देशको निर्माण क्षेत्र हाँकिरहेका १० ठूला व्यवसायी : अर्बौंको कारोबार, कामको भ्याइनभ्याई
काठमाडौं । निर्माण क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । पूर्वाधारको विकासमार्फत् निर्माण कम्पनीले अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छन् । देशभरका २४ हजार बढी निर्माण कम्पनीले आर्थिक गतिविधमा ठूलो योगदान पुर्याएका छन् । वार्षिक लाखको कारोबारदेखि अर्बौं रुपैयाँको कारोबार गर्ने कम्पनी पनि देशमा छन् । सडक, हाउजिङ, भवन, पुल, सिँचाइ, पर्यटकीय क्षेत्र र जलविद्युत लगायत क्षेत्रको पूर्वाधारको विकास गरेर अर्थतन्त्रमा निर्माण कम्पनीले ठूलो जिम्मेवारी बहन गरेका छन् । आज हामीले देशका ठूला १० निर्माण कम्पनी र ती कम्पनीको नेतृत्व गर्ने व्यवसायीको विषयमा यो सामग्री तयार गरेका छौं । कालिका कन्स्ट्रक्सन विक्रम पाण्डे कालिका कन्स्ट्रक्सन नेपालको सबैभन्दा ठूलो निर्माण कम्पनी हो । जसको नेतृत्व विक्रम पाण्डेले गरिरहेका छन् । विसं २०६३ सालमा स्थापना भएको यो कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा छ । यो कम्पनी नेप्सेमा सूचीकृत जलविद्युत कम्पनी हो । भवन, सडक, पुल, खानेपानी तथा सिँचाइ र जलविद्युत परियोजना निर्माण गर्ने कालिका कन्स्ट्रक्सनले १४ वटा पुल, ११ वटा खानेपानी आयोजना, ६५ वटा राजमार्ग, ३ हाइड्रोपावर, ७ वटा सिँचाइ परियोजना एक अन्तर्राष्ट्रिय गरी कुल १०१ परियोजनाहरूको निर्माण कार्य सम्पन्न गरिसकेको छ । बहुचर्चित कोशी पुल, मदन भण्डारी राजमार्ग र दरौदी हाइड्रोपावर लगायतका निर्माण आयोजना यस कम्पनीले निर्माण गरेको हो । सिक्टा सिँचाइ आयोजना पनि यो कम्पनीले निर्माण गरिरहेको छ । कालिका ग्रुपका अध्यक्ष पाण्डे राजनीतिमा पनि सक्रिय छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् । कालिका कन्स्ट्रक्सनको व्यवसाय पनि पछिल्लो तीन आर्थिक वर्षमा निरन्तर बढ्दो छ । यस कम्पनीले २०८० मा ४ अर्ब २८ करोड १० लाख, २०७९ मा ३ अर्ब ६३ करोड ३० लाख र २०७८ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँबराबरको व्यवसाय गरेको छ । यो तीन वर्षको अवधिमा यस निर्माण कम्पनीको व्यवसाय ५० प्रतिशतले बढेको तथ्यांकबाट प्रष्ट हुन्छ । यो निर्माण कम्पनीको १५ अर्ब बढी ऋण लिन सक्ने ल्याकत छ । शर्मा कन्स्ट्रक्सन शर्मा कन्स्ट्रक्सन प्रालि पनि नेपालको ठूलोमध्येको एक निर्माण कम्पनी हो । विसं २०२३ सालमा स्थापना भएको यस निर्माण कम्पनीको नेतृत्व रमेश शर्माले गरिरहेका छन् । सीतापाइला काठमाडौंमा मुख्य कार्यालय रहेको यस कम्पनीमा एक हजार बढी कर्मचारी कार्यरत छन् । रमेश शर्मा । कम्पनीका चिप म्यानेजर उपेन्द्र श्रेष्ठकाअनुसार यस कम्पनीले देशका ठूल्ठूला परियोजना निर्माण गर्दै आएको छ । भवन, सडक र पुल निर्माण, खानेपानी आपूर्ति, सिँचाइ, एयरपोर्ट, सीवेज (सीडी) निर्माण लगायतका कार्यहरूमा यो कम्पनी संग्लन छ । यसले भवनमा आवासीय र व्यावसायिक भवन निर्माणका साथै अपार्टमेन्ट र अन्य संरचनाहरूको निर्माण गर्दै आइरहेको छ । यस कम्पनीले राष्ट्रपति भवन, राष्ट्रिय वाणिज्य बैंकको भवन, नागरिक लगानी कोषको कार्यालय, मेडिसिडी अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयको भवन, वीर अस्पतालको नयाँ भवन लगायत अन्य ठूला आयोजना सफलताका साथ काम सम्पन्न गरिसकेको छ । ए वर्गको यस निर्माण कम्पनीले २०८० मा ३ अर्ब ६२ करोड ५० लाख, २०७९ मा २ अर्ब ४७ करोड ६० लाख र २०७८ मा १ अर्ब ८९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । यस कम्पनीले करिब ११ अर्बको ऋणका लागि रेटिङ पनि गराएको छ । अध्यक्ष शर्मा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत हुन् । शर्मालाई सरकारले २०८० चैतमा किर्गिजस्तानका अवैतनिक महावाणिज्यदूतमा पनि नियुक्त गरेको थियो । अहिले कम्पनीले धेरै परियोजनाहरू निर्माण गरिरहेको छ । हाल ४ वटा परियोजनाको काम निर्माणधीनको चरणमा रहेको कम्पनीका चिप म्यानेजर श्रेष्ठले बताए । गुणस्तर र प्राविधिक दक्षता भएको कम्पनीले समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने र नवीनतम प्रविधिको प्रयोगमा ध्यान दिने कम्पनीको भनाइ छ । यो कम्पनी ठूलो पुँजी भएको कम्पनी हो । तुन्डी कन्स्ट्रक्सन ऋषी प्रसाद सुवेदी । तुन्डी कन्स्ट्रक्सन प्रालि नेपालको अर्को ठूलो निर्माण कम्पनी हो । विसं २०४१ सालमा भएको यो कम्पनीको नेतृत्व ऋषिप्रसाद सुवेदीले गरिरहेका छन् । यस कम्पनीले करिब दुई सय बढी ठूला निर्माण परियोजनाहरू सम्पन्न गरिसकेको जानकारी दिएको छ । यो कम्पनीले आवासीय र व्यावसायिक भवनहरू, सडक र पुल निर्माण, हाइड्रो, इन्फ्रास्ट्रक्चर प्रोजेक्ट, मर्मत र पुनर्निर्माण र अन्य निर्माणजन्य काम गर्दै आएको छ । उच्च गुणस्तरीय निर्माण कार्य र ग्राहकहरूको सन्तुष्टि सुनिश्चित गर्न आधुनिक प्रविधि र दक्ष मजदुरको प्रयोग गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण परियोजनाको समग्र व्यवस्थापन, डिजाइन, र कार्यान्वयनमा बढी जोड दिने गरेको बताएको छ । यस कम्पनीले अहिले संसीय संसद भवनको निर्माणको काम गरिरहेको छ भने राष्ट्रपति भवन, काठमाडौं विश्वविद्यालय, नारायणी सिमेन्ट उद्योग, त्रिभुव विश्वविद्यालयको भवन, धनगढी विमानस्थल, चमेलिया दार्चुला सडक, पूर्व-पश्चिम राजमार्गको बेलबारी सडक खण्ड, भालुवाङ–प्युठान सडकलगायत ठूला परियोजना निर्माण सम्पन्न गरेको छ । ठूला रकमको कारोबार गर्ने यो निर्माण कम्पनीले यसअघि १३ अर्ब रुपैयाँको ऋणका लागि रेटिङ गराएको थियो भने वार्षिक ६ अर्ब रुपैयाँ बढीको कारोबार गर्ने गरेको छ । अनक कन्स्ट्रक्सन श्रीराम मर्हजन । अनक कन्स्ट्रक्सन प्रालि नेपालको अर्को ठूलो निर्माण कम्पनी हो । विसं २०४२ सालमा स्थापना भएको यो निर्माण कम्पनीको नेतृत्व श्रीराम मर्हजनले गरिरहेका छन् । रविभवन काठमाडौंमा मुख्य कार्यालय रहेको यस कम्पनीले पनि देशका ठूला गौरव गर्न लायक पूर्वाधार निर्माण सम्पन्न गरिसकेको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको भवन, कर्मचारी सञ्चय कोष भवन, नेपाल पर्यटन बोर्ड र दोलखा जिल्ला अस्पताल लगायत ठुल्ठूला भवन तथा सडकहरु निर्माण सम्पन्न गरेको छ । यो कम्पनी आवासीय, व्यावसायिक र सार्वजनिक संरचनाहरूको निर्माणमा संलग्न छ । पुल, भवन, राजमार्ग, सिँचाई, जलविद्युत सडकलगायत अन्य गरी जम्मा ७३ ठूला वटा प्रोजेक्ट यस कम्पनीले सम्पन्न गरेको छ भने ३ वटा आयोजना निर्माणाधीनको चरणमा रहेका कम्पनीका सञ्चालक कविन महर्जनले बताए । उनका अनुसार यस कम्पनीले आवासीय निर्माणमा घर, अपार्टमेन्ट, फ्ल्याट र अन्य आवासीय परियोजनाहरू, व्यावसायिक निर्माणमा कार्यालय भवन, सपिङ मल, होटल, व्यावसायिक केन्द्रहरू जस्ता संरचनाहरूको निर्माण र मर्मत गर्दै आएको छ । आफ्ना निर्माण परियोजनामा सस्तो र टिकाउ समाधानको साथसाथै उच्च सुरक्षा मानकहरू पालना गर्दै काम गर्न सुनिश्चित गर्ने गरेको कम्पनीले दाबी गरेको छ ।यो कम्पनीले पनि कारोबार बढाउँदै गएको छ । कम्पनीले वार्षिक अर्ब बढीको कारोबार गर्दै आएको छ । समानान्तर निर्माण सेवा अच्युतप्रसाद खरेल । समानान्तर कन्स्ट्रक्सन प्रालि पनि ठूलो निर्माण कम्पनी हो । विसं २०५० सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व अच्युतप्रसाद खरेलले गरिरहेका छन् । पुरानो बानेश्वर, काठमाडौंमा कार्यालय रहेको यस कम्पनीले घर, अपार्टमेन्ट, फ्ल्याट, कार्यालय भवन, शपिङ मल, होटललगायत विभिन्न आयोजनाहरूको निर्माण गर्दै आइरहेको छ । यस कम्पनीले हालसम्म जम्मा ५४ वटा निर्माण परियोजनाहरूमध्ये ४७ वटा सम्पन्न गरिसकेको छ भने ७ वटा निर्माणकै चरणमा रहेका छन् । गुणस्तरीय निर्माण, नवीनतम प्रविधीहरूको प्रयोग र समयमै परियोजनाहरूको पूरा गर्ने लक्ष्य राखेको समानान्तर कम्पनीले जनाएको छ । यस कम्पनीले पनि २०७८ मा ३ अर्ब १३ करोड ९० लाख, २०७९ मा ३ अर्ब १९ करोड ९० लाख र २०८० मा २ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । वार्षिक एक अर्ब बढी कारोबार गर्ने कम्पनीको सूचिमा यो निर्माण कम्पनी पनि पर्दछ । समानान्तरले सर्वोच्च अदालत र भक्तपुर जिल्लाको नयाँ भवन, काठमाडौंमा बनिरहेका मुख्य सरकारी भवनहरु, नेपाल आयल निगमको कर्पोरट भवन, नेपाल प्रहरीको बहुउद्देश्यीय हल, भैंसेपाटीमा बनेका प्रदेशका मुख्यमन्त्रीका लागि बनेका भवन, गंगालाल राष्ट्रिय हृहदयरोग केन्द्र, बालाजु औद्योगिक क्षेत्र र त्रिपुरेश्वरस्थित पासपोर्ट विभागको भवन निर्माण गरेको हो । कतिपय परियोजना अहिले पनि निर्माण गरिरहेको छ । स्वच्छन्द निर्माण सेवा जयराम लामिछाने । स्वच्छन्द निर्माण प्रालि पनि नेपालको ठूलो मध्येको निर्माण कम्पनी हो । जसको नेतृत्व नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका जयराम लामिछानेले गरिरहेका छन् । कंलकी, काठमाडौंमा कार्यालय रहेको यस कम्पनीको स्थापना विसं २०४४ सालमा भएको हो । आवासीय, व्यावसायिक र सार्वजनिक संरचनाहरूको निर्माणमा यो कम्पनी संलग्न छ । घर, फ्ल्याट, अपार्टमेन्ट, भवन, शपिङ मल, होटल, सडक, पुल, ढल, पानी आपूर्तिलगायत गरी जम्मा ३२ वटा प्रयोजनाहरू निर्माण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, दोलखा सिंगटी सडक, सिन्धुली सडक, कालिमाटी-बल्खु रोड, संखमुल गौशाला रोड, डाउनटाउन अपार्टमेन्ट, सिटी भ्यू अपार्टमेन्ट, दुधकोशी, सुनकोशी र धेरी पुल लगायको निर्माण तथा डिजाइन गरेको यो निर्माण कम्पनी देशको प्रख्यात कम्पनी हो । अहिले बहुचर्चित नागढुङ्गा सुरुङमार्ग निर्माण, पोखरा खानीपानी आपूर्ति परियोजना यही कम्पनीले निर्माण गरिरहेको छ । उत्कृष्ट काम गरेबापत यो कम्पनी धेरै पटक सम्मानित भइसकेको छ । यस निर्माण कम्पनीले २०८० मा ६४ करोड ६० लाख, २०७९ मा ७४ करोड र २०७८ मा ८० करोड बढीको कारोबार गरेको थियो । आशीष निर्माण सेवा ऋषिकेश गौली । आशीष निर्माण सेवा पनि ठूलो मध्येको एक निर्माण कम्पनी हो । विसं २०४१ सालमा स्थापना भएको यो कम्पनीको नेतृत्व ऋषिकेश गौलीले गरिरहेका छन् । भरतपुर, चितवनमा कार्यालय रहेको यस कम्पनी पूर्वाधार निर्माणको क्षेत्रमा परिचित नाम हो । यस निर्माण कम्पनीले ठूला ८० वटा परियोजनाहरूको निर्माणको काम सम्पन्न गरिसकेको छ । १५ सय बढी कर्मचारी रहेको यस कम्पनीले आवासीय निर्माण, घर, फ्ल्याट, अपार्टमेन्ट र विलासिता आवासहरूको निर्माण, कार्यालय भवन, सपिङ मल, पुल, सडक, खानेपानी, होटल लगायतका ठूला परियोजना निर्माण गर्दै आएको छ । कम्पनीले इन्जिनियरिङतर्फ निर्माणको प्राविधिक पक्षको योजनाबद्धता, डिजाइन र कार्यान्वयन, जस्तै संरचनात्मक, सिभिल र विद्युतीय इन्जिनियरिङको क्षेत्रमा पनि काम गर्दै आइरहेको छ । कम्पनीले आफ्नो काममा गुणस्तरीय सामग्री र आधुनिक प्रविधिको प्रयोग गर्दै उच्च स्तरको निर्माण कार्य सुनिश्चित गर्दै आइरहेको दाबी गरेको छ । यस कम्पनीको वार्षिक कारोबार पनि बढ्दै गएको छ । गत वर्ष यस कम्पनीले ६अर्ब रुपैयाँको कारोबार गरेको थियो भने अघिल्लो वर्ष ५ अर्ब रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले १० अर्ब रुपैयाँ बढीको ऋणका लागि रेटिङ पनि गरेको थियो । यस निर्माण कम्पनीले कर्णाली प्रदेशको प्रादेशिक अस्पताल, काठमाडौं–तराई फाष्ट ट्र्याक, जनकपुर-धल्केवरको सडक, धरान खानेपानी, नेपाल इन्टरमोडल यातायात विकास बोर्डको भवन, भन्सार विभागको भवन, बीपी आँखा कान अस्पताल भक्तपुरको भवन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन, दमकको भ्यू टावर लगायत ठूला परियोजनाको काम गरिसकेको छ । हाल यस निर्माण कम्पनीले रानी विराटनगर सडक र कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट–रामपुर सडक पनि निर्माण गरिरहेको छ । कुमार श्रेष्ठ कन्स्ट्रक्सन ऋषिकेश गौली । निर्माण क्षेत्रमा आफ्नो पृथक परिचय स्थापित कम्पनी हो- कुमार श्रेष्ठ कन्स्ट्रक्सन । विसं २०३४ सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व प्रेमकुमार श्रेष्ठले गरिरहेका छन् । यो कम्पनीले आवासीय र व्यावसायिक भवनहरू, सडक र पुल निर्माण, इन्फ्रास्ट्रक्चरका परियोजना निर्माण गरिरहेको छ । हाल यसले जम्मा गरी १३ वटा ठूला परियोजनाहरू सम्पन्न गरेको छ भने ८ वटा निर्माणाधीन चरणमै रहेका छन् । कैलालीको गेटा मेडिकल कलेज, किर्तिपुर क्रिकेट मैदान, लमही-कोइलाबास सडक, धनखोला-शिवखोला सडक, टनकपुर लाइन सडक लगायतका ठूला परियोजना निर्माण सम्पन्न गरिसकेको छ । यस कम्पनीले हाल महाकाली पुल, सहजपुर-बोकटान सडक खण्ड लगायत परियोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ मा करिब ४ अर्ब र २०७८ मा साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको थियो । यस कम्पनीले आफ्नो काममा दक्षता, इन्जिनियरिङ प्राविधिकता र आधुनिक प्रविधिहरूको प्रयोगलाई प्राथमिकता जोड दिएको बताएको छ । लामा कन्स्ट्रक्सन जिबछिरिङ लामा । लामा कन्स्ट्रक्सन प्रालि पनि नेपालको पूरानो मध्येको एक ठूलो निर्माण कम्पनी हो । विसं २०३२ सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व जिबछिरिङ लामाले गरिरहेका छन् । साढे चार दशकको समयावधिमा कम्पनीले ५० बढी ठूला परियोजना सम्पन्न गरिसकेको छ । कम्पनीका सुपरभाइजर गणेश चौहानका अनुसार कम्पनीले संरचना निर्माण, इन्जिनियरिङ र परियोजना व्यवस्थापनजस्ता सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीले भवन निर्माणमा आवासीय, व्यावसायिक र औद्योगिक भवन निर्माण गर्दै आएको छ भने सार्वजनिक संरचना अन्तर्गत सडक, पुल, स्कूल, अस्पताल जस्ता पूर्वाधार निर्माण गरिरहेको छ । पुर्ननिर्माण तथा मर्मतको काम पनि कम्पनीले गर्दै आएको छ । कम्पनीले खानेपानी, जलविद्युत र सञ्चार नेटवर्क स्थापना गर्ने परियोजना पनि निर्माण गर्दै आएको चौहानले बताए । उनका अनुसार सोलार प्यानल इन्स्टलेसन, हरित भवन निर्माण लगायत आयोजनाहरूमा पनि यो कम्पनीले निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ मा करिब एक अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा २०७८ मा साढे एक अर्ब र २०७७ मा १ अर्ब बढी रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । २०७९ मा यस निर्माण कम्पनीले साढे चार अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको थियो । रसुवा कन्स्ट्रक्सन अनन्तप्रसाद आचार्य । रसुवा कन्स्ट्रक्सन पनि नेपालको ठूलो मध्येको एक निर्माण कम्पनी हो । कम्पनीको नेतृत्व अनन्तप्रसाद आचार्यले गरिरहेका छन् । कम्पनीले नेपालमा विभिन्न प्रकारका निर्माण परियोजनाहरूमा काम गर्दै आएको छ । आवासीय घर, फ्ल्याट, अपार्टमेन्ट र अन्य आवासीय संरचनाहरूको निर्माण गर्दै आएको छ । कम्पनीले कार्यालय भवन, व्यापारिक केन्द्र र अन्य व्यावसायिक संरचनाहरूको निर्माण गर्दै आएको छ भने सडक, पुल, ढल र सार्वजनिक संरचनाहरूको निर्माण गर्दै आइरहेको छ । यस निर्माण कम्पनीले पूराना भवनहरूको पुर्ननिर्माण तथा मर्मत, खानेपान र जलविद्युत परियोजनाको निर्माण पनि गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षमा साढे एक अर्ब, २०८० मा साढे दुई अर्ब, २०७९ मा साढे तीन अर्ब, २०७८ मा साढे चार अर्ब रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले करिब १० अर्ब रुपैयाँको ऋणका लागि पनि रेटिङ गराएको छ ।
अर्बको एनपीएल, खेलाडीसँगै व्यवसायीबीच पनि ‘ब्याटल’
काठमाडौं । केही वर्षअघि मात्रै क्रिकेट खेल्नका लागि राम्रो ब्याट पाएनौं भनेर गुनासो गरिरहेका नेपाली खेलाडी आज सुविधासम्पन्न आफ्नै मैदानमा फ्रेन्चाइज खेल खेल्दैछन् । वर्षौंदेखि देशका लागि खेले पनि मासिक पारिश्रमिक नपाएको भन्दै चिन्ता व्यक्त गर्ने तिनै खेलाडी केही दिन मात्रै क्रिकेट खेलेर लाखौं कमाउँदैछन् । कुनै दिन राजनीतिक रजगजमा व्यस्त नेपाल क्रिकेट संघ (क्यान)ले इतिहासमै पहिलो पटक आफ्नो कमालको व्यवस्थापन विश्वसामु देखाउँदैछ । क्रिकेट हेर्नका लागि सुविधा भएन भनेर पानीमा पनि छाता ओडेर खेल हेर्ने क्रेजी प्रशंसकहरु सुविधासम्पन्न मैदानमा कुर्सीसहितको डिजिटल बोर्डमा स्कोर हेर्दै आजदेखि एनपीएलको हुटिङ गर्दै खेलको आनन्द लिनेछन् । कुनै बेला क्रिकेटको क्रेज थाहा नभएको कर्पोरेट क्षेत्र लाखौं÷करोडौं लगानी गर्न उत्साहित छ । यो माहोलमा नेपाली क्रिकेटले प्रवेश गरेकोे छ । धेरैले यसलाई इतिहास स्थापनाको प्रवेश द्वार भनेका छन् । कतिले एनपीएललाई महाकुभ्मको उपमा दिएका छन् । उपमा जे दिइए पनि नेपाली क्रिकेटले आजदेखि नयाँ अध्यायको सुरुवात भने पक्कै गरेको छ । खेलाडी खेल्न आँतुर छन्, दर्शकहरु खेल हेर्न उत्साहित छन्, कमेन्टेटरहरु जोर–जोरले कमेन्ट गर्न पर्खिरहेका छन् । सारा नेपालीमात्रै होइन, यतिखेर विश्वको ध्यान नेपाल प्रिमियर लिग (एनपीएल)मा छ । स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रसारण, टीयू मैदानमा विभिन्न खालका सेवा–सुविधा र विदेशी खेलाडीको आगमन लगायत कारणले एनपीएलप्रति धेरैको चासो बढेको छ । एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको खेलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । आज पहिलो खेल बिराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुँदैछ । बिराटनगरका लागि सन्दिप लामिछाने र जनकपुरका लागि अनिल शाह कप्तान छन् । दुवै टिमले जित्ने लक्ष्यका साथ खेल्ने बताएका छन् । शुक्रबारको पत्रकार सम्मेलनमा बिराटनगरका कप्तान लामिछानेले टिमले धेरै लगानी गरेको र जितकै लागि खेल्ने बताए । ‘हामी जितकै लागि खेल्नेछौं । मैदानमा उत्रेपछि जसले पनि जित्न नै चाहन्छ,’ उनले भनेका थिए । यस्तै, जनकपुरका कप्तान शाहले पनि बोलेर भन्दा मैदानमै खेलेर देखाउने बताए । ‘हामीले जनकपुरमा मैदान नभएर काठमाडौंमा आएर मात्र तयारी ग¥यौं, अभ्यास खेलमा पनि राम्रो भयो, विदेशी खेलाडी आएर टिम पनि राम्रो देखिएको छ,’ पत्रकार सम्मेलनमा उनले भने । ठूला स्टारले थप उत्साह नेपाली खेलाडीसँगै विदेशी स्टार खेलाडीले एनपीएलको गरिमा थप बढाएको छ । एनपीएलमा खेल्न ४० वटा विदेशी खेलाडी नेपाल आएका छन् । भारतका स्टार ब्याटर शिखर धवन, न्युजिल्याण्डका मार्टिल गप्टिल, जिम्मी निसम र बेन कटिङ जस्ता टी–२० का स्टार नामहरू एनपीएल खेल्न नेपाल आएका छन् । सुदूरपश्चिम रोयल्समा चार जना विदेशी खेलाडी छन भने कर्णाली याक्समा पनि चार, लुम्बिनी लायन्समा छ जना, पोखरामा पनि छ जना, चितवनमा पाँच, काठमाडौं गोर्खाजमा पाँच, जनकपुरमा छ जना र विराटनगरमा पाँच जना विदेशी खेलाडी छन् । विश्वकै स्टार खेलाडीहरू आएर खेल्दा अहिले नेपाली क्रिकेटका बारेमा विश्वको चासो र चर्चा पनि बढेको छ । भीआईपी टिकटदेखि डिजिटल बोर्ड क्रिकेट खेल हुने टीयू मैदानलाई यस पटक भव्य रुपमा सजाइएको छ । मैदानमा पहिलो पटक डिजिटल बोर्ड, भीआईपी टिकट तथा टिमका प्रशंसकहरुलाई फरक ठाउँ (फ्यान जोन)को व्यवस्था गरिएको छ । क्यानले यस पटक समर्थकहरूको सुविधालाई लक्षित गर्दै टीयू मैदानमा विभिन्न सुविधाहरू थप गरेको छ । दर्शकले भीआईपी टिकट काटेर राम्रो ठाउँमा बस्न पाउनेछन् । व्यवसायीबीच पनि ब्याटल अहिले एनपीएलमा प्रायोजक बन्नका लागि कर्पोरेट क्षेत्रबीच पनि प्रतिस्पर्धा चलेको छ । कर्पोरेट क्षेत्रका विभिन्न व्यवसायीले पनि लाखौं लगानी गरेर स्पोन्सर गरिरहेका छन् । एनपीएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक बनेको छ । बैंकले पाँच वर्षका लागि एनपीएलसँग समझदारी गरेको बुझिएको छ । यस्तै, ब्रोडकास्ट पार्टर्नर स्टार स्पोर्टस् बनेको छ भने पावर्ड बाई एनसेल बनेको छ । एनपीएलको अफिसियल टिकट पार्टर्नर खल्ती बनेको छ भने अफिसियल स्ट्रिमिङ पाटर्नर फ्यानकोड बनेको छ । एनपीएलको स्पार्टस् पाटर्नर ड्रिम ११ बनेको छ । स्पिकिङ स्माइल पाटर्नर ह्याप्पिडेन्ट बनेको छ भने बेभरेज पाटर्नर रेडबुल, स्मार्टफोन पाटर्नर भिभो र अम्पायर पाटर्नर नेपाल पे बनेको छ । विभिन्न टिमले पनि आफ्नो टिम प्रायोजक खोजेका छन् । सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक बनेको छ भने महिन्द्रा र अग्नी ग्रुप कर्णाली याक्सको मुख्य प्रायोजक बनेका छन् । यस्तै, विराटनगरको एभरेष्ट बैंक, जनकपुरको मुख्य प्रायोजक डिएनए इन्टरनेसनल, कागठमाडौं गोखार्जको बिवाईडी, चितवन राइनोजको ब्यू स्टार, लुम्बिनी लायन्सको रिलायन्स फाइनान्सले प्रायोजनको काम गरेको छ । आठ वटा टिमलाई हस्पिटालिटी, बीमा, ट्राभल लगायत पार्टनरको रुपमा पनि अन्य व्यावसायिक समूहहरु जोडिएका छन् । अधिकांश व्यवसायी एनपीएलमा जोडिएका छन् । उनीहरुले करोडौं लगानी गरेका छन् । अर्ब बढी खर्च यस पटक कर्पोरेट क्षेत्रको पृथक किसिमको आकर्षण एनपीएलमा देखिएको छ । मैदानमा खेलाडीको ब्याटल हुनेछ भने व्यावसायिक जगतमा ठूला व्यावसायिक घरानाबीच प्रायोजन गर्ने प्रतिस्पर्धा देखिएको छ । त्यो प्रतिस्पर्धा टिम र खेलाडी खरिद गर्नेदेखि अहिले प्रायोजन गर्नेसम्म प्रष्ट देखिन्छ । ८ वटा टिम किन्न विभिन्न व्यवसायीले कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ खर्च गरेका छन् । एउटा टिम किन्न टिम मालिकले ३ करोडसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले ३ करोड ५७ लामा फ्रेन्चाइज किनेको छ । यस्तै, काठमाडौं गुर्खाजलाई कान्तिपुर पब्लिकेसन्सले तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ, जनकपुर बोल्टलाई ड्रिम स्पोर्टस् प्रालिले दुई करोड पाँच लाख, लुम्बिनी लायन्सलाई फरच्युना हेल्थ केयर प्रालिले एक करोड ८६ लाख चार रुपैयाँ,चितवन राइनोजका लागि चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार र सुदूरपश्चिम रोयल्सलाई इम्पाइर स्पोर्टस् म्यानेजमेन्ट प्रालिले एक करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा खरिद गरेको थियो । यस्तै, विराटनगर किंग्सलाई एमएडी ड्रिम्स स्पोर्टस् प्रालिले एक करोड ५१ लाख र कर्णाली याक्सलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले एक करोड ११ लाख ७० हजारमा किनेको थियो । ८ टिमले अक्सनबाट ८० खेलाडीका लागि पाँच करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । मार्की खेलाडीले २० लाख पाउँदा ‘ए’ श्रेणीले १० देखि १५ लाखसम्म पाएका छन् । बी श्रेणीका खोडीले ५ देखि १० लाख रुपैयाँसम्म पाए भने सी श्रेणीका खेलाडीले २ देखि ५ लाख रुपैयाँसम्म पाए । एउटा टिमले खेलाडी खरिदमा अधिकतम् १५ करोड रुपैयाँसम्म खर्च गरेको बुझिएको छ । यति धेरै लगानी र खर्च भएको लिगमा पुरस्कार राशी पनि ठूलै छ । विजेताले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने५ । उत्कृष्ट नेपाली खेलाडीले ६२ लाखको कार पाउनेछन् । त्यसका लगि क्यानले ओमोडा एण्ड जेइकोसँग सम्झौता नै गरेको छ । सम्झौता अनुसार एनपीएलमा उत्कृष्ट हुने नेपाली खेलाडीले लिग सकिएपछि ६२ लाख बराबरको ओमोडा ई-५ कार प्राप्त गर्नेछन् । फ्रेन्चाइज टिम किन्न नपाएका व्यावसायिक घराना अहिले प्रयोजन गरेर साथ दिइरहेका छन् । यसले एनपीएलमा थप उत्साह थपिएको छ । सम्बन्धित सामग्री : एनपीएल : क्रिकेटमा छिरे ठूला व्यवसायी, सुस्ताएकाे अर्थतन्त्र चलायमान हुने विश्वास
केबलकारमा क्रान्ति, कमालको कमाइ
काठमाडौं । नेपालमा पूर्वाधार क्षेत्रले विस्तारै विकासको फड्को मारिरहेको छ । यातायात पूर्वाधारमा नयाँ किसिमका प्रविधिको विकासले आवागमनमा थप सहजता र सरलता भइरहेको छ । विगतमा लामो समय हिड्नुपर्ने समस्याबाट मानिसहरु बाहिर निक्लिदै छन् । घण्टौंसम्म गर्नुपर्ने यात्रा सेकेण्डभरमा भइरहेको छ । त्यस्तो पूर्वाधारको एउटा उदाहरण हो-केबलकार । हाल देशका विभिन्न ठाउँमा केबलकार सञ्चालनमा छन्, जहाँ प्रत्येक केबलकारमा लक्जरी होटल रिसोर्ट निर्माण गरिएका छन् भने कतै निर्माणको क्रममा छन् । अब केबलबार यात्राका लागि मात्रै होइन, पर्यटक बढाउने गतिलो साधन पनि बनेको छ । व्यवसायीको व्यवसाय गर्ने पहिलो रोजाइ केबलकार बनिरहेको छ । पछिल्लो समय विस्तारै मानिसहरू नयाँ-नयाँ ठाउँ पुग्ने अनि घुम्ने संस्कृतिको पनि विकास हुँदै गएको पाइन्छ । जसकारण केबलकारको सञ्चालन सफल बन्न पुगेको हो । हाल सञ्चालनमा रहेका आधा दर्जन केबलकारहरूले सेवा दिइरहेका छन् । धार्मिक रूपले महत्त्वपूर्ण मानिएका कतिपय पर्यटकीय क्षेत्रहरू केबलकार सञ्चालनमा आइसकेपछि खुब चर्चामा छन् । धेरै समय लगाएर पैदल हिँडेर गन्तव्यमा पुग्नुपर्ने कष्टपूर्ण बाध्यतालाई समेत केबलकारले हटाइदिएको छ । पर्यटकलाई आकर्षित गराउने उद्देश्यले सञ्चालमा ल्याइएका आधा दर्जन केबलकारहरू हाल नेपालका डाडाँकाडाँमा छन् । हाल नेपालमा जम्मा १८ वटा केबलकार रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । व्यावसायिक रूपमा ८ वटा केबलकार मात्रै सञ्चालनमा छन् भने १० वटा केबलकारको निर्माण प्रक्रिया अन्तिम चरणमा छ । पछिल्लो समय देशैभरि केबलकार विस्तार गर्ने लक्ष्यअन्तर्गत निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । मनकामना केबलकार, कुरिन्टार, गोरखा चन्द्रागिरि केबलकार, थानकोट, काठमाडौं कालिञ्चोक केबलकार, कुरी, दोलखा अन्नपूर्ण केबलकार, पामे, पोखरा मौलाकाली केबलकार, गैंडाकोट, नवलपुर लुम्बिनी केबलकार, गोलपार्क, बुटवल, बन्दीपुर केबलकार, डुम्रे बन्दीपुर, सिदार्थ केवलकार, बुटवल पाल्पा नुवाकोट सञ्चालनमा रहेका छन् । यस्तै, पाथीभरा मन्दिर, ताप्लेजुङ, जालपादेवी लम्कीचुहा, मोहन्याल, कैलाली सिकलेस मादी गाउँपालिका, कास्की, छिम्केश्वरी मन्दिर, तनहुँ चम्पादेवी चाल्नालखेल, चप्पादेवी पोखरा मुक्तिनाथ, पोखरा, पर्वत म्याग्दी, मुस्ताङ रहेका छन् । यस्तै, फुलचोकी, नागार्जुन, खामणादेवी सिद्धबाबा निर्माण तयारीको अवस्था रहेका छन् । वि.सं २०५५ साल मंसिर ८ गतेबाट सर्वप्रथम नेपालमा यात्रु बोक्ने केबलकारका रूपमा मनकामना केबलकार सञ्चालनमा आएको थियो । त्यसपछि लामो समयसम्म कतैपनि केबलकार बनेका थिएनन् । पछिल्ला केही वर्षयता भने व्यवसायीहरूबीच केबलकार बनाउने प्रतिस्पर्धा चलिरहेको देखिन्छ । व्यवसायीले केबलकारमा होटलसहित एक खर्ब बढी लगानी गरेका छन् । अहिले सञ्चालनमा रहेका केबलकारले आम्दानी पनि राम्रो गरिरहेको बुझिएको छ । सञ्चालनमा रहेका ८ केबलकार मनकामना केबलकार मनकामना केबलकार सञ्चालनमा आएको साढे दुई दशक भइसकेको छ । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबलकारमा प्रायः जसो मानिसहरूको भीड लाग्ने गर्दछ । चितवनको कुरिनटार (इच्छाकामना गाउँपालिका-४) बाट गोरखाको मनकामना (सहिद लखन गाउँपालिका-३) जोडेर २६ वर्षअघि मनकामना केवलकार निर्माण गरिएको हो । २०५३ कात्तिक २२ मा मनकामना दर्शन प्रालि स्थापना भएको थियो । २०५४ माघ अन्तिमबाट निर्माणको काम सुरु भई २०५५ मंसिर ८ बाट केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । नेपालमा केबलकार चिनाउने काम मनकामना केबलकारले गरेको हो । १ हजार ३ सय २ मिटरको उचाइमा केबलकारमार्फत पुगिन्छ । केबलकारले वार्षिक साढे ११ लाख यात्रुलाई सेवा दिँदै आइरहेको मनकामना केबलकार प्रालिका नायब महाप्रबन्धक उज्ज्वल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सञ्चालनमा आएदेखि हालसम्म २ करोडसम्म यात्रुले सेवा लिइसकेका छन् । केवलकारमा ३४ वटा गोन्डला (डब्बा) छन् । एउटा गोन्डलामा छजना यात्रु अट्छन् । केबलकार चढेको भाडा ७ सय ७० रुपैयाँ रहेको छ । केबलकारमा सेवा लिने कुल यात्रुमा ७० प्रतिशत नेपाली, २६ प्रतिशत भारतीय र अन्य विदेशी यात्रु ४ प्रतिशत रहेका छन्। कुरिनटारबाट ३.०२ किलोमिटर केवलकारको दूरी १० देखि १२ मिनेटमा पार गरिन्छ । अहिले ५५ करोडको लागतमा मनकामना केवलकार हाताभित्र रिसोर्ट निर्माणको काम भइसकेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभाहल र रेस्टुरेन्ट सेवा उपलब्ध हुने मनकामना प्रालिले जनाएको छ । चन्द्रागिरि केबलकार काठमाडौं उपत्यकामा पहिलोपटक निर्माण भएको केबलकार हो रचन्द्रागिरी केबलकार । यो केबलकार थानकोटबाट भालेश्वर मन्दिर जोड्नेगरी २०७३ साउन १ गतेदेखि सञ्चालनमा आएको थियो । यसमा यात्रु बोक्ने ३८ वटा गोन्डला छन् । यसको दूरी २.४ किलोमिटर रहेको छ । केबलकार चढेको करिब १२ मिनेटमा गन्तव्यमा पुगिन्छ । केवलकार सञ्चालनमा आएपछि भालेश्वर मन्दिरक्षेत्र पर्यटकीय गन्तव्य बनेको छ । दुई हजार पाँच सय ५१ मिटर उचाइमा भएकाले यो ठाउँमा पुगेर काठमाडौं उपत्यका देख्न पाइन्छ । यो ठाउँमा पुस–माघमा हिउँ पर्ने भएकाले हिउँ खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्छ । केबलकार चढेको भाडा ८ सय २५ रुपैयाँ छ । यो ठाउँमा सुविधासम्पन्न लक्जरी होटल सञ्चालनमा छन् । होटलमा एक सयवटा कोठा छन् । केवलकार सञ्चालनमा आएको दुई वर्षपछि रिसोर्ट सञ्चालनमा आएको हो । भ्यु टावरबाट काठमाडौं उपत्यकासहित लस्करै देखिने हिमालहरू नियाल्न सकिन्छ । पछिल्लो समय यो ठाउँ घुम्ने र रमाउने गन्तव्य बन्दै आएको छ । कतिपय गर्मी छल्नका लागि पनि चन्द्रागिरिको डाँडामा पुग्ने गरेका छन् । यहाँ साना बालबालिकालाई छुट्टै खेल्ने र रमाउने ठाउँको पनि निर्माण गरिएको छ । वार्षिक रूपमा ७ देखि ८ लाखले यो केबलकार चढ्ने चन्द्रागिरि रिसोर्टका सेल्स म्यानेजर सुमित ढुङ्गेलले जानकारी दिए । कालिञ्चोक केबलकार दोलखास्थित कालिञ्चोक केबलकार सबैभन्दा उच्च ठाउँमा निर्माण गरिएको छ । दोलखाको चरिकोटबाट १८ किलोमिटर दूरी हिँडेपछि पुगिने यो केबलकार चढेर करिब ३ हजार ८ सय मिटर उचाइसम्म पुगिन्छ । २०७५ कात्तिक १७ गतेदेखि यो केबलकार सञ्चालनमा आएको हो । यसमा चारवटा गोन्डला छन् । एउटा गोन्डलामा ८ जना यात्रु अट्छन् । कुरी बजारबाट कालिञ्चोक मन्दिर नजिकसम्म ९ सय मिटर लामो दूरी रहेको छ । केवलकारबाट झरेर वरिपरिको हिमशृंखला नियाल्दै करिब १० मिनेट पैदल हिँडेर मन्दिरसम्म पुग्न सकिन्छ । ५ मिनेट केवलकारको यात्रा गरेपछि डाँडामा पुगिन्छ । यो ठाउँमा मन्दिर दर्शनसँगै केवलकार चढ्न आउने आन्तरिक पर्यटक बर्सेनि बढिरहेका छन् । सार्वजनिक बिदाका दिन केवलकार चढेर मन्दिरसम्म जाने यात्रुको भीड लाग्छ । नेपालीसँगै भारत र बंगलादेशबाट समेत धार्मिक पर्यटक कालिञ्चोक पुग्ने गरेका छन् । हिउँ पर्ने मौसममा काठमाडौंदेखि हिउँ खेल्न र घुम्न जानेहरू धेरै हुन्छन् । छिनछिनमै मौसम बदलिरहने यो ठाउँमा पुग्नेहरू रोमाञ्चित बन्छन् । यहाँको वरिपरिको दृश्यले मोहित बनाउँछ। अहिलेसम्म यसको लगानी ६० करोड रुपैयाँ पुगिसकेको छ । केवलकारको भाडा प्रतियात्रु छ सय रुपैयाँ तोकिएको छ। केवलकार सञ्चालनमा आएपछि यो क्षेत्रका होटलहरू खुल्ने क्रम बढेको छ । यो केबलकारको निर्माण गर्न तीन वर्ष लागेको थियो । अन्नपूर्ण केबलकार कास्कीको सेदीबगरबाट पर्यटकीय गन्तव्य सराङकोट जोड्नेगरी अन्नपूर्ण केवलकार निर्माण गरिएको छ । यसको निर्माण थाल्दै गर्दा कोभिड-१९ को महामारी सुरु भयो । त्यसैले चार वर्ष लगाएर निर्माण कार्य सम्पन्न भएको यो केवलकार २०७९ फागुन ६ गतेबाट सञ्चालनमा आएको थियो । यो जापानी प्रविधिमा निर्माण गरिएको केवलकार हो । यसमा १७ वटा गोन्डला छन् । एउटा गोन्डलामा ८ जना यात्रु अट्छन् । यसको दूरी २.४ किलोमिटर छ । सेदीबगरबाट सराङकोट पुग्न केवलकारमा ९ मिनेट लाग्छ । असारको अन्तिमदेखि भदौबाहेक यो केबलकार बिहान ५ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुन्छ । त्यतिबेला वर्षाको समय भएकाले सूर्य नदेखिने हुँदा ९ बजेबाट मात्र केवलकार चलाइने गरिएको छ । अघिपछि सबेरै केवलकार चढी सराङकोट पुगेर सूर्योदय हेर्नेको भीड लाग्छ । यो आन्तरिक तथा बाह्य दुबै पर्यटकलक्षित केवलकार हो । सेदीबगरबाट केवलकार चढेर १ हजार ५ सय ६४ मिटर अग्लो सराङ्कोट पुगिन्छ । नेपालीहरूका लागि केवलकारको भाडा ७ सय रुपैयाँ तोकिएको भने अन्य सार्क मुलुकका पर्यटकका लागि एक हजार रुपैयाँ र अन्य देशका पर्यटकका लागि १२ डलर तोकिएको छ । यहाँ ६० फिट अग्लो पाँचवटा मुख भएको गणेशको मूर्ति बनाइँदैछ । यसले धार्मिक पर्यटकको आवागमन बढाउने विश्वास अन्नपूर्ण केबलकारको छ । हालसम्म यो केवलकारमा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । हाल सराङकोट पुग्न केबलकार सजिलो माध्यम बनेको छ । मौलाकाली केबलकार नवलपरासीको गैंडाकोटबाट मौलाकालिका मन्दिर जोड्नेगरी केबलकार निर्माण गरिएको छ । २०८० वैशाख १ गतेबाट सञ्चालनमा आएको मौलाकाली केवलकार निर्माण गर्न १३ महिना लागेको थियो । यसमा १२ वटा गोन्डला छन् । केवलकारले गैंडाकोटस्थित मौलाकालीको फेदीबाट मौलाकालिका मन्दिर जोड्ने काम गरेको छ । १ हजार २ सय मिटर दूरी रहेको केवलकार चढेर ५ मिनेटमा मन्दिर पुगिन्छ । केवलकारबाट मौसम खुल्दा गैंडाकोट र नारायणगढ बजार देख्न पाइन्छ । चितवनको सौराहा, मेघौली, कसरालगायतका पर्यटकीय क्षेत्र घुम्न जानेहरू प्रायः मौलाकालिका मन्दिरलाई गन्तव्य नबनाई फर्कंदैनन् । गएको एक वर्षमा दुई लाख ७५ हजार धार्मिक पर्यटकले केवलकार चढेको मौलाकाली केबलकारले जनाएको छ । केवलकार सञ्चालनमा आएपछि नेपालीहरू मात्र होइन, विदेशी पर्यटक पनि घुम्न आउने गरेका छन् । मौलाकालिका मन्दिर ५ सय ६१ मिटर उचाइमा छ भने मौलाकाली केवलकार ५ सय २७ मिटर उचाइमा छ । केवलकारबाट झरेर थोरै पैदल हिँडेपछि मन्दिरमा पुगिन्छ । शान्त वातावरण भएकाले मन्दिर वरिपरिको दृश्यले सबैलाई लोभ्याउँछ । प्रायः यो ठाउँमा केवलकार चढेर मन्दिर दर्शनका लागि आउनेहरूको भीड लाग्छ । त्यस्तै, केवलकार छेउमै ठूलो रिसोर्ट निर्माण भइरहेको छ । दुई महिनाभित्र मौलाकाली डाँडामा होटल सञ्चालनमा आउनेछ । केवलकारको भाडा पाँच सय ५० रुपैंयाँ छ । यसमा २ अर्बको लगानी भएको छ । लुम्बिनी केबलकार लुम्बिनी केबलकार २०८० जेठ १५ गतेबाट सञ्चालनमा आएको हो । यसको निर्माण गर्न १४ महिना समय लागेको थियो । यसले रुपन्देही र पाल्पा जोड्ने काम गरेको छ । यो लुम्बिनी प्रदेशमा निर्माण गरिएको पहिलो केवलकार हो । यसमा यात्रु बोक्ने गोन्डला २५ वटा छन् । यो केवलकारले बुटवलको गोलपार्कबाट पाल्पाको वसन्तपुर जोड्छ । यसको दूरी २.६ किलोमिटर रहेको छ । बुटवलबाट केवलकार चढेर १२ मिनेटमा वसन्तपुर पुगिन्छ । केवलकार चढेको भाडा ७ सय ५० रुपैयाँ छ । यो केबलकार नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेर निर्माण गरिएको हो । यसले वसन्तपुरमा पर्यटकीय गतिविधि बढाउन सघाउ पुर्याएको छ । त्यहाँ कामाख्या भगवतीको मन्दिर छ । त्यसैले दर्शन गर्न आउने धार्मिक पर्यटकको भीड लाग्छ । बुटवल–भैरहवाको गर्मी छल्न वसन्तपुर पुग्नेको लर्को लाग्छ । यो केवलकार ९ सय ६० मिटर उचाइमा निर्माण गरिएको छ । यसलाई नेपाली र भारतीय पर्यटकले गन्तव्य बनाउँदै आएका छन् । यो केवलकार तयार हुँदासम्म डेढ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यो ठाउँमा १ सय ५० वटा कोठा क्षमताको पाँचतारे होटल निर्माणको क्रममा छ । अत्याधुनिक सुविधासहित तीन वर्षभित्र यसको निर्माण पूरा गर्ने लक्ष्य छ । यो केबलकार ५ अर्बको लगानीमा निर्माण भएको हो । बन्दीपुर केबलकार बन्दीपुर केबलकार विसं २०८१ जेठ ३१ गतेदेखि सञ्चालनमा आएको हो । तनहुँको बन्दीपुर गाउँपालिका– ४ स्थित केबलकार चोकमा रहेको यो बटम स्टेसनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । केबलकारबाट बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिरको दर्शन गर्न सकिन्छ । केबलकारबाट ९० डिग्रीको उकालोजस्तो देखिने चट्टान आरोहण गरे झैं साहसिक अनुभूति लिन सकिन्छ । केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिन्छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँचतारे होटल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केबलकारको ३१ गोण्डला छन्, तीमध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रतिघण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यो केबलकार विभिन्न सिफ्ट गरेर हाल दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चलाइने गरिएको छ । यो केबलकार १.०७ किलोमिटरको दूरीमा रहेको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, गणेश, मनास्लु, लामटाङ हिमाल रेन्जको अवलोकन गर्न सकिन्छ । सिद्धार्थ केबलकार सिद्धार्थ केबलकार हालै सञ्चालनमा आएको हो । यसको निर्माण सिद्धार्थ केबलकार कम्पनी र करिब एक सय जना लगानीकर्ताले गरेका हुन् । ती एक सय जना लगानीकर्तामा ८० जनाभन्दा बढी बुटवलकै बासिन्दा रहेका छन् । यसले बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म जोड्ने काम गरेको छ । सुरुआती समयमा दैनिक पाँच हजार यात्रु आवतजावत गर्ने र अधिकतम दैनिक दस हजारसम्म यात्रु बोक्दै आइरहेको छ । यस केबलकारमा यात्रु बोक्ने २५ वटा गोन्डला रहेका छन् । केबलकार चढेको भाडा ७५० रुपैयाँ रहेको छ । यो केबलकार १.९० किलोमिटरको दुरीमा रहेको छ । १ अर्ब लगानीको यो केबलकार बन्न दुई वर्ष लागेको थियो । निमार्ण तयारीमा रहेका केबलकार पाथीभरा मन्दिर, पाथिभरा, ताप्लेजुङ जालपादेवी लम्कीचुहा, मोहन्याल, कैलाली सिकलेस, मादी गाउँपालिका, कास्की छिम्केश्वरी मन्दिर, छिम्केश्वरी, तनहुँ चम्पादेवी चाल्नालखेल, चप्पादेवी पोखरा मुक्तिनाथ, पोखरा, पर्वत म्याग्दी, मुस्ताङ फुलचोकी, ललितपुर नागार्जुन,काठमाडौं खाणादेवी, रामेछाप सिद्धबाबा, पाल्पा केबलकारबारे कार्यविधि बन्दै प्रशासन मन्त्रालयअन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख एवम् उपसचिव मोहनकुमार घिमिरेले निजी क्षेत्रको केबलकार आयोजनालाई ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना’ निर्धारण गर्नु स्वाभाविक भएको बताएका छन् । पछिल्लो समय केबलकार बनाउने कामतर्फ सबैले ध्यान दिनुपर्ने घिमिरेले उल्लेख गरे । ‘निजी क्षेत्रले केबलकारमा लगानी गर्न चाहन्छ भने राज्यले पनि सहजीकरण गर्नुपर्छ, यसमा कसैले अवरोध गर्नु हुदैनन् ,’ विकासन्यूजसँग कुरा गर्दै घिमिरेले भने, ‘केही नीतिगत केही कमजोरी छन् । हामी केबलकार सञ्चालन कार्यविधि र मापदण्ड छिट्टै ल्याउने तयारीमा छौं । यो चाँड नै लागू हुन्छ । हामीसँग प्राविधिक जनशक्ति छैन, जुन मन्त्रालयसँग प्राविधिक छ, त्यहीं मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्छौं । त्यसपछि सरकारसँग बसेर छलफल गछौं।’ उपसचिव घिमिरेले केबलकार निमार्ण गर्ने काम राम्रो भएको बताउँछन् । जमिनको जताततै नोक्सान, सडकका घुमाउरा बाटाभन्दा आम नागरिकलाई सहज र सजिलो खालको केबलकार भएको उनको भनाइ छ । अर्बौं लगानी लगाएर सडक खन्नुभन्दा केवलकारलाई नै राज्यले राष्ट्रिय प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । यस्तै, हाल केबलकारलाई नै अवसर दिनुपर्ने र त्यसमा आफ्नो पनि सर्मथन रहेको उनको भनाइ छ । के छ सम्भावना ? केबलकारका सम्भावना थुप्रै छन् । तर उक्त क्षेत्रमा रहेको जोखिम कम गरेर प्रोत्साहन गर्न सरकारले गर्नुपर्ने काममा सरकार, स्थानीय तह र सम्बन्धित निकायको ध्यान र चासो नजाँदा यो क्षेत्रको विकास जुन रूपमा अगाडि बढ्नुपर्ने थियो, त्यसरी अगाडि जान सकेको छैन । पछिल्लो दशक नेपालका विभिन्न व्यापारिक समूह तथा घरानाहरूबीच केबलकार बनाउने होडबाजी भने चलिरहेको छ । नेपालमा हालसम्म बनाइएका अधिकांश केबलकारमध्ये कुनैले राम्रै गरिरहेको पर्यटन विभागका निर्देशक तथा प्रवक्ता कालीबहादुर भुजेलले बताए । उनका अनुसार हाल देशका कुन ठाउँमा केबलकार चाहिने हो, सरकारले नै प्रारम्भिक अध्ययन गरेर लाइसेन्समा प्रतिष्पर्धा गराउनुपर्छ । प्रवक्ता भुजेल भन्छन्, ‘यदि निजी क्षेत्रले आम नागरिकका लागि सहज र सजिलोको लागि केबलकार निर्माण गर्छन् भने त्यो राम्रो हो, सरकाले यसमा सहयोग गर्नुपर्छ । तर निजी क्षेत्रले नाफामूलक हिसाबले मात्र सञ्चालन गर्छ भने त्यसलाई हटाइनुपर्छ ।’ यातायात पारवहनमा नागरिकलाई सुविधा दिनेभन्दा पनि नाफा कमाउने उद्देश्यमात्रै राखिएका यस्ता केबलकारको टावर हिमालपारिको जिल्ला मुस्ताङसम्म ठड्याउन खोजिँदैछ । पर्यावरणीय, सामाजिक, सुरक्षा र स्रोत संवेदनशीलता भएका यस्ता स्थानसम्म नाफा कमाउनकै लागि केबलकार विस्तार गरिनु हुँदैन ।