नबिल बैंक : समाजको सारथी, राष्ट्रको गौरव
नेपाली बैंक तथा वित्तीय क्षेत्रमा पृथक पहिचान बनाउन सफल बैंक हो, नबिल । सन् १९८४ मा मुलुककै पहिलो ज्वोइन्ट भेन्चर बैंकका रूपमा स्थापित नबिलले विगत चार दशकको अवधिमा वित्तीय समावेशीकरण, नवप्रवर्तन, डिजिटल बैंकिङका साथै प्राथमिक क्षेत्रमा दीर्घकालीन लगानीमार्फत देशको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गरेको छ । कुनैबेला मुलुकमा साहु तथा महाजनबाट पैसा लिएर आफ्नो खर्च धान्ने नेपाली समाजलाई नबिलले बैंकिङ कारोबार सिकायो । उच्च सरकारी अधिकारीहरूसँग पहुँच हुने वर्गमा सीमित बैंकिङलाई पहुँच नहुने वर्गसामु पुर्याउन नबिलले ठूलो मिहिनेत गर्यो । चिटिक्क परेको बैंकको ढोकाभित्र छिर्न डराउने नेपालीहरूलाई सफा सोफामा बसेर बैंकिङ कारोबार गर्न नबिलले उत्प्रेरित गर्यो । आज घरबाटै बैंकिङ, मोबाइलबाटै कारोबार गर्ने अवस्थामा समाजलाई पुर्याउने नबिल बैंकको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । त्यसैले पनि बैंकिङ क्षेत्रमा नबिल बैंकप्रतिको विश्वास उच्च छ । बैंकमा पूर्ण विश्वाससहित ढुक्कले पैसा राख्ने र ऋण लिने अभ्यासले प्रसय पाएको छ । ढड्डा र घर्राबाट चल्ने पुरानो ढर्राको बैंकिङ अभ्यासलाई नबिलले प्रविधिमैत्री बनाएर बैंकिङ कारोबारलाई पूर्णरूपमा कम्प्युटराइज गर्न सफल भएको छ । र, सेवाग्राहीलाई पनि त्यसमा अभ्यस्त पार्दै लगेको छ । नबिलले पहिलो पटक आधुनिक कम्प्युटराइज्ड बैंकिङ प्रणाली सुरु गर्दै सेवामुखी प्रतिस्पर्धात्मक बैंकिङ वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यस अवधिमा नबिलले बैंकिङ क्षेत्रमा प्रविधिमा नेतृत्व, पूर्वाधार तथा उत्पादक क्षेत्रमा उच्च कर्जा प्रवाह र राजस्व योगदानमार्फत राष्ट्रिय विकासमा महत्त्वपूर्ण टेवा पुर्याएको छ । नबिल बैंक निरन्तर रूपमा नेपालको बैंकिङ क्षेत्रमा आधुनिकीकरणको नेतृत्वकर्ताको रूपमा आफूलाई चिनाउँदै आएको छ । बैंकले सन् १९९२ मा नेपालको इतिहासमै पहिलो पटक क्रेडिट कार्ड सेवा सुरु गरेर आफूलाई लिडरका रूपमा परिचित गरायो भने त्यसपछि एटीएम तथा पीओएस सेवाहरूको विस्तारले भुक्तानी प्रणालीलाई डिजिटल बनाउन बैंकिङ क्षेत्रमै पायोनियर बैंकका रूपमा चिनाउन सफल भयो । पछिल्ला वर्षहरूमा नबिलले डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै छिटो, सरल र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गरिरहेको छ । नबिलको ‘एन बैंक’ एप तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीले शाखा धाउनु नपर्ने वातावरण सिर्जना भएको छ । बैंकमा खाता खोल्न तथा वित्तीय कारोबार गर्न भौतिकरूपमा शाखा कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभ्यासमा नबिलले अग्रणी भूमिका खेलिरहेको छ । यसले सेवाग्राहीको समय तथा यात्रा खर्च मात्रै घटाएको छैन, शाखामा पुग्न नसक्ने आम नागरिकलाई पनि सहज बैंकिङ पहुँच विस्तार गरिदिएको छ । नबिल बैंकले डिजिटल तथा रोबोटिक प्रोसेस अटोमेशनद्वारा काम गर्दै आएको छ । यसले सेवाको गुणस्तर, समय व्यवस्थापन तथा दिगो बैंकिङलाई मजबुत बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली बताउँछन् । सीईओ ज्ञवालीका अनुसार नबिल बैंकको विकास योगदानको मूल आधार नै वित्तीय समावेशीकरण हो । बैंकले सेवाविहीन तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा शाखा तथा सेवा विस्तार गरेर दूरदराजका समुदायलाई पनि औपचारिक रूपमा बैंकिङ प्रणालीमा ल्याएको छ । यसले बचत गर्ने बानीको विकास, सुरक्षित तथा पारदर्शी वित्तीय सेवामा पहुँच, उद्यमशीलता प्रवर्द्धन तथा वित्तीय जोखिम व्यवस्थापनमा सहयोग पुर्याएको उनको दाबी छ। पूर्वाधार निर्माण र ऊर्जा विकासमा अग्रणी बैंक नबिल बैंकले नेपालको पूर्वाधार तथा ऊर्जा क्षेत्रमा रूपान्तरणकारी भूमिका खेलेको छ । नेपालमा पूर्वाधार बैंक नहुँदा नै नबिलले परियोजना फाइनान्सिङ र कर्पोरेट/होलसेल बैंकिङको क्षमता विकास गरेर व्यवसायीको मन जितेको थियो । र, अहिले पनि व्यवसायीको कारोबारका लागि नबिल नै रोजाइमा पर्ने गरेको छ। नबिलले सन् १९९८ मा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा लगानी गरेर निजी क्षेत्रको ऊर्जा विकासमा नयाँ अध्यायको सुरुवात गरेको थियो । यो आयोजना निजी क्षेत्रबाट विकास भएको एक मेगावाटभन्दा ठूलो क्षमताको पहिलो आयोजना थियो । जलविद्युत् आयोजनामा वित्तीयकरण गर्ने पहिलो व्यावसायिक बैंक नै नबिल हो । सीईओ ज्ञवालीका अनुसार नबिल बैंकले सुरुदेखि नै जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको छ । जलविद्युत परियोजनाहरू जटिल र जोखिमपूर्ण भए पनि नबिलको सो कदमले ऊर्जा क्षेत्रमै विश्वास जगाएको छ । र, अन्य बैंकहरूलाई पनि ऊर्जा क्षेत्रमा लगानी गर्न नबिलले नै प्रेरित गर्यो । आज बैंकहरूको लगानीको मुख्य क्षेत्र नै जलविद्युत क्षेत्र बनिरहेको छ । हाल ऊर्जा क्षेत्रमा नबिलको योगदान झनै व्यापक छ । जलविद्युत्, सौर्य, नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन र अन्य ऊर्जा परियोजनामा नबिलले लगानी बढाउँदै गएको छ । नबिल बैंकले १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा ४ अर्ब ४६ करोड, ७३ मेगावाटको सानिमा मध्य तमोरमा १ अर्ब ६७ करोड, ४० मेगावाटको माथिल्लो चमेलियामा २ अर्ब १४ करोड र ३७ मेगावाटको त्रिशूली–३ बी जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँ लगानी गरेको छ । बढ्दै गएको लगानीले नेपालको ऊर्जा उत्पादन, औद्योगिक उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक दिगोपनामा योगदान पुगिरहेको सीईओ ज्ञवालीको धारणा छ । उनका अनुसार नबिल सौर्य ग्रिड परियोजनामा पनि प्रवेश गरेको छ । जसले हरित ऊर्जा तथा सुक्खा महिनाको ऊर्जा सन्तुलन गर्न सहयोग गर्नेछ । सीईओ ज्ञवालीले बैंकले ऊर्जा क्षेत्रमा कुल ७५ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता गरेको जानकारी दिए । बैंकले प्रतिबद्धता गरेको विद्युतको क्षमता ३ हजार १६४.२२ मेगावाट हो । बैंकले हालसम्म ५४ वटा जलविद्युत परियोजनामा लगानी गरेको छ, जसमध्ये चारवटा सौर्य ऊर्जा परियोजना पनि छन् । नबिलकै साथ सहयोगमा ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत परियोजना निर्माण हुन सफल भयो । बैंकले सो जलविद्युतको उपकरणहरू भित्र्याउनका लागि आवश्यक प्रतितपत्र (एलसी)को व्यवस्था गरिदिएको थियो । त्यस समयमा बैंकको पुँजी सानो हुँदा पनि यति ठूलो प्रतिबद्धता कठिन थियो । तर, नबिलले जोखिम साझेदारीसहित नेतृत्व गर्दै बैंकिङ क्षेत्रमा नयाँ काम सम्पन्न गरी आफूलाई अब्बल बैंकका रूपमा चिनाएको थियो । यसले अन्तर्राष्ट्रिय बैंक तथा लगानीकर्ताहरूमाझ नेपाली बैंकमाथि विश्वास बढाएको सीईओ ज्ञवाली बताउँछन्। नेपालभर सडक, पुल, अस्पताल, कार्यालय भवन, जलविद्युत, राजमार्ग निर्माण गर्ने ठेकेदारहरूलाई आवश्यक बैंक ग्यारेन्टी, कर्जा सुविधा तथा अन्य वित्तीय उपकरण प्रदान गर्दै नबिल निर्माण क्षेत्रको विकासको एक महत्वपूर्ण स्टेक होल्डर बन्दै आएको छ । सार्वजनिक खरिद ऐन अनुसार ठेकेदारले बैंक ग्यारेन्टी सुविधाबिना निर्माण कार्यको बिड गर्न सक्दैनन् । नबिल बैंककै अग्रणी भूमिका र सहयोगले ठूल्ठूला परियोजनाहरू निर्माणमा टेवा पुगेको बैंकले दाबी गरेको छ । नबिलले सिमेन्ट, उड्डयन, दूरसञ्चार तथा ठूल्ठूला उद्योगहरूको स्थापना र विस्तारका लागि कर्जा विस्तार गरेर देशको अर्थतन्त्रमा सहयोग गरिरहेको छ । बैंकका अनुसार हालसम्म १० वटा सिमेन्ट उद्योगमा ८.५ अर्ब कर्जा लगानी भइसकेको छ । प्रत्येक दिन २६ हजार ५०० टन उत्पादन क्षमता सिमेन्ट उद्योगमा उक्त लगानी भएको हो । बैंकले कुल क्षमताको ३५ प्रतिशत अर्थात् लगानी गरेको जनाएको छ । जसले कुनै बेला आयात गर्नुपर्ने बाध्यतामा रहेको सिमेन्ट क्षेत्र अहिले निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । नेपालबाट अहिले सिमेन्ट निर्यातसमेत हुन थालेको छ । कर भुक्तानी र सामाजिक कार्यमा सधैं अगाडि नबिल बैंकले कर भुक्तानीमार्फत राज्यलाई पनि ठूलो योगदान गरेको छ । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमध्ये सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नबिल ८ पटकसम्म सरकारबाट सम्मानित भइसकेको छ । आयकर ऐनको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले नाफामा ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०६७/६८ मा बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा नबिल बैंक पहिलो पटक सम्मानित भएको थियो । त्यसपछि आव २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७९/८० मा उत्कृष्ट करदाता बनेर सरकारबाट सम्मानित भएको थियो । बैंकले पछिल्लो एक दशकमा मात्रै साढे १९ अर्ब रुपैयाँ कर तिरेको बैंकको वित्तीय विवरणबाट देखिन्छ । बैंकले डिजिटल तथा औपचारिक बैंकिङ विस्तारले आर्थिक क्रियाकलाप पारदर्शी बनाउने, सुशासन बलियो बनाउने तथा दीर्घकालीन आर्थिक स्थिरता स्थापित गर्न मद्दत गरेको छ । नबिल बैंक सूचकमात्र अब्बल र अगाडि छैन, जनजीवनमा पनि ठूलो प्रभाव पारेको छ । नबिल सस्टेनेबल बैंकिङका माध्यमबाट सामाजिक क्षेत्र र सुशासनमा आधारित बैंकिङ अभ्यास गर्दै आएको छ । बैंकले प्रत्यक्षरूपमा हजारौंलाई रोजगारीमात्रै प्रदान गरेको छैन, देशमा समस्या परेको बेला ठूलो सहयोग पनि गर्दै आएको छ । बैंकले २०७२ को महाभूकम्पको समयमा प्रधानमन्त्री राहत कोषमा २ करोड १ लाख, दुई वर्षअघि रुकुम–पश्चिम र जाजरकोटमा भूकम्प जाँदा ९६ अस्थायी घर निर्माण गरिदिएको थियो भने बाढीपीडित ९० परिवारलाई फ्लड–सपोर्ट किट सहयोग गरेको थियो । यस्तै, कोभिडको समयमा वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सरकारी राहत कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको थियो भने सिन्धुपाल्चोकमा भूकम्प जाँदा ३१ घरधुरीलाई राहत सामग्री वितरण गरेको थियो । चार वर्षअघि टीकापुरमा बाढी आउँदा १ हजार बढी घरपरिवारलाई खाद्यान्न वितरण गरेको थियो । शिक्षाबाट पछाडि परेका समुदायका विद्यार्थीहरूको लागि छात्रवृत्ति, सरकारी विद्यालयहरूमा शैक्षिक सामग्री र डिजिटल सिकाइका उपकरणका साथै ब्रेल सामग्रीजस्ता समावेशी सिकाइ सहयोग उपलब्ध गराउन नबिल बैंक अग्रपङ्क्तिमा आउँछ । नबिलले १०४ वटा विद्यालयमा नबिल स्वच्छ खानेपानी अभियान सञ्चालन गरेर ९० हजार बढी शिक्षक तथा विद्यार्थीलाई लाभान्वित बनाएको छ । विद्यालयका किशोरीलाई सेनिटरी प्याड वितरण गरेर ५० हजार बढीलाई लाभान्वित बनाएको छ । यसैगरी, निःशुल्क कृत्रिम अंग वितरण, जटिल शल्यक्रिया तथा विशेष स्वास्थ्य आवश्यकता भएका व्यक्तिहरूका लागि सहयोग, विपन्न समुदायहरूका लागि स्वास्थ्य शिविर तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक चिकित्सा उपकरण उपलब्ध गराउने जस्ता पहलहरू गरेको छ । नबिल बैंकले युवाहरू, महिला समूह, साना तथा मध्यम उद्योग (एसएमई) र समुदायहरूलाई लक्षित गरी नियमित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप (नबिल एसएसई) मार्फत बैंकले विभिन्न व्यक्ति तथा स्टार्टअपहरूलाई दिगो सामाजिक उद्यम निर्माण गर्न मद्दत गरिरहेको छ । जसले जीविकोपार्जन र रोजगारमा सकारात्मक प्रभाव पारिरहेको छ । नबिल बैंकको यो अभियानले डिजिटल वित्तीय साक्षरता तथा ठगी सचेतनासहित करिब ४० हजार मानिस लाभान्वित भएका छन् भने ११ हजार बढीले नबिल एसएसईको तालिम लिएका छन् । यही अभियानबाट १९३ वटा सामाजिक उद्यम स्थापना भई १७ हजारले रोजगारी पाएको नबिलको दाबी छ । बैंकले अर्थतन्त्रमा योगदानसँगसँगै सामाजिक कार्य अन्तर्गत ‘क्लिन हिमालय’ अभियान अन्तर्गत ४५ टन फोहोर व्यवस्थापन गरेको दाबी गरेको छ । स्वस्थ सूचक, अब्बल प्रतिफल बैंकले समाज र देशको अर्थतन्त्रसँगै बैंकका सेयरधनीलाई पनि राम्रो प्रतिफल वितरण दिइरहेको छ । बैंकका हरेक वित्तीय सूचकहरू अब्बल देखिन्छन् । पछिल्लो वित्तीय विवरणअनुसार नबिलले ५ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सेयर पुँजी २७ अर्ब ५ करोड, जगेडा कोष ३२ अर्ब ४३ करोडसहित बैंकको कुल पुँजी कोष ६५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । बैंकले वित्तीय बजार, सरकार, सर्वसाधारण र सेयरधनीलाई पनि प्रत्येक वर्ष खुसी बनाउँदै गएको छ । बैंकले हालसम्म अधिकतम १४० प्रतिशतसम्म लाभांश वितरण गर्दै आएको छ भने विगत तीन दशकदेखि कुनै पनि वर्ष सेयरधनीको हात खाली गरेको छैन । नबिल बैंकलाई उच्च बिन्दुमा पुर्याउन यसका संस्थापक सेयरधनी र यस बैंकको व्यवस्थापकीय नेतृत्वमा बसेर काम गर्नेहरूको ठूलो योगदान छ । यस बैंकको मुख्य सेयरधनीहरूमा एनबी इन्टरनेशनल (३९.४४ प्रतिशत), आई.एफ.आई.सी. पी.एल.सी. बङ्गलादेश (७.७७ प्रतिशत), राष्ट्रिय बीमा कम्पनी (७.६३ प्रतिशत), निर्वाणकुमार चौधरी (०.७० प्रतिशत) र वरुण चौधरी (०.६७ प्रतिशत) रहेका छन् । बैंकमा स्वदेशी स्वामित्व ५२.३५ प्रतिशत अर्थात् १४ अर्ब १६ करोड ४७ लाख ९२ हजार ९११ रुपैयाँ र विदेशी लगानीकर्ताको स्वामित्व ४७.६५ प्रतिशत अर्थात् १२ अर्ब ८९ करोड २२ लाख ३ हजार ८१८ रुपैयाँ रहेको छ । फोर्ब्स सूचीमा रहेका अर्बपति विनोद चौधरी यस बैंकको मुख्य लगानीकर्ताको रूपमा परिचित छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै विभिन्न समयमा बैंकर्स ज्ञानेन्द्रप्रसाद ढुंगाना, अनिल केशरी शाह, सशीन जोशी, अनिल ज्ञवालीसहितले यस बैंकलाई वर्तमान अवस्थामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । नबिल बैंकको पहिलो अध्यक्ष सशीनारायण शाह, त्यसपछिका सत्यान्द्रप्यारा श्रेष्ठदेखि अहिलेका अध्यक्ष उपेन्द्र पौडेलले पनि नबिल बैंकलाई यो स्थानसम्म पुर्याउन महत्त्वपूर्ण योगदान गरेका छन् । नबिल बैंकले आधुनिक बैंकिङ, डिजिटल भुक्तानी, जलविद्युतमा वित्तीयकरण लगायतमा अग्रणी भूमिका खेलेको छ । बैंकले ऊर्जा परियोजना तथा ठूला पूर्वाधारहरूमा नेतृत्व गरेर राष्ट्र निर्माणको एक महत्त्वपूर्ण स्टेक होल्डरका रूपमा आफूलाई चिनाएको छ । बैंकले उद्योग, सिमेन्ट, सेवा क्षेत्रमा सहभागितामार्फत घरेलु उत्पादन तथा रोजगार प्रवर्द्धन गर्दै शिक्षा, स्वास्थ्य, विपद् राहत, वित्तीय साक्षरता, सामाजिक उद्यमशीलतामा व्यापक योगदान गरेकै कारण आज विकास नायकका रूपमा आफूलाई उभ्याएको छ । मनोज ज्ञवालीकै शब्दहरू : नबिल देशको पहिलो ज्वोइन्ट भेञ्चर बैंक हुँदै सुरुवाती दिनहरूमा बैंकिङ सेवा सर्वसाधारणसम्म पुर्याउन सफल भयो । बैंकको सबै लेखाजोखा कागजात तथा पासबुक र ढड्डामा हुने बैंकिङ अभ्यासलाई रूपान्तरण गर्दै नबिलले सबै हिसाब–किताबलाई कम्प्युटराइज गर्ने कामको थालनी गर्यो । बैंकको डेभिट तथा क्रेडिट कार्डको इनोभेसनमा पनि नबिल पहिलो बैंक हो । त्यतिबेलादेखि अहिलेसम्म नबिल विभिन्न प्रडक्टहरूमा पनि पायोनियर बैंकको रूपमा काम गर्दै आएको छ । अहिले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने काम पनि बैंकिङ क्षेत्रमै पहिलो हो । विविध प्रडक्ट, सेवा र इनोभेसनमा नबिल पायोनियर नै हो । १/२ लाख रुपैयाँ कर्जा लिएका उद्यमी, व्यवसायीहरू अहिले अर्बौंको नेटवर्थमा काम गरिरहेका छन् । नबिलले ऊर्जा तथा ठूला पूर्वाधारमा ठूलो रकम लगानी गरेर त्यो क्षेत्रका विकासमा ठूलो योगदान दिएको छ । परियोजना फाइनान्सिङ तथा ग्यारेन्टीमा हामीले उच्च जोखिम लिएर पनि देश निर्माणमा साथ दिइरहेका छौं । हामी देश बनाउने काममा सक्रिय छौं । सेवाग्राहीको मागअनुसारको प्रडक्ट ल्याउने र त्यो सँगै देशलाई योगदान दिनुपर्ने ठाउँमा पनि नबिल अगाडि छ । नबिल संस्थागत सुशासनमा अडिग छ । जहिले पनि हामी सस्टेनेवल बैंकिङको नारा लिएर काम गरिरहेका छौं । हामी निरन्तर बढी कर तिर्ने बैंकका रूपमा सम्मानित हुँदै आएको छौं । बैंकमा काम गर्न चाहनेहरूका लागि पनि नबिल पहिलो रोजाइमा छ । सेयरधनीको प्रतिफलमा पनि नबिल अगाडि छ । विगतमा हामी सबैभन्दा बढी लाभांश दिने बैंकका रूपमा परिचित थियौं । अहिले पनि १२.५ प्रतिशत लाभांश घोषणा गरेका छौं । मर्जरको कारणले लाभांश अहिले केही घटेको हो । बैंक कम्प्लायन्स, संस्थागत सुशासन, कर्मचारीको हकहितका लागि पहिलो रोजाइ बन्दै आएको छ । सगरमाथाको चुचुरोमा पुग्नुभन्दा बसिराख्न चु्नौती हुन्छ । हामी ठूलोभन्दा पनि बेस्ट बैंक भन्ने दौडमा छौं । नबिल बैंक भन्नेवित्तिकै जुन कन्फिडेन्स अहिले बजारमा छ, त्यसलाई थप मजबुत र विस्तार गर्न लागिरहेका छौं । नबिल बैंक अहिले ठूला सहरमा मात्रै होइन, दूरदराजमा पनि सेवा दिइरहेको छ । दूरदराजका शाखामा नाफा नभए पनि सेवाको हिसाबले देशभर २६८ शाखामार्फत काम गरिरहेका छौं । उद्यमीको विकास हुनुपर्छ भनेर नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप (एसएसई) सुरु गरेका छौं । त्यसले उद्यमीसँगै रोजगारी सिर्जना गर्ने काम गरेको छ । सातै प्रदेशमा उद्यमको विकासमा काम गरिरहेका छौं । बैंकिङ क्षेत्रले छरिएर रहेको पैसालाई एकीकृत गरेर कर्जा प्रवाह गर्ने हो । तर, पछिल्लो समय बैंकिङ क्षेत्रले वित्तीय विवरणमात्रै हेर्यो । हामीले संकलन गरेको निक्षेपले कति व्यवसाय विस्तारमा काम गर्यो ? देशको जीडीपीमा कति काम गर्यो । रोजगारी कति सिर्जना गर्यो । अर्थतन्त्रमा के कस्तो प्रभाव गर्यो ? भन्ने विषय बुझ्नुपर्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि बैंकसँगै त्यो क्षेत्र र देशलाई हेर्ने हो । अबको बैंकिङ डिजिटल बैंकबाट अगाडि बढ्छ । अब कर्जा प्रवाह पनि डिजिटलबाट हुनुपर्छ । त्यसको लागि पूर्वाधार निर्माण गरेर त्यसमा पनि लाग्नुपर्छ । नबिल डिजिटल बैंकिङमा थप अगाडि हुन चाहन्छ । घरबाटै बैंकिङ सेवासँगै सुरक्षित बैंकिङ गर्नका लागि हामीले तयारी गरिरहेका छौं । हामीले गरेको लगानीले समाज र वातावरणमा सकारात्मक प्रभाव पार्नुपर्छ । हामीले गरेको कामलाई मूल्यांकन गर्दै विकासन्युज जस्तो प्रोफेसनल मिडियाले विकास नायक अवार्डबाट नबिल बैंकलाई सम्मान गर्न लागेको विषय धेरै महत्त्वपूर्ण हो । यसबाट हामी धेरै खुसी छौं । यसले हामी र समग्र बैंकिङ क्षेत्रलाई आगामी दिनमा थप परिष्कृत भएर काम गर्न उत्प्रेरित गर्छ ।
नेपाली मष्तिस्क, अन्तर्राष्ट्रिय बजार
सूचना प्रविधि (आईटी) क्षेत्रमा एकपछि अर्को लगानी गर्दै आइएमई ग्रुपले नेपाली सफ्टवेयरलाई विश्व बजारमा स्थापित गरिरहेको छ । नेपालमै उत्पादन भएका आईटी सफ्टवेयर भारत, मलेसिया, दक्षिण कोरिया, जापानसहित विश्वका नौ देशमा निर्यात भइरहेका छन् । आईटी क्षेत्रमार्फत हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ भने लाखौं व्यक्ति अप्रत्यक्ष रूपमा लाभान्वित छन् । बैंक/वित्तीय संस्था र अस्पतालमा प्रयोग भइरहेको यही ‘प्रडक्ट’ आज नेपालको करिब एक तिहाइ जनसङ्ख्याको दैनिकीसँग जोडिएको छ । तीन दर्जनभन्दा बढी कम्पनीको नेतृत्व गरिरहेका छन् आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, जसले आईटीलाई व्यवसाय मात्र होइन, राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउने दिशामा अघि बढाइरहेका छन् । हेमराज ढकाल । सुरुवाती यात्रा : रहरबाट रणनीतिसम्म उच्च शिक्षामा विज्ञान विषय पढेका हेमराजलाई सूचना प्रविधि र दिनप्रतिदिन सार्वजनिक हुने नयाँ ‘प्रडक्ट’सँग अभ्यस्त हुने रहर जाग्छ । उनी रहरलाई रहरमै सीमित राख्दैनन् । गहन अध्ययन गर्छन्, सम्भावना र अवसर केलाउँछन् । देश र जनताका लागि उपयुक्त महसुस हुने वित्तीय निर्णय दाइ चन्द्रप्रसाद ढकालसँग सुनाउँछन् । ‘आहा ! गज्जब भाइ !’ दाइले धाप मारेसँगै हेमराजसहितको एउटा ‘टिम’ अघि बढ्छ । रहरैरहरमा सुरु गरेको यात्रा यस्तो भइदियो कि हेमराजले आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । आइएमई ग्रुपका विभिन्न आईटी कम्पनीमा एक हजारभन्दा बढी जनाले रोजगारी पाएका छन् । नेपालको युवा जनशक्तिको क्षमता र योग्यतालाई पहिचान गर्दै उनीहरूलाई नेपालमै रोजगारी दिने गरी काम गरिरहेका छौं । उनीहरूको क्षमतालाई उपयोग गरेर उत्कृष्ट प्रविधिजन्य उत्पादन विकास गर्न सकिन्छ भन्ने विश्वास छ । यसले युवालाई देशमै रोजगारी, अवसर र ग्लोबल एक्सपोजर दिन सक्छ । जापानको अनुभव र रेमिट्यान्सको जन्म देश कागजमै चलिरहेको थियो । सूचना प्रविधिको विकास र विस्तारसँग राज्य संयन्त्र अभ्यस्त भइसकेको थिएन । यही परिवेशमा अध्ययनका लागि जापान पुगेका हेमराजले त्यहाँ रहेका नेपालीले नेपालमा पैसा पठाउँदा भोग्नुपरेको सकस नजिकबाट अनुभूति गरे । यस विषयमा दाइ चन्द्र ढकालसँग गहिरो छलफलपछि ‘आइएमई रेमिट्यान्स’ स्थापना गर्ने निर्णयमा उनीहरू पुगे । लामो मिहिनेत र प्रक्रिया पूरा गरेपछि सन् १९९८ मा नेपाल राष्ट्र बैंकबाट औपचारिक रूपमा आइएमईले नेपालमा रेमिट्यान्स भित्राउने अनुमति प्राप्त गर्यो । तर, त्यसबेला जापानमै रेमिट्यान्ससम्बन्धी कानुनी संरचना तयार नभइसकेकाले प्रारम्भिक चरणमा मलेसियाबाट रेमिट्यान्स भित्राउने कामको थालनी गरियो । सन् २००९ देखि भने जापानबाटै रेमिट्यान्स सेवा सुरु भयो । त्यही ‘आइएमई रेमिट्यान्स’ नै आजको आईटी यात्राको जननी भएको हेमराज ढकाल बताउँछन् । ‘त्यो बेला विदेशबाट नेपालका कुनाकुप्चामा रेमिट्यान्स पठाउनु पनि सूचना प्रविधिकै देन हो, सूचना प्रविधिको विकासमा आइएमईले ठूलो भूमिका खेलेको छ, हाम्रो ग्रुपका लागि पनि त्यो बलियो जग थियो । विश्वका जुनसुकै ठाउँबाट नेपालका अति दुर्गम जुम्ला, हुम्लामा पनि केही क्षणमै रेमिट्यान्स पठाउन सक्ने प्रणालीको विकास गर्नु आफैमा ठूलो सफलता हो । आज दक्षिण कोरियाको ठूलो रेमिट्यान्स कम्पनी जीएमई कोरियाले पनि हाम्रै सफ्टवेयर प्रयोग गरिरहेको छ,’ यसो भन्दै गर्दा ढकालको अनुहारमा चमक देखिन्थ्यो । आईएमई रेमिट्यान्स : आईटी यात्राको जग सन् २००४ मा ‘आईएमई फाइनान्सियल इन्स्टिच्युसन’ स्थापना गरेर आइएमई ग्रुपले वित्तीय क्षेत्रमा प्रवेश ग¥यो । वित्तीय क्षेत्रमा पनि यो समूहले सूचना प्रविधिको विकासलाई प्राथमिकता दियो । विश्वमा भइरहेको सूचना प्रविधिको विकासलाई आत्मसात र अनुशरण गर्दै सन् २००७ सालमा हेमराजकै नेतृत्वमा सूचना प्रविधि कम्पनी ‘स्विफ्ट टेक्नोलोजी’ स्थापना भयो । ढकालका अनुसार अहिले आइएमई ग्रुपमा पनि ‘स्विफ्ट टेक्नोलोजी’ मदर कम्पनीका रूपमा रहेर अन्य दर्जन हाराहारी ‘सब्सिडाइरी’ कम्पनीले काम गरिरहेका छन् । आइएमई ग्रुपका विभिन्न आईटी कम्पनीमा एक हजारभन्दा बढी जनाले रोजगारी पाएका छन् । नेपालको युवा जनशक्तिको क्षमता र योग्यतालाई पहिचान गर्दै उनीहरूलाई नेपालमै रोजगारी दिने गरी काम गरिरहेका छौं । उनीहरूको क्षमतालाई उपयोग गरेर उत्कृष्ट प्रविधिजन्य उत्पादन विकास गर्न सकिन्छ भन्ने विश्वास छ । यसले युवालाई देशमै रोजगारी, अवसर र ग्लोबल एक्सपोजर दिन सक्छ । सूचना प्रविधिको जग आइएमई रेमिट्यान्सले बसाले पनि ‘फ्याक्स’बाट आउने कारोबारले केही समय भने लगाउँथ्यो । तर, जब ‘स्विफ्ट टेक्नोलोजी’को स्थापना भयो, त्यसपछि वेबमा आधारित काम हुन थाल्यो । यसले विदेशबाट पैसा पठाउनेबित्तिकै नेपालमा हेर्न मिल्ने र चाँडै पठाउने प्रणालीको विकास भयो । ‘स्विफ्ट टेक्नोलोजी’को यो प्रविधिलाई त्यसपछि अन्य रेमिट्यान्स कम्पनीले पनि प्रयोग गर्न थाले । आवश्यकताअनुसार सफ्टवेयर विकास गरेर स्वदेश तथा विदेशमा बिक्री गर्ने काम ‘स्विफ्ट टेक्नोलोजी’ले गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक पर्ने नयाँ–नयाँ सफ्टवेयर तथा आईटी प्रडक्ट यो कम्पनीले उत्पादन गर्छ । ढकालका अनुसार मनि ट्रान्सफर, वालेट, मोबाइल बैंकिङ, रिटेल म्यानेजमेन्ट तथा कर्जा व्यवस्थापनलगायतका काम ग्रुपअन्तर्गतका विभिन्न कम्पनीले गर्दै आएका छन् । ग्रुपअन्तर्गतका आईटी कम्पनीमा एक हजारभन्दा बढी इञ्जिनियर कार्यरत छन् भने स्विफ्ट टेक्नोलोजीमा मात्र सय जना बढी इञ्जिनियरले काम गर्छन् । उनीहरूले सूचना प्रविधिको बजारमा नयाँ–नयाँ सफ्टवेयर र प्रडक्ट सार्वजनिक गरेर बजारलाई चलायमान बनाइरहेका छन् । दुई सय बढी देशका आईटी कम्पनीमा आफ्ना ग्राहक छन् भने एसिया, अमेरिका, अफ्रिका र युरोपका विभिन्न देशमा सेवा निर्यात गरिरहेको छ । ‘सफ्टवेयर विकास गरेर अमेरिका, क्यानडा, कोरिया, अष्ट्रेलिया, जापान, मलेसिया, भारत, कम्बोडिया, जिम्बावेलगायत देशमा निर्यात गरिरहेका छौं, निर्यातको परिमाणप्रति हामी सन्तुष्ट छौं,’ उनले भने । युवालाई आईटीमा आवद्ध गराएर आगामी दिनमा थप सफ्टवेयर निर्यात गर्ने योजना कम्पनीको भएको हेमराजले बताए । रेमिट्यान्सदेखि मोबाइल बैंकिङसम्म सन् २००७ देखि २०१२ सम्म रेमिट्यान्स प्रणाली, बिजनेस टु बिजनेस र बिजनेस टु कन्जुमर प्रणालीमा लागेको यो कम्पनी सन् २०१३ देखि २०१८ सम्म मोबाइल बैंकिङ र पेमेन्ट गेटवेमा केन्द्रित रह्यो । सन् २०१९ देखि हालसम्म मोबाइल बैंकिङसँगै डिजिटल बैंकिङ र कर्जा व्यवस्थापन प्रणालीमा काम गर्दै आएको छ । नेपाली बैंक÷वित्तीय क्षेत्र र बीमा कम्पनीले हेमराजकै कम्पनीबाट आफ्नो नियमित काम गरिरहेका छन् । स्विफ्ट टेक्नोलोजी स्थापना भएको तीन वर्षपछि अर्थात् सन् २०१० मा आइएमई ग्रुपले डिस होम मिडिया नेटवर्क स्थापना गर्यो । नेपालमा टेलिभिजन डिजिटाइजेसनको नेतृत्व गर्यो । नेपाली टेलिभिजन विदेशी च्यानलमा निर्भर हुने अवस्थाको अन्त्य डिसहोमले गर्यो । आजको दिनमा डिसहोमको २० लाख बढी ग्राहक, ५ सय बढी कर्मचारी, नेपालभर २ सय बढी शाखा र ५ हजार बढी डिलर रहेका छन् । डिस होमले अहिले इन्टरनेटको सेवा पनि प्रदान गर्दै आएको छ । कम्पनीले वार्षिक ५ अर्ब बढी सञ्चालन आम्दानी गर्छ । उनै हेमराजले डिसहोमको नेतृत्व गरिरहेका छन् । हामीले सफ्टवेर विकास गरेर अमेरिका, क्यानडा, कोरिया, अष्ट्रेलिया, जापान, मलेसिया, भारत, कम्बोडिया, जिम्बावेलगायत देशमा निर्यात गरिरहेका छौं । निर्यातको परिमाणप्रति हामी सन्तुष्ट छौं । युवापुस्तालाई आईटीमा आबद्ध गराएर आगामी दिनमा थप सफ्टवेयर निर्यात गर्ने योजना छ । आइएमई ग्रुपले विश्वमा विस्तार भइरहेको सूचना प्रविधिलाई मध्यनजर गर्दै सन् २०१६ मा आईएमई डिजिटल सोलुसन स्थापना गर्यो । राष्ट्र बैंकले अनुमति दिएको डिजिटल वालेटमा आइएमई डिजिटल सोलुसन पहिलो कम्पनी हो । सो कम्पनीबाट आइएमई पे वालेट सुरु भयो । अहिले आइएमई र खल्तीबीच मर्जर भएर ‘खल्ती बाई आइएमई’ नामक एपबाट सेवा दिँदै देशको नम्बर वान डिजिटल वालेट बनेको छ । कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ बढी छ । एपमार्फत मुभी बुकिङ, इभेन्ट टिकेटिङ, जहाजको टिकट, बीमा रकम भुक्तानी, ईएमआई सेवा, सरकारी रकम भुक्तानी, टपअपलगायत डिजिटल भुक्तानी हुने गरेका छन् । ७० लाख बढीले यस एपलाई डाउनलोड गरेका छन् भने एक लाख २० हजार रिटेल नेटवर्क रहेका छन् । सन् २००१ मा दर्ता भएर सन् २००३ देखि सेवा प्रारम्भ गरेको स्मार्ट च्वाईस टेक्नोलोजी (एससीटी) मा सात वर्षअघि मात्रै आईमई ग्रुपले लगानी गर्यो । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा सञ्चालक एससीटीले नेपालका बैंक तथा वित्तीय संस्थामा विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्मको सेवा प्रदान गर्दै आएको छ । एससीटीले अहिले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा पनि सुरु गरेको छ । एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सञ्चालन गर्दै आएको छ । स्वास्थ्यमा साझेदार आइएमई ग्रुपले स्वास्थ्य सेवासँग सम्बन्धित प्रविधिको पनि विकास गरी सञ्चालन गरिरहेको छ । यस ग्रुपको मुख्य लगानी रहेको मिदास हेल्थ सर्भिसेज प्रा.लि.ले डिजिटल स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । यस कम्पनीले विकास गरेको सूचना प्रविधिमा आधारित स्वास्थ्य सेवा सूचना प्रणाली २०० भन्दा बढी र ६० प्रतिशत ठूला अस्पतालले प्रयोगमा ल्याएको हेमराजले जानकारी दिए । स्वास्थ्य सेवाको आधुनिकीकरण तथा गुणस्तर सुधार गर्न मिदास हेल्थ सर्भिसेज अस्पतालका लागि भरपर्दो साझेदार बनेको उनको भनाइ छ । मैले तीन दर्जन कम्पनीको नेतृत्व गरिरहेको छु । व्यवसायीले प्रतिस्पर्धाको हिसाबले भन्दा पनि सूचना प्रविधिको क्षेत्रलाई विकास र विस्तार गर्ने ध्येयका साथ काम गर्नुपर्छ । हामीले तत्काल प्रतिफल आओस् भन्ने हिसाबले काम गर्दैनौं, व्यवसायमा त्यो विश्वास पनि गरिँदैन । हामीले समाजमा सकारात्मक प्रभाव पर्ने गरी काम गर्यौं भने प्रतिफल आफै प्राप्त हुन्छ । त्यसैगरी ‘मेरो डाक्टर’ नामक एपमार्फत अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई उत्कृष्ट चिकित्सक परामर्श तथा अन्य टेलिमेडिसिन सेवा समेत उपलब्ध गराइरहेको छ । एकीकृत स्वास्थ्य सेवा प्रणाली समाधान प्रदायकका रूपमा विकसित हुने र नेपालका बिरामी, डाक्टर, फार्मेसी, डायग्नोस्टिक्स, क्लिनिक, सार्वजनिक स्वास्थ्य केन्द्र तथा अस्पताललाई एकअर्कासँग जोड्ने स्वास्थ्यसम्बन्धी इकोसिस्टम निर्माण गर्नु यसको मुख्य उद्देश्य रहेको छ । मिदास हेल्थ सर्भिसेजले निर्माण गरेको एचएमआईएस सिस्टम हाल देशका ८० प्रतिशतभन्दा बढी अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थामा प्रयोग भइरहेको छ । ‘हामीले मिदास हेल्थ सर्भिसेजमार्फत स्वास्थ्य संस्थालाई पूर्ण डिजिटलाइज बनाउने र बीमाको दाबी भुक्तानीलाई क्यासलेस कसरी बनाउने भन्नेतर्फ केन्द्रित गरेका छौं, सयौं अस्पताल र हजारौं बिरामीलाई यसले सहज सेवा दिइरहेको छ,’ हेमराजले भने । आइएमई ग्रुपकै लगानी भएको अर्को महत्त्वपूर्ण आईटी कम्पनी हो ‘रिगो’ । रिगो जनशक्ति व्यवस्थापनसँग सम्बन्धित सफ्टवेयर हो । कम्पनी सञ्चालनका लागि जनशक्ति परिचालन तथा व्यवस्थापन महत्वपूर्ण रहेको विषयलाई मनन् गर्दै रिगो स्थापना भएको हो । हाल देशका ८० प्रतिशत वाणिज्य बैंङ्क र देशका ठूल्ठूला कर्पोरेट हाउसले पनि रिगोको सफ्टवेयर प्रयोग गरिरहेको ढकालले बताए । यस सफ्टवेयरले कर्मचारी भर्नाका लागि विज्ञापन गर्नेदेखि भर्ना गर्ने, कर्मचारीको कार्यसूची तयार गर्ने, कामको अनुगमन, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्नेलगायतका काम गर्न प्रभावकारी भूमिका खेलेको छ । ‘हामीले कसरी जनशक्ति व्यवस्थापन गर्न सक्छौं भनेर काम गरिरहेका छौं । नेपालको जनशक्तिलाई कसरी ग्लोबल मार्केटमा अब्बल बनाउन सकिन्छ भन्ने कोणबाट पनि काम भइरहेको छ, ’ हेमराजले भने । ‘हामीले निर्माण गरेको बैंकिङ सफ्टवेयर देशकै ठूलो र धेरै ग्राहक भएको ग्लोबल आइएमई बैंक, पहिलो र ठूलो रेमिट्यान्स कम्पनी आइएमइ लिमिटेड र दक्षिण कोरियाको जीएमई कोरियाले पनि हाम्रै सफ्टवेयर प्रयोग गरिरहेको छ,’ उनले थपे । उनका अनुसार सहकारी संस्था, लघुवित्त र विकास बैंक गरी एक हजारभन्दा बढी संस्थाले कोर बैंकिङ सोलुसन प्रयोग गरिरहेका छन् । टेक्निकल स्कुल केही महिनाअघि मात्रै आइएमई ग्रुपले काठमाडौं टेक्निकल स्कुल पनि सञ्चालनमा ल्याएको छ । यस ग्रुपले वार्षिक १० हजार जनशक्ति उत्पादनको लक्ष्यसहित आइएमई प्राविधिक शिक्षालय ‘काठमाडौं टेक्निकल स्कुल’ सञ्चालनमा ल्याएको हो । ढकालका अनुसार हस्पिटालिटी, केयर गिभिङ, बारिस्तालगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक विधामा तालिम सञ्चालन गरेर दक्ष जनशक्ति उत्पादन गर्न यो स्कुलले भूमिका खेल्नेछ । उनले एक दशकमा यस स्कुलले एक लाखभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको दाबी हेमराजले गरे । ‘डेटा सेन्टर’ स्थापना : अबको योजना बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा हस्पिटालिटी, अटोमोबाइल्स, मनोरञ्जन, ऊर्जा, ट्रेडिङ, लजिष्टिक, शिक्षा, म्यानुफ्याक्चरिङका साथै सूचना प्रविधिमा लगानी विस्तार गरिरहेको आइएमई ग्रुपको अबको योजना नेपालमा डेटा सेन्टर स्थापना गर्ने छ । ‘हामी विदेशमा जान्छौं, त्यहाँको सेवासुविधाको विषयमा जानकारी लिन्छौं, त्यसलाई नेपालमा के–कसरी ल्याउन सकिन्छ, कार्यान्वयन गर्न सकिन्छ भन्नेतर्फ योजना बनाउँछौं । केहीमा सफल पनि भएका छौं । अब नेपालमा डेटा सेन्टरको स्थापना आवश्यक छ, हामी त्यसतर्फ अगाडि बढ्छौं,’ हेमराजले भने । लोकेसनका हिसाबले पनि नेपाल डेटा सेन्टर स्थापनाका लागि उपर्युक्त ठाउँ भएको उनको भनाइ छ । उनले अहिले नेपालमै बसेर युरोपका देशलाई आईटीका प्रडक्ट बिक्री गरिरहेको सुनाउँदै अब डेटा सेन्टर स्थापना गरेर अगाडि बढ्न सके धेरै ठूलो सम्भावना रहेको सुनाए । यसले युवालाई आकर्षित गर्न सकिने र उनीहरूमा भएको क्षमता र योग्यता पनि स्वदेशमै प्रयोग हुने बताए । ‘अहिले विश्वमा आईटी कम्पनीले नै लिड गरिरहेका छन्, ती कम्पनीलाई हाम्रा प्रडक्ट बिक्री गर्न सक्छौं, विदेशमा माग राम्रो छ, गुगलले समुन्द्रमुनि डेटा सेन्टर स्थापना गरेको छ, हामी हावापानीका दृष्टिकोणले पनि उपर्युक्त ठाउँमा छौं, जलविद्युतको सम्भावना पनि ठूलो छ,’ उनले भने, ‘अब पूर्वाधार बनाउन सकियो भने डेटा सेन्टरमा अवसर छ ।’ ‘नेपालको आईटी क्षेत्र विकास हुन सकेमा राम्रो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा हेमराजको छ । ‘आईटी प्रडक्टबाट प्रतिफल पनि राम्रो छ । आईटीमै पनि नयाँ क्षेत्रको पहिचान गरेर काम गर्न आवश्यक छ,’ उनले भने । हेमराजका अनुसार नेपालमा सूचना प्रविधिले राम्रै फड्को मारिरहेको छ । अब व्यवसायीले पनि व्यवसाय र सूचना प्रविधिको विकासलाई सँगसँगै अगाडि बढाउनु पर्छ । आईटीमा नयाँ के गर्न सकिन्छ ? कसरी व्यवसायमा नयाँ इनोभेसन ल्याउन सकिन्छ ? यसतर्फ सबैले सोच्न ढिला भइसकेको छ । निरन्तरता : सफलताको मापन सबैभन्दा ठूलो सफलता भनेको हजारौंको संख्यामा रोजगारी सिर्जना गर्न सकेको हेमराजको भनाइ छ । कम्पनीको सेवाबाट देश, विदेशका लाखौं उपभोक्ता लाभान्वित भएका छन् भने सरकारले अवलम्बन गरेको ‘डिजिटल नेपाल’को अवधारणालाई सार्थक बनाउने कार्यमा योगदान दिन केही हदसम्म सफल भएकोमा उनी खुशी छन् । उनी सूचना प्रविधिमा मारेको फड्को र आइएमई ग्रुपको यो सफलताको श्रेय आफ्नो टिमलाई दिन्छन् । ‘विभिन्न विज्ञ र सहकर्मीको सङ्घर्ष, मिहिनेत र योगदानले आइएमई ग्रुप सूचना प्रविधि क्षेत्रमा पनि एउटा नेतृत्वकर्ता मात्रै हो,’ उनले भने । तीन दर्जन कम्पनीको नेतृत्व गरिरहेका हेमराज ढकाल व्यवसायीले प्रतिस्पर्धाको हिसाबले भन्दा पनि सूचना प्रविधिको क्षेत्रलाई विकास र विस्तार गर्ने ध्येयका साथ काम गर्नुपर्ने धारणा राख्छन् । ‘हामीले तत्काल प्रतिफल आओस् भन्ने हिसाबले काम गर्दैनौं, व्यवसायमा त्यो विश्वास पनि गरिँदैन, हामीले समाजमा सकारात्मक प्रभाव पर्ने गरी काम गर्यौं भने प्रतिफल आफै प्राप्त हुन्छ,’ उनले भने । चिकित्सकको चाहना हेमराज ढकाल सन् १९७५ मा बागलुङमा जन्मिए । एसएलसीसम्मको पढाइ गाउँमै पूरा गरे । काठमाडौं आएर त्रिचन्द्र कलेजमा आइएस्सी पढे । आईएस्सी पास गरेपछि मेडिकल शिक्षा पढेर चिकित्सक बन्न चाहन्थे । तर, जीवनले अर्कै मोड लियो । सन् १९९४ मा जापान गए । जापान जानुअघि उनी पढ्नका लागि अमेरिका जान चाहन्थे । तर, उनको त्यो सपना पूरा भएन । जापान गएपछि भाषाको कारण नेपालीले पैसा पठाउन नसकेको समस्या देखे । त्यहीँबाट अब नेपालमा पैसा पठाउन मिल्ने कम्पनीको आवश्यक रहेको महसुस गरे । उनका अनुसार त्यहीँबाट भएको हो आइएमई रेमिट्यान्सको जन्म । विश्व अर्थतन्त्रलाई नियाल्दा प्रमुख मुलुक भारत, चीन, अमेरिका र जापान टेक्नोलोजीका कारण तीव्र गतिमा अगाडि बढिरहेका छन् । विश्वका ठूला कम्पनीको संरचना केलाउँदा अधिकांश टेक कम्पनी वा टेक–एनेबल्ड कम्पनीको वर्चस्व छ । एआई, मेसिन लर्निङ र उदाउँदो प्रविधिले आर्थिक विकासलाई थप गति दिइरहेका कारण भविष्यमा प्रविधिमा आधारित व्यवसाय अझै फस्टाउने देखिन्छ । विश्वमा देखिएका डिजिटल ट्रेन्ड नेपालमा पनि आउने निश्चित छ, यद्यपि गति केही फरक छ । व्यक्तिगत रूपमा म विज्ञान पढेको हुनाले टेक्नोलोजीप्रतिको रुचि सुरुदेखि नै थियो, व्यवसायलाई कसरी प्रविधिसँग जोडेर विस्तार गर्न सकिन्छ भन्ने बुझाइ बढ्दै गयो । हामीले सञ्चालन गरेका व्यवसाय विस्तार भइरहँदा टेक्नोलोजीको भूमिकाले स्केल–अप र दक्षता बढाउन महत्वपूर्ण सहयोग पु¥यायो । व्यवसायलाई अझ नवीनतम् प्रविधि र सेवाको गुणस्तर वृद्धितर्फ लैजाने लक्ष्य छ । उद्यमशील यात्रा सानो व्यवसायबाट सुरु भए पनि सन् २००० पछि आइएमई सञ्चालन गर्दा प्रविधिको आवश्यकता गम्भीर रूपमा महसुस भयो । त्यतिबेला पनि गाउँ–गाउँसम्म रेमिट्यान्स सेवा पुर्याउन प्रविधि नै मुख्य साधन बनेको थियो । यही अनुभवले प्रेरित भई सन् २००७ मा स्विफ्ट टेक्नोलोजी स्थापना गरी औपचारिक रूपमा आईटी क्षेत्रमा प्रवेश गरेका हौं । आज आइएमई ग्रुपका विभिन्न आईटी कम्पनीमा एक हजारभन्दा बढी जनाले रोजगारी पाएका छन् । नेपालको युवा जनशक्तिको क्षमता र योग्यतालाई पहिचान गर्दै उनीहरूलाई नेपालमै रोजगारी दिने गरी हामीले काम गरिरहेका छौं । उनीहरूको क्षमतालाई उपयोग गरेर उत्कृष्ट प्रविधिजन्य उत्पादन विकास गर्न सकिन्छ भन्ने विश्वास पनि छ । यसले युवालाई देशमै रोजगारी, अवसर र ग्लोबल एक्सपोजर दिनसक्ने सम्भावना छ । टेक्नोलोजीको प्रयोगले रेमिट्यान्स क्षेत्रमा पनि क्रान्तिकारी परिवर्तन ल्यायो । मिनेटमै दोहाबाट जुम्ला पैसा पठाउन सक्ने अवस्थासम्म प्रविधिको योगदानले नै सम्भव बनायो । यसले जीडीपीमा ठूलो प्रभाव पारेको छ । आज डिजिटल वालेट सेवामार्फत झण्डै एक करोडभन्दा बढी व्यक्तिले घरमै बसेर विभिन्न सेवा लिन सक्ने वातावरण बनेको छ, जसको प्रभाव समय–बचत, लागत–कमी र दक्षतामा व्यापक रूपमा परिरहेको छ । हामीले बैंक, बीमा, वालेट, मनी ट्रान्सफर लगायत धेरै क्षेत्रमा लगानी गरेका कारण देशको झण्डै एक–तिहाइ जनसंख्यामा सेवा पुर्याउन सकिएको छ । रिगोले मानव स्रोत व्यवस्थापनलाई डिजिटलाइज गरेर नेपालकै अनुभवलाई विश्व बजारसम्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छ । काठमाडौँ टेक्निकल स्कुलले व्यावसायिक तालिममार्फत उत्पादनशील जनशक्ति तयार गर्ने उद्देश्य राखेको छ । आइटी क्षेत्रको विकासमा प्रतिस्पर्धाभन्दा सहकार्य र सहअस्तित्व महत्त्वपूर्ण छ किनकि पूर्ण डिजिटलाइजेसनका लागि अर्थतन्त्रका सबै क्षेत्र जोडिनु आवश्यक हुन्छ । मैले करिब ३० वटा कम्पनीको नेतृत्व गरेर नयाँ रणनीति र थप लगानी गर्नतर्फ केन्द्रित भएर काम गरिरहेको छु । व्यवसायमा दीर्घकालीन प्रभाव पार्ने काममा विश्वास भएको कारण तत्काल फाइदाभन्दा दीर्घकालीन सामाजिक–आर्थिक प्रभावलाई प्राथमिकता दिँदै आएका छौं । सफलता टिमवर्ककै फल हो । विभिन्न विधाका विज्ञहरूको संयोजनले नै दिगो परिणाम दिन सक्छ भन्ने विश्वास छ । नेपालको आईटी क्षेत्रमा अपार सम्भावना छ । नेपाल भौगोलिक रूपमा युरोप, अमेरिका र एसिया सबैलाई सेवा दिन अनुकूल टाइम–जोनमा छ । नेपालबाट विश्वस्तरका सफ्टवेयर उत्पादन विकास गर्न सक्ने सम्भावना पनि छ । अनुकूल मौसम र जलविद्युत सम्भावनाका कारण नेपाल ‘डेटा सेन्टर हब’ बन्ने मजबुत आधार पनि छ । एउटा सानो कोल्ड स्टोर व्यवसायबाट उद्यमशील यात्रा सुरु गरेर आज दर्जनौं कम्पनीको नेतृत्व गरिरहेको छु । यो मेरो टिमको मिहिनेतकै कारणले हो । सन् १९९४ मा जापान पुगेपछि त्यहाँबाट नेपालमा पैसा पठाउन नेपालीले बेहोराले सास्ती देखेकै कारण आइएमई जन्मियो । समयक्रमसँगै विभिन्न कम्पनीको स्थापना भयो । अहिले आईटीमा प्राथमिकता दिइरहेका छौं । व्यावसायिक यात्रामा निरन्तरता, श्रम, अनुशासन र समाजप्रतिको सकारात्मक प्रभावलाई नै मुख्य मूल्य मानेर अघि बढ्दा सफल भइन्छ । त्यही निरन्तरतास्वरुप आज विकास मिडियाले ‘विकास नायक’को रूपमा सम्मान गरेको छ । यसले थप काम गर्ने उत्प्रेरणासँगै जिम्मेवारपूर्ण ढंगले अगाडि बढ्न हौसला दिएको छ ।
सिर्जनशील जीवन, निष्ठापूर्वक व्यवसाय
जीवन कसरी जीउने ? धेरैको साझा प्रश्न हो यो । जीवा लामिछानेलाई नियाल्नुपर्छ, उनलाई पछ्याउने धेरै आधार छन् । सामान्य पारिवारिक पृष्ठभूमि, औसत प्रतिभा तर उत्कृष्ट जीवनशैली । उनले आफ्नो कर्ममा जोडबल लगाएर व्यवसायमा सफलता चुमेका छन् । संसार घुम्ने, नियाल्ने र बुझ्ने प्रयास गरेका छन् । साहित्य सिर्जना, समाजसेवा र देशप्रेममा खुलेर अगाडि बढेका छन् । परिवार, समाज, देश र विदेशमा समेत सम्मान भावका साथ माया पाएका छन् । एउटा किसानको छोरो विकसित मुलुकहरूका उद्यमी व्यवसायीहरूसँग प्रतिस्पर्धा गरेर व्यवसाय विस्तार गर्नु सामान्य कुरा थिएन । स्वदेश र विदेशमा गरी दर्जनौं कम्पनी सफलतापूर्वक सञ्चालन गर्नु धेरैका लागि उत्प्रेरणा, हिम्मत र हौसला बन्न सक्छ । तिनै प्रेरणाका पात्र हुन्, जीवा लामिछाने । सन् १९६७ मा चितवनको पदमपुरमा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका लामिछानेले युरोपेली देशका सुविधासम्पन्न सहरमा बसेर व्यवसाय विस्तार गरे । त्यहाँका व्यवसायीहरूसँग प्रतिस्पर्धा गरे । विदेशी भूमिमा रहेका नेपालीलाई एकीकृत गर्दै गैरआवासीय नेपाली संघ स्थापना गर्न भूमिका खेले । त्यही संघको नेतृत्व गरे । त्यही संघको मद्दतमा धेरै नेपालीलाई व्यवसायमा जोडे । अधिकांशलाई आफ्नै कम्पनीमा रोजगारी दिए । कर्मचारीलाई साझेदार बनाएर विदेशी भूमिमा व्यवसायको बीजारोपण गराए । जीवाले युरोपेली देशका सुविधासम्पन्न सहरमा बसेर व्यवसाय विस्तार गरे । त्यहाँका व्यवसायीहरूसँग प्रतिस्पर्धा गरे । विदेशी भूमिमा रहेका नेपालीलाई एकीकृत गर्दै गैरआवासीय नेपाली संघ स्थापना गर्न भूमिका खेले । त्यही संघको नेतृत्व गरे । त्यही संघको मद्दतमा धेरै नेपालीलाई व्यवसायमा जोडे । धेरैलाई आफ्नै कम्पनीमा रोजगारी दिए । कर्मचारीलाई साझेदार बनाएर विदेशी भूमिमा व्यवसायको बीजारोपण गराए । पछिल्लो समय लामिछाने आफ्नो व्यवसायमा मनिटरिङ गर्ने काम मात्रै गरिरहेका छन् । सबै काम उनको टिमले गर्छ । ‘मैले मसँग काम गर्ने सहकर्मीहरूलाई व्यवसायमा साझेदार बनाएको छु, त्यसले उनीहरूलाई कम्पनीमाथि अपनत्वको महसुस हुन्छ, काम गर्न उत्प्रेरित गर्छ,’ उनी भन्छन्, ‘अहिले व्यवसाय सञ्चालनको जिम्मा नै उनीहरूमाथि छ ।’ २० वर्षको उमेरमा विदेशी भूमिमा पुगेर २५ वर्षको उमेर रसियामा व्यवसायको सुरुवात गर्नु कैयौं युवाहरूका लागि प्रेरणा हुन सक्छ । सन् १९९१ मा त्यतिबेलाको महाशक्ति राष्ट्र सोभियत संघको विघटनसँगै रुसमा खुला बजार अर्थतन्त्रको सुरुवात भएको अवसरलाई व्यावसायिक योजनाका रूपमा अगाडि बढाउँदै लामिछानेले सोही वर्ष ग्रोसरी पसल र क्याफे चलाए । क्याफेमा नेपालीहरूसँग मिलेर उनी मःम बेच्थे । तर, त्यसले अपेक्षाकृत नतिजा दिन सकेन । उनले कामसँगै पढाइ जारी राखे । सन् १९९२ मा सिभिल इन्जिनियरिङको औपचारिक पढाइ सके । ‘डिग्री लिएपछि थप जिम्मेवारी बोध गरें र नयाँ सम्भावनाका क्षेत्रको खोजीमा लागें । अब मसँग दुई विकल्प थिए, एउटा पढाइ सकिएकोले नेपाल फर्किने अनि अर्को, यतै व्यवसाय गर्ने । मैले दोस्रो विकल्प रोजें,’ व्यवसाय सुरुवात गर्दाका दिनहरू स्मरण गर्दै लामिछाने भन्छन्, ‘अवसरलाई आफ्नो हातमा लिएँ, व्यवसायमा सफलता पनि मिल्यो । त्यतिखेर सही निर्णय लिएको रहेछु भन्ने अहिले बोध भएको छ ।’ लामिछानेले रुसमै विद्युतीय उपकरण बिक्री गर्न सुरु गरे । कम्पनीको नाम थियो क्रिस्टल एलएलसी । त्यस कम्पनीले मस्कोमा सोनी, पानासोनिक, जेभीसी, क्यानन, निकोन र अन्य ब्राण्डका विद्युतीय सामानहरूको आधिकारिक बिक्रेताको काम गर्थ्यो । उनको कम्पनीले टीभी, कम्प्युटर, होम अप्लायन्स तथा म्युजिकल सामानहरू बिक्री गर्थ्यो । त्यो व्यापारसँगै लामिछानेको व्यावसायिक जीवनले फड्को मार्यो । त्यसपछि उनले व्यवसायमा पछाडि फर्किनु परेको छैन । ‘मलाई त्यो दृश्य अहिले पनि ताजै लाग्छ, हामी १० बजे स्टोर खोल्दा ग्राहकहरू अगाडि नै आएर सामानका लागि लाइन लागिसकेका हुन्थे । युक्रेन, जर्जिया, बेलारुस लगायतका देशहरूमा सामान निर्यात पनि गर्थ्यो,’ लामिछानेले विगत स्मरण गर्दै भने । विद्युतीय सामान बिक्रीले व्यावसायिक जग बसाले पनि जीवा लामिछानेलाई देश–विदेशमा परिचित गराउने व्यवसाय भने हस्पिटालिटी क्षेत्र बन्यो । उनले अहिले पाँच दर्जन बढी होटल तथा अपार्टमेन्टमा लगानी गरेर आफूलाई नेपाली डायस्पोराको एक सफल र अग्रणी पर्यटन व्यवसायीका रूपमा चिनाएका छन् । एउटा सामान्य किसान परिवारमा जन्मिएर स्थापित र जस्तोसुकै व्यवसायीसँग पनि प्रतिस्पर्धा गर्न सक्ने छवि उनले निर्माण गरेका छन्। मस्कोमा व्यवसाय गरिरहेका लामिछाने एकदिन जर्मनी पुगे । जर्मनीमा होटल व्यवसाय गरिरहेका कुमार पन्तसँग भेट भयो । कुमारले उनलाई होटलमा मिलेर काम गर्ने प्रस्ताव गरे । अरूको होटलमा काम गर्दै गरेर आफ्नै होटल खोलेका कुमार पन्तको सक्रियता र मिहिनेत देखेर जीवाको मन छोयो । र, उनीसँगै मिलेर होटलमा लगानी गर्ने प्रस्ताव स्वीकार गरे । उनी सन् २००० ताका सानिमा कम्पनीसँग जोडिसकेका थिए । सन् २०१२ कुमार पन्तसँग समन्वय गरेर जीवाले होटलमा लगानीको औपचारिक यात्रा तय गरे । दुवैजना मिलेर फ्र्यांकफर्टमा होस्टर हफ होटल सञ्चालनमा ल्याए । जुन जीवाको पहिलो होटल थियो । उनीहरूले दोस्रो होटल गोथे खोले । अहिले उनले एकल र संयुक्त लगानी गरेर ट्रिप इन होटलका चेनबाट गोथे, एभरेष्ट, स्काइलाइन लगायत चार दर्जन बढी होटल सञ्चालन गरिरहेका छन् । उनले जर्मनीका विभिन्न सहरमा ट्रिप इन चेनका होटलहरू विस्तार गर्दै हस्पिटालिटी क्षेत्रमा आफूलाई अब्बल नेतृत्वका रूपमा परिचित गराउँदै आएका छन् । सानिमा ग्रुपमा आवद्धता लामिछाने सन् २००० ताका सानिमा ग्रुपसँग आवद्ध भए । सन् २००३ मा उनले कान्तिपुर टेलिभिजनमा लगानी गरे । त्यतिबेला उनी कान्तिपुर टिभीको प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए । सानिमा ग्रुपमा संस्थागत लगानीकर्ताको रूपमा साझेदारी गरेका उनले सानीमा बैंकको अध्यक्षको जिम्मेवारी समाल्दै लामो समय सञ्चालक समितिको नेतृत्व गरे । उनले सानिमा ग्रुप अन्तर्गतका सानिमा बैंक, सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ, सानिमा जीआईसी इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा मिडिल तमोर जलविद्युत, स्वेतगंगा हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविदुत आयोजना र तल्लो लिखु जलविद्युत आयोजना लगायत दर्जनौं कम्पनीमा लगानी गरेका छन् । लामिछानेले होटल रामाडा, मेडिकेयर हस्पिटलमा पनि लगानी गरेका छन् । उनले नेपालमा सम्भावना भएका क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन् । उनी सानिमा बैंकका साथै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, हिमालयन पावर पाटर्नर लगायतमा केही कम्पनीको अध्यक्षको जिम्मेवारीसहित नेतृत्वदाही भूमिकामा देखिए पनि धेरै कम्पनीमा उनी लगानीकर्ताको भूमिकामा रहेको पाइन्छ । उनले विदेशमा लगानी गरेर प्राप्त गरेको प्रतिफल नेपालमा लगानी गर्दै देशको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा दिएका छन् । नेपाली डायस्पोरा एकीकृत गर्ने अभियन्ता जीवा लामिछानेले व्यवसायमा मात्रै व्यस्त भएनन्, उनी नेपाली डायस्पोरालाई एकीकृत गर्ने र उनीहरूलाई व्यवसायमा जोड्ने पुलका रूपमा पनि काम गरे । सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएन) को उनी सन् २०११ मा अध्यक्ष पनि बने । एनआरएनए स्थापना हुनुमा उपेन्द्र महतो, भीम उदास, राम थापा लगायत जीवा लामिछानेको अहम भूमिका छ । विश्वभरि छरिएका नेपालीहरूलाई संगठित बनाउन लामिछानेले ठूलो भूमिका खेले । अहिले यो संघ विश्वका ९० वटा राष्ट्रहरूमा फैलिएको छ । जुनसुकै देशमा लगानी विस्तार गरे पनि त्यहाँबाट आएको प्रतिफलले उनी नेपालमा लगानी गर्छन् । नेपाली डायस्पोरालाई नेपालमै लगानी गर्न उत्प्रेरणा जगाउँछन् । नेपाली डायस्पोरा र उनी आफैले पनि एनआरएन नेपाल डेभलपमेन्ट फण्ड, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पूर्वाधार बैंक लगायतमा लगानी गरेका छन् । ‘अब नेपालीहरूले पनि विदेशी ठूल्ठूला कम्पनीहरू हाँक्न सक्ने क्षमता राख्छन्, रियल स्टेट, होटल सञ्चालन र आईटी कम्पनीमा लगानी गरेर राम्रो सम्भावनाको बाटो नेपालीले देखाइरहेका छन्,’ उनी भन्छन्, ‘नेपाली डायस्पोरा ठूल्ठूला काम गर्न सक्छ भन्ने प्रमाणित पनि भएको छ ।’ तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनै लामिछानेको सक्रियता र व्यावसायिक क्षमताको कदर गर्दै आर्थिक सल्लाहकार परिषद्को सदस्य बनाएका थिए भने पछि केपी शर्मा ओली प्रधानमन्त्री बन्दा पनि उनी सल्लाहकार परिषदको सदस्यमा नियुक्त भएका थिए । व्यवसायसँगै लामिछाने समाज सेवामा पनि सक्रिय छन् । समाज सेवाका लागि उनले आफ्नो बुवाआमाको नाममा खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान नामक सामाजिक संस्था सञ्चालन गरेर काम गर्दै आएका छन् । ‘सफल हुनका लागि इमानदारिता र लगनशीलता चाहिन्छ, व्यवसायमा पुँजीभन्दा पनि विश्वासको पुँजी आवश्यक हुन्छ, लगनशील भएर काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘नेपालमा पर्यटन, ऊर्जा, कृषि र र्आइटीमा अथाह सम्भावना छ, यो अवसरलाई हामीले क्यास गर्नुपर्छ।’ नेपालमा हिमाल धेरै रहेको तर हामी हामी परम्परागत पर्यटनमै अल्झिएको लामिछानेको बुझाइ छ । वाटर एडभेन्चर, स्नो एडभेन्चरलाई अगाडि बढाएर काम गर्न सकेमा पर्यटक पनि बढ्न सक्ने उनी बताउँछन् । नेपालमा डेटा सेन्टरको अपार सम्भावना रहेको बताउँदै सफ्टवेयर उत्पादन गरेर निर्यात गर्न सकेमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिने उनको तर्क छ । ‘रुचिलाई पहिचान गरेर त्यसलाई सम्भव तुल्याउन अगाडि बढ्नुपर्छ, इनोभेटिभ काम गर्नुपर्छ, त्यसले रोजगारी पनि सिर्जना गर्छ,’ उनले भने । साहित्य लेखन पनि लामिछानेको रुचिको विषय हो । अन्टार्कटिकासहित विश्वका सातैवटा महादेश र १३० भन्दा बढी देश घुमेका उनले ‘अक्षत अन्टार्कटिका’, ‘सरसर्ती संसार’ र ‘देश देशावर’सहित तीनवटा किताब लेखेर प्रकाशनमा ल्याएका छन् । यात्रा संस्मरणमा उनी उत्कृष्ट लेखकको रूपमा दरिएका छन् । व्यवसाय र साहित्यमा गरेको योगदानका कदर गर्दै नेपाल सरकारले उनलाई कीर्तिमय राष्ट्रदीप र प्रवल जनसेवाश्री पदकबाट सम्मानित पनि गरेको छ । अरूको अहित हुने, अरूलाई दुःखी बनाउने कामबाट जोगिन सधैं सचेत हुँदै निष्ठापूर्वक व्यवसाय गर्ने लामिछानेको जीवनी वास्तवमा नै धेरैका लागि अनुकरणीय छ । जीवाकै शब्दहरू : म पढाइले सिभिल इञ्जिनियर हुँ । ३५ वर्षदेखि व्यवसायमा छु । मस्कोमा हुँदा विद्युतीय सामानको व्यापारमा थियौं । अहिले नेपालमा विगत २५ वर्षदेखि सानिमा ग्रुपमार्फत व्यवसाय गरिरहेको छु । विदेशमा पनि पर्यटन क्षेत्रमा आवद्ध छु । म पहिलो पुस्ताको डायस्पोरा हो । हामीले सपना देख्यौं भने पनि नेपालकै देख्छौं । हामी जति पनि लगानी गरे पनि नेपालमै गर्न चाहन्छौं । नेपालमा पर्यटन, कृषि, पूर्वाधार र जलविद्युतमा ठूलो सम्भावना छ । प्रतिफल पनि विदेशको तुलनामा राम्रो छ । म नेपालमा गरेको लगानीको प्रतिफलप्रति सन्तुष्ट छु । हाम्रो समुदायमा व्यवसायीलाई हेर्ने नजरिया बेग्लै छ, जुन दुर्भाग्य हो । विकसित मुलुक तथा खुला बजार अर्थतन्त्र भएका देशमा निजी क्षेत्रले ठूलो टेवा पुन्याएका छन्, रोजगारी सिर्जना गरेका छन् । निजी क्षेत्रलाई सरकारले हेर्ने नजर र दृष्टिकोण राम्रो छ । तर, नेपालमा निजी क्षेत्रले नाफा मात्रै खोज्छ भन्ने भाष्य सिर्जना गरिएको छ । राज्यको काम सहज नीति बनाउने र मनिटरिङ गर्ने हो। जति देशमा राम्रो विकास भएको छ, उनीहरूले खुला बजार अर्थतन्त्र अपनाएका छन् । राज्यको उपस्थिति चाहिन्छ । तर, निजी क्षेत्रलाई प्रमोट गरेर अगाडि बढ्यो भने त्यसको फाइदा जनता र सरकारले पनि पाउँछ । अहिले भारत तेस्रो ठूलो अर्थतन्त्र भएको देश बन्दैछ, त्यो निजी क्षेत्रको कारणले नै हो । व्यवसाय भावनाको आधारमा गरिँदैन । विदेशमा हुन सक्ने काम छिट्टै हुन्छन् । तर, नेपालमा हुने काम गर्न पनि लामो समय लाग्छ । प्रशासनिक संयन्त्रमा ठूलो अवरोध सामना गर्नुपर्छ । हामीले गैरआवासीय नेपाली संघको अभियान सन् २००३ मा सुरू गरेका थियौं । अहिले विश्वभर नेपाली छन् । संख्यात्मकभन्दा पनि गुणात्मक रूपमा फैलिएको छ । यसलाई संगठित रूपले अगाडि बढाउन सकियो भने देशको लागि केही गर्न सकिन्छ । सामूहिक लगानीको अवधारणा अगाडि बढाइरहेका छौं । धेरै ग्रुप मिलेर सामूहिक लगानी गरेर काम पनि गरिरहेका छन्, यसमा मलाई संस्थापक भएको हिसाबले पनि गर्व छ । व्यवसायमा सफल हुनका लागि कुनै फर्मुला तथा मन्त्र हुँदैन, लगनशीलता, मिहिनेत तथा पारदर्शी भयो भने काम गर्न सकिन्छ । हामीले अहिले ट्रिप इन होटल मार्फत जर्मनी, बेल्जियम र स्विट्जरल्याण्डमा होटल सञ्चालन गरिरहेका छौं ।