डा. डिल्लीराम पोख्रेल : त्रिविका गोल्ड मेडलिष्ट, राजाकी छोरीका प्रतिस्पर्धी
काठमाडौं । इलाम सुन्नासाथ अधिकांशको मनमा चियाबारीले ढाकिएका पहाड, सदाबहार हरियाली र मन लोभ्याउने शान्त वातावरणको तस्बिर उभिन्छ । पूर्वी नेपालको यो पहाडी भू-भाग जलवायु, प्राकृतिक विविधता र मनमोहक दृश्यावलोकनका कारण आकर्षणको केन्द्र बनेको छ । चिया बगानहरू, हरेक ऋतुमा फेरिँदै जाने हरियालीका रङ्गहरू, घुम्ती-घुम्ती बाटाहरू, स्वच्छ हावा र सुन्दर पहाडी दृश्य इलामकाे पहिचान बनेकाे छ । यही प्राकृतिक सौन्दर्य र मिहिनेती जनजीवनमा जन्मिएका हुन् नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेल । इलाम नगरपालिका-५ (तत्कालीन द्वारभट्टे गाउँ पञ्चायत वडा नम्बर १ तोरीबारी) मा विसं २०३२ मा जन्मिएका पोख्रेल गाउँमै हुर्किए । गाउँमै बाल्यकाल बित्यो । गाउँकै आदर्श माध्यमिक विद्यालय इलाम (इलाम हाइस्कुल) बाट २०४७ सालमा एसएलसी (हालको एसईई) पास गरे । यो त्यही विद्यालय हो, जहाँबाट देशले पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि एमालेका नेता स्वर्गीय सुवास नेम्वाङजस्ता पात्रहरू जन्मायो । त्यही कक्षाकोठा, त्यही काठे डेस्क, त्यही बिहानको घण्टी । आज पनि उनको स्मृतिमा तिनै तस्बिरहरू आउँछन् । २०४७ साल । गाउँको साधारण परिवेशमा बसेर प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण हुनु भनेको त्यतिबेलाको समयमा केवल ‘उपलब्धि’ मात्र थिएन, त्यो एक किसिमको सामाजिक पहिचान, सम्मान र भविष्यको ढोका खुल्ने संकेत जस्तै थियो । तर, उपलब्धिसँगै अर्को यथार्थ पनि उस्तै दृढताका साथ उभियो कि अब त साइन्स (विज्ञान) पढ्नै पर्छ भन्ने गाउँ र समाजको अपेक्षा । त्यो अपेक्षा उत्साहभन्दा बढी भार थियो । किनकि गाउँको जीवनले दिएको कडा दिनचर्या, खेतबारीको काम सबैभन्दा माथि उठेर पढाइमा अब्बल बन्नु सजिलो थिएन । तर, डिल्लीराम पोख्रेलका लागि गाउँले जीवन कुनै बाधा थिएन । खेतको कामले सिकाएको धैर्यता, घरायसी जिम्मेवारीले दिएको अनुशासन र पहाडी जीवनले पस्किने कठिनाइहरूबाट जन्मिएको दृढता । यी सबैले पछि उनले पार गर्ने थुप्रै उकालोहरूको आधार बने । ‘एसएलसी दिने हामीहरू धेरै थियौं । म मात्रै फस्ट डिभिजनमा पास भएँ, त्यतिखेर फर्स्ट डिभिजन पास गर्नेलाई साइन्स पढ्नु पर्ने दबाब हुन्थ्यो,’ उनले विगत स्मरण गर्दै भने । एसएलसीमा ७५ प्रतिशत अंक ल्याएर जिल्ला टपर बनेका डिल्लीराम विज्ञान पढ्न देशको राजधानी होमिए । तर, विडम्बना काठमाडौंमा कोठाभाडामा लिएर उच्च शिक्षा अध्ययन गर्न त्यति सहज थिएन । सामान्य किसान परिवारका उनलाई धेरै सेवासुविधा दिएर काठमाडौंमा पढाउन सक्ने अवस्था थिएन । त्यसैले उनले छात्रवृत्ति र छात्रावासको खोजी गर्न थाले । तर, सरकारबाट सेवा सुविधा पाउन पनि तत्कालीन समयमा ठूलो राजनीतिक पहुँचको खाँचो पर्थ्याे । ‘काठमाडौं आएपछि बस्नका लागि समस्या थियो । किनभने मेरो पारिवारिक स्थिति सामान्य किसान परिवार हो । धेरै खर्च गरेर पढ्न सक्ने अवस्था थिएन,’ उनले आफ्नो विगत सुनाउँदै भने ‘त्यतिबेला पनि अहिलेको जस्तै राजनीतिक अस्थिरता थियो । अमृत साइन्स क्याम्पस (अस्कल)मा होस्टेल बस्न पनि राजनीतिक पहुँच चाहिन्थ्यो । विभिन्न राजनीतिक दल, संगठनको मान्छेहरूले शक्ति प्रयोग गरेर होस्टेल बस्थे । तर, म भाग्यमानी रैछु, एसएलसीमा जिल्ला फस्ट भएकाले होस्टेलमा बस्न पाएँ ।’ होस्टेलमै बसेर विज्ञान विषय पढेका पोख्रेललाई थप अध्ययन गर्न फेरि आर्थिक अभावको पीर थियो । पारिवारिक अवस्थाका कारण उनले राम्रो विषय लिएर पढ्न सक्ने अवस्था थिएन । त्यसपछि आफ्नो गन्तव्य परिवर्तन गर्दै उनी काठमाडौंबाट आफ्नै गाउँ फर्किए । आफ्नै परिवेशमा झरे । ‘होस्टेल बसेर आईएस्सी पढेँ । तर, पारिवारिक स्थिति कमजोर भएकाले काठमाडौंमै बसेर डाक्टर वा राम्रो विषय लिएर पढ्न सक्ने अवस्था थिएन । काठमाडौंबाट फेरि गाउँ फर्किएर इलाम क्याम्पसमा मानविकी संकाय अर्थात् बीए अर्थशास्त्र र गणित विषय लिएर स्नातक अध्ययन गरेँ,’ उनले सुनाए, ‘गाउँकै महेन्द्ररत्न बहुमुखी क्याम्पसमा पढेँ । तत्कालीन राजा स्वर्गीय वीरेन्द्रकी छोरी स्व. श्रुति शाह बोर्ड टप भइन्, म दोस्रो भएँ ।’ उनी स्नातकमा श्रुतिका प्रतिस्पर्धी बने । पोख्रेलको धेरै पढ्ने इच्छा थियो । स्नातकमा अर्थशास्त्र र गणित पढ्दा उनले केही समय इलामको निजी विद्यालयमा पढाउन थाले । बोर्डिङमा पढाउँदा केही पैसा आर्जन गरेपछि उनी डिग्री हासिल गर्ने उद्देश्यका साथ फेरि काठमाडौंमा आए । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागमा अर्थशास्त्र विषय लिएर भर्ना भए । ‘आफ्नै खर्चमा काठमाडौं पढ्न आएँ । बिहान कलेज जान्थेँ । १० बजेपछि बल्खुको कमल बोर्डिङमा पढाउँथे । १० बजे नै आउनुपर्ने भएकाले एउटा क्लास भने छुट्थ्यो,’ उनले भने, ‘विद्यालयमा जहिले पनि फस्ट हुन्थेँ । त्यो ट्रेण्ड काठमाडौं आएर पनि कायम राखेँ । स्नातकोत्तर पहिलो वर्षमा पनि पहिलो नै भएँ ।’ जापानमै छँदा गोल्ड मेडलिष्ट स्नातकोत्तर दोस्रो वर्षको नतिजा आइसकेको थिएन, जापान जाने अवसर आयो । जापानको ओशाका सांघायू युनिभर्सिटीले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरेर अर्थशास्त्र र व्यवस्थापनका उत्कृष्ट विद्यार्थीलाई ६ महिनाका लागि एउटा कोर्स (ननडिग्री रिसर्च कोर्स) दिने अभ्यास थियो । अर्थशास्त्र विभागबाट २ जना र व्यवस्थापन विभागबाट २ जना गरेर ४ जना जापान पुगे । ‘सेकेण्ड इयरको पढाइ सकिएको थियो । तर, रिजल्ट आएको थिएन । हामीले छात्रवृत्तिमा जापानको ओशाकामा जाने अवसर पायौं । म जापान रहँदा नै रिजल्ट आयो । सेकेण्ड इयर पनि प्रथम भएँ र मास्टर्समा गोल्ड मेडलिष्ट हुन सफल भएँ,’ अर्थशास्त्रमा गोल्ड मेडलिष्ट हुँदाको अनुभव सुनाउँदै उनले भने, ‘एमए इकोनोमिक-२०५७ को गोल्ड मेडलिष्ट भएपछि म जापानबाट फर्किएँ ।’ त्यसपछि सुरु भयो राष्ट्र बैंकको यात्रा तत्कालीन समयमा नेपाल राष्ट्र बैंकले टियू टपरलाई सोझै राष्ट्र बैंकमा रोजगारी दिने व्यवस्था थियो । जबकि पोख्रेलले त्यतिबेलासम्म पनि केन्द्रीय बैंक देखेका थिएनन् । उनले राष्ट्र बैंकको उक्त अवसर प्राप्तका लागि निवेदन दिए र पहिलो नम्बरमा नाम निकाले । ‘विगतदेखि राष्ट्र बैंकले गोल्ड मेडलिष्टलाई सोझै प्रवेश दिन्थ्यो । व्यवस्थापन र अर्थशास्त्रको गोल्ड मेडलिष्टमध्येबाट २ जनालाई राष्ट्र बैंकले जागिर दिन्थ्यो । त्यतिबेला पुरानासहित ६ जना गोल्ड मेडलिष्टको आवेदन परेको थियो । मेरो एक नम्बरमा नाम निस्कियो भने बामदेव पौडेलजीको दोस्रो नम्बरमा । बामदेवजी अहिले क्यानडामा प्रोफेसर हुनुहुन्छ,’ राष्ट्र बैंकमा प्रवेश गर्दाको क्षण सम्झिँदै उनले भने । विसं २०५८ मा सहायक निर्देशकमा राष्ट्र बैंक प्रवेश गरेका उनले पहिलो वर्ष नियमन विभागमा काम गरे । राष्ट्र बैंक प्रवेश गरेको एक वर्ष थियो, उनी फेरि पीएचडी स्कलरसिपमा जापान उडे । ‘जापानी राजदूतावासले प्रत्येक वर्ष स्कलरसिप खुलाउँथ्यो । राष्ट्र बैंकमा एक वर्ष भइसकेको थियो, दूतावासले स्कलरसिप खुलाएको बेलामा पीएचडीका लागि आवेदन दिएँ र नाम निस्कियो । त्यसपछि म पढ्नका लागि सन् २००२ मा जापान गएँ । करिब ४ वर्ष जति जापान बसेर आएँ । ओशाका यूनिभर्सिटीमा इकोनोमिक्समा पीएचडी गरें । त्यसपछि राष्ट्र बैंकको जागिरलाई निरन्तरता दिएँ,’ उनले सुनाए । बैंकर्स ट्रेनिङ सेन्टर (बीटीसी) मा डेढ वर्ष, जनकपुर कार्यालयमा १३ महिना, पोखरा कार्यालयमा १५ महिना र करिब २ वर्ष गभर्नर कार्यालयमा काम गरेका उनले अधिकांश समय राष्ट्र बैंकको अनुसन्धान विभागमा बिताए । गभर्नर कार्यालयमा रहँदा सहायक प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी निभाएका उनले अन्तर्राष्ट्रिय विभाग पनि हेर्थे । र, विसं २०८२ जेठ १३ गते कार्यकारी निर्देशकमा बढुवा भएपछि ५ महिना बैंकिङमा विभागमा रहेर काम गरेका उनी हाल मौद्रिक व्यवस्थापन विभागमा छन् । विवाह गर्न जापानबाट फर्किए डा. डिल्लीराम पोख्रेल आजकल काठमाडौंको धुम्बाराहीमा बस्छन् । राष्ट्र बैंकको जागिरले जग्गा जमिन किनेर काठमाडौंमा घर बनाउन त्यति सम्भव छैन । उनले पैसाको जोहो गर्दै जग्गा किने । जग्गाको भाउ बढेपछि बिक्री गरेर घर बनाए । ‘राष्ट्र बैंकमा आएपछि काठमाडौंमा घर बनाएँ । राष्ट्र बैंकले कर्मचारीहरूलाई कर्जा दिन्छ, त्यही सुविधा उपभोग गरेर काठमाडौंमा घर बनाएको हुँ,’ उनले सुनाए, ‘कर्जा लिएर जग्गा किनियो । त्यो जग्गाको भाउ बढ्यो । क्यापिटल गेन भयो । त्यसैबाट घर बनाउन सजिलो भयो । पैतृक सम्पत्ति पनि थिएन । इलामको सम्पत्तिले भ्याउँदैनथ्यो ।’ ‘२०६० सालमा जापानमा थिएँ । जापानमा छँदा छुट्टीमा आएको बेला विवाह गरेँ,’ उनले पारिवारिक कुरा सुनाउँदै भने । राष्ट्र बैंकलाई के दिए ? पोख्रेललाई राष्ट्र बैंकले ठूलो प्लेटफर्म दियो । काम गर्ने अवसर दियो । तर, तपाईंले राष्ट्र बैंकका लागि के दिनु भयो भन्ने प्रश्नमा उनले भने, ‘मैले आफूले सकेको राष्ट्र बैंकलाई धेरै दिएँ जस्तो लाग्छ । जुन तहमा काम गरियो, त्यो अनुसारको योगदान गरेको छु । जीडीपी प्रोजेक्सन, मनिटरिङ प्रोजेक्सन, मनिटरिङ सर्भे लगायतमा योगदान दियौँ । सैद्धान्तिक रुपमा जे पढेका थियौं, त्यो हामीले अभ्यास गर्याैं र नतिजा पनि राम्रो आयो ।’ उनी पढिसकेपछि अर्थशास्त्री वा प्राध्यापक बन्न चाहन्थे । तर, परिस्थितिले राष्ट्र बैंकमा ल्याएको उनले सुनाए । ‘म पढेपछि के गर्छु भनेर सोच्थेँ, त्यो बेलामा कुनै कलेजमा पढाउँछु भन्ने थियो । तर, परिस्थितिले घुमाउँदै राष्ट्र बैंकमा ल्यायो । तर, यहाँ आइसकेपछि आउनुपर्ने ठाउँ राष्ट्र बैंक पो रहेछ भन्ने महसुस भयो । शैक्षिक विषय अभ्यास गर्ने ठाउँ राष्ट्र बैंक रहेछ,’ उनले अनुभव सुनाउँदै भने, ‘यदि म लेक्चरर थिएँ भने पढ्थेँ वा पढाउँथे मात्रै होला । तर, राष्ट्र बैंकमा पढ्ने हो र पढेको कुरा कार्यान्वयन गर्ने हो ।’ ‘कलेजमा पढ्दा अर्थतन्त्र, जीडीपी क्याल्कुलेसन, मौद्रिक सर्वेक्षण, मनिटरिङ पोलिसीबारे सैद्धान्तिक ज्ञान मात्रै हासिल गरेका थियौं,’ उनले भने, ‘तर, राष्ट्र बैंकमा आएपछि साँच्चै मौद्रिक नीति कसरी काम गर्दाे रहेछ, कसरी बनाइँदो रहेछ भनेर बुझ्ने अवसर पनि पायौं । त्यसैले जुन तहमा रहेर काम गर्याैं, त्यसमा बेस्ट दिएका छौं ।’ त्याे अविस्मरणीय क्षण उनले राष्ट्र बैंकमा काम गर्छु भन्ने सोचका थिएनन् । पढाइ राम्रो थियो । तर, आर्थिक स्थिति कमजोर भएका कारण व्यापार व्यवसाय गर्ने अवस्था थिएन । स्नातकोत्तरपछि अध्यापन तथा अनुसन्धानकर्ता सोचेका थिए । उनी कर्ममा विश्वास गर्छन् । तर, धेरै कर्म गर्ने मान्छेले फल नपाएको पनि देखेका छन् । त्यसैले उनी कर्मसँगै भाग्यमा पनि उत्तिकै विश्वास गर्छन् । त्यसैले उनले राष्ट्र बैंक प्रवेशको पललाई अविस्मरणीय क्षणका रुपमा लिन्छन् । ‘मैले आर्थिक अनुसन्धान विभागमा धेरै काम गरें । म सम्झिन्छु- हामीले कुल गार्हस्थ उत्पादन भनेर पहिलोपटक काठमाडौं उपत्यकाको जीडीपी निकालेका थियौं । नेपालमै पहिलो पटक क्षेत्रीय वा कुनै क्षेत्रलाई लिएर जीडीपी क्याल्कुलेसन गरेका थियौं । अहिले क्षेत्र, प्रदेश, क्षेत्र क्षेत्रको जीडीपी निकालिन्छ,’ उनले भने । ‘अनुसन्धान विभागमा बस्दा धेरै रिपोर्टका काम गरियो । मौद्रिक नीतिलाई कसरी सुधार गर्न सकिन्छ, मौद्रिक नीति तर्जुमा गर्दा के कस्ता गर्नुपर्ने हो, कार्यविधिमा धेरै काम गर्याैं,’ उनले भने । पछिल्लो समय ब्यालेन्स अफ पेमेन्ट (बीओपी) को पाँचौं संस्करणबाट छैटौं संस्करणमा माइग्रेट हुने कार्य चलिरहेको थियो । आर्थिक अनुसन्धान विभागमा रहँदा उनले त्यसमा पनि विशेष योगदान पुर्याएको सम्झिन्छन् । बोर्डिङको तलब र राष्ट्र बैंकको तलब उनले जुन बेला जेजस्तो अवसर पाएर काम गरे त्यसमा उनी सन्तुष्ट छन् । बोर्डिङमा पढाउँदा मासिक चार हजारको हाराहारीमा उनको तलब थियो । तर, अहिले राष्ट्र बैंकमा उनले लाखौं तलब लिन्छन् । उनी विगतमा त्यसमै सन्तुष्ट थिए । आज थप सन्तुष्ट छन् । ‘जुनबेलामा मैले बोर्डिङमा पढाएँ, त्यो बेलाको समयमा पैसाको भ्यालू पनि थियो । मैले सुरुमा इलाममा पढाउँदा मासिक ३५ सय/४ हजार रुपैयाँ तलबमा काम गरें,’ उनले भने, ‘म राष्ट्र बैंकमा सुरुमा आउँदा ९/१० हजार रुपैयाँ तलब थियो । बोर्डिङको भन्दा दोब्बर हो । तर, समय परिस्थिति फरक थियो । इलाममा गाउँमा बस्दा थियो भने काठमाडौंमा डेरामा बसेर । डेराको खर्च पनि तिर्नुपर्थ्याे ।’ केन्द्रीय बैंक जस्तो संस्थामा काम गर्ने अवसर पाउँदा उनी सन्तुष्ट छन्, खुसी छन् । अहिले राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक छन् । राष्ट्र बैंकले तीमध्येबाट दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने व्यवस्था छ । त्यसमा लागि पोख्रेल आफू अब्बल ठान्छन् ।
जो बसकाे खलासी हुँदै राष्ट्र बैंकको ईडी बने
काठमाडौं । इँटाभट्टामा काम गर्ने एक युवक । बसमा सहचालक (खलासी) बनेर यात्रु बोलाउने दैनिकी । व्यापारीका सामान साइकलमा बोक्दै बजार-बजार र पसल-पसल चहार्ने रोजगारी । यस्तो जीवनबाट निक्लेर कुनै व्यक्ति नेपाल राष्ट्र बैंकजस्तो संस्थाको कार्यकारी निर्देशक (ईडी) बन्न सक्छ भन्ने कल्पना पनि असाधारण लाग्न सक्छ । तर, गोरखाका राजनविक्रम थापाले त्यो कल्पनालाई यथार्थमा परिणत गरे । नेपाल राष्ट्र बैंकको संरचनामा गभर्नर सर्वोच्च, त्यसपछि डेपुटी गभर्नर, अनि कार्यकारी निर्देशक । गभर्नर र डेपुटी गभर्नर राजनीतिक नियुक्ति भए पनि ईडी बन्न योग्यता, क्षमता, अनुशासन र दशकौंको मिहिनेतसँगै कर्मनिष्ठ यात्रा आवश्यक पर्छ । यिनै कठिन मार्गबाट खलासी, साइकल ब्वाई र इँटाभट्टाका कामदार राजन बिक्रम थापा आज नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा उभिएका छन् । देशले चाहे उनी भविष्यमा डेपुटी गभर्नर वा गभर्नर बन्ने क्षमता पनि राख्छन् । खलासी बनेर सुरु भएको यात्रा राजविक्रम थापाले विसं २०४७ मा एसएलसी (हाल एसईई) पास दिए । नतिजा नआउँदासम्म घरमा फुर्सद बस्नुभन्दा गाडीमा खलासी बनेर काम गर्न रुचाए उनले । बुवाले किनेको गोरखा–नारायणगढ चल्ने बसमा करिब ६ महिना उनी यात्रु बोलाउने, भाडा उठाउने र सामान सम्हाल्ने काममै व्यस्त भए । ‘झुत्राझुत्री लुगा लगाएर खलासी बनेको हिजोजस्तै लाग्छ । म आज राष्ट्र बैंकको कार्यकारी निर्देशक बनेका छु भन्ने थाहा पाए भने ती ड्राइभर दाइहरू अचम्म मान्नुहुन्छ होला,’ विगत स्मरण गर्दै थापाले भने । विसं २०३२ मा गोरखा नगरपालिका–३ (तत्कालीन नारेश्वर गाविस) मा जन्मिएका थापाको परिवार स्थानीयस्तरमै एक व्यावसायिक परिवार भनेर चिनिन्थ्यो । तर, उनका भित्री अभिलाषा भने फरक थिए । जिल्ला टपर, इन्जिनियर बन्ने सपना राजन बिक्रम थापा एसएलसीमा जिल्ला टपर बने । त्यतिबेलाका प्रथम श्रेणी पनि दुर्लभ मानिन्थ्यो । उनले एसएलसीमा ४२१ अंक ल्याए । त्यो बेला फर्स्ट डिभिजन ल्याउनेको संख्या निकै कम थियो । करिब ७ हजार विद्यार्थीले फर्स्ट डिभिजन ल्याएका थिए । थापा इञ्जिनियर बन्न चाहन्थे । काका पनि इन्जिनियर नै पढिरहेको हुँदा उनलाई पनि सोही विषय पढ्ने इच्छा थियो । इन्जिनियर बन्ने सपनासहित काठमाडौं आए । प्रवेश परीक्षामा मेकानिकल इन्जिनियरिङ निकालेर पनि ‘सिभिल’ ननिस्किएको कारण पढेनन् । ठूलो परिवार भएकाले पढाइमा धेरै लगानी गर्न नसक्ने अवस्था पनि थियो । त्यसपछि गोरखा फर्किएर आइकम पढे । १८ वर्ष नपुग्दै काठमाडौं आएका उनी व्यावसायिक साहुहरूका सामान साइकलमा बोकेर पुर्याउने काममा लागे । तर, उनको नजरमा राष्ट्र बैंकको जागिर परिसकेको थियो । उनी राष्ट्र बैंकको जागिरको विज्ञापन पर्खिरहेका थिए । तर, त्यतिबेला उनी एक इँटा भट्टामा काम गर्थे । राष्ट्र बैंकको विज्ञापन पनि खुल्यो । आवेदन दिए । बाँकेको खजुरास्थित पश्चिमाञ्चल इँटा उद्योगमा अकाउन्टेन्ट भएर चार महिना गरे । ‘चार जोर लुगा लिएर गएको म एक जोर लुगामै फर्किएँ, बाँकी सबै श्रमिकलाई बाँडे,’ उनी अझै ती दिनहरू सम्झन्छन् । पछि राष्ट्र बैंकको नतिजा निस्किएपछि उनी काठमाडौं फर्किए र २१ वर्षको उमेरमा सहायक पदबाट राष्ट्र बैंकमा प्रवेश गरे । सहायकदेखि ईडीसम्म राष्ट्र बैंकमा सहायक स्तरमा प्रवेश गरेलगत्तै थापा चमेना गृहमा परे । जहाँ उनले ४ वर्षभन्दा बढी काम गरे । विसं २०५९ मा अफिसरमा नाम निकाले । करिब १६ वर्ष उनले नियमन र सुपरीवेक्षण विभागमै बिताए । नेपाल विकास बैंक समस्याग्रस्त हुँदा टेकओभरदेखि निक्षेपकर्ताको पैसा सुरक्षित राख्न उनले महत्त्वपूर्ण भूमिका खेले । ‘राष्ट्र बैंकको संरचनाभित्र रहेर चमेना गृहमा मैले प्रशासनिक सुधार गरें,’ उनले भने, ‘त्यसपछिको मेरो अधिकांश समय सुपरीवेक्षण र नियमनमा बित्यो, त्यहाँ पनि आफ्नो क्षमता देखाएँ ।’ विसं २०६३ अघि गरिएको राष्ट्र बैंकको ‘पारिवारिक सर्वेक्षण’का क्रममा उनी नेपालगञ्जका दुर्गम गाउँ–टोलमा तथ्यांक संकलनमा खटिए । जहाँ केही घण्टासम्म माओवादीद्वारा अपहरणमा परेको नमीठो अनुभव पनि छ उनीसँग । कोभिडको महामारीमा वीरगञ्ज कार्यालयमा रहेर बैंकिङ सेवा अवरुद्ध नहोस् भनी कठिन परिस्थितिमा काम गर्नु करिअरकै उल्लेखनीय क्षण बनेको थापा सुनाउँछन् । ‘कोभिडको समयमा म वीरगञ्ज कार्यालयमा थिएँ । वीरगन्जबाट पहिलो कोभिड संक्रमण सुरु भएको थियो । त्यहाँ एकदमै त्रासको वातावरण थियो । ५/७ महिना क्रिटिकल अवस्था थियो । मान्छे बाहिर निस्किन पनि डराउने, पैसा छुन पनि डराउने, मान्छेले मान्छेलाई छुन डराउने अवस्थामा थियो । त्यो कठिन अवस्थामा हामीले बैंकिङ प्रणालीमा कुनै असर नपर्ने गरी सहज रूपमा सेवा सञ्चालन गर्न पाउँदा अहिले गर्व लाग्छ,’ उनले कोडिडको समय स्मरण गर्दै भने । साहित्यका पारखी, गोरखाबाट दोस्रो ईडी काम र पढाइसँगै लेखनमा पनि थापा सक्रिय छन् । राष्ट्र बैंकले वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न प्रतिस्पर्धा गर्दै आएको छ । राष्ट्र बैंकका कर्मचारीहरू बीचमा हुने आर्थिक लेख, साहित्यिक लेख प्रतियोगितामा उनी प्रत्येक वर्ष प्रथम हुन्थे । तर, अरूलाई पनि अवसर दिनुपर्छ भन्ने सोचसहित पछिल्लो समय उनले प्रतिस्पर्धामा सहभागिता जनाउन छाडेको सुनाए । ‘राष्ट्र बैंक प्रवेश गरेपछि २०५४ सालदेखि नै पुरस्कृत हुन थालें । मैले आर्थिक लेखमा लगातार पाँच पटकसम्म पुरस्कृत भएँ । साहित्यमा धेरै पटक पुरस्कृत भएको छु । धेरै पटक पुरस्कृत भइसकेपछि म एक जना मात्रै प्रतिस्पर्धी भइरहनु राम्रो हुँदैन भनेर नयाँलाई अवसर दिने सोचसहित अहिले आवेदन दिँदैन,’ थापाले भने । ८/९ वर्षको बाल्यकालमै कविता लेख्दै रेडियोका बाल–कार्यक्रममा पठाउने गरेका थापा आज पनि साहित्य र संगीतप्रेममा सक्रिय छन् । उनका जीवनका घुम्तीहरू (कथा संग्रह), मलाई माफ गर समय (कविता संग्रह) लगायत कृति प्रकाशित छन् । उनले लेखेका गीतहरू प्रतिष्ठित गायक–संगीतकारले गाएका छन् । थापाका २ सयभन्दा बढी लेखहरू प्रकाशित छन् भने केही किताब पनि सार्वजनिक छन् । डा. प्रेमराज पन्तले अंग्रेजीमा लेखेको व्यवस्थापनका सिद्धान्त किताबलाई उनले नेपालीमा उल्था गरेका छन् । कम्प्युटर नहुँदा ३६७ पेजको सो किताब हातले लेखेरै बजारमा ल्याएको स्मरण उनलाई हिजोजस्तै लाग्छ । थापा गोरखाबाट राष्ट्र बैंकको कार्यकारी निर्देशक बन्ने दोस्रो व्यक्ति हुन् । त्यसअघि रामजी रेग्मी राष्ट्र बैंकको ईडी बनेका थिए । पीएचडी पढाइ सन् २०१०/११ मा दर्शनाचार्य अर्था् मास्टर अफ फिलोशोपी (एमफिल) पास गरेका थापा २०१६ मा विद्यावारिधि भर्ना भए । तर विद्यावारिधिका लागि दुई वर्ष पूर्ण बिदा लिनुपर्ने निमयका कारण उनले त्यहाँ पढ्न सकेनन् । कारण थियो राष्ट्र बैंकको काम । ‘राष्ट्र बैंकको उच्च तहमा प्रवेश गरेका कारण जिन्दगीको २ वर्ष पीएचडीमा खर्च गर्ने सोच बनाइनँ । त्यसपछि म चुप बसिरहेको थिएँ । कोभिडको समयमा विभिन्न विश्वविद्यालयका अफरहरू आइरहेका थिए । सिंघानिया युनिभर्सिटिले अनलाइन पढाउँथ्यो । राष्ट्र बैंकबाट स्वीकृति लिएर साढे ४ वर्षभन्दा बढी अवधि लगाएर द इम्प्याक्ट अफ कर्पाेरेट गभर्नेन्स इन नेपलिज बैंकिङ सिस्टम विषयमा उनले थेसिस लेखेर पीएचडीको अध्ययन पूरा गरेँ,’ थापाले भने । उनले सो विश्वविद्यालयबाट प्रमाणपत्र पनि पाइसकेका छन् । त्यसलाई अब इक्विभ्यालेन्ट गर्न भने बाँकी छ । डेपुटी गभर्नरका प्रतिस्पर्धी उसो त नेपाल राष्ट्र बैंकमा कार्य क्षमता र दक्षताका लागि पुग्ने सबैभन्दा माथिल्लो पद कार्यकारी निर्देशक नै हो । तर, त्योभन्दा पनि माथि दुई खुड्किला छन् । त्यो हो गभर्नर र डेपुटी गभर्नर । राष्ट्र बैंकले १८ वटै कार्यकारी निर्देशकबाट दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्छ । गभर्नरले योग्य र क्षमतावान कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बनाउनका लागि सरकार समक्ष सिफारिस गर्ने व्यवस्था छ । त्यसका लागि आफू योग्य रहेको थापा दाबी गर्छन् । राष्ट्र बैंकमा १८ जना ईडीमा सबै योग्य भए पनि २१ वर्षदेखि तल्लो तहदेखि सुरु गरेर ३० वर्षे यात्रामा सञ्चित अनुभवका कारण आफू बढी ‘ग्रास–रुट्स कन्टेक्स्ट’ बुझ्ने व्यक्ति भएको थापा बताउँछन् । ‘राज्यले आवश्यक ठान्यो भने बैंकिङ प्रणालीलाई अझ विश्वसनीय, सुरक्षित र उत्पादनमुखी बनाउन नेतृत्व दिन तयार छु,’ उनी भन्छन् । ‘हामी १८ जना ईडी एउटै भर्याङ चढेर आएका हौं । एउटै किसिमको ब्यारेलहरू पार गरेर आएका हौं । त्यसकारण सबै साथीहरू उत्तिकै सक्षम हुनुहुन्छ । तर, म २१ वर्षमै राष्ट्र बैंक प्रवेश गरेर ५० वर्षकै उमेरमा राष्ट्र बैंकबाट बिदा हुने स्थिति छ,’ उनले भने, ‘मसँग भएको ज्ञान, क्षमता, दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमबाट लिएको ज्ञानलाई कार्यान्वयन गर्ने बेला यही हो ।’ ‘मैले अर्थशास्त्र, बैंकिङ, कानुन र व्यवस्थापन पनि पढेको छु, त्यसका सैद्धान्तिक ज्ञानको विषयमा मलाई जानकारी छ । म सर्वसाधारणको अपेक्षासँग पनि र समस्यासँग पनि सामान्यतया परिचित छु । यदि मैले मौका पाउने हो र राज्यले मलाई विश्वास गर्ने हो भने आफ्नो व्यक्तिगत लक्ष्य भन्दा पनि मुलुकको आवश्यकतालाई पूर्णता दिन सक्षम छु,’ थापाले दृढताका साथ भने ।
छातीको डाम देखाउँदै राष्ट्र बैंकमा सन्तोषले मागे गुहार
काठमाडौं । साविक नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्रक्रिया चलिरहेको थियो, राष्ट्र बैंकले साविक मिर्मिरेका अध्यक्ष टेकबहादुर बोहरालाई कारबाही गर्यो । स्वार्थ बाझिनेगरी कर्जा स्वीकृत गरी आफ्नै कम्पनीबाट ऋणी सदस्यलाई सामग्री खरिद गराएको आरोपमा राष्ट्र बैंकले बोहरालाई ५ लाख रुपैयाँ नगद र ५ वर्षका लागि लघुवित्त संस्थाको अध्यक्ष बन्न नपाउने गरी कारबाही गर्यो । राष्ट्र बैंकले कारबाही गरेपश्चात बोहरा सञ्चालक समितिको अध्यक्षबाट स्वतः हटे भने सन्तोष फुयाल नयाँ अध्यक्ष बने । स्रोतका अनुसार बोहरालाई राष्ट्र बैंकबाट कारबाही गराउन मुख्य भूमिका सन्तोष फुयालले नै खेलेका थिए । लघुवित्तको सेयरधनी र सञ्चालक बनाएर भित्र्याएका फुयालको कुटनीतिपछि भिक्टिम बने बोहरा । स्रोतको दाबी अनुसार सञ्चालक समिति बैठकमा भएका छलफल र निर्णयलाई रेकर्ड गरेर फुयालले राष्ट्र बैंकका अधिकारीहरूलाई सुनाउँथे । साविक नेरुडे र मिर्मिरे लघुवित्तको मर्जर अन्तिम चरणमा रहेका बेला बोहरालाई गलहत्याएर अध्यक्ष बनेका फुयालको संस्थामा हालीमुहाली बढ्न थाल्यो । राष्ट्र बैंकको निर्णय चित्त नबुझेपछि बोहरा अदालत पुगे । अदालतले बाेहराकाे पक्षमा फैसला सुनाएपछि बोहरा पुनः नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्ष बनेर फर्किए । मर्जरपश्चात नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्ष साविक मिर्मिरे लघुवित्तले पाउने र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा साविक नेरुडे लघुवित्तबाट बन्ने सहमति थियो । सोहीअनुसार बोहरा मर्जरपछि संस्थाको अध्यक्ष बनेका थिए । तर, सन्तोष फुयाल समूहले सपथ नखुवाउन गुनासो र उजुरी गरेपछि राष्ट्र बैंकले बोहराको सपथ अल्झायो । ३० दिनसम्म पनि राष्ट्र बैंकले बोहराको सपथ खुवाएन । लगत्तै मर्जरपछि बनेको नेरुडे मिर्मिरे लघुवित्तको चुनावी सभा आउँदै थियो । चुनावका माध्यमबाट सञ्चालक बनेर पुनः अध्यक्ष बन्न अरु सेयरधनीहरूले सुझाएपछि ३० दिनमै बोहराले स्वैच्छिक रूपमा सञ्चालक समेत नरहने गरी संस्थाबाट राजीनामा दिए । साबिक नेरूडे लघुवित्तका संस्थापक रहेका मणिकुमार अर्ज्याल अध्यक्ष बने । ‘टेक बहादुरलाई फेरि राष्ट्र बैंकले रोक्यो, अध्यक्ष भएर आएपनि राष्ट्र बैंकले सपथ खुवाएन, त्यसअघि पनि कारवाही गरेको हो, दाग लागेको हो र भोलिका दिनमा फेरि टेकबहादुर संस्थामा आयो भने बर्बाद हुन्छ भनेर फुयाल समूहले मिर्मिरेका सबै सेयरधनीहरूलाई गलत प्रचार गरेर माहोल आफ्नो बनाइसकेका थिए,’ स्रोतले भन्यो । गत जेठ ५ गते चुनावी साधारण सभा थियो । साविक मिर्मिरेका सेयरधनीहरूले टेकबहादुर बोहरालाई सञ्चालकमा ल्याउन मानेनन् । तर, नेरुडेतर्फका सेयरधनीहरूले भने मिर्मिरे संस्था जन्माउने व्यक्तिलाई इग्नोर गर्नु हुँदैन भन्दै आफ्नो टिमबाट बोहरालाई सञ्चालक जिताए । ‘केही मत बोहराजीका पनि थिए । तर, उहाँको मतले मात्रै जित्नेवाला थिएन । नेरुडेबाट साढे ७ लाख कित्ता सेयर दिएर उहाँ (बोहरा)लाई सञ्चालकमा जितायौं,’ लघुवित्त स्रोतले भन्यो, ‘साविक नेरुडेबाट मणिकुमार अर्ज्याल, टेक बहादुर बोहरा, सुधीर कुमार श्रेष्ठ र साबिक मिर्मिरेबाट सन्तोष फुयाल, राजकुमार राई र सञ्जु घिमिरे निर्वाचित हुनुभयो ।’ निर्वाचित भएको दोस्रो दिन जेठ ६ गते अध्यक्ष चयन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्त गर्ने गरी समितिको बैठक बस्यो । समितिको बैठकमा सन्तोष फुयालले राजकुमार राईलाई अध्यक्षमा प्रस्ताव गरे । ‘११० कित्ते सेयरधनी, संस्थाको बारेमा केही पनि जानकारी नभएको मान्छे के हिसाबले अध्यक्ष बन्नुहुन्छ भनेर टेकबहादुरजीले बैठकमा कुरा राख्नु भयो । संस्था जन्माउने मणिकुमार अर्ज्याल हुन्। जसको व्यक्ति र परिवारको मात्रै १८ लाख कित्ता सेयर छ । त्यति धेरै सेयर भएको मान्छेलाई हामीले सम्मान गर्नु पर्ने हो,’ जेठ ६ गतेको सञ्चालक समिति बैठकमा बोहराले भनेको कुरालाई उदृत गर्दै स्रोतले भन्यो, ‘मणिजी लामो समयसम्म कार्यकारी प्रमुख पनि हुनुभयो । २७ वर्ष नेपाल बैंकमा काम गरेको अनुभव छ । उहाँ जस्तो अनुभवी मान्छेलाई अध्यक्ष बनाउन छाडेर अरूको कसरी आँट आयो ? भनेपछि राजकुमार राईले अध्यक्षबाट प्रस्ताव फिर्ता लिनु भयो । मणिकुमारजी अध्यक्ष बन्नुभयो ।’ त्यसपछि भयो सञ्चालकबीच कुटाकुट सन्तोष फुयाल समूह त्यत्तिकैमा रोकिएन । उनीहरुले सञ्चालक समितिको प्रत्येक बैठकमा दादागिरी देखाउन थालेकाे स्राेतकाे दाबी छ । एक दिन सञ्चालक समिति बैठकमा छलफल हुँदै थियो, सन्तोष फुयालले टेकबहादुर बोहरालाई हातपात गर्ने कोसिस गरे । फुयालले हातपात गर्ने कोसिस गरेपछि बोहरा सामान्य अवस्थामा थिए । तर, फुयालले पटक-पटक उनीमाथि जाइलाग्ने कोसिस गरेपछि दुबै जनाबीच कुटाकुट भएको लघुवित्त स्रोतले बतायो । ‘८ बजे बिहान बैठक बसेको थियो, ९ बजेतिर लफडा भयो । बैठकमा सन्तोषजीले तँ तँ भन्दै बोहराजीमाथि हातपात गर्न खोज्नुभयो । टेकबहादुरजीले व्यक्तिगत लेनादेना छ भने छुट्टै बसेर कुरा गरौं, संस्थाको बैठकमा यस्तो गर्नु हुँदैन भनेर सम्झाउनु भयो । तर, सन्तोषजीले मान्नु भएन र बोहरामाथि हातपात गर्न खोज्नु भयो,’ स्रोतले भन्यो, ‘त्यसपछि टेकबहादुरजीले सबै सञ्चालकलाई बाहिर पठाएर भित्रबाट चुकुल लगाउनु भयो र सन्तोषजीलाई राम धुलाइ गर्नुभयो ।’ बिहानै कुटाई खाएपछि हारगुहार माग्दै फुयाल त्यतिबेलै राष्ट्र बैंक पुगे । तर, राष्ट्र बैंकले यो घटना सल्टाउने काम आफ्नो नभएको भन्दै फिर्ता पठायो । ‘उहाँ (सन्तोषजी)लाई अलिकति घाउ-चोट पनि लागेको थियो । लात्ताले हान्दा छातीमा जुत्ताको डाम पनि बसेको थियो । छातीमा डाम बसेर रातो भएको थियो । डाक्टरको सर्टिफिकेट बनाउनु भएछ । सबै प्रमाणसहित टेक बहादुरले मलाई कुटपिट गर्याे भन्दै राष्ट्र बैंकमा उजुरी दिन जानु भयो,’ घटनाको विवरण सुनाउँदै स्रोतले भन्यो, ‘टेकबहादुर अपराधी हो, मान्छे कुट्दै हिँड्छ भनेर राष्ट्र बैंकले प्रमाणित गर्दैन । प्रहरीबाट प्रमाणित गराएर ल्याउनुहोस्, प्रहरीले यदि ऊ (टेक बोहरा) अपराधी र गुण्डा हो, जेल बसेको प्रमाण छ भने लिएर आउनुहोस् । हामी त्यस्तो गुण्डा र अपराधी व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक बस्न अयोग्य छ भनेर लेखिदिन्छौँ भनेर सन्तोषजीलाई राष्ट्र बैंकले फिर्ता पठाएछ ।’ राष्ट्र बैंकबाट फिर्ता पठाएपछि फुयालले प्रहरीवृत्त दरबारमार्गमा बोहराविरुद्ध उजुरी दर्ता गराए । फुयालले हारगुहार गरेर पूर्वडिआईजीदेखि पूर्वसचिवसम्मलाई फोन गरेर बोहरालाई एक दिन भएपनि जेल हाल्ने कोसिस गरे । तर, उनको त्यो कोसिस सम्भव नभएकाे स्राेतकाे दाबी छ । ‘शुक्रबारको दिन थियो, प्रहरीबाट फोन आयो,’ टेकबहादुरले विकासन्युजसँग भने, ‘तपाईंको विरुद्धमा दरबारमार्ग प्रहरी कार्यालयमा उजुरी परेको छ । तुरुन्त आउनुपर्याे, यदि आउनु भएन भने हामी पक्राउ गर्छाैं भन्नु भयो । मैले आज शुक्रबार हो, अहिले आउन सक्दिनँ, भोलि समय मिलाएर आउँछु भनेर फोन काँटे ।’ दोस्रो दिन शनिबार १२/१ बजेतिर बोहरा प्रहरी कार्यालय पुगे । तर, फुयाल भने नेकपा एमालेका राजन कुमार भट्टराईको समूहसहित ३ बजे मात्रै प्रहरी कार्यालयमा आइपुगे । ‘उनीहरूले मलाई एक दिन भएपनि जेल हालि दिनुहोस् भनेर प्रहरीसँग आग्रह गरिरहेका थिए । जेल हालेपछि त्यसैको आधारमा राष्ट्र बैंकमा उजुरी हाल्ने र मलाई संस्थाबाट निकाल्ने योजना उनीहरूको थियो । उनीहरूले त्यहाँको इन्स्पेक्टरलाई पनि प्रभावमा पारिसकेका थिए । त्यो दिन डीएसपी भने कार्यालयमा थिएनन् । बढी कुरा गर्ने भन्दै इन्स्पेक्टरले डरधम्की दिन थाले,’ बोहराले घटना सुनाउँदै भने, ‘मलाई पनि चोटपटक लागेको छ । तर, मैले व्यक्त नगरेको मात्रै हो । मेरो पनि मुद्दा दर्ता गर्नुहोस् भनेपछि उहाँहरू हच्किनु भयो ।’ आज शनिबारको दिन उजुरी लिँदैनौँ भनेर प्रहरीले इन्कार गरेकाे उनकाे भनाइ छ । जेल हाल्ने हो भने दुवै जनालाई हालौँ, होइन भने कोही पनि जेल जाँदैन भनेपछि मिलापत्र गर्न उनीहरू पनि सहमत भएकाे उनले सुनाए । दिउँसो ३ बजेदेखि भएको छलफल राति ८ बजे मात्रै मिलापत्र गराएर टुंगिएको बोहराले विकासन्युजलाई बताए । यसरी अध्यक्ष बने राजकुमार राई राष्ट्र बैंकले स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्याे भनेर दबाब दिइरहेको थियो । त्यसपछि अध्यक्ष अर्ज्यालले राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने गरी बैठकमा प्रस्ताव गरे । तर, फुयाल समूहले सहमति दिन मानेनन् । त्यसपछि उनीहरुले झापाका भानुभक्त दवाडीलाई राष्ट्र बैंकबाट भन्न लगाएर अध्यक्ष अर्ज्याललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्न लगाए । ‘राष्ट्र बैंकको शक्ति प्रयोग गरेर उनीहरुले भानु दवाडीलाई स्वतन्त्र सञ्चालक चयन गर्न भने । राष्ट्र बैंकको नियमन विभाग प्रमुखले भनेको मान्छे राम्रो नै होला भनेर अध्यक्ष मणि सर पनि राजी हुनुभयो । बायोडाटा हेर्दा पनि धेरै पहिला एनआईसी एशियामा काम गरेको रहेछ । अहिले एउटा निजी कलेजमा लेक्चरर रहेछन्,’ स्रोतले भन्यो, ‘उहाँ (दवाडी) राम्रो मान्छे नै रहेछ भनेर अध्यक्षज्यूको प्रस्तावमा असार २० गतेको बैठकले फुयाल समूहका ३ जना र हामी ३ जनाले सर्वसम्मतिमै स्वतन्त्र सञ्चालक नियुक्त गर्याैं ।’ स्वतन्त्र सञ्चालक नियुक्त भएको १ महिना नपुग्दै तपाइको काम छैन, मिसन, भिजन केही पनि छैन भनेर फुयाल समूहले अध्यक्ष मणिलाई थर्काउन थाले । साथै उनीहरुले तत्काल नयाँ अध्यक्ष चयनका लागि बैठक बोलाउन भन्दै कम्पनी सचिवमार्फत साउन २७ गते अविश्वासको प्रस्ताव पेस गरे । अध्यक्ष अर्ज्यालले भदौ ४ गते सञ्चालक समिति बैठक बोलाए । ‘बैठकमा उनीहरू योजनासहित आउनु भएको थियो । प्रस्तावको पक्ष र विपक्षमा सहितको कागज बनाएर ल्याउनु भएको थियो । साथै अध्यक्षलाई हटाउनुपर्ने आधार र कारणहरू पनि थिए,’ स्रोतले भन्यो, ‘३ महिना पनि पुगेको छैन । यो राजनीतिक दल पनि होइन । एउटा वित्तीय संस्था हो । आर्थिक योजनाका विषय हुन्छन् । पब्लिकमा राम्रो सन्देश जाँदैन । तपाईंहरूले लगाएका आरोप सत्य होलान् । तर, यसरी तत्काल परिवर्तन गर्नु राम्रो हुँदैन भनेर बोहराजीले भन्नुभयो ।’ स्वतन्त्र सञ्चालक आफ्नो पक्षमा छ भनेर मणिकुमार अर्ज्याल समूह ढुक्क थियो । तर, स्वतन्त्र सञ्चालक दवाडीले अर्ज्यालको पक्षमा हस्ताक्षर गर्न मानेनन् । ‘अध्यक्षले कार्यकारी प्रमुखको म्याद सकिँदा पनि नयाँ कार्यकारी प्रमुख नियुक्तिमा ढिलाई गरेको हुँदा उहाँको पक्षमा म सहमत छैन । अध्यक्ष परिवर्तन गर्नुपर्ने पक्षमा सहमत छु,’ स्वतन्त्र सञ्चालक दवाडीले बैठकमा सुनाएपछि अर्ज्याल समूह तीनछक पर्याे । ‘प्रक्रिया अघि बढिसकेको हुँदा उनीहरू पक्षमा ४ जना भयो भने अर्ज्याल समूहमा ३ जना मात्रै । त्यसपछि उनीहरुले सोही बैठकमा राजकुमार राईलाई अध्यक्ष बनाए ।’ त्यसपछि भयो किर्ते काम अध्यक्ष चयन भएको दोस्रो दिन नै उनीहरुले सपथका लागि राष्ट्र बैंकमा निवेदन दिए । उनीहरुले राष्ट्र बैंकमा पेस गरेको निवेदनमा राजकुमार राई सर्वसम्मतबाट अध्यक्ष चयन भएको भनेर दाबी गरेका थिए । जबकि राई बहुमतको आधारमा संस्थाको अध्यक्ष बनेका थिए । ‘सर्वसम्मतिबाट अध्यक्ष चयन गरिएको भनेर राष्ट्र बैंकमा सपथ ग्रहणका लागि निवेदन दिनु भएछ । तर, मैले फरक मत राखेको थिएँ । त्यहाँ कसरी सर्वसम्मत लेखियो ? सर्वसम्मत होइन, भोटिङ भएको हो । ३/४ भएको हो । उहाँले सर्वसम्मत भनेको गलत हो । मेरो सहमति छैन भनेर मैले राष्ट्र बैंकमा उजुरी हालेपछि राष्ट्र बैंकले सपथ ग्रहण रोक्यो,’ बोहराले भने, ‘राष्ट्र बैंकले कात्तिक १३ गते एउटा चिठ्ठी पठाउँदै सर्वसम्मत्र भनिएको छ तर, एक जना टेकबहादुरले फरक मत राख्नु भएको छ । यो विषय प्रमाणित गर्नुहोस्, आवश्यक कागजात पठाइदिनुहोस् भनेर पत्र काट्यो । साथै यो सर्वसम्मत हो कि बहुमत हो भनेर स्पष्ट पठाउनुहोस् भन्यो ।’ बोहराका अनुसार भदौ ४ गतेको सञ्चालक समितिमा अध्यक्ष परिवर्तन हुँदा राष्ट्र बैंकको एउटा टोली लघुवित्तको केन्द्रीय कार्यालयमा सुपरीवेक्षण गरिरहेको थियो । उनीहरूले ४ गतेको सञ्चालक समिति बैठकको सबै डकुमेन्टको फोटोकपी गरेर लगेको थियो । तर, किर्ते गरेको कागजका आधारमा राष्ट्र बैंकले राईलाई अध्यक्ष पदको सपथ खुवाएको उनले बताए । ‘राष्ट्र बैंकबाट भदौ १३ गते चिठ्ठी पठाएको दिन शुक्रबार थियो । राष्ट्र बैंकबाट चिट्ठी आएको थाहा पाएपछि तत्काल फुयालजीहरू राती ७ बजे लघुवित्तमा अफिस खोल्न लगाएर पुरानै माइन्यूटमा च्याट्ट काटेर बहुमत भन्ने शब्द लेख्नु भयो । बहुमत लेखेर तल र माथि हस्ताक्षर गर्नुभयो । र, त्यसैका आधारमा पुनः सपथ ग्रहणका लागि राष्ट्र बैंकमा पेस गर्नु भयो,’ बोहराले भने, ‘उहाँहरूले ठूलो कीर्ते काम गर्नुभयो । फटाई काम गर्नु भयो र प्रभावमा पारे भन्दै अर्ज्यालजीले राष्ट्र बैंकमा उजुरी हाल्नु भयो ।’ भदौ २८ गते सञ्चालक समितिका सबै सदस्यलाई राष्ट्र बैंकमा बोलाएर छलफल गरियो । ‘तपाईंहरूबीच धेरै विवाद भयो । कि तपाईंहरू सर्वसम्मत निर्णय गराएर ल्याउनुहोस् । राजकुमारलाई मान्नु हुन्न भने अरू कसैलाई मनाएर आउनुहोस् । यदि होइन भने राष्ट्र बैंकले आफ्नै किसिमको निर्णय गर्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले निर्देशन दिएको बोहराले सुनाए । त्यसपछि थप छलफल वा कुनै समाधान ननिकाली ३४औँ दिनमा किर्ते कागजका आधारमा राष्ट्र बैंकले राजकुमार राईलाई सपथ खुवाएको बोहराले बताए । यस विषयमा फुयालसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।