जसलाई सहकारीले साहु बनायो
काठमाडौं । एउटा सानो खरको घर । घरमा मिठो मसिनो त परै जाओस् बिहान बेलुका छाक टार्नलाई पनि अन्न छैन । न आफ्नो जमिन छ नत अन्य कुनै सम्पत्ति नै । सानो खरको घर पनि माइतीले दिएको । छोराछोरीले भोक लाग्यो भने पनि पेटभरी खाना दिनलाई छैन । अब बुझ्नुस् त ती मानिसको जीवन कति कष्टकर र दुःखदायी होला ? हो, त्यही जीवनलाई शक्तिमा रुपान्तरण गर्दै संघर्ष गर्न सिकायो झापाको शिवसताक्षी नगरपालिका ११ दुधेकी देवी दाहाललाई । भनिन्छ नि ‘संघर्षले मानिसलाई मजबुत बनाउँछ, चाहे उ जति नै कमजोर किन नहोस् ।’ त्यही पीडा,, दुःख र गरिबीलाई आत्मसाथ गर्दै देवी दाहाल अगाडि बढिरहिन् । उनी आफ्नो पथमा अडिक रहिन् । संघर्षको फल मिठो हुन्छ भनेजस्तै देवी दाहालको जीवन पनि साँच्चिकै लोभलाग्दो र उत्तिकै प्रेरणादायी पनि छ । हिजो गाउँमा सबैले हेप्ने, नटर्ने देवी दाहाललाई आज सबैले विश्वासिलो र भरपर्दो नेतृत्वको रुपमा उनलाई चिन्ने र बुझ्ने गर्छन् । हिजो अरुको घरमा भाडा माझेर पेट पाल्ने देवी आज अरुलाई सीप सिकाउने र कसरी स्वरोजगार बन्ने भन्ने सिकाइरहेकी छिन् । देवी दाहालको जीवनको यात्रामा सफल बनाउनको लागि टर्निङ प्वोइन्ट बन्यो मौरी व्यवसाय । हो, मौरीकै कारण अहिले उनको जीवन फेरिएको मात्र होइन सम्पन्न पनि भएको छ । कुनै संघर्षशिल महिलाको उदाहरण दिँदा देवी आजभोलि आफ्नै उदाहरण दिन्छिन् । आफ्ना संघर्षका पाइलाहरु बताउँदै सुन्ने मानिसलाई भावबिभोर पार्छिन् उनी । विश्वास गर्नु हुन्छ ? हिजो बिहान बेलुका छाक टार्न माइती वा छिमेकीलाई गुहार्ने उनी आज लाखौं रुपैयाँ कमाउँछिन् । उनीसँग लाखौं रुपैयाँ बराबरको सम्पत्ति छ । उनले आफु मात्र होइन आफु जस्तै अन्य महिलाई पनि कमाउने र स्वावलम्बी बनाउन सफल भएकी छिन् । झापाको शिवसताक्षी नगरपालिका ११ दुधेकी देवी कुमारी ओली दाहाल आजभन्दा १७ वर्ष अगाडि के खाउँ र के लगाउँ भन्ने अवस्थामा थिइन् । तर, अहिले भने उनको जीवन मौरीले हराभरा बनाएको छ । २०६० सालतिर शिवसताक्षीका महिलाहरु पुरुषमै निर्भर थिए । उनीहरु चुल्हो चौकामै सीमित थिए । पुरुषले कमाएर ल्याएको पैसाले घर खर्च चलाउँथे । तर, त्यसयता भने उनीहरु स्वरोजगार मात्र होइन अरुलाई रोजगारी पनि दिने अवस्थामा पुगेकी छन् । शिवसताक्षीका स्थानीय केही अगुवाहरुको सल्लाहमा २०६३ सालमा उनीहरुले एक सहकारी खोले । नाम राखियो श्री सतासी महिला मौरी पालन सहकारी संस्था । त्यो सहकारीमा देवी दाहालले पनि काम गर्ने अवसर पाइन् । त्यो समय नै देवी दाहालको जीवनमा टर्निङ प्वाइन्ट बन्यो । उनी भन्छिन्, ‘त्यो मेरो लागि स्वर्मिण समय हो ।’ उनले शुरुमा दुई घारबाट मौरीपालन व्यवसाय शुरु गरिन् । त्यो दुई घार मौरीले आफ्नो जीवन परिवर्तन मात्र होइन हराभरा र सम्पन्न बनाएको उनी बताउँछिन् । दाहालले मौरी व्यवसाय गरेको १७ वर्ष भइसकेछ । ‘ती दिनहरु हिजो जस्तै लाग्छन्, बाबुनानीहरुले भोक लाग्यो भन्दा कुनै काममा भुलाउनु पर्थ्यो, बस्ने घर समेत माइतीले दिएको थियो, श्रीमानको कुनै सम्पत्ति थिएन, धेरै संघर्ष गरियो, संघर्ष गर्दा फल पनि मिठो पाइने रहेछ भन्ने मैले बुझे,’ विगतका दिनहरु सम्झिदै दाहालले भनिन् । मौरी व्यवसाय गरेको यो १७ वर्षको यात्रामा पछाडि फर्केर हुर्नु पर्ने अवस्था नआएको उनी बताउँछिन् । उनी निराश हुँदै भन्छिन्,‘ दुःख पर्दा आफन्त पनि विरानो हुने रहेछ, जुन मैले लामो समय अनुभव गरेँ ।’ ‘अहिले मेरो दुई छोराछोरी छन्, दुवैले बिहे गरिसके, श्रीमान गाडी लाइनमा काम गर्नुहुन्छ, सबै आ–आफ्नै काममा छौं, कसैले कसैलाई माग्नु पर्दैन, जीवन अझै संघर्षमै छ,’ देवी भन्छिन्, ‘अहिले मलाई ४४ वर्ष पुग्यो, संघर्ष गर्ने दिनहरु अझैँ बाँकी छन् ।’ उनी छोराछोरीलाई पेटभरी खाना खुवाउनलाई पनि अरुको घरमा काम गरेको बताउँछिन् । आफ्नो घर नभएरै धेरै समय भाडमा बसेको अनुभव भएको पनि उनी बताउँछिन् । ‘सायद म गरिवको पनि गरिव थिएँ, म भन्दा कोही पनि गरिब थिएन होला, अहिले मेरो जीवन आकाश पातालको फरक छ, मौरी व्यवसायबाटै सिजनमा ३५ लाख रुपैयाँ कमाउँछु, २ घारबाट सुरु गरेको मौरी अहिले ३ सयभन्दा बढी घार छन्, धेरैले मबाट नै काम सिके, अहिले आफ्नो संघर्ष देख्दा खुसी लाग्छ,’ उनले भनिन् । अहिले देवी दाहाल सतासी महिला मौरी पालन सहकारी संस्थाकी व्यवस्थापकको रुपमा पनि काम गर्छिन् । उनका अनुसार उनले मौरी व्यवसायबाटै घरजग्गा जोडेकी छिन् भने लाखौं रुपैयाँ पनि कमाएकी छिन् । मौरी व्यवसायले देवी दाहाल मात्र होइन सतासी महिला मौरी पालन सहकारी संस्थामा आवद्ध ३२० जना महिलाको नै जीवन फेरिएको छ । उनीहरु स्वरोजगार मात्र होइन स्वावलम्बी पनि बनेका छन् । सो सहकारीमा आवद्ध प्रत्येक महिलाले न्यूनतम ५ देखि अधिकतम ३०० घारसम्म मौरी पालेका छन् । देवी जस्तै संर्घषको यात्रामा छिन् सोही सहकारी संस्थाकी अध्यक्ष धनमाया थापा पनि । विपन्न परिवारकी धनमाया अहिले सहकारी नै हाँकेकी छिन् । अहिले उनले पनि २ सयभन्दा बढी मौरी घारहरु बनाएर स्वरोजगार बनेकी छिन् । मौरीपालनमा लाग्नु अगाडि कुनै पनि आम्दानी नभएको बताउने धनमाया अहिले सिजनमा लाखौं रुपैयाँ कमाउने भएकी छिन् । उनले मौरी व्यवसाय गरेरै छोरीलाई नर्सिङ पढाएको बताइन् । उनका अनुसार उनले सिजनको २० लाख रुपैयाँसम्म कमाउँछिन् । संस्थाले स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउन शुरुमा दुई घार मौरी धरौटी दिई व्यवसाय गर्न लगाउने र त्यसपछि ती दुई घार सहकारीलाई नै फिर्ता गरी त्यसबाट गरेको नाफाका घारहरु आफैले नै राखी व्यवसाय गर्दै आएका छन् । धनमायाका अनुसार महिलाहरुले उत्पादन गरेको मह सहकारीले नै खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पुर्याउने काम गरेको छ । संस्थाका अनुसार प्रतिकेजी महको मूल्य न्यूनतम ३ सयदेखि ५सयसम्म पर्ने गरेको छ । थापाले तोरी, फापर र जंगली जडिबुटीको मह उत्पादन गर्ने गरेको बताइन् । सतासी महिला मौरी पालन सहकारी संस्थाले उत्पादन गरेको मह पूर्वका विभिन्न जिल्लादेखि पश्चिम दाङसम्म पुग्ने गरेको थापाले बताइन् । उनले मौरीको महले विभिन्न रोगहरु पनि निको पार्ने बताइन् । संस्थाका अनुसार यो सिजनमा ४ करोड रुपैयाँको मह बिक्री भइसकेको छ । सिजनमा ६० टन जति मह उत्पादन हुने उनीहरुको भनाई छ । गत वर्ष भने कोरोना भाइरसको कारण मौरीलाई हिँडडुल गराउन नसकिएकाले ३० टन मात्रै मह उत्पादन भएको थियो । हाल सो सहकारीले १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । संस्थाका अनुसार एक घारबाट सिजनमा ३० देखि १ सय केजीभन्दा बढी मह उत्पादन हुने गरेको छ । मौरी व्यवसायले शिवसताक्षीका महिलाहरु खुसी छन् । स्वदेशमै काम नपाएरै विदेश जाने सोच भएकाहरुलाई पनि स्वदेशमै केही काम गर्न उनीहरु सुझाव दिन्छन् ।
महाबौद्धको सानो गल्लीबाट सुरु भएको नेपाल डेरी, १५ रोपनीमा यसरी फैलियो
काठमाडौं । २०३८ सालतिर वीर अस्पताल पछाडिको महाबौद्ध क्षेत्र पुरै खेतबारी थियो । अहिलेको पुस्तालाई त पत्याउन मुस्किलै पर्ला । तर, महाबौद्धमै घर भएका डा. हेरम्ब बहादुर राजभण्डारीको आँखामा त्यसबेलाका दृश्यहरू झल्झली आईरहन्छन् । साढे ३ रोपनी जग्गामा उनले अनार, भोगटे, आलु, काउली फलाएका थिए । महाबौद्धमा बस्ती त पातलै थियो । तिनै गल्लीमा चहलपहल भने बाक्लै भईरहन्थ्यो । त्यसबेला हेरम्ब बहादुर राजभण्डारीको नामका अगाडी डाक्टर झुन्डिसकेको थिएन । हेरम्बले तिनै गल्लीहरुमा दही बेच्ने काम गर्थे । दैनिक २० लिटर दुध संकलन गरेर त्यसैलाई दही बनाउँदै बेच्नु उनको दैनिकि थियो । यसको व्यापार निकै फस्टाईरहेका बेला उनको मनमा अर्को आइडिया फुर्यो । दही बेच्दा बेच्दै हेरम्बले आइसक्रिम बेच्न थाले । त्यसबेला अमात्य इन्टरप्राइजेजले क्वालिटी आइसक्रिम बेच्थ्यो । अर्को आइसक्रिमको ब्राण्ड निरुलाजको पनि दबदबा थियो । जुन होटल अन्नपूर्णको मातहतमा चल्थ्यो । ‘यी दुबै आइसक्रिमलाई हामीले कच्चा पदार्थ बेच्न थाल्यौं, पछि बिस्तारै आफैले उत्पादन गरेर एन्डीज् आइसक्रिम बेच्न थाल्यौं, राजभण्डारीले सुनाए । पुख्र्यौली जग्गामा सानो पसलबाट हेरम्बको व्यापार सुरु भयो । मारवाडीले घडी, रेडियो र इलोक्टोनिक पसल सुरु गरे । विस्तारै अन्य पसल पनि सुरु भए । मारामार व्यापार हुन्थ्यो । हेरम्बको पसलमा ग्राहकहरुको लाइन यति बढ्न थाल्यो कि काउन्टर नै राख्नु पर्ने भयो । हेरम्ब, उनका भाइ र २ जना स्टाफलाई डेरीको काममा भ्याइनभ्याइ हुन थाल्यो । दुध, दही, चिज, आइसक्रिमपछि फास्टफुड पनि सुरु भयो । लगानी ४० हजार रुपैयाँ मात्रै । २०३८ सालदेखि अहिलेसम्म आइपुग्दा नेपाल डेरीले लामो यात्रा पार गरेको छ । महाबौद्धको गल्लीबाट सुरु भएको नेपाल डेरीले अहिले ठूलो रुप लिइसकेको छ । हात्तिबनमा १७ रोपनिमा जग्गामा नेपाल डेरीको उद्योग फैलिएको छ । जहाँ ३ सय जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । ८७ वर्षीय हेरम्ब बहादुर राजभण्डारी नेपाल डेरीको चेयरम्यानको कुर्सीमा छन् । उनमा अझै उस्तै सक्रियता छ । उनले जग हालेको व्यवसायमा परिवारका अन्य सदस्यहरूले पनि साथ दिइरहेका छन् । नेपाल डेरीको उद्योगमा पूर्व सर्लाहीदेखि नवलपरासीको दाउन्ने पारीबाट दुध भित्रिन्छ । दैनिक १४ हजारदेखि २० हजार लिटर दुध संकलन गरिन्छ । दैनिक ४ हजार परिवारले यसबाट प्रत्यक्ष रोजगारी पाइरहेको नेपाल डेरीका निर्देशक अरनिको राजभण्डारी बताउँछन् । ‘त्यहीा दुधलाई प्रशोधन गरेर हामी विक्री वितरण गर्दै आएका छौं,’ अरनिको सुनाउँछन् । उनका अनुसार डेरीको यसै व्यापारबाट मात्रै मासिक १५ लाख रुपैयाँ कारोबार हुने गरेको छ । अहिलेसम्म जम्मा ५० करोड रुपैयाँ लगानी भइसकेको उनी बताउँछन् । उनले डेरी खोल्नका लागि मेसिनमा २ करोड ३० लाख रुपैयाँ खर्चिए । यो व्यवसायमा निकै खट्नुपर्छ । चाडबाड होस् कि अन्य बेलामा अहोरात्र खट्नुपर्छ । दुधबाट बिभिन्न परिकार बनाएर बजार बिस्तार गर्न सकिने सम्भाबना उनले औंल्याए । ‘मोजेरिला चिज पिज्जाको बेग्लै पसल सुरु गर्न सकिन्छ, यस्तै, खुवा र पाउडर बनाएर पनि बेच्न सकिन्छ,’ उनले थपे । हेरम्बले ३४ वर्ष सरकारी सेवामा बिताए । दुग्ध विकास संस्थानमा जिएम, पशु सेवा विभागमा डिजी र कृषि मन्त्रालयमा सचिव जस्ता उच्च ओहदामा रहेर उनले अनुभब बटुलिसकेका छन् । एउटा सामान्य टाइपिस्टबाट काम सुरु गरेका उनले काम र व्यवसायलाई सागसँगै अघि बढाए । वि.सं २०११ मा कोलम्बो प्लानमा छनौट भएर कृषिविज्ञान पढेका उनले फिलिपिन्सबाट डेरी साइन्समा एमएस्सी गरेका छन् । डेरी साइन्समै २०२६ सालमा पीएचडी गर्ने पहिलो नेपालीका रुपमा उनले आफ्नो नाम लेखाए । महाबौद्धको व्यापारिक हब नेपाल डेरी सुरु भएको महाबौद्धको यो ठाउा अहिले व्यापारिक हब बनिसकेको छ । पहिले यहाा तीन फिटको मात्र बाटो थियो । अहिले भने वीर हस्पिटल आउने बाटाहरु धेरै बनिसकेका छन् । यहााको टोल र छिमेकीहरु मिलेर बाटो खोलेका हुन् । चोकैपिच्छे हरेक आइटम पाइने पसलहरु छन् । घडी, मोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक्स र लुगा पसलहरुमा बाक्लै चलहपहल भइरहन्छ । ‘यी गल्लीहरुमा हिंड्दा अचेल म आफै हराउँछु, यो ठाउको चार्म बढ्दै गएको छ,’ अरनिकोले भने । चाइनिज सामानका लागि महाबौद्ध प्रख्यात छ । यो व्यापारिक हब कै रुपमा स्थापित भइसकेको छ । एकै ठाउामा सबै सुविधा उपलब्ध छ । ‘एक अर्कामा मिलेर बस्ने हो भने प्रगति गर्न सकिने उदाहरण हो यो, यसलाई म भगवानको बरदान मान्छु । यस्तो उदाहरण विरलै भेटिन्छ,’ अरनिकोले सो ठाउाको उदाहरण दिदै भने । आफ्नो प्रयासले मात्र यो सम्भब नभएको छरछिमेक र यहााका व्यवसायीको प्रयासमा सम्भब भएको उनी बताउँछन् । डेरीबाट रेस्टुराँतिर पाइला डेरीको व्यवसाय गर्दागर्दै राजभण्डारी परिवारले फास्टफुडतिर हात हाल्यो । महाबौद्धमा आफ्नै भवन । भाडा तिर्नु नपर्ने । भूँइ तलामा बेकरीका बिभिन्न आइटम, चिज, आइसक्रिम र केकहरु बिक्री हुन थाल्यो । माथिल्लो तलामा रेस्टुराँ । जहाँ बर्गर, पिज्जा, लगायतका आइटम बिक्रि हुन्छन् । डेरी जस्तै रेस्टुराँ क्षेत्रमा पनि एन्डिज आइसक्रिम एन्ड फास्ट फुडले राम्रै बजार लियो । राजधानीमा यसका शाखा बिस्तार हुँदै गए । एन्डिजका निर्देशक अरनिकोका अनुसार दैनिक रेस्टुराँले २ लाख रुपैयाँ बराबर कारोबार गर्छ । यसमा लगानी भने ५ करोड रुपैयाँ नाघिसकेको उनी बताउँछन् । कुनै बेला रेस्टुराँले पाँच वटा शाखा विस्तार गरिसकेको थियो । देशमा माओवादी सशस्त्र विद्रोह सुरु भएपछि शाखाहरु खुम्चिए । अहिले महाबौद्ध बाहेक मरु गणेशस्थानमा पनि यसको शाखा छ । रेस्टुराँले एक सय जनालाई रोजगारी दिएको छ । कोभिड १९ को महामारीपछि ७ महिना रेस्टुराँ बन्द भयो । आफ्नै भवन, भाडा तिर्न नपरेकोले ठूलो असर नगरेको अरनिको बताउँछन् । अब त रेस्टुराँको व्यापारले गति पक्रिन थालिसकेको छ । तर, सरकारले ९ बजे नै होटल, रेस्टुराँ बन्द गर्ने क्रम तत्काल रोक्नु पर्ने उनले माग गरे । १२/१ बजे सम्म खोल्न दिए अझै चहलपहल बढ्नेमा उनलाई विश्वास छ । ‘व्यापार र व्यापारीप्रति सरकार संकिर्ण छ, पर्यटकहरुले खर्च गर्ने वातावरण पनि त हुनुपर्यो,’ उनी भन्छन् ।
अनि जन्मियो एनएमसी कोप
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अर्थात एनएमसी कोपको इतिहासँग एउटा पृथक र दुःखद घटना जोडिएको छ । जतिखेर मानिसहरुमा नियमित बचतको बानी थिएन । मानिसमा त्यही बचतको बानी बसाल्न ठूलो भूमिका खेलेको छ नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले । सुदूर पूर्वको झापामा अवस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना २०५० साल फागुन २४ गते तदनुसार सन् १९९४ मार्च ८ तारिखमा भयो । यो सहकारी स्थापना हुनु पूर्व भने यहाँको सहकारी अभ्यास भने पृथक खालको थियो । झापा जिल्ला छिमेकी राष्ट्र भारतसँगै जोडिएको छ । झापाका मानिसहरु नेपालका जिल्लाहरुभन्दा पनि भारतका विभिन्न ठाउँको बढी प्रभावमा पर्छन् । अर्थात यहाँका मानिसहरु बढी भारतसँग नजिक छन् । नजिक यस मानेमा कि उनीहरु नुनदेखि सुनसम्मको कारोबार भारतीय बजार सिलिगुडीमै गर्छन् । त्यसैले पनि उनीहरुको व्यापारिक आत्मियता भारतसँग बढी छ । त्यही व्यापारिक आत्मियताकै कारण झापाका केही बुद्धिजिवीहरुले त्यसताका पैसा बचत गर्नकै लागि भनेर भारतको कम्पनीलाई बुझाउँथे । त्यो समयमा स्थानीयस्तरमा अर्थात झापामा आएर भारतीय कम्पनीहरुले पैसा जम्मा गरेर बचतको लागि भनेर लैजान्थे । तर, विडम्बना आफुले जसोतसो बचतको लागि भनेर जम्मा गरेको पैसा भारतीय कम्पनीले फिर्ता नगरेपछि ठूलो समस्यामा परे स्थानीयहरु । यसरी वर्षेनी उठाएको पैसा फिर्ता नआउने भएपछि स्थानीय २६ जना सदस्यहरु मिलेर एउटा सहकारी खाल्ने निधो गरे र त्यही योजनासँग जोडेर आयो एनएमसी कोप अर्थात नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड । एनएमसी कोपको जन्मसँगै वर्षेनी ठगिएका स्थानीयहरुले ठगहरुबाट मुक्ति पाए । झापालीहरुले जसोतसो बचतका लागि छुट्याएको पैसा जम्मा गर्ने विश्वासिलो प्लेटफर्म बन्यो एनएमसी । वर्षौंदेखि पीडित बन्दै आएका स्थानीयहरुले थप पीडित बन्नु परेन । विस्तारै भारतीय कम्पनीबाट ठगिएका पीडितहरुको घाउमा मल्हम लगाउँदै आफ्ना सदस्यहरुलाई खुसी पार्ने सफल सहकारीका रुपमा परिचित बन्यो एनएमसी । सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई अवलम्बन गर्दै एनएमसीलाई अहिले २७ वर्ष पुगेको छ । एनएमसीको गन्तव्य ठूलो छ । त्यही गन्तव्य सँसँगै आफ्ना सदस्यहरुलाई पनि राहत तथा खुसी पार्ने चुनौती थपिएको बताउँछन् नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद उप्रेती । २७ वर्षको यात्रामा संस्थाले विभिन्न व्यापार व्यवसाय गर्दै आएको छ । ‘आगामी दिनमा संस्थाले सदस्य र समुदायको विकास एवम् जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने रणनीति छ, अहिले हामीले नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा बैङ्किङ कारोबार, डेरी व्यवसाय, सहकारी पसल, चिया व्यवसाय र एकिकृत नमुना कृषि फर्म गरी ५ वटा व्यवसाय सुरु गरेका छौं,’ सीईओ उप्रेतीले भने । करिब ११ अर्बको वासलात ९५ हजार सदस्य साढे दुई दशकभन्दा अगाडि स्थापना भएको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको वित्तीय विवरण नेपाली वाणिज्य बैंकहरुसँग तुलना गर्न योग्य छ । सो सहकारी संस्थाको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार कुल १० अर्ब ९५ करोड ६९ लाख ३९ हजार रुपैयाँको वासलात छ । २६ जनाबाट सुरु भएको एनएमसीले अहिले सदस्यहरुमा पनि ठूलो फड्को मारेको छ । सुरुवाती चरणमा अर्थात २०५० सालमा २ लाख ५३ हजार रुपैयाँबाट सुरु गरेको यो सहकारीको पुँजी रफ्तारमा वृद्धि हुँदै गएको छ । २०७० सालसम्म ९ हजार सेयर सदस्यमा सीमित एनएमसी २०७७ सम्म आइपुग्दा ९५ हजार सदस्य बनाउन सफल भएको छ । जुन आफुलाई नेपालको उत्कृष्ट सहकारी भनेर पनि दावी गर्छ । हाल एनएमसीमा कुल ९५ हजार ८ सय जना सदस्य आवद्ध छन् । एनएमसी सयौंलाई रोजगारी प्रदान गर्ने सहकारी संस्था मात्र होइन स्वरोजगार बन्नका लागि काम सिकाउने एउटा पाठशाला पनि बनेको छ । चालु आर्थिक वर्षमा कुल ११ अर्ब ५३ करोड ९४ लाख रुपैयाँको वासालात बनाउने सहकारीको योजना छ । २०५० सालमा २ लाख ५३ हजार जम्मा गरेर २ लाख २७ हजार रुपैयाँ कर्जा लगानी गरेको यो सहकारीले २०७७ सम्म आइपुग्दा ८ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीले वर्षेनी नाफा पनि बढाउँदै गएको छ । आजभन्दा वर्ष अगाडि अर्थात २०७५ मा ४ करोड नाफामा रहेको कम्पनी अहिले करिब १७ करोड नाफा गर्न सफल भएको छ । मौलिक पहिचानमा उच्च प्राथमिकता सहकारीले सदस्यलाई नाफा कमाएर वितरण गर्ने मात्र होइन नागरिकलाई संस्कार र शिस्टाचार पनि सिकाइरहेको छ । विभिन्न समय र कालखण्डमा एनएमसीले आफ्ना सेयर सदस्य र समस्त नागरिकहरुका लागि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । मौलिक पहिचानलाई उजागर गर्नको लागि अभियानमार्फत सचेतनामुलक कार्यक्रमहरु एनएमसीका प्राथमिकताका विषयहरु हुन् । एनएमसी टाइमको पालना, सरसफाइ अभियान, नमस्ते अभियान, सुत्केरी भेटघाट, नवजात शिशु भेटघाट, समवेदनामा उपस्थिति, सामाजिक योगदानमा मेरो एक रुपियाँ र सदस्यहरुप्रति अपनत्व र मैत्रीभावको विकासका लागि एनएमसी ट्याग लगायतका अभियानहरु एनएमसीका प्रमुख तथा परिचित अभियानहरु हुन् । जो स्थानीय स्तरमा सहकारी मात्र होइन एक अब्बल तथा उदाहरणिय अभिभावकका रुपमा परिचित छ । कोरोनाकालमा एनएमसी जव विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संन्त्रास छायो, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका लागि आम नागरिकहरुलाई साथ सहयोग गर्ने एक ठूलो अवसरका रुपमा स्थापित भयो । जसले एनएमसीलाई थप परिचित र थप जिम्मेवार बन्ने चुनौती देखा पर्यो । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा मात्र होइन कोरोनाकै कारण समस्यामा परेका धेरै नागरिकहरुको अभिभावक एनएमसी बन्यो । कोरोना भाइरसकै समयमा एनएमसीले झापा जिल्लाका १५ वटै स्थानीय निकायहरु ३४ हजार किलो चामल वितरण गर्यो । जसले एक छाक खान नपाएका गरिबहरुलाई ठूलो राहत मिलेको उप्रेती बताउँछन् । ‘कोरोको कारणले खानै नपाउने अवस्था पनि सिर्जना भयो, त्यतिखेर सहयोग तथा साथ दिने चुनौती हामी माथि आइलाग्यो, हामीले सहजै राहत तथा उद्दारको काम गर्यौं, यसले पनि हामीलाई थप जिम्मेवार बन्न उत्प्रेरित गर्यो,’ उनले भने । सीईओ उप्रेतीले कोरोनाको समयमा बचत खातामा न्यून बचत भएका प्रति सदस्यलाई ५ हजार सापटी रकम प्रदान, राष्ट्रिय सहकारी महासंघ मार्फत कोरोना कोषमा २ लाख सहयोग, कोरोनाकालमा ब्याज तथा हर्जानामा छुट, स्वास्थ्य मापदण्ड अपनाउँदै सबै व्यवसाय मार्फत सेवा प्रवाह लगायतका सामाजिक कार्यहरु गरेको बताए । यस्तै, उप्रेतीले एनएमसीले सदस्यहरुलाई १ लाख देखि ५ लाखसम्मको दुर्घटना (मुत्यु) राहत सुविधा, १० हजार रुपैयाँसम्मको दुर्घटना उपचार राहत सुविधा, २५ हजारसम्मको दीर्घरोग उपचार एवम् राहत सुविधा, व्यवसायको क्षतिमा २५ हजारसम्मको राहत सुिवधा, ७५ हजार सम्मको किरिया खर्च राहत सुविधा, प्राकृतिक प्रकोपबाट सदस्यको व्यवसायमा क्षति भएमा सहुलियत कर्जा लगायतका राहतका सुविधा दिँदै आएको बताए । फस्टाउँदै डेरी व्यवसाय नेपाल बहुउद्धेश्यीय संस्थाको पूर्ण स्वामित्व रहने गरी २०७२ सालमा स्थापना भयो एनएमसी डेरी उद्योग । अहिले पूर्वी झापा मोरङ, सुनसरी र इलाममा एनएमसी डेरीकै प्रडक्ड फष्टाएको छ । १५ करोड रुपैयाँभन्दा बढी लागनी रहेको एनएमसी डेरी उद्योगमा यसमा ४ हजारभन्दा बढी किसान आवद्ध रहेको एनएमसी डेरीका प्रमुख तथा सो सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद कोइराला बताउँछन् । उनका अनुसार अहिले सो डेरी उद्योगले १५ वटा दुग्ध प्रडक्टहरु उत्पादन गर्दै आएको छ । ‘किसानले उत्पादन गरेको दुधको गुणस्तरीयतादेखि उपभोक्तासम्म पुग्ने दुधको गुणस्तरियताको कायम राख्ने काम एनएमसीले गर्छ, एनएमसीले उत्पादन गरेका दुग्धजन्य पदार्थहरु उच्च र अब्बल छन् भन्ने कूरा नेपाल सरकारको गुणस्तर कार्यालयले समेत प्रमाणित गरेको छ, पटक–पटक भएका खाद्य मेलामा उच्चस्तरको प्रडक्ट भएको प्रमाणपत्र हामीले पाएका छौं, अहिले यहाँको उपभोक्ताको रोजाई नै एनएमसी डेरीको प्रडक्ट हो,’ कोइरालालले भने । एनएमसीले उत्पादन गर्ने दुग्धजन्य प्रडक्ट उनका अनुसार अहिले दैनिक १२ हजार दुध उत्पादन तथा प्रशोधन गरिन्छ । ‘एनएमसी डेरीका उत्पादनहरु झापा, मोरङ, सुनसरी र इलाम लगायतका जिल्लाहरुमा जाने गरेका छन् । ‘स्थानीय स्तरको दुध संकलन गर्नको लागि ३ सयभन्दा बढी संकलन केन्द्र रहेका छन्, हामीले दुधको गुणस्तरियता कायम गर्नको लागि सबै उपायहरु अवलम्बन गरेका छौं, त्यसैले पनि हाम्रो उत्पादनका आकर्षण बढ्दै गएको छ,’ उनले भने । गाई फार्म ‘एनएमसीको प्रडक्ट पाइएन भने मात्र अन्य प्रडक्टहरु प्रयोग गर्नु हुन्छ अन्यथा उनीहरुको पहिलो प्राथमिकता नै एनएमसीका प्रडक्टहरु हुन्, हामीले हाम्रा सदस्यहरुलाई पूर्ण रुपमा सन्तुष्टि दिन सकेका छौं । अहिले हामीले उत्पादनको सीमितताको कारणले झापा मोरङ, सुनसरी र इलाममै मात्र सिमीत छौं, विस्तारै यसलाई विस्तार गर्दै लैजान्छौं,’ उनले भने । काम सिकाउने कृषि फर्म पनि एनएमसीले विगत एक डेढ वर्षदेखि एकिकृत नमुना कृषि फर्म पनि सुरु गरेको छ । १६ विघा क्षेत्रफलमा विभिन्न जातका तरकारी, गाई पालन, माछा पालन गर्ने योजना रहेको छ । सीईओ उप्रेतीका अनुसार अहिले सो परियोजनाको लागि आवश्यक भौतिक संरचना तथा जग्गामा १२ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । उनका अनुसार सो एकिकृत नमुना कृषि फर्मको लक्ष्य भनेको वेरोजगारह युवाहरु तथा किसानहरुलाई काम सिकाएर स्वरोजगार बनाउने हो । ‘अहिले कृषि फर्ममा १३ वटा गाईहरु छन्, यो वर्षमा ५० गाई पाल्ने योजना रहेको छ, हामीले व्यवसाय मात्र होइन वयवसाय यसरी गर्नु पर्छ है भनेर सिकाउँछौं पनि, कृषि फर्ममा गाई पालन, माछा पालन, साग सब्जी तरकारी उत्पादन गर्ने गरिन्छ,’ उप्रेतीले भने । एनएमसीले सञ्चालनमा ल्याएकाे एटीएम उनका अनुसार यो मेगा प्रोजेक्ट हो । यसका लागि ५० करोडभन्दा बढी लगानी आवश्यक छ । अहिले अनुमानित लागत साढे ८ करोड रुपैयाँ भएपनि डेढ वर्षपछि यसको लागत २० करोड रुपैयाँ पुर्याउने उनको भनाई छ । उनले भने ‘अहिले ३०/३५ जनाले रोजगारी पाएका छन्, परियोजना हजारौं जनाले रोजगारी पाउँछन्, काम सिक्ने पाठशालाको रुपमा पनि हामी यसलाई स्थापित गर्छौं ।’ एटीएम सञ्चालन गर्ने पहिलो सहकारी नेपाल बहुउद्धेश्यीय सहकारी संस्था (एनएमसी)ले बैंकिङ व्यवसाय पनि गर्दै आएको छ । जुन प्रदेश एककै सबैभन्दा पहिला एटीएम सञ्चालन गर्ने सहकारीका रुपमा परिचित छ । एनएमसीले मोबाइल बैङ्किङ सेवामा पनि फड्को मार्दै गएको छ । संस्थाको आफ्नै छुट्टै वाइरेल लोकल एरिया नेटवर्क सम्बन्धी ब्यबस्थापा पनि रहेको छ । सम्पूर्ण व्यवसायमा ईलेक्ट्रोनिक हाँजिरीको सुविधा पनि रहेको छ । एनएमसीका सदस्यहरुले इन्टरनेटको माध्यममार्फत पनि संस्थाको सेवा लिन सक्छन् । यी विविध कारणले पनि एनएमसी विभिन्न समयमा विभिन्न संस्थाबाट मात्र होइन नेपाल सरकारबाट पनि सम्मान तथा कदर पत्र हाँसिल गर्न सफल भएको छ ।