अर्थमन्त्रीहरूसँग सेटिङ, ऋणीसँग घुस
काठमाडौं । नेपाल बैंकका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारी बैंककै पूर्वप्रमुख सञ्चालन अधिकृत (सहायक प्रमुख कार्यकारी अधिकृत (पूर्वएसीईओ) लक्ष्मण पौडेललाई नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बनाउन चाहन्थे । तर, पौडेललाई बैंकको डीसीईओ बन्न कानुन बाधक थियो । पौडेलमात्रै नभई जोकोहीलाई पनि डीसीईओ बन्न बैंकको कानुन बाधक छ । किनभने बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पछि एउटा मात्रै डीसीईओ रहने व्यवस्था छ । हाल बैंकको डीसीईओ पदमा कार्यरत छिन् समता पन्त । पन्त डीसीईओ हुँदाहँदै अर्काे व्यक्ति डीसीईओ बन्ने सम्भावना बैंकमा छैन । केही कर्मचारीहरूले बैंकमा दुइटा डीसीईओ हुनुपर्ने माग राख्दै आएका छन् । तर, त्यसको लागि कानुन नै संशोधन गर्नुपर्ने हुन्छ । दुइटा डीसीईओ भएपछि सीईओलाई काम गर्न सहज र अन्य काम कारवाहीमा सहज हुने तर्क छ । नेपाल बैंक राष्ट्रिय कर्मचारी संगठनले पनि दुइटा डीसीईओ हुनुपर्ने माग राख्दै आएको छ । ‘शाखा कार्यालयमा जाँदा कर्मचारीहरूले हाम्रो वृत्ति विकास हुन सकेन । एउटै ठाउँमा बस्नु पर्यो । सरकारी बैंकमा अवसर नभएपछि कर्मचारीहरू निजी बैंकमा जान थाले भन्ने गुनासो आउन थाल्यो । राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले पनि वार्षिकोत्सवको अवसरमा कर्मचारीको वृत्तिविकासमा जोड दिन निर्देशन दिनुभयो,’ बैंक स्रोतले भन्यो, ‘ओ एण्ड एम र सीबीएसमा आवाज उठेपछि सञ्चालक समितिले अर्गनाइजेशन एण्ड व्यवस्थापन (ओ एण्ड एम) ब्यूँतायो ।’ बैंकको आगामी योजनाअनुसार सूचना प्रविधिको बढ्दो प्रयोग र कर्मचारीको वृत्ति विकासबीच सन्तुलन कायम हुने गरी बैंकको संगठनात्मक संरचना सुधार गर्न ओ एण्ड एम सर्भेयको कामलाई टुङ्गोमा पुर्याउनेछ । ओ एण्ड एमको संयोजक गंगाप्रसाद ज्ञवालीलाई बनाइयो भने साधना घिमिरे सदस्य बनिन् । साथै दुइटा डीसीईओ हुने गरी अर्गनाइजेशन एण्ड व्यवस्थापन प्रतिवेदन तयार भयो । तर, ज्ञवाली आफैले उक्त प्रतिवेदन कार्यान्वयनमा भने आनाकानी गर्न थाले । ‘चार जनाको सञ्चालकको संयोजकत्वमा विभिन्न समिति थिए । तर, सुनियोजित रूपमा ज्ञवालीलाई कर्मचारी सेवा सुविधा (एचआर) समितिको संयोजक बनाइयो । ज्ञवाली सरले मनलाग्दी कर्मचारीको सरुवा गर्न थाल्नु भयो । अडिटर विनय केसरीको सरुवा गरेपछि नयाँ मान्छे आउनु भयो,’ स्रोतले भन्यो, ‘नयाँ मान्छेले म नयाँ हो । भर्खर आएको छु, बुझ्न समय लाग्छ भन्न थाल्नु भयो । त्यसपछि आन्तरिक मतभेदका कारण ओ एण्ड एम सर्भेय रिपोर्ट समयमै बुझाउन सकेनौं ।’ त्यतिबेलासम्म लक्ष्मण पौडेलको अवकाश समय घर्किसकेको थियो । ओ एण्ड एम प्रतिवेदन समयमा पेस गर्न नसकेपछि लक्ष्मण डीसीईओ बन्नबाट वञ्चित भए । उनी गत चैतको अन्तिम साता अनिवार्य अवकाश पाएर बैंकबाट बाहिरिए । लहरो तान्दा पहरो विसं २०७९ असार १५ गते नेपाल बैंकको सञ्चालक बने गंगाप्रसाद ज्ञवाली । त्यतिबेला अर्थमन्त्री थिए जनार्दन शर्मा । सरकारको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका ज्ञवाली शर्माको निर्देशनमा एक महिनापछि अर्थात् साउन २३ गते अध्यक्ष चुनिए । यस्तै, विसं २०८० भदौ १३ गतेको बैठकले डा.चन्द्रबहादुर अधिकारीलाई स्वतन्त्र सञ्चालक (विज्ञ सञ्चालक)का रूपमा नियुक्त गर्यो । त्यतिबेला अर्थमन्त्रीमा आइसकेका थिए डा.प्रकाश शरण महत । सञ्चालक बनेको एक महिना नपुग्दै असोज २ गते बैंकको अध्यक्ष चयन भए डा. अधिकारी । जनार्दन अर्थमन्त्री हुँदा अध्यक्ष बनेका ज्ञवाली सञ्चालक पदमा झरे । डा. अधिकारी अध्यक्ष रहेकै बेला बैंकमा नयाँ सीईओ नियुक्ति प्रक्रिया अघि बढ्यो । साथै कांग्रेस निकट मानिने तीलकराज पाण्डेयलाई बैंकको सीईओमा नियुक्ति गरियो । साथै, वि.सं २०८१ भदौ २७ गते बैंकको सञ्चालक बनेर आए अर्थमन्त्रालयका सहसचिव थानप्रसाद पंज्ञानी । पंज्ञानी बैंकमा आउँदा अहिलेका अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयको नेतृत्व सम्हालिसकेका थिए । ऋणीहरूबाट घुस लिएको उजुरीपछि भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीमाथि अनुसन्धान गरिरहेको थियो । राष्ट्र बैंकले पनि निरीक्षण गरिरहेको थियो । अनुसन्धानमा सहज होस् भन्ने हिसाबले फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई अध्यक्षबाट हटाएर पंज्ञानीलाई बैंकको अध्यक्ष बने । राष्ट्र बैंकले गरेको निरीक्षणमा दोषी ठहर भएपछि ५ लाख रुपैयाँ जरिवानासहित अधिकारीलाई कारबाही गर्यो । राष्ट्र बैंकको निर्देशनमै अधिकारी सञ्चालकबाट पनि निकालिए । साथै, अर्थमन्त्रालयको पत्रअनुसार २ महिना कार्यकाल बाँकी छँदै ज्ञवालीलाई पनि सञ्चालकबाट हटाइयो । ‘डा.अधिकारीले दुइटा डीसीईओ राख्न खोज्नुभयो । दुइटा डीसीईओ हुँदा वरिष्ठताका आधारमा लक्ष्मण सर बन्नुहुन्थ्यो । तर, हामी सबै एकैदिन आएको हो भनेर एसीईओ लगायत अन्य कर्मचारीहरूले विरोध गर्नुभयो,’ बैंक स्रोतले भन्यो, ‘लक्ष्मणलाई डीसीईओ बनाउन खोजेपछि चन्द्र सरलाई धेरै अट्याक भयो । त्यसपछि उनीहरूले हड्ताल गर्ने, खोजी तलासी गर्न थाले । लहरो तान्दा पहरो निक्लियो ।’ अध्यक्ष बन्न पंज्ञानीको लबिङ डा. अधिकारीमाथि अख्तियारको अनुसन्धान जारी थियो । यही बीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवबाट सरुवा भएर अर्थसविच बने घनश्याम उपाध्याय । डा. अधिकारीले अध्यक्षबाट राजीनामा दिएमा आफूले अर्थसविचसँग भनेर अख्तियारको विषय टुंगोमा लगाउने भन्दै पंज्ञानीले सञ्चालकहरूसँग बार्गेनिङ गरेको स्रोतको भनाइ छ । सोही अनुसार अधिकारीले अध्यक्ष पद छाडेका थिए । त्यसपछि साधना घिमिरेको प्रस्तावक र ज्ञवालीको समर्थनमा पंज्ञानी अध्यक्ष बने । ‘डा.अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । अर्थसचिव पनि अख्तियारबाट आउनु भएको छ । हामी समन्वय गर्छाैं भनेर पंज्ञानी सर लाग्नु भयो,’ स्रोतले भन्यो, ‘मन्त्रालयबाट दबाब आउन थालेपछि साधना घिमिरेको प्रस्तावक र ज्ञवालीको समर्थनमा पंज्ञानी अध्यक्ष बन्नु भयो ।’ बैंकका अध्यक्ष पंज्ञानी भने आफूमाथि निराधार आरोप लगाइएको बताउँछन् । प्रमाणका आधारमा मात्रै यस्ता विषय उठ्नु पर्ने उनको भनाइ छ । ‘ममाथि लगाइएका आरोप मात्रै हुन् । यस्ता कुराको उत्तर मसँग पाउनु हुन्न । मुद्दा उठिसकेको मान्छे त्यसै पनि बस्न मिल्दैन । उहाँले आफैले जान्ने विषय हो । त्यसको उत्तर मसँग हुँदैन । उहाँलाई नै सोध्नु न मैले मिलाइदिन्छु भनेको छ भने प्रमाण होला । तपाईंलाई भन्ने मान्छेसँग के प्रमाण छ, त्यो देखाउनुपर्यो,’ उनले भने । यसरी पूर्ण हुँदैछ सञ्चालक समिति बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व छ । एक जना महिला समेतको प्रतिनिधित्व हुने गरी ७ जनाको सञ्चालक समिति गठन गर्नुपर्ने हुन्छ । सञ्चालक समितिमा सरकारको तर्फबाट मनोनित ३ जना, सर्वसाधारणको तर्फबाट निर्वाचित ३ जना र सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालक १ जना हुनुपर्छ । तर, हाल बैंकको सञ्चालक समिति अपूरो छ । बैंकको सञ्चालक समिति पूर्ण नहुँदा व्यावसायिक निर्णय पनि रोकिएको नेपाल बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष गोविन्दप्रसाद सुवेदी बताउँछन् । अध्यक्षमा थानप्रसाद पंज्ञानी छन् भने साधना घिमिरे सञ्चालक छिन् । पंज्ञानी र घिमिरे अर्थमन्त्रालयबाट मनोनित हुन् । रिक्त रहेको सञ्चालकमा अर्थमन्त्रालयले निर्णय गरेर माया आचार्यलाई पठाइसकेको बैंकका अध्यक्ष थानप्रसाद पंज्ञानीले जानकारी दिए । आचार्य सञ्चालक बनेर आएपछि तीन सदस्यीय सञ्चालक समिति बन्नेछ । साथै सञ्चालक समितिलाई पूर्ण बनाउन कर्मचारी सञ्चय कोषबाट एक जना ल्याउने तयारी रहेको उनको भनाइ छ । त्यसपछि चार सदस्यीय सञ्चालक समितिको बैठक बस्ने र स्वतन्त्र सञ्चालक नियुक्त गर्ने उनले बताए । ‘विश्वविद्यालमा पढाउने माया आचार्य म्यामलाई नियुक्ति गरेर पठाइसकेको छ । उहाँ बुटवलतिरको हुनुहुन्छ । अर्थशास्त्री पनि हो । एकजना सञ्चय कोषबाट पनि आउनु हुन्छ । त्यसपछि स्वतन्त्र सञ्चालक नियुक्त गरेर हामी पाँच जना पुग्छौं,’ पंज्ञानीले भने । उनले अदालतको मुद्दाले केही असर नगर्ने तर्क दिए । ‘कानुनविदहरूले सञ्चालक नियुक्ति गर्न मिल्छ भन्नु भएको छ । अहिले जस्तो केस छ, त्यस्तै विगतमा पनि दुईपटक भएको नजिर छ । त्यही नजिरको आधारमा मिल्छ भन्ने छ,’ उनले भने । बैंकिङ विज्ञ अम्बिर बोगटी सञ्चालक समितिको बैठक बस्न ५१ प्रतिशत सञ्चालकको उपस्थिति अनिवार्य रहेकाले तीन जना सञ्चालकको मात्रै बैठक बस्न नमिल्ने बताउँछन् । साथै कुनै पनि निर्णय गर्न नमिल्ने र सञ्चालकको निर्वाचन रोक्न अदालतमा मुद्दा परेकाले सर्वसाधारण सेयरधनीहरूबाट नयाँ सञ्चालक आउने ठाउँ नरहेको उनको भनाइ छ । यदि तीन जना सञ्चालकको मात्रै बैठक बस्यो भने बाफियाले अवैध मान्ने उनले बताए । ‘साधारण सभाबाट नयाँ सञ्चालक ल्याउनुपर्ने हुन्छ । तर, बैंकको साधारण सभाको विषय अदालतमा छ । ४ जना सञ्चालक रहँदै नयाँ सञ्चालक नियुक्ति गरेको भए हुने थियो । त्यस्तो हुन नसकेपछि तत्काल बैंकको सञ्चालक समितिको बैठक बस्ने अवस्था देखिँदैन । किनभने बाफियाले तीन जनाको मात्रै बैठक नै बस्न मिल्दैन भनेको छ । कानुनभन्दा बाहिर गएर बैठक बस्न मिलेन,’ उनले भने । उनका अनुसार अदालतको फैसला नआउँदासम्म सञ्चालक समिति पूर्ण बन्ने अवस्था छैन । ‘अब केही समयका लागि बैंक व्यवस्थापनले चलाउँछ । सञ्चालक समितिका निर्णय वा नीतिगत निर्णय लक भएर बसे । अदालतको निर्णय आएपछि चुनाव हुन्छ । चुनाव भइसकेपछि नयाँ सञ्चालक आउँछन्,’ उनले भने । के हो चन्द्र अधिकारीको मुद्दा ? डा. अधिकारीले सस्तो ब्याजदरमा बैंकबाट कर्जा उपलब्ध गराउन सहजीकरण गर्ने भन्दै चितवनतिरका केही व्यवसायीबाट केही रकम मागेका थिए । बैंकको अध्यक्ष भएकाले विश्वास गरेर ऋणीहरूले पनि केही रकम दिए । तर, उनले आफ्नो खातामा आउँदा धेरै शंका उत्पन्न हुने आशंका गरेर आफ्नो ड्राइभरको खातामा रकम जम्मा गर्न लगाए । तर, बैंकका कर्जा विभाग प्रमुख लगायत व्यवस्थापन टिमले ऋणीहरूको फाइल नै स्वीकृत गरेनन् । नेपाल बैंकमा ६ करोडभन्दा माथिको कर्जालाई कर्पाेरट कर्जामा छुट्याइन्छ । ‘ऋणीहरूले नै अध्यक्षले घुस मागेको भनेर उजुरी दिए,’ बैंक स्रोतले भन्यो, ‘तर, पछि उनीहरूले हामीबाट सापटी लिएको हो, अन्य प्रयोजनका लागि होइन भनेर राष्ट्र बैंकमा बयान दिए । तर, राष्ट्र बैंकले त्यसलाई घुस नै भएको ठहर गर्दै अधिकारीलाई कारवाही गर्यो, कर्जा स्वीकृत नभएपछि सबै कुरा छताछुल्ल भएको हो ।’ यो घटनापछि बैंकका कर्मचारीले अब सञ्चालक नियुक्ति गर्दा बैंक बुझेका, व्यक्तिगत स्वार्थभन्दा पनि संस्थाको हितको लागि काम गर्ने मान्छे पठाउनुपर्ने आवाज उठाइरहेका छन् । अधिकारीले बैंकको ठूलो बदनाम गरेको बुझाइ कर्मचारीहरूको छ । यसले बैंकको गुडविलमा ठूलो क्षति पुगेको उनीहरूको बुझाइ छ । ‘अधिकारीले नेपाल बैंकमा घुस नदिइकन कर्जा पाइँदैन भन्ने भाष्य सिर्जना गरे, बैंकका तल्लो तहका कर्मचारीलाई अख्तियारमा गएर बयान दिनुपर्ने अवस्था आयो, बैंकको प्रतिष्ठामाथि पनि प्रश्न उठ्यो,’ बैंकका एक उच्च तहका कर्मचारीले भने ।
केपी ओलीसँग राधिकाको असन्तुष्टि र अपेक्षाका गोप्य सूची
‘…त्यसपछि मैले श्रीमतीको रूपमा ‘अपेक्षा’ गर्नै छाडिदिएँ,’ प्रधानमन्त्राणी राधिका शाक्यले आत्मकथा पुस्तक करुणामा श्रीमान वहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा लेखेकी छिन् । यो विषय मेरो आँखामा मात्र परेन, मनमस्तिष्कमा पनि छिर्यो । त्यसपछि मेरो ध्यान किताब रिपोर्टिङमा गयो । केपी ओली र राधिका शाक्यको सन्तान प्राप्ति किन नभएको रहेछ भन्ने कौतुहलता मेरो मनमा उब्जियो । किताबमा केही त पक्कै उल्लेख होला भनेर उत्सुकतापूर्वक पढेँ । उनीहरूको उमेर, विवाह, प्रजनन वातावरण, दम्पतीको इच्छा, स्वास्थ्य अवस्था जस्ता विषयमा बुझ्ने उत्सुकता पलायो । राधिकाले किताबमा सन्तान पाउने इच्छा रहेको विषयलाई अभिव्यक्त गरेकी छिन् । उनले करुणा पुस्तकमा छोरी हुँदाको भूमिका र अनुभव लेखेकी छिन् । श्रीमती हुँदाको भूमिका र अनुभव पनि लेखेकी छिन् । बुहारी हुँदाको भूमिका र अनुभव पनि लेखेकी छिन् । तर आमाको भूमिका र अनुभव लेखेकी छैनन् । राधिका किन आमा बनिनन् ? उमेर, विवाह, प्रजनन वातावरणबारे पुस्तकमा लेखिएका विषयहरू नै उहाँ उल्लेख गरिएको छ । उमेर २००८ फागुन १० गते केपी ओली जन्मिएका थिए, राधिकाको जन्म २०१६ साल साउन ९ गते भएको हो । २०४४ साल फागुन १० गते उनीहरूको विवाह भएको थियाे । ओलीको जन्मदिनमा नै विवाह भएको देखिन्छ । त्यसैले पनि होला राधिकाले आफ्नाे जन्मदिनलाई महत्त्व नदिने गरेको तर ओलीको जन्मदिनलाई विशेष महत्त्व दिने गरेको पुस्तकमा लेखेकी छिन् । ढिला विवाह भएका कारण राजनीतिज्ञहरू मोहनचन्द्र अधिकारी, शेरधन राई, बलबहादुर केसी, प्रदीप पौडेल लगायतको सन्तान नभएको समाचारहरू बनेका छन् । ढिला विवाहकै कारण कलाकारहरू राजेश हमाल, मिथिला शर्मा, गायक रामेश लगायतको सन्तान भएका छैनन् । तर केपी र राधिकाको विवाह धेरै ढिला भएको होइन । विवाह गर्दा केपी ओली ३६ वर्षका थिए, राधिका शाक्य २८ वर्षकी थिइन् । दुई जनाको उमेरअन्तर ८ वर्षको छ । विवाहको उमेर र दम्पतीको उमेर अन्तरका आधार सन्तान भएन भन्न मिल्दैन । ४५ वर्षको उमेरमा विवाह गरेका शेरबहादुर देउवा र आरजु राणाको एक छोरा छन् । दुई पटक विवाह केपी ओली र राधिका शाक्यबीच दुई पटक विवाह भएको रहेछ । पहिलो विवाह २०४४ साल फागुन १० गते कुपण्डोलस्थित पार्टीका एक कार्यकर्ताको घरमा भएको थियो । जनवादी विवाहमा झलनाथ खनाल, विष्णु रिमाल, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यसहित १५/२० जनाको उपस्थिति रहेको किताबमा उल्लेख छ । रोचक विषय यो छ कि विवाह भएको दिन राधिका घर गइनन्, उनी माइत नै बसिन् । विवाह भएको एक सातासम्म राधिकाले परिवारसँग नभनेको र एक सातापछि पनि केपी ओलीसँग विवाह गर्दैछु भनेकी रहेछिन् । त्यसपछि घर ठेगाना नभएको केटा, त्यो पनि अन्तरजातीय विवाह गर्न लागेको भन्दै परिवारको मञ्जरी लिन नसकेको विषयमा किताबमा लामो वर्णन गरिएको छ । ओली र शाक्यबीच दोस्रो विवाह २०४४ फागुन २८ गते भएको छ । यो विवाह पारिवारिक रूपमा भएको छ तर यो विवाह बेहुलीका बाले बहिष्कार गरेका छन् । छोरीको विवाहका दिन राधिकाको बुबा ससुराली गइ बसेका छन् । ठूलाबा र आमाले विवाह कर्म गराएका छन् । ओलीको दोस्रो विवाहको जन्तीमा सुशील प्याकुरेल, नारद भारद्वाज, दीपक अमात्य लगायत सहभागी भएका थिए । दोस्रो विवाह भएको दिन राधिका र केपी पाटनकै एक डेरामा बस्छन् । डेरा आफूले खोजेको, कोठामा चाहिने सबै सामान आफूले बन्दोबस्त गरेको उल्लेख गर्दै राधिकाले लेखेकी छिन्- ‘खासमा बिहेपछि उहाँले मलाई होइन, उहाँलाई मैले भित्र्याएको अवस्था थियो ।’ केपी ओली, झलनाथ खनाल ईश्वर पोखरेल, शंकर पोखरेल, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत धेरै नेताहरूले घरबेटीको छोरी भगाएका गसिफ अर्थात् उडन्ते गफ राजनीतिक वृतमा बारम्बार हुन्छ । तर राधिकाले यसबारे खण्डन गरेकी छिन् र लेखेकी छिन् कि ‘म घरबेटीको छोरी पनि होइन, केपी ओलीले मेरो माइतीमा डेरा जमाएका पनि थिएनन् ।’ यसबारे सत्यतथ्य खोज्दा नयाँ लेख बन्छ । डेरालाई ससुरालीमा परिणत गर्ने नेताहरूको वास्तविकता खोतल्ने हो भने अर्को किताब नै तयार हुन्छ । प्रजनन वातावरण सन्तान प्राप्तिका लागि विवाहपछि प्रजनन वातावरण अत्यन्तै महत्त्वपूर्ण हुन्छ । केपी ओली र राधिका दम्पतीले त्यस्तो वातावरण नपाएको करुणा पढ्दा छर्लङ्ग हुन्छ । श्रीमान श्रीमतीबीचको सम्बन्ध र पारिवारिक वातावरण जस्तो हुनुपर्ने हो हामीबीच त्यस्तो हुन नसेकेको राधिकाले किताबमा लेखेकी छिन् । उनले श्रीमान्–श्रीमतीबीचको सम्बन्ध र सन्तानबारे एउटै अध्याय वा खण्डमा उल्लेख गरेकी छैनन् । तर फरक फरक अध्यायमा टुक्रा टुक्रा गरेर वास्तविकता लेखेकी छिन् । श्रीमानश्रीमतीबीच रसरङ नै हुन नपाएको समेत उनले लेखेकी छिन् । यतिसम्म लेखिएको छ कि-'विवाहपछिको जीवनलाई ‘तावाबाट झरेको माछो भुङ्ग्रोमा’ भनेजस्तै हुँदै गयो ।’ फरक फरक प्रशङ्गहरूमा विवाहपछिको अवस्थाबारे उनले लेखेकी छिन्- ‘…त्यो सानो कोठामा सोह्र-सत्र जना मान्छेहरू पनि सुन्तुपर्थ्यो । सुत्ने पनि के भन्नु, अटे पो सुत्नु । रात कटाउने मात्र । …डेरा सार्वजनिक स्थल जस्तै थियो । मान्छेहरूको भेटघाटको चाप मैले कल्पना गरेको भन्दा विल्कुलै बढी हुन्थ्यो । …. हाम्रो डेरा राजधानी बाहिरबाट आउने कार्यकर्ताको लागि आश्रयस्थल बनेको थियो ।’ २०५१ सालमा केपी ओली गृहमन्त्री हुँदासम्म एउटा मात्र कोठाको डेरा रहेको किताबमा लेखिएको छ । ‘…श्रीमान्–श्रीमतीका रूपमा ‘सेयरिङ, रेयरिङ र केयरिङ’ भन्ने चिज कहिल्यै अनुभूति गर्न पाइएन । …विहेपछि हामीले गुमाएको केही चिज थियो भने त्यो श्रीमान श्रीमतीबीचको आत्मीय सम्बन्धको पल थियो । …सम्बन्धको मधुरताको लागि पर्याप्त समयको पनि जरुरी थियो । जुन हामीले पाएका थिएनौं ।… विहेपछि हाम्रो आफ्नो व्यक्तिगत समय, निजी स्पेस भएन । …हामीले जीवनको रसरङ अनुभूति गर्न कहिल्यै पाएनौं,’ करणाका थुप्रै पानाहरूका यस्ता पीडा व्यक्त भएका छन् । केपी ओली धेरैजसो घरबाहिर नै बस्ने, घरमा हुँदा पनि साथीहरू लिएर आउने गरेको राधिकाको वृतान्तमा उल्लेख छ । केपी ओलीलाई भेट्न धेरै मान्छे आउने, राती पनि भेटघाट चलिरहने र उनीहरूको लागि राति पनि खाना खुवाउनु पर्ने, भाँडा माझ्नुपर्ने, डेरामा रातभरि कुराकानी चल्दा निदाउन नसक्ने जस्ता दुःखहरू पनि राधिकाले पुस्तकमा लेखेकी छिन् । पारिवारिक टन्टा बेहोनुपर्ला भनेर विवाह नै नगर्ने भनेर बसेकी तर झन् झमेला बेसाउन बाध्य भएको पनि उनले लेखेकी छिन् । बालबालिका मोह राधिका र केपी ओली दुबैलाई बालबालिका असाध्यै मन पर्ने किताबमा उल्लेख छ । बालबालिकासँग खेल्दा र उनीहरूसँग कुराकानी गर्दा दुबै जना आनन्दित हुन्छन् । प्रधानमन्त्री र प्रधानमन्त्राणीको हैसियतमा बालबालिकाप्रतिको प्रेम झल्कने विभिन्न कार्यहरू गरेको वर्णन किताबमा गरिएको छ । कुल ३२४ पृष्ठको पुस्तकमा राधिकाले सन्तानबारे आफ्नो धारणा ठाउँठाउँमा, चुस्सचुस्स, अलिअलि व्यक्त गरेकी छिन् । ‘…कहिलेकाहीँ आफ्नै कोखबाट जन्मिएका सन्तान भएका भए पनि ठिकै हुन्थ्यो होला भन्ने सोच मनमा उब्जन्छ,’ एक सन्दर्भमा लेखेकी छिन्, ‘सन्तानको सन्ताप’बारे अर्को सन्दर्भमा राधिकाले लेखेकी छिन्–‘मेरो आफ्नाे कोखबाट जन्मेका सन्तान छैनन् अर्थात हाम्रा आफ्नै जैविक छोराछोरी छैनन् । सन्तान नै नहोस् भन्ने पनि थिएन ।’ यसबाट राधिकाको सन्तान इच्छा अभिव्यक्त हुन्छ । तर उनले आफ्नाे जागिरको व्यस्तता र केपी ओलीको राजनीतिक व्यस्तताले सन्तानको खोजी नभएको तर्क किताबमा दिएकी छिन् । आफ्नै सन्तान हुनुपर्छ भनेर श्रीमानश्रीमतीबीच कहिल्यै सरसल्लाह नै नगरेको पनि लेखेकी छिन् । वर्तमान अवस्थामा जैविक सन्तान नभए माया गर्ने मानिसको कमी नभएको बारेमा उनले लामो व्याख्या गरेकी छिन् । सन्तान नहुँदाको चिन्ता वा दुःख उनले व्यक्त गरेकी छैनन् । ‘हाम्रो आफ्नै जैविक सन्तान छैनन् । हामीलाई हाम्रो सम्पत्तिको व्यक्तिगत उत्तराधिकारी पनि चाहिएन । व्यक्तिगत सम्पत्तिको उत्तराधिकारी नचाहिएपछि सम्पत्तिको पनि जरुरी भएन,’ ओली–शाक्य दम्पतीको निजी सम्पत्ति जीवनपश्चात केपी ओली ट्रष्टलाई दिएको विषय लेख्दै गर्दा उनले सन्तान र वर्तमान परिवेशबारे यी विषय पनि लेखेकी छिन् । अपेक्षाका सूचीहरू राधिकाको आत्मकथामा अधिकांश वर्णन ‘केपी ओली सर’को तारिफमै केन्द्रीत गरेकी छिन् । तर, श्रीमानको रूपमा अत्यन्तै धेरै गुनासो र असन्तुष्टि व्यक्त गरेकी छिन् । उनी स्पष्ट शब्दमा लेख्छिन्- ‘एउटा श्रीमतीको रूपमा गुनासो गर्ने ठाउँ प्रशस्त छन् । आफ्ना श्रीमानले समय देओस्, जन्मदिनमा उपहार देओस्, विवाह वर्षगाँठ यादगार बनाओस्, तिमीलाई के कुराको खाँचो छ भनोस् । आमश्रीमतीका जस्तै इच्छा मेरा मनमा पनि धेरै अपेक्षाहरू थिए,’ उनी थप लेख्छिन्, ‘श्रीमानसँगको अपेक्षाहरूको सूची बनाएर केही समय त कुरेँ । मेरो पनि त केही रहरहरु थिए ।’ राधिकाका ती अपेक्षाहरू एकै पृष्ठमा वा पाठमा सूचीबद्ध नलेखिएता पनि ठाउँठाउँमा, फरक फरक प्रसंगमा लिखत भएका छन् । श्रीमानसँगको अपेक्षाहरू पुरा नभएको फेहरिस्त लेख्दै जाँदा पुस्तकको ७७ पेजमा राधिकाले लेखेकी छिन्-…त्यसपछि मैले श्रीमतीको रूपमा ‘अपेक्षा’ गर्नै छाडिदिएँ । जुन दिनदेखि मैले अपेक्षाको बोझ बिसाएँ, टाउको हलुका भयो । पुस्तकमा जहाँ केपी ओलीलाई श्रीमान् भनेर लेखेकी छिन् त्यस आसपासमा प्रेमको अपेक्षा गरेकी छिन्, थोरै शंका, धेरै विश्वासको अपेक्षा गरेकी छिन् । दिनभरका गतिविधिबारे श्रीमानश्रीमतीबीच साँझ कुरा गर्न नपाएको, मायाप्रेमबारे कुराकानी हुन नपाएको, घरको काममा जोडीसँगै जोडिन नपाएको विषयहरू किताबमा लेखिएका छन् । सौताले सताएको अनुभूति घरमा टेलिफोन जोड्दा सुरुमा आफू धेरै खुसी भएको तर पछि त्यही फोनले राधिकालाई सौतालै झैं सताएको वृत्तान्त किताबमा छन् । ‘सुरु–सुरुमा त टिनिनिटिनिनी टेलिफोनको आवाज पनि सुमधुर लाग्थ्यो । समयक्रममा टेलिफोन नै सौताजस्तो लाग्न थाल्यो,’ राधिकाले लेखेकी छिन् । श्रीमान् धेरै जसो घरबाहिर नै बस्ने, घरमा हुँदा पनि साथीहरू लिएर आउने, साथीहरू नहुँदा फोनमा घण्टौं कुरा गर्ने विषय पुस्तकका उल्लेख छ । घरको व्यवस्थापन पनि आफैले गर्नुपर्ने, परिवारको खर्च धान्न पनि आफैले आयआर्जन गर्नुपर्ने, त्यसतर्फ श्रीमानले कुनै सहयोग नगर्ने गरेको पीडालाई पनि उनले पुस्तकमा प्रकाश पारेकी छिन् । अनि समालिन्छन् व्यापक असन्तुष्टिका बीच उनी फेरि आफूलाई सम्हाल्छिन् । ‘उहाँले पहिले नै एउटा धागोको धरो पनि किनिदिन सक्दिनँ पनि भनेकै हो । श्रीमानका रूपमा तिम्रा व्यक्तिगत चाहना पुरा गर्न सक्दिनँ भनेकै हो । उहाँले झूटो आशा देखाएर धोका दिएको होइन । अनि म किन दुःखी हुने ?’ ‘सहयात्राको संयोग’ भागको अन्तिम वाक्यमा राधिकाले चित्त बुझाउँदै लेखेकी छिन्- ‘मसँग कुनै गुनासो छैन उहाँसँग र आफैसँग, आफ्नो निर्णयसँग र आफैले रोजेको जिन्दगीको यति, गति र सङ्गतिसँग ।’ टिमुर्केको केटो राधिकाले जीवनभर विवाह नगर्ने साेंचसहित २८ वर्ष हुँदासम्म विवाह गरेकी थिइनन् । घरमा सहरका धनी परिवारबाट विवाहको प्रस्ताव आउँदा पनि आफूले अस्वीकार गरेको तर केपी ओलीले गरेको पहिलो प्रस्ताव नै स्वीकार गरेको उनले पुस्तकमा लेखेकी छिन् । राधिकासँग विवाहको प्रस्ताव केपीले राख्छन् । राधिकाले २/३ पनि जवाफ दिन्छु भन्छिन् । ‘ल हुन्छ भने हुन्छ । हुन्न भने हुन्न । केही बिग्रेको छैन । मेरो साइटबाट ओके भएरै भेट्न आएको’ केपीले तत्काल राधिकालाई च्यापेका पनि छन्, घुर्काएका पनि छन् । त्यतिमात्र होइन, ओलीले शाक्यलाई भनेको छन्-‘मान्छे मै हुँ । सम्पत्तिको नाममा केही पनि छैन, मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिनँ ।’ शाक्यको मनमा चस्स हुन्छ । ‘पहिलो पटक विवाहको प्रस्तावसहित भेट्न आएको केटो कस्तो टिमुर्केको फेला पर्यो,’ मनका कुरा किताबमा लेखेकी छिन् । ‘झुस्स दाह्री, फू.. गर्दा ढल्ला जस्तो ज्यान । ज्यान पनि के भन्नु ह्याङ्गरमा झुण्डाएको कपडा जस्तो । वयस्क युवाको रूपमा उहाँको शरीरमा कुनै आकर्षण थिएन ।’ पहिलो पटक शाक्यले ओलीलाई पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भेटेकी थिइन । १४ वर्षको जेलमा बसेर छुटेपछि ओलीको स्वागतमा कलेजले आयोजना गरेको कार्यक्रममा पहिलो भेट भएको शाक्यले उल्लेख गरेकी छिन् । गृहमन्त्री बनेपछि घरज्वाइँ २०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकार ढलेपछि, केपी ओली-राधिका शाक्यका दम्पतीले मन्त्री निवास छोड्नु पर्ने भयो । पूर्वगृहमन्त्रीको सुरक्षार्थ खटिएको सुरक्षाकर्मीको लागि पोष्ट पनि आवश्यक भएपछि पाटनको महापालस्थित राधिकाको माइतीको खाली घरमा सरेको उल्लेख छ । ‘अहिलेका कम्युनिष्ट नेताहरू उबेलामा काठमाडौंका नेवारहरूका घरमा बस्ने अनि तिनैका छोरी पट्याउँथे भनेर यदाकदा ट्रोल गरेको सुन्छु । केपी सर डेरावालको रूपमा महापल बस्नु भएको होइन । खासमा हामी बिहे भएको सातआठ वर्षपछि माइतीमा आश्रय लिएका थियौं,’ करुणामा राधिकाले लेखेकी छिन् । ‘मन्त्री निवासबाट फर्किएर माइतघरमा’ अध्यायमा राधिका लेख्छिन्- ‘अब, पहिला जसरी एउटा मात्र कोठामा बस्न गाह्रो हुने भयो । अनि कम्पाउन्ड पार्किङ सुविधासहितको घर भाडामा लिएर पनि हामीले थेग्न सक्ने अवस्था थिएन ।’ उनको यो तर्क पत्याउन सकिँदैन । किनकि राधिकाले राष्ट्र बैंकमा जागिर खाएको १६ वर्ष भइसकेको थियो । त्यतिबेला उनी राष्ट्र बैंकको शाखा अधिकृत थिइन् । तत्कालीन श्री ५ को सरकारका अधिकृतले भन्दा राष्ट्र बैंकका अधिकृतले बढी तलब सुविधा पाउँथे । केपी ओलीले सांसदको हैसियतमा तलब सुविधा पाउँथे । गृहमन्त्री हुँदा हुने अस्वाभाविक कमाइबारे नेपालको राजनीतिमा थुप्रै किस्सा छन् । पूर्वगृहमन्त्रीको हैसियतमा थप सुविधा पाउने नै भए । यस अवस्थामा राधिका डेरा भाडा तिर्ने हैसियत नभएकोले माइतीको खाली घरमा बस्न गएको किताबमा लेखेकी छिन् । विवाहको सात वर्षपछि केपी ओली घरज्वाइँ बसेको विषय पनि राधिकाले लेखेकी छिन् । मन्त्री क्वाटर छोडेपछि ओली करिब २ वर्ष घरज्वाइँ बसेका रहेछन् । त्यसपछि ओली दम्पती ९ महिना डेरामा र ५ वर्ष शेखीमा बसेका रहेछन् । आफ्नै घर बनाएर २०६० मा बालकोट सरेको राधिकाले लेखेकी छिन् । त्यसपछि चाकुपाटमा साहिँली बहिनी जयश्रीसँगको सेयरिङमा ९ महिना भाडा तिरेर फ्लाटमा बसेको र जीवनमा सबैभन्दा बढी भाडा त्यही तिरेको राधिकाले उल्लेख गरेकी छन् । तर भाडा रकम भने खुलाएकी छैनन् । त्यसपछि तत्कालीन पीके क्याम्पसका प्राध्यापक कल्पना अधिकारी उनका श्रीमान बाबुराम अधिकारीले बानेश्वरस्थित आफ्नाे घरको एक फ्लाटमा भाडा नलिई बस्न दिएको, पाँच वर्षसम्म त्यही बसेको र बालकोटमा घर बनाएपछि उनी सरको उल्लेख गरेकी छिन् । अनौठा केपी ‘कुनै पनि लुगा हात परेको दिन त्यही लुगा लगाएरै सुत्नुहुन्छ । उहाँले त्यसो गर्दा मलाई भने गुडियासँग बच्चा खुसी भए जस्तो लाग्छ,’ राधिकाले लेखेकी यो विषय निकै रोचक छ । पछिल्लो समय प्रधानमन्त्रीको हैसियतमा हरेक दिन नयाँ कोटमा सार्वजनिक हुन्छन् । के उनी हरेक दिन नयाँ कोट लगाएर सुत्लान् ? खोजको विषय नै हो । केपी ओलीलाई सानो बच्चालाई जसरी समाल्नु पर्ने राधिकाको लेखाइ छ । ‘कतिबेला सुत्ने, कतिबेला उठ्ने, के खाने, के नखाने, के लगाउने, के नलगाउने, कुनै कुरामा उहाँलाई मतलव हुँदैन’ श्रीमानलाई आफूले सधैं सम्झाइरहने गरेको उनले लेखेकी छ । केपी ओलीमा देश विकासको हुटहुटी मात्र भएको, देश र जनताको विकास बारे मात्र कुरा गर्ने गरेको विषयका वर्णन गर्दै राधिकाले लेखेकी छिन्, ‘उहाँका पालामा विकास, समृद्धि, सङ्कल्प र सपनाका कुराहरू हुन्छन् । लाग्छ, उहाँले फेर्ने प्रत्येक स्वासमा देशभक्तिको अक्सिजन प्रवाहित भएको छ ।’ यसरी लेखिएका पुस्तकबारे राधिकाकी श्रीमान प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी छ- यो सम्पूर्णतः सत्य कथा हो । कल्पनाप्रधान कुनै कथा बुनिएको छैन । कथानक थपिएको छैन ।’ राधिकाले केपी ओली सर्वहाराजस्तो हुनुहुन्छ भनेकी छिन् । तर केपी ओलीले लगाउने घडी, जुत्ता, उनी चड्ने गाडीको मूल्य करोडौं रुपैयाँ रहेको विषयमा धेरै समाचार प्रकाशन भएका छन् । ती समाचार नपढेका, केपी ओलीलाई नदेखेका र राधिका शाक्यको किताब मात्र पढेकाले यस्ता विषय पत्याउने हुन् । करुणा पुस्तकमा केपी ओली १४ वर्ष जेल बसेको कुरा सयौं ठाउँमा लेखिएको छ । श्रीमानलाई केपी सर भनेर अत्यधिक रूपमा सम्बोधन गरिएको छ । केपी ओली राजनीतिमा व्यस्त हुने, भेटघाटमा व्यस्त हुने, राति अबेरसम्म पढ्ने लगायतका विषय हरेक च्याप्टरमा यतिविघ्न घुसाइएको छ कि किताब पढ्दा बारम्बार मस्तिष्कमा ठेस लाग्छ । ढिकीमा कुटेको चामल अल्छी भान्छेले नकेलाई पकाएका भात खाँदा हरेक गाँसमा बियाँ लागेजस्तै । आधुनिक मिलको चामलमा यस्तो बियाँ भेटिँदैन । तीन नेताको आलोचना राधिकाको लेखनमा राजनीतिक पूर्वाग्रह प्रशस्त पाइन्छ । पञ्चायत व्यवस्थाका गल्ती कमजोरी मात्र उल्लेख गर्नु, बहुदल आएपछि सबै विकास राम्रो भयो भन्नु उनीभित्र रहेको एकांकी राजनीतिक सोंच हो । एमालेभित्र केपी ओलीलाई महान् व्यक्तिको रूपमा चित्रण गर्नु, अरू कुनै पनि नेताको तारिफ करुणामा नअट्नु राधिकाको पूर्वाग्रह नै हो । केपी ओलीलाई राजनीतिमा काँध थाप्ने, पटक पटक पार्टी अध्यक्ष बनाउन र पटक पटक प्रधानमन्त्री बनाउने धेरै नेताहरूले धेरै भूमिका खेलेका छन् । तर यसतर्फ राधिकाले कहीँ कतै एक वाक्य पनि लेखेकी छैनन् । तीन जना नेताको बारेमा राधिकाले पुस्तकमा आक्रोश पोखेकी छिन् । सबैभन्दा बढी माधवकुमार नेपालका बारेमा, त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’का बारेमा र पूर्व अर्थमन्त्री डा. रामशरण महतका बारेमा । केपी ओली गृहमन्त्री हुँदा २०५१ सालमा राष्ट्र बैंकको शाखा अधिकृतमा राधिकामा नाम निस्क्यो । त्यो विषय कांग्रेस नेता डा. रामशरण महतले संसदमा उठाए । यसले राधिकालाई चित्त दुःखाएको रहेछ । सोही सन्दर्भ जोडेर राधिकाले पुस्तकमा डा. महतप्रति आक्रोश व्यक्त गरेकी छिन् । प्रधानमन्त्रीको रूपमा ओलीको दोस्रो कार्यकालमा असहयोग गरेको भन्दा नेपाल र प्रचण्डमाथि राधिका खनिएकी छिन् । ओलीलाई प्रधानमन्त्री बनाउन पटक-पटक प्रचण्ड, नेपाल र शेरबहादुर देउवाले काँध थापेको दुनियाँलाई थाहा छ तर राधिकालाई थाहा रहेनछ । किताबमा सबै कुरा मौन छन् । बालुवाटारमा बासीभात प्रधानमन्त्री निवासमा बासीभात खाइन्छ भन्ने कुरा पत्याउन गाह्रो हुन्छ । त्यसमाथि प्रधानमन्त्राणी राधिका शाक्यलाई नै बासीभात खानुपर्ने बाध्यता होला भनेर कसले पत्याउने ? तर राधिकाले किताबमा यही सत्य हो भनेर लेखेकी छिन् । उनी लेख्छिन्- ‘प्रधानमन्त्री निवास, बालुवाटार । भान्छामा छिरेँ । केही पकाउनु पला कि भन्ने सोच्दै थिएँ । यसो फ्रिज खोलेँ । बेलुका बाँकी बचेको भात रहेछ । थोरै दाल पनि रहेछ । त्यही तताएँ । अनि खान थालेँ ।’ त्यसपछि उनले फेरी व्याख्या गरेकी छिन्- ‘एक्लै हुँदा खाना बनाउने जाँगर चल्दैन । फ्रिजमा बासी खाना रहेछ भने झनै बहाना सजिलो बनिदिन्छ ।’ किताबमा यस्तै धेरै विषय छन्, जुन पत्याउनै सकिँदैन । मूल्यमा चलखेल वर्तमान सरकारले उद्योगीलाई सिमन्टको बोरामा मूल्य राख्न निर्देशन दिएको छ । तर प्रधानमन्त्राणीको आत्मकथामा मूल्य राखिएको छैन । पुस्तक प्रकाशक पाणिनि बुक्सले सत्ताको बलमा, सरकारी निकायलाई उच्च मूल्यमा प्रधानमन्त्राणीको बुक भिडाउने र पैसा उठाउने नियत राखेको देखिन्छ । बिक्री प्रबन्धक उमेश आचार्यले पुस्तकको अन्तिम पृष्ठमा राखिएको बार कोडमाथि लेखिएका अंकहरू ५९५०० नै किताबको मूल्य भएको बताए । राधिकाको आत्मकथा पढ्न कसैले पनि ५९ हजार ५०० रुपैयाँ तिर्दैन । पुस्तकमा भएको यो गम्भीर त्रुटि हो । किताबबारे मेरो भनाइ करुणाभित्र लेखक र श्रीमान केपी शर्मा ओली (वर्तमान प्रधानमन्त्री)का जीवन कहानीहरू लेखिएका छन् । आत्मकथामा मूलपात्रले प्रचार गर्न चाहेको र प्रसंशा बटुल्न चाहेको विषयवस्तु नै हुन्छन् । आफ्ना कमजोर पक्षहरू, जीवनमा गरिएका गल्ती कमजोरीहरू लुकाइएका हुन्छन् । करुणा पुस्तमको विशेषता पनि यही हो । श्रीमान् केपी ओली एमालेका अध्यक्ष र प्रधानमन्त्री भएका थिएनन् भने राधिकाको पुस्तक प्रकाशित हुँदैन थियो । पुस्तक पढ्दा राधिकासँग कुनै असाधारण क्षमता पनि देखिँदैन, उनका कर्म पनि मामुली छन्, असाधारण छैनन् ।
सेयरधनीको बदनियतले बर्बाद बनिरहेको विशाल बजार, बिचौलिया बनेर करोडौं कमाइ
काठमाडौं । चिटिक्क परेको सडक । फराकिलो फुटपाथ । देशविदेशका मान्छेहरूको आवतजावत । सडक वारपारमा सेतो रङ्ग पोतेको ठूला भवनहरु । सुनै सुनका पसल । नेपालीसँगै विदेशीहरुको पनि आवागमन । झट्ट हेर्दा जोकोहीलाई पनि लाग्छ, ‘वाह न्यूरोड’ । पुरानो व्यावसायिक हबका रुपमा स्थापित न्यूरोडमा पुग्ने अधिकांशले महसुस गर्ने कुरा हो यो । तर, कहानी यत्तिकै सीमित छैन । यो सुन्दर न्यूरोडभित्रको कुरुप रुप सुन्दा देख्दा र बुझ्दा लाग्छ, ‘मान्छेहरु यस्ता पनि छन् !’ हो, यही न्यूरोडमा रहेको विशाल बजार भित्रको संकुचित सोच भएका सेयरधनीहरुलाई कम्पनीलाई वर्षौं पछाडि धकलिरहेका मात्रै छैनन्, सिंगो न्यूरोडकै छवि गिराउन उद्देलित छन् । बिशाल बजारभित्र रहेका सटरमा सुनहरुको सौन्दर्य जति देखिन्छ त्यो भन्दा धेरै गुणाको कालो धब्बा वर्षौंदेखि जडा गाडेर बसेको छ । भएको के हो ? अब यो प्रवेश गरौं तत्कालीन राजा महेन्द्रले विदेश जाँदा ठूला डिपार्टमेन्टल स्टोर देखेपछि नेपालमा पनि व्यावसायिक भवन खोल्ने सोच बनाए । स्वदेश फर्किएपछि महेन्द्रले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राजदरबारका सचिव इन्द्रमणि राजभण्डारी र व्यवसायी जुद्धबहादुर श्रेष्ठलाई सबै सामान एउटै ठाउँमा पाइने गरी व्यावसायिक भवन खोल्न निर्देशनपछि विशाल बजार कम्पनी नेपालकै पहिलो आधुनिक सपिङ कम्प्लेक्स तथा सुपरमार्केटका रुपमा स्थापना भयो । विशाल बजार विस्तारै एउटा ब्राण्ड बन्यो । विशाल बजारको रुप हेर्न टाढा-टाढाबाट त्यहाँ मानिसहरु पुग्थे । विशाल बजारकै नाम दिएर गायकले गीत गाए । नायकले सिनेमा खेले । व्यावासयिक घरानाको व्यवसाय गर्ने ‘इपि सेन्टर’ बन्यो विशाल बजार । यही आकर्षणबाट प्रभावित हुँदै विशाल बजार एउटा कम्पनीमा परिणत भयो । विभिन्न सार्वजनिक संस्थानहरूको लगानीमा बनेको बीबीसीमा संस्थागत रुपमा १ र व्यक्तिगत रुपमा ९ जना संस्थापकबाट अधिकृत पुँजी १ करोड थियो । तर, संस्थापकहरूले २४ लाख ५० हजार कबुल गरेकोमा २२ लाख ३० हजार मात्रै सङ्कलन भयो । पछिल्लो समय भने सर्वोच्च अदालतको आदेशमा कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ । जसमध्ये ९८.७५ प्रतिशत सेयर सरकारको छ । आधा शताब्दी पार गरिसकेको विशाल बजारले विभिन्न उतारचढावहरु बेहोर्यो । विशाल बजारको सिको गर्दै देशमा भाटभटेनी, बिग मार्टजस्ता ठूल्ठूला सपिङ कम्प्लेक्सहरु बने । तर, विशाल बजारले आफ्नो ब्राण्ड गुमाउँदै गयो । ग्राहकको आकर्षण घट्दै गयो । व्यवसायीको आँखामा पर्न छोड्यो । बाहिरबाट देखिने विशाल बजार भित्रिरुपमा भने कुरुप बन्दै गयो । विशाल बजार कम्पनीभित्र बिचौलियाहरुको बिगबिगीले कम्पनीको बिरासत गुम्दै गयो । भीमप्रसाद शर्मालाई विशाल बजारमा व्यवसाय गर्न थालेको साढे दुई दशक भयो । उनी विशाल बजार व्यापार संघका अध्यक्ष समेत हुन् । विशाल बजारभित्रको बेथिति देख्दा उनको मन अमिलो बन्छ । गुम्दै गएको विशाल बजारको साखप्रति उनी चिन्तित छन् । विशाल बजारमा सटर भाडामा लिनेहरु नै सो कम्पनीको सेयरधनी बन्न पाउने व्यवस्था छ । सोही व्यवस्थाको फाइदा उठाउँदै व्यवसायीले सुरुवातमा धमाधम सटर भाडामा लिए । तर, अहिले ती व्यवसायी बिचौलिया बनेका छन् । अर्थात्, उनीहरु आफैले विशाल बजारमा पसल राखेका छैनन्, उनीहरुले अर्कैलाई भाडामा लगाएर उनीहरुबाट कमिसन लिन्छन् । कम्पनीले व्यवसायीको सहजताको लागि भन्दै सस्तो भाडादर तोके पनि सुरुमा भाडामा लिएर सेयरधनीहरु बनेकाहरुले अर्कै व्यवसायीलाई भाडामा दिएर ठूलो रकम असुल्ले गरेका छन् । भीमप्रसाद शर्मा । शर्माले प्रत्येक २/२ वर्षमा १० प्रतिशत भाडा वृद्धि हुने गरेको सुनाए । तर, उनले भाडाबापतको रकम कम्पनीलाई तिर्दैनन्, तिनै बिचौलियाहरुलाई बुझाउनुपर्छ । ‘मेरो पसलको भाडा ३० हजार रुपैयाँ छ । तर, मैले ५० हजार रुपैयाँ भाडा तिर्दै आएको छु, मेरो चिनजानको मान्छे भएकाले सटर भाडामा लिएको हुँ,’ उनले भने, ‘मैले पसलको भाडा सेयरधनीलाई नै तिर्छु । सेयरधनीले कम्पनीलाई त्यसको आधा मात्रै तिर्नु हुन्छ ।’ विशाल बजार कम्पनीको भवनमा करिब ४ सय सटर छन् । तर, विशाल बजार व्यापार संघमा भने करिब २३० व्यवसायी मात्रै आवद्ध छन् । शर्मा मात्रै होइनन् सञ्चालनमा रहेका अधिकांश व्यावसायीहरूले कम्पनीको खातामा भाडा बापतको रकम हाल्दैनन् । उनीहरूले कम्पनीका सेयरधनीहरूलाई भाडा बापतको रकम तिर्ने गरेका छन् । शर्माका अनुसार केही सटर व्यवसायीले पसलको भाडा ५० हजार रुपैयाँ भएपनि कम्पनीलाई भने ५ लाखको बहाल कर तिरेको देखिएको छ । यसले त पसलको मूल्य ५ लाख रुपैयाँ तिरेको देखिने उनको भनाइ छ । विशाल बजारका दोस्रो र तेस्रो तल्लामा अहिले व्यापार ठप्प छ । पसल खाली हुँदै गएका छन् । विगतको जस्तो आकर्षण अहिले छैन । विशाल बजारका सेयरधनीले सटरबाट लाख उठाएर कम्पनीलाई हजार तिर्ने गरेका छन् । यो समस्या एक/दुई सटरमा मात्रै होइन ३५० बढी सटरमा यो समस्या रहेको खुलेको छ । विशाल बजार कम्पनीका प्रबन्ध निर्देशक (एमडी) गोरख बहादुर शाही पनि यो समस्याले आजित छन् । सेयरधनी नै बिचौलिया बनेपछि उनी समस्या समाधानको बाटो खोजिरहेका छन् । सेयरधनीले सटर राखेका व्यवसायीबाट ठूलो रकम उठाएर कम्पनीलाई थोरै मात्रै तिर्ने गरेको विषय उनलाई राम्रोसँग थाहा छ । तर, उनलाई पनि यसको उपचार गर्न हम्मेहम्मे नै छ । उनले सेयरधनीले नै बिचौलिया बनेको आरोप लगाए । कम्पनीले पाउनु पर्ने अधिकांश भाडा रकम बिचमै हराउने गरेको उनको भनाइ छ । उनका अनुसार पसल भएका अधिकांश सेयरधनीहरू आफू व्यापार गर्दैनन् । उनीहरू अन्य कुनै व्यापारीलाई कम्पनीको पसल भाडामा लगाउने गरेको उनले बताए । ‘सम्झौताका हिसाबले जसको नाममा पसल र सेयर छ, उनीहरू व्यापार गर्दैनन् । अर्कै मान्छेलाई पसल चलाउन दिइरहेका छन् । कम्पनीको भाडादरभन्दा बढी मूल्य तोकेर उनीहरु भाडामा लगाउँछन् । सेयरधनीहरू नै बिचौलिया बनेर व्यवसायीहरूबाट गैरकानूनी ढंगबाट अतिरिक्त रकम लिइरहेका छन्,’ उनले भने, ‘वास्तविक व्यवसायीले अधिकतम् भाडा रकम तिर्नु परेको छ ।’ यो रकम करको दायरामा पनि छैन । कम्पनीको आम्दानी घटाउन पनि यो गैरकानूनी कामले बढावा दिइरहेको छ । उनका अनुसार सेयरधनीरूले कम्पनीका अधिकांश पसल ओगटेर नियन्त्रणमा लिएका छन् । वास्तविक व्यवसायीहरूले तिरेको भाडा रकम सिधैं कम्पनीको खातामा जम्मा हुने हो भने त्यसको प्रतिफल सबै सेयरधनीहरूलाई समान रुपमा बाँडिने उनको भनाइ छ । तर, केही सेयरधनीहरूले आफू अनुकूल चलाउँदा कम्पनीलाई नोक्सानी भइरहेकोछ । गोरख बहादुर शाही । ‘व्यवसायीहरूले तिर्ने भाडा कम्पनीले पाउँदा नाफा बढ्छ । र, सबै सेयरधनीहरूले लगानीको अनुपातमा लाभांश पाउँथे । तर यहाँ कम्पनी र व्यवसायीलाई मर्कामा पारेर बिचौलियाले राज गरिरहेका छन्,’ उनले भने । कम्पनीका पसल सेयरधनीहरूले भाडामा दिइरहेको विषयमा अनुसन्धान हुन जरुरी रहेको उनको भनाइ छ । ‘यो राजस्वको विषय हो । धेरै नाफा हुँदा सेयरधनीको लाभांश पनि बढ्छ । राज्यलाई राजस्व पनि बढी आउँछ । यस्तो गम्भीर विषयमा अदालतलाई पनि बुझाउने प्रयत्न गर्छाैं । यसरी सेयरधनी र पसल जोड्ने वा गाभिने विषय नियमसंगत छैन । यसले सेयरधनीहरूबीच विभेदकारी व्यवहार गरेको देखिन्छ । जुन कम्पनी ऐनको विपरित हो,’ उनले भने । के छ सम्झौतामा ? कम्पनी र सेयरधनीहरूबीच विंसं २०५४ साउन १ गते भएको सम्झौताको दफा १२ मा पसलको बहाल प्रत्येक २/२ वर्षमा तत्काल लागू रहेको बहाल दरमा १० प्रतिशतका दरले वृद्धि भै करारनामा स्वतः नवीकरण हुने उल्लेख छ । साथै, कम्पनीको आर्थिक विनियमावली २०६४ को परिच्छेद ४ मा बहालवालाले पसलसँग अविभाज्य रुपमा रहेको सेयर वा सो वापत कम्पनीमा रहेको नगद धरौटी नामसारी गरेमा सम्बन्धित पसल कोठा समेत स्वतः नामसारी हुने व्यवस्था छ । कम्पनीका एमडी शाही उक्त सम्झौता नै व्यवहारिक र कानुनसम्मत नरहेको धारणा राख्छन् । त्यसको विरुद्धमा कम्पनीका पुराना सञ्चालकले मुद्धा पनि खेपेको र अदालतबाट दोषि ठहर समेत भएका छन् । ‘गैरकानुनी सम्झौता गरेर कम्पनीलाई हानी नोक्सानी पुर्याएको भन्दै तत्कालीन सञ्चालक समितिलाई दोषी ठहरिएको छ, सर्वाेच्च अदालत वा विशेष अदालतबाट भएको फैसलाले त्यस्तो सम्झौता गर्ने सञ्चालक दोषी हुन् भनेर ठहर गरिसक्यो,’ उनले भने, ‘हामी त्यो सम्झौता खारेज गरेर सबैलाई प्रतिस्पर्धात्मक वा बसिरहेका वास्तविक व्यवसायीलाई मात्रै व्यवसाय गर्न दिन खोजिरहेका छौं ।’ कम्पनीभित्र भइरहेको विकृति अन्त्य गर्न हस्तक्षेपकारी कदम चाल्न खोज्दा समस्या भइरहेको उनको भनाइ छ । वास्तविक व्यवसायीले सेयरधनीलाई भाडा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न खोजेको उनको धारणा छ । ‘हामी सिधैँ हटाउन निर्देशन दिन सक्ने अवस्थामा छैनौं । किनभने सम्झौताले बाँधेको छ । त्यसैले कानुनतः यसलाई खारेज गर्न साधारण सभाबाट अनुमोदनका लागि प्रस्ताव गरिएको हो,’ उनले भने । साधारण सभाको अघिल्लो दिन आदेश विशाल बजारभित्र वेथितिका चाङ छन् । विगत १० वर्षदेखि साधारण सभा र लेखापरीक्षणको काम हुन सकेको छैन । कम्पनी सञ्चालक समितिको गत माघ २८ गते बसेको बैठकले विभिन्न प्रस्तावसहित फागुन २८ गते ३४औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको थियो । १० वर्षपछि बोलाइएको साधारण सभामा पसलकवलसँग सेयर गाभी स्वतः नवीकरण हुने सम्झौता खारेज गर्ने विशेष प्रस्तावमा राखिएको छ । तर, कम्पनीको उक्त प्रस्ताव सेयरधनीहरूको हितविपरित भएको भन्दै सेयरधनी विजयनारायण राजभण्डारीले काठमाडौं जिल्ला अदालतमा उजुरी दिए । उनका तर्फबाट वरिष्ठ अधिवक्ता सम्भु थापाले बहस गरे । कम्पनीसँग विसं २०५४ साल साउन १ गते भएको सम्झौताको दफा १२ मा पसलको बहाल प्रत्येक २/२ वर्षमा तत्काल लागू रहेको बहाल दरमा १० प्रतिशतका दरले वृद्धि भै करारनामा स्वतः नवीकरण हुने र आर्थिक विनियमावली २०६४ को परिच्छेद ४ मा बहालवालाले पसलसँग अविभाज्य रुपमा रहेको सेयर वा सो बापत कम्पनीमा रहेको नगद धरौटी नामसारी गरेमा सम्बन्धित पसल कोठा समेत स्वतः नामसारी हुने व्यवस्था रहेको ठहर गर्दै निवेदक राजभण्डारी अदालत पुगे । साधारण सभाको १० नम्बर बुँदा कार्यन्वयनमा रोक लगाई बदर गरी पसल यथावत संचालन गर्न पाउनु पर्ने माग उनले गरेका छन् । जिल्ला न्यायाधीश उमानाथ गौतमको फागुन २१ गतेको एकल इजलासले उक्त मुद्धामा प्रतिउत्तर परी सम्बन्धित सरोकारवालाको निवेदन उपर पुनर्विचार हुने गरी हाल कार्यन्वयन नगर्न आदेश जारी गरेको छ । काठमाडौं जिल्ला अदालतबाट यस्तो आदेश जारी भएको केही दिनमै फेरी वार्षिक साधारण सभा सेयरधनीहरूको हित विपरीत भएको भन्दै सेयरधनी सुनिलकुमार शाक्यसहित ११ जनाले उच्च अदालत पाटनमा रिट दायर गरे । शाक्यको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सतिष कृष्ण खरेल, अधिवक्ता युवराज बन्जाडे र दिपेन्द्र झाले बहस गरे । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको फागुन २६ गतेको इजलासले कम्पनीको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दियो भने १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ । ‘के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत खुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नुहोला,’ उच्च अदालत पाटनको अन्तरिम आदेशमा उल्लेख छ । साथै, सेयरधनीहरूको लगानीको मूल्याङ्कन नगरी अलग राखी कम्पनीको साधारण सभा सञ्चालन गर्दा निवेदकहरूको हक हितमा प्रतिकूल असर पर्नसक्ने सम्भावना रहेको तथा सुविधा सन्तुलनको सिद्धान्त समेतलाई मध्येनजर गरी निवेदनको अन्तिम किनारा नलागेसम्म साधारण सभा स्थगित गर्न अदालतको आदेश छ । कम्पनीका एमडी शाही भोली हुने साधारण सभा एकदिन अगाडि रोकिँदा कम्पनीको खर्च मात्रै बढेको बताउँछन् । साथै अदालतले एक पक्षको बहसका आधारमा अदालतबाट साधारण सभा नै रोक्ने आदेश आएको सुनाए । ‘भोलि हुने साधारण सभाको सबै तयारी भइसकेको थियो । सभा व्यवस्थापनमा धेरै खर्च गरिएको थियो । तर, अदालतको फैसला साधारण सभाको अघिल्लो दिन आयो । यसले कम्पनीलाई नोक्सानी हुन्छ,’ उनले भने, ‘उच्च आदतलको फैसला एक दिन अघि आउँदा जिल्ला अदालत काठमाडौंबाट भने एउटै पक्षको बहसका आधारमा आदेश आएको छ ।’ शाहीका अनुसार सेयरधनीरूले पसलको भाडाबापत कम्पनीलाई ५०/६० हजार रुपैयाँ तिर्छन् । तर, व्यवसायीहरूबाट भने १० गुणा बढी भाडा लिने गरेको गुनासो कम्पनीमा आएको छ । यदि उक्त सम्झौता खारेज भए कम्पनीको नाफा तीन गुणा बढ्ने उनले दाबी गरे । हाल कम्पनीले २५ करोड रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको छ । उक्त सम्झौता खारेज हुँदा हालको आम्दानी बढेर ६०/७० करोड रुपैयाँ पुग्ने अनुमान उनको छ । ‘कम्पनीले २०/२५ करोड रुपैयाँ कमाउँछ भने सेयरधनीहरूले ५० करोड कमाउँछन् । उक्त प्रस्ताव पारित भएपछि सेयरधनीहरूको बिना मिहिनेतको ५० करोड रुपैयाँ गुम्दैछ । यो रकम गुम्ने त्रासले मुद्धा मामिला भइरहेको छ,’ उनले भने, ‘प्रतिस्पर्धाबाट लागेका पसलबाहेकको भाडा रकम न्यून छ ।’ धेरै मेहेनत गरेर प्रस्ताव ल्याइएको भए पनि सेयरधनीहरूले काम गर्न दिने अवस्था नरहेको उनको गुनासो छ । यो प्रस्ताव साधारणसभाबाट पारित भएमा बिचौलियाका रुपमा रहेका सेयरधीको ठूलो आम्दानी गुम्ने देखिन्छ । त्रासमा सेयरधनीहरू साधारण सभाको १० नम्बर बुँदामा रहेको विशेष प्रस्तावले व्यापारी, सेयरधनी व्यावसायीलाई सशंकित बनाएको व्यापार संघका अध्यक्ष शर्मा बताउँछन् । तत्कालीन समयमा भवन बनाउन रकम अभाव भएपछि ५० हजार रुपैयाँ लगानी गर्ने व्यक्तिले एउटा पसल र सेयर पाउने भन्दै तत्कालीन पञ्चायत सरकार (सीडीओ)ले जारी गरेको सूचनाका आधारमा लगानी गरेका हुन् । श्याम प्रसाद भण्डारी । सरकारले लगानीको लागि आह्वान गरेपछि व्यापारी, पुँजीपति र साहुवर्गले हजारौं रकम लगानी गरेको र अहिले आएर गाभिएका सेयर र पसल अलग बनाउँदा सेयरधनी व्यवसायीलाई मर्का पर्ने उनले बताए । ‘सेयरधनीहरूलाई आफ्नो पसल जाने डर छ । जबकी ५० हजार लगानी गर्दा त्यतिबेला न्यूरोडमा घर आउँथ्यो । ५०औँ वर्षदेखि खाइपाई आएका व्यक्तिलाई अहिले आएर सेयर र पसल विभाजन गर्दा समस्या हुन्छ,’ उनले भने । सेयर र पसल छुट्याउँदा व्यापार संघमा आवद्ध २३० जना व्यापारीले कसलाई बहाल तिर्ने भन्ने विषय नै अन्योल हुने उनको भनाइ छ । कम्पनीले सेयर र पसल विभाजनपश्चात् व्यवसायीहरूलाई यसरी व्यवस्थापन गर्छाैं भनेर स्पष्ट रुपमा धारणा राख्नुपर्ने उनको तर्क छ । कम्पनीका अध्यक्ष श्याम प्रसाद भण्डारी पनि सम्झौता स्वतः नवीकरण हुने प्रावधानको फाइदा लुट्दै सेयरधनीहरूले आफू अनुकुल पसल भाडामा लगाउँदै आएको बताउँछन् । जसबाट थोरै भाडा कम्पनीलाई तिर्ने र आफूले महँगोमा भाडामा लगाउने सम्झौता खारेज गर्न लागिएको उनको भनाइ छ । ‘पहिलाको व्यवस्था अनुसार कुनै व्यक्तिले पसल भाडामा लियो, त्यो मान्छे कम्पनीको सेयरधनी पनि हो, त्यसको नाममा पसल पनि छ । तर, त्यो पसल अरुलाई नै भाडामा लगाइएको देखिन्छ,’ उनले भने, ‘कम्पनीलाई थोरै पैसा बुझाउनु हुन्छ, बढी पैसा व्यापारीसँग लिनु हुन्छ । उहाँहरूले बीचको फाइदा खाइरहनु भएको छ, यो दलाली अब रोक्नुपर्छ ।’