या कि गुणस्तरीयताको आवश्यकता भन्ने प्रश्न महत्वपूर्ण रूपमा उठेको छ । समाचार लेख्न वा सम्पादन सीप भए/नभएका व्यक्ति नै पत्रकारिताबारे आफैं विश्वस्त नभई सञ्चार माध्यम चलाउने प्रवृत्ति बढेको छ । पञ्चायत कालमा जस्तै आफैं लगानीकर्ता, आफैं सम्पादक भएको अनलाइनहरुको उपस्थिति बढ्दो छ । राजनीतिकर्मी, कर्मचारीतन्त्रमा जस्तै पत्रकारितामा पनि थुप्रै समस्या भएको सञ्चार रजिष्ट्रार सापकोटा बताउँछन् । समस्या समाधानको लागि राज्यले काम गर्ने वातावरण बनाइ दिनुपर्ने र मिडिया सञ्चालक व्यावसायिक भएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्याल स्वतन्त्रताको प्रयोगसँगै आचारसंहिता भित्र बसेर, स्वनियममा बसेर पत्रकारित गर्ने हो, नैतिकतालाई नभुल्ने हो भने पत्रकारिता मर्यादित र विश्वसनीय हुने बताउँछन् । कुन्दन अर्याल कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागका संयोजक राजीव तिमल्सिना कलेजमा पत्रकारिता पढेका पत्रकारबाट जिम्मेवार पूर्ण पत्रकारिताको अपेक्षा गर्न सकिने बताउँछन् । उनको अनुभवमा पत्रकारिता पढ्ने विद्यार्थीमा उतार चढाव छ । उनले कान्तिपुर सिटी कलेजले पत्रकारिता पढाउन थालेको दुई दशक बढी भयो । आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘सन् २००७ अघि पत्रकारिता पढ्नेको आकर्षण थियो । सन् २००७ देखि २०१५ सम्म त्यो आकर्षण खस्कियो । तर पुनः सन् २०१९ देखि २०२२ विद्यार्थीको आकर्षण बढ्यो । फेरी सन् २०२४ मा पत्रकारिता पढ्नेको संख्या खस्किएको छ ।’ ल्यापडग’ होइन, ‘वाचडग’ परम्परादेखि नै राज्यका तीन अंगलाई ‘वाचडग’ गर्ने काम पत्रकारिताको हो भनिन्छ । तर, के नेपाली प्रेसले अहिले पनि त्यसरी नै काम गरिरहेको छ/छैन ? प्रश्न महत्वपूर्ण हो । सन् १७८७ मा एडमण्ड बर्कले राज्यका तीन अंगपछिको चौथो महत्वपूर्ण अंग मानेको पत्रकारिताले सैद्धान्तिक आदर्श ठीक त्यसैगरी छाडेको हो भने अब त्यस्तो छुट हुनु हुँदैन । परम्परागत पत्रकारिताले कतै यस्तै त गरिरहेको छैन ? कतिपय विद्धान पत्रकारिताको आफ्नै कमजोरी पहिलो र प्रविधिलिाई सहायक चुनौती मान्छन् । म्यागसेसे पुरस्कार विजेता भारतीय पत्रकार रवीश कुमारले केही समय पहिला काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारिता ‘वाचडग’ नभएर ‘ल्यापडग’ भएको टिप्पणी गरेका थिए । पत्रकारहरु कहिले प्रधानमन्त्रीको काखमा बस्ने त कहिले प्रतिपक्षको काखमा सुत्ने र कहिले विज्ञापनदाताहरूको काखमा निदाउने अनि कहिले देशी/विदेशी दाताहरूको गोजीमा आराम गर्ने गरेको उनको टिप्पणी थियो । पत्रकारलाई ‘ल्यापडग’ हुनबाट जोगाउन ‘वाचडग’को भूमिकामा राखिरहन सिङ्गो सञ्जार जगत र राज्य चनाखो हुनुपर्छ । गज्जवको पेसा हो पत्रकारिता- उमेश चौहान, प्रधान सम्पादक-कान्तिपुर दैनिक यतिखेर युवापुस्ता व्यावसायिक, लगनशील छैन । र, उनीहरूले गरेको पत्रकारिताले प्रभाव पारेको छैन भनेर भाष्य सिर्जना भइरहेको छ । यो काम पत्रकारिताकै अग्रजले गरिरहेका छन् । पत्रकारिता वा कुनै पनि पेसा कुनै एउटा पुस्ताले सुरुवात र अन्त्य गर्न सक्दैन । एउटै पुस्ताले सुरुवात र अन्त्य गर्ने कुनै पनि पेसा हुन सक्दैन र पत्रकारिता पनि त्यस्तै हो । पत्रकारिता अत्यन्तै खराब अवस्थामा कहिल्यै पनि थिएन र आज पनि छैन । हिजो पत्रकारिताका आफ्नै चुनौती थिए, त्यसलाई अग्रज पुस्ताले सामना गर्नुपर्यो । आजका चुनौती आजका पुस्ताले सामना गर्नुपर्छ, गरिरहेको छ । हिजोको पत्रकारिता एकदमै राम्रो थियो । र, आज कमजोर भयो भन्ने हो भने हिजोको पत्रकारिताका बारेमा झनै प्रश्न उठ्न सक्छ । जसद्वारा सीप, लगनशीलता हस्तान्तरण गर्नुपर्ने हो, त्यो नभएको हो त ? म अग्रजहरूलाई दोष दिने पक्षमा छैन । किनकि आजको पत्रकारिता त्यति धेरै बिग्रेको छैन । हिजो पञ्चायत शासकका विरुद्ध पत्रकारहरू लडे । अहिले त त्यस्तो अवस्था छैन । जेल जानुपर्ने अवस्था पनि त छैन नि । हिजो पञ्चायती कालरात्रीको बेला जस्तो अहिले सुशासनको पक्षमा, लोकतन्त्र, सामाजिक न्यायको पक्षमा पत्रकार बोलिरहेका छन् । पत्रकारका अग्रज बहकिएर मूलधारको मिडिया कहाँ छ र ? भन्ने गरेको देख्छु । चुनौती पहिले पनि थिए अहिले पनि छन् । सामाजिक सञ्जालमा यिनै विषयमा बहस भइरहेको छ । फेरि समाचारको प्रभाव परेको छ्रैन भने पनि त्यसको कमजोरी पत्रकारको होइन । त्यसमा राज्यका निकायको आँखा पर्नुपर्छ । काम गर्नुपर्ने निकायले काम गरेन भने त्यो दोष त सम्बन्धित निकायको हो । गलत समाचार लेखेको हो भने कारवाही हुनुपर्छ । यसमा भुत्ते भएको हो भने पत्रकार होइन, सम्बन्धित निकाय हो । लेख्दाखेरि पहिला गज्जव हुन्थ्यो भन्ने कुरा कहिल्यै पनि होइन । त्यो हुन्थ्यो भने पञ्चायति व्यवस्था ढल्न किन ३० वर्ष लाग्नु पर्ने ? बरु पछिल्लो समयमा विधि र प्रक्रियाले पत्रकारिता सजिलो भएको छ । प्रविधिको अत्यधिक छिटो विकास भएकाले त्यस्ता प्रविधिलाई अपनाउन अहिलेका पत्रकारलाई ढिलो भइरहेको छ । बरु यी चुनौती हुन् । यतिखेर पत्रकारिताप्रति के, कसो भन्ने संशय चाहीँ बढेको छ । पत्रकारिताप्रति वितृष्णा बढेको होइन । यस्तो संशय बनाउने काम पनि अग्रज पुस्ताले नै गरिरहेको छ । एउटा समाचार लेखेकै कारण समाजमा प्रभाव पार्ने पेसा हिजो जस्तै आज पनि प्रभावकारी छ । एकपछि अर्को पुस्ताका लागि नयाँ चुनौती आउँछ नै । पुस्ता अनुसार संघर्ष हुन्छन् । समाचार कक्षको नेतृत्वमा आउने व्यक्तिले आफ्नो क्षमता छोडेर जानुपर्छ । अनि मात्र कम्युनिकेसन हुन्छ । पत्रकारितामा समस्या छन् भने त्यसलाई समाधान गर्नुपर्छ । पत्रकारिता सकियो भन्दै हिँड्ने कि त्यसलाई सुधार गर्ने, मिहिनेत गर्ने ? सीप, चेतना हस्तान्तरण गरेपछि पो समाधान हुने हो । अहिले कार्यान्वयन कम दोषारोपण बढी भयो कि जस्तो लाग्छ । कुनै पनि प्रविधि पत्रकारिताको दुष्मन हुँदैन । ती सबै सहयोगी माध्यम हुन् । त्यसैले पत्रकारिता कहिलै पनि समस्यामा पर्दैन । यो विवेकले गर्ने पेसा हो । पत्रकारिता आर्थिक समस्यामा पर्नु भनेको अर्थतन्त्र, उद्योग, व्यवसाय समस्यामा परेकाले पनि हो । पत्रकारितामा समस्या देखिएका हुन् भने अन्तर्वार्ता दिँदै हिँड्ने नभई समाधानको प्रक्रियामा सहयोग गर्नुपर्छ । अभ्यास गर्नुपर्छ, समाचार सम्पादनमा सहयोग पुर्याउनुपर्छ । आर्थिक क्षेत्रमा परेका समस्या, उद्योगमा परेका समस्याबारे चिन्ता नगर्ने, उत्पादनले बजार नपाएकोमा चिन्ता नगर्ने अनि पत्रकारिता मात्र समस्यामा पर्यो भनेर समाधान हुँदैन । अहिले साना, मझौला उद्योग समस्यामा छन् । ४५ प्रतिशत सटर बन्द छन् । त्यसैले अहिलेको समस्याको इपिसेन्टर पत्रकारिता होइन । अहिले संकट विभिन्न पेसा, व्यवसाय, उद्यमशीलतामा छन् । गाडी बिक्री नहुने, निर्माण व्यवसाय ठप्प हुने, वस्तुको माग नहुने बेला पत्रकारिता मात्र राम्रो हुन्छ भन्न सकिँदैन । यद्यपि डाक्टर, नर्सलगायत अन्य पेसाको तुलनामा पत्रकारले पाउने पारिश्रमिकलाई नराम्रो भन्न मिल्दैन । निष्ठाको कुरा गर्ने हो भने पनि अहिलेको पुस्ताको धेरै उच्च छ । इतिहासमा पत्रकारिता भन्ने पेसा कहिल्यै पनि स्वर्णयुगमा थिएन र अहिले नर्कयुगमा पुगेको पनि छैन । यो एउटा प्रगतिशील प्रक्रिया हो । पत्रकारले युट्युव वा अन्य आउटलेट चलाउनु ज्ञानलाई जीवन्त बनाउनु हो । यसलाई राम्रो अभ्यासको रूपमा लिनुपर्छ । पत्रकार निष्क्रिय हुनु हुँदैन । सक्रिय हुनु समाजप्रतिको न्याय हो । म पत्रकार भएकोले निकै खुशी छु । अरु पेशामा भएको भए सायदै हुँदैनथे । अन्य विकल्पको तुलनामा मेरा लागि पत्रकारिता राम्रो पेसा हो । आर्थिक रूपमा जीवनयापन गरेपछि पेसाप्रतिको इमान्दारिता र त्यसले पार्ने प्रभाव हो । दुःखसुख चलेपछि यो सापेक्ष कुरा हो र मूल कुरा यो पेसा, करिअर हो । र, यसले धेरै मान्छेको जीवनमा प्रभाव पारेको हुन्छ । तपाईंले लेख्ने कुराले समाजको ठूलो समुदायलाई हित गर्न सकिन्छ । पत्रकारिता बचाउने आधार नै समाचार लेखकै कारणले हो । पैसा कति आउँछ भनेर होइन । पेसा परिवर्तन गर्ने, संस्था छाड्ने भनेको मसँग अर्को काम गर्ने हुटहुटी हुन्छ र त संस्था फेरेको हुन्छु । त्यसैले नयाँ आउटलेट आउनु राम्रो हो र हरेकले आफ्नो विश्वासको परीक्षण गर्न पाउनुपर्छ । संसारभर नै पत्रकारहरू एक ठाउँ बस्दैनन् । संस्था फेरिरहन्छन् । कहिले किताब लेख्छन्, कहिले घुमफिर गर्छन् । कुनै फेन्सी स्टोरमा काम गरेको मान्छेले दुई वर्षपछि अर्को पसल खोल्यो भने प्रगति हुने तर पत्रकारले सिकेको कुरा अभ्यास गर्न खोज्यो भने त्यसलाई किन प्रगति नमान्ने ? फरक-फरक मान्छेका फरक क्षमता छन् । एउटै संस्थामा काम गरेर त्यसमै सम्पादक भएका विरलै हुन्छन् । त्यसकारण यो स्वतन्त्र पेसा हो । एउटा बैंकरले जागिर छाड्यो भने अर्को बैंक त खोल्न सक्दैन । तर, पत्रकारले स्वतन्त्र रुपमा काम गर्न सक्छन् ।