नेकपा एसका वरिष्ठ उपाध्यक्ष पाण्डे सहकारी ठगीमा मुछिए, पदाधिकारी मिलेर करोडौं रकम निजी कम्पनीमा
काठमाडौं । देशमा सहकारी ठगीको विषयले व्यापकता पाउँदा थप अर्को सहकारीमा ठूलो रकम अपचलनको विषय बाहिरिएको छ । विकासन्युज डटकमलाई प्राप्त केही कागजात तथा छानबिन समितिको प्रतिवेदनले थप अर्को सहकारीमा ठूलो आर्थिक घोटाला भएको खुलेको हो । सो सहकारी घोटालामा भीआईपी नेताहरु संलग्न रहेको तथ्य फेला परेको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल) मा करोडौं रकम अपचलन भएको खुलेको हो । सो प्रकरणमा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, सोही पार्टीका नेता, पूर्वमन्त्री तथा बंगलादेशका लागि पूर्वराजदूत समेत रहेका बंशीधर मिश्र लगायतका २८ जना सहकारीको रकम अपचलन प्रकरणमा जोडिएका हुन् । पाण्डे सो सहकारीका पूर्व अध्यक्ष हुन् भने मिश्र वर्तमान अध्यक्ष हुन् । सो सहकारीका उपाध्यक्ष जीवन प्रकाश शर्मा, सचिव चिकित्सक डा. रामकुमार अधिकारी लगायत २८ जनाले सहकारी संस्थाको रकम अपचलन गरेको खुलेको हो । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडभित्र अनियमितता तथा भ्रष्टाचार भएको अनुमानपछि सेयर सदस्यहरूले सहकारीको १७औं साधारण सभामा छानबिनको माग गरेपछि बनेको समितिले सहकारी संस्थाभित्र ठूलो घोटाला भएको निश्कर्ष निकालेको हो । संस्थाको आर्थिक, भौतिक तथा नीतिगत विषयमा छानबिन गर्नका लागि २०८० असारमा पुण्यप्रसाद पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । सो समितिले यो अवधिमा संस्थाको विभिन्न निर्णय तथा कागजात अध्ययन गर्दा ठूलो अनियमितता भएको भेट्टाएको हो । सहकारीको अनियमितता सम्बन्धमा छानबिन गर्न गठित समितिले तीन महिनाको समय पाएको थियो । उक्त समितिले आफ्नो प्रतिवेदन बुझाउन पटक-पटक प्रयास गरे पनि सञ्चालक समितिले प्रतिवेदन बुझ्न नमानेको समितिका एक सदस्यले विकान्युज डटकमलाई बताए । ‘हामीले १८औं साधारण सभामा प्रतिवेदन सार्वजनिक गर्न खोज्दा सञ्चालक समितिबाट रोक्ने प्रयास भयो, प्रतिवेदनले संस्था भित्रका अनियमिततालाई उजागर गर्ने र आगामी कार्यदेशबारे समेत मार्ग दर्शन गरे पनि सञ्चालक समितिले यसलाई ग्रहण गर्नै खोजेन,’ ती सदस्यले भने । समितिको अनुसन्धानले सहकारीका केही पदाधिकारी तथा पूर्व पदाधिकारीले मनोमानी रुपमा सहकारीबाट पेस्कीको रुपमा लाखौं रकम लिई फिर्ता नगरेको देखिएको छ । सो सहकारी संस्थाका सचिव डा. राम कुमार अधिकारीको नाममा मात्रै ४४ लाख ३० हजार ६२३ रुपैयाँ पेस्की छ । डा. अधिकारीले २०७१ सालबाट लिएको पेस्की हालसम्म फछ्र्यौट नगरेको देखिएको छ । नेको नेपालका पुर्वअध्यक्ष तथा नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको नाममा संस्था स्थापनादेखिको पेस्की फछ्र्यौट नभएको समितिको प्रतिवेदनले देखाएको छ । पाण्डेको नाममा २२ लाख ४९ हजार ५०६ रुपैयाँ बेरुजु छ । संस्थाका अध्यक्ष बंशीधर मिश्रको नाममा ५ लाख र उपाध्यक्ष जीवन प्रकाश शर्माको नाममा ५ लाख २७ हजार रुपैयाँ पेस्की रहेको प्रतिवेदनमा उल्लेख छ । रामबहादुर कवँरको नाममा १ करोड ७ लाख, होप इन्टरनेश्नलको नाममा १ करोड २४ लाख, नवराज रुपाखेतीको नाममा ४२ लाख १९ हजार र बुद्धिमान तामाङको नाममा २७ लाख ७० हजार रुपैयाँ पेस्की दिइएको छ । चम्पादेवीमा केवलकार निर्माण गरिरहेको चम्पादेवी इको फ्रेण्ड्ली कम्पनीले समेत नेको नेपालबाट पेस्की लिएर फछ्र्यौट नगरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त कम्पनीको नाममा १२ लाख रुपैयाँ बेरुजु छ । संस्थाका अध्यक्ष बंशीधर मिश्रले यो लामो समयदेखि विभिन्न कामका लागि लिएको पैसाको बिल भर्पाइ नभएका कारण अहिले एक्कासि ठूलो रकम हुन गएको धारणा राखे । उनले यो पैसा विभिन्न प्रयोजनका लागि विभिन्न व्यक्तिले प्रयोग गरेकोले बताए । ‘यो एकै पटक लिएको पैसा होइन, वर्षौंदेखि भ्रमण तथा कुनै कामका लागि लिएको रकम हो, त्यो कामको उनीहरुले बिल दिएनन्,त्यसैले बेरुजु देखिएको हो, अब हामीले तीन महिनाभित्र असुल उपर गर्नका लागि सम्बन्धित व्यक्तिको नाममा सूचना जारी गरिसकेका छौं, काम व्यवस्थित गर्न खोज्दा नै यो विषय बाहिरिएको हो,’ उनले भने । यो सहकारी २ अर्ब ७५ करोड रुपैयाँ ऋणमा रुहेको नेको नेपालले मनमोहन मेडिकल कलेज र मनमोहन मेमोरियल इन्स्च्युट लगायतका शैक्षिक संस्था सञ्चालन गरेको छ । ५३ करोड ८७ लाख ८२ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीको जगेडा कोष ८ लाख १३ हजार र कर्जा सापटी २ अर्ब ७४ करोड ३१ हजार रुपैयाँ छ । नेकोमा पनि जीवी प्रवृत्ति पछिल्लो समय नेपाली सहकारी क्षेत्रमा जीवी राई एउटा नकारात्मक मानक बनेका छन् । राईले विभिन्न ठाउँमा सहकारी खोल्ने र त्यहाँका बचतकर्ताबाट उठेको बचत आफुले सञ्चालन गरेका कम्पनीमा लगानी गरेको सांसद सुर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन समितिको अध्ययनले खुलाएको थियो । सोही प्रवृत्ति नेको सहकारी र यसका सञ्चालकहरुमा पनि देखिएको छ । तत्कालीन अध्यक्ष पाण्डेले नेको नेपालको रकम साधारण सभा र सञ्चालक समितीको सहमति समेत नलिई अन्य निजी कम्पनीमा लगानी गरेको पाइएको हो । पाण्डेको नेतृत्वमा जलविद्युत, केबलकार, ईटाभट्टासहित करिब १० वटा कम्पनीमा नेकोबाट साढे एक करोड रुपैयाँ लगानी भएको प्रतिवेदनले देखाएको छ । नेको नेपालबाट भैरवकुण्ड हाइड्रो पावर कम्पनीमा पाँच लाख रुपैयाँ, चम्पादेवि इको फ्रेण्डली डेभलपमेण्ट प्रालीमा १ करोड २० लाख रुपैयाँ, जनता टीभीमा एक लाख, केन्द्रिय स्वास्थ्य सहकारीमा ५० हजार, मनमोहन मेमोरियल सेभिङ एण्ड क्रेडिट इन्भेष्टमेन्टमा एक लाख, माथिल्लो थोपल हाईड्रोमा २० लाख १० हजार, रोयल कोअपरेटिभमा एक हजार, लालिगुराँस सहकारीमा ४ लाख २२ हजार, राष्ट्रिय सहकारी बैंकमा ७ लाख १० हजार र शुभ इट्टा उद्योगमा १० लाख रुपैयाँ लगानी गरिएको छ । उक्त लगानी सहकारी ऐन विपरित भएको सहकारीका जानकारहरु बताउँछन । सहकारी विभागका प्रवक्ता रघुनाथ महतका अनुसार उक्त कार्य सहकारीको सिद्धान्त र सहकारी कानुन विपरित हो । सहकारीले विधि र सिद्धान्तः निजी कम्पनीमा लगानी गर्न पाइँदैन । यदि कहीँ कतै यस्तो भएको भए त्यो अमान्य र खारेजयोग्य समेत हुन सक्ने महतको भनाइ छ । सहकारीका अध्यक्ष मिश्रले कुनै बेला अन्जानमा लगानी भएकोले अब ती कम्पनीमा भएको सेयर लगानी फिर्ता ल्याउने प्रयास भइरहेको बताउँछन् । ‘अब लगानी भएका कम्पनीबाट सेयर फिर्ता ल्याउने प्रयास गर्छौं, त्यो सेयर लगानी गर्नमा को-को जिम्मेवार थिए त्यो पनि अनुसन्धान हुन्छ,’ उनले भने । सफेद सपना बाँडेर झुटको खेती मनमोहन मेडिकल कलेजको अवधारणासँगै भुई मान्छेहरूलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने मात्रै नभई चिकित्सा शिक्षाको पहुँच समेत तल्लो तहमा पुर्याउने सपना बाँडेर सर्वसाधारणलाई सेयर खरिद गर्न लगाइएको थियो । तत्कालीन समयमा प्रत्येक विकास क्षेत्रमा मेडिकल कलेज खोल्ने योजना संस्थापक अध्यक्ष पाण्डेले अगाडि सारेका थिए । पाण्डेले संविधान सभामा बोल्दै मनमोहन मेडिकल कलेजले सञ्चालन अनुमति पाएमा त्रिवि शिक्षण अस्पतालले भन्दा सस्तो चिकित्सा शिक्षा र चिकित्सा सेवा उपलब्ध गराउने बताएका थिए । पाण्डेको उक्त कथनले धेरै लगानीकर्तामा उत्साह सिर्जना गरेको थियो । पाण्डेको आग्रहमा प्रतिसेयर सदस्य १ लाख रुपैयाँमा २ हजार ५ सय लगानीकर्ताले मेडिकल कलेजमा लगानी गरेका थिए । सार्वजनिक कार्यक्रममा भाषण गरे पनि पाण्डेको त्यतिबेलै मेडिकल कलेज चलाउने सोच नरहेको एक सेयरधनीले बताए । स्थापनाकाल देखिनै मनमोहन मेडिकल कलेज र नेपाल स्वास्थ्य सहकारीले सञ्चालन गरेका शैक्षिक संस्थाहरुमा अनियमितताको गन्ध आइरहे पनि सुरुमा नेतृत्वप्रतिको विश्वासका कारण आफुहरु चुप लागेको एक सदस्यले जानकारी दिए । नाम नबताउने सर्तमा ती सञ्चालक सदस्यले भने, ‘त्यही विश्वास अहिले तातो दुध जस्तै भएको छ ।’ नेपाल सरकारले सामुदायिक अस्पताललाई बर्सेनि दिएको अनुदानमा समेत घोटाला भएको उनले बताए । नेपाल सरकारले उपलब्ध गराएको ३४ करोड रुपैयाँ पनि अपचलन भएको ती सदस्यले बताए । महायज्ञमै घोटाला मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको नाममा २०६७ कार्तिक २२ गतेदेखि सुरु गरेको महायज्ञबाट ९९ करोड ३५ लाख २१० रुपैयाँ उठेको आम्दानीमा देखिए पनि संस्थाको कुनै पनि खातामा उक्त रकम नदेखिएको प्रतिवेदनले देखाएको छ । नेको सहकारीको वर्तमान कार्यसमिति । नेको नेपाल सञ्चालक समितिका एक सदस्यका अनुसार उक्त रकम तत्कालीन अध्यक्ष राजेन्द्र पाण्डे र वर्तमान अध्यक्ष डा. मिश्रको समन्वयमा बैंक खातामा राख्ने भनिए पनि नराखेर अपचलन गरिएको आरोप पनि छ ।
भव्यता झल्काउने योजना, सेनालाई गलाउने प्याकेज
काठमाडौं । कुनै समय थियो- जब विदेशका पहाडमा अग्ला खम्बामाथि वारिपारि लट्टा तानिएका चिटिक्क परेका पुलहरू हेर्दै हाम्रो देशमा पनि यस्तो कहिले होला भन्ने कल्पना गरिन्थ्यो । हो, त्यो बेलाको कल्पना अब भने साँच्चिकै यथार्थमा परिणत हुँदै जाने देखिन्छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडाैं-तराई-मधेस द्रुतमार्गमा देखिएका संरचनाले अहिले साँच्चै नै विदेशी संरचनाहरूको झल्को दिन थालेका छन् । २०८३ सालको चैत मसान्तसम्म निर्माण सम्पन्न भएपछि यो सडक हेर्दा जति आकर्षक देखिनेछ, त्यत्तिकै राष्ट्रिय स्वाभिमानलाई पनि जुरुक्क उठाउने खालको हुने नेपाली सेनाको दाबी छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आकर्षक पुल, पहाडका खोंचहरूमा सुरुङ पार गरेर लमतन्न चिल्लो सडकसहितको संरचना सम्पन्न भएपछि नेपालले पनि दुनियाँलाई देखाउन सक्ने गौरवशाली पूर्वाधार पाउनेछ । चार लेन फराकिलो सडक, खोंचहरूबाट ८१ मिटर माथिसम्म अग्लिएका पुलका खम्बा र ती खम्बामाथि बस्ने स्ल्याबहरूले भविष्यमा सडकको भव्यता झल्काउने आशा गर्न सकिन्छ । सडक १२ वटा प्याकेजसहितको ७१ किलोमिटर लामो रहेको निर्माण र व्यवस्थापन गरिरहेको नेपाली सेनाले जानकारी दिएको छ । यो मार्गका ११ वटा प्याकेजमा ठेक्का परिसकेको छ । खोकना-बुङमती खण्डमा जग्गा विवादका कारण अझै ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन । ७१ किमी लम्बाइ भएको द्रुतमार्ग ४८ किमि सडक, १२ दशमलब ९ किमी पुल र १० दशमलब १ किमी सुरुङ समेटिएको छ । कहिले कहाँ के भयो ? तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७४ जेठ १४ गते शिलान्यास गर्नुअघि नै २०७४ वैशाख २१ गते मन्त्रिपरिषद्को निर्णयबाट नेपाली सेनालाई निर्माण जिम्मा दिने निर्णय गरिएको थियो । त्यसपछि सडक विभागले २०७४ साउन २७ गते नेपाली सेनालाई आयोजना हस्तान्तरण गरेको हो । नेपाली सेनाले ट्र्याक निर्माण २०७४ मङ्सिरबाट सुरु गरे पनि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) २०७५ चैत ५ मा तयार भएको थियो । नेपाल सरकारले २०७६ भदौ १ गते मात्र उक्त डीपीआर स्वीकृत गरेको हो । कोरियाको सुसुङ्क इन्जीनियरिङ कम्पनीले डीपीआर तयार गरेको हो । २०७७ जेठ २ गते कोरियाली कम्पनी युसन जेभीसँग परामर्श सेवा सम्झौता गरिएको थियो । २०७८ वैशाख ३१ मा प्याकेज १ र २ को निर्माणको लागि अन्तराष्ट्रिय ठेक्का प्रक्रियाबाट ठेक्का सम्झौता भयो र सोही वर्ष जेठ ३१ बाट निर्माण कार्य सुरु गरिएको हो । सरकारले सुरुमा २०८१ मङ्सिरसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर २०८० वैशाख ५ मा म्याद दुई वर्ष थप गर्ने निर्णय गर्दै २०८३ चैत मसान्तलाई अन्तिम लक्ष्य मानेको छ । विवादमा प्याकेज नम्बर ११ द्रुत मार्गको सुरुवात बिन्दु मानिएको खोकना क्षेत्रलाई फास्ट ट्र्याकको सबैभन्दा संवेदनशील क्षेत्र मानिन्छ । उक्त क्षेत्र प्याकेज नम्बर ११ अन्तर्गत पर्छ, जहाँ अहिलेसम्म मुआब्जा विवाद टुंगो लाग्न सकेको छैन । मुआब्जा विवादका कारण नेपाली सेनाले त्यस क्षेत्रमा कुनै निर्माण गतिविधि अगाडि बढाउन सकेको छैन । सेनाका अनुसार सो क्षेत्रभित्र कुल ४०६ रोपनी जग्गा अझै अधिग्रहण गर्न बाँकी छ । विवाद समाधान गर्न सरकार वैकल्पिक बिन्दुको खोजीमा रहेको बुझिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘सकेसम्म साविककै क्षेत्रलाई जिरो प्वाइन्ट बनाउने प्रयास हुने’ बताए । तर स्थानीयले असहमति जनाए विकल्पको खोजी पनि गर्नुपर्ने उनी बताउँछन् । उनका अनुसार ‘डुकुछाप’ क्षेत्रलाई जिरो प्वाइन्टको रूपमा विकास गरी विभिन्न लिङ्क रोडमार्फत काठमाडौं जोड्ने सम्भावना पनि सरकारले अध्ययन गरिरहेको छ । यस खण्डको मुआब्जा विवाद समाधानका लागि तत्कालीन उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा विवाद समाधान समिति पनि गठन भएको थियो, तर समितिको कामबारे सरकार वा सेनाले खास जानकारी दिएको छैन । सुरुङमा सुरुवात फास्ट ट्र्याकअन्तर्गत हाल ७ वटा सुरुङ समावेश छन, जसको कुल लम्बाइ १० दशमलव १ किमी छ । प्रारम्भिक साढे ६ किमी खण्डबाहेक अन्य भागहरूमा निर्माण कार्य अगाडि बढिरहेको छ । समग्रमा सुरुङको आधाभन्दा बढी भाग खनिएको जानकारी सेनाले दिएको छ । तीन सुरुङको ३ दशमलब १५३ किमी खनिएको छ, जबकि ती सुरुङहरूको कुल लम्बाइ ६ दशमलब ४१५ किमी छ । महादेवटार सुरुङको कुल लम्बाइ ३ दशमलब ३५५ किमीमध्ये १.४९० किमी खनिएको छ । धोद्रे सुरुङको कुल लम्बाइ १ दशमलब ६३ किमीमध्ये ८०६ मिटर निर्माण भइसकेको छ । त्यसैगरी, लेनडाँडा सुरुङको १ दशमलब ४३ किमीमध्ये ८५७ मिटर खनिएको छ । प्याकेज १ देखि ५ सम्मका ४५ वटा पुलहरूको डिजाइन सम्पन्न भइसकेको छ । पुलका लागि आवश्यक १ हजार ७६८ वटा पाइलमध्ये १ हजार १७५ पाइल निर्माण भइसकेका छन् । पुल निर्माण कार्य प्रगति आयोजनाअन्तर्गत रहेका जम्मा ८९ स्थानमा रहेका पुलहरूमध्ये ८५ स्थानका पुलहरू निर्माणको लागि खरिद सम्झौता भई निर्माणको चरणमा रहेको सेनाको विकास निर्माण निर्देशनालयले जनाएको छ । निर्माणाधीन अधिकांश पुलहरूको फाउण्डेसनको कार्य सम्पन्न भई सुपरस्टक्चरको कार्य भइरहेको निर्देशनालयका मेजर सुदीप कार्कीले बताए । जसअन्तर्गत ८१ मिटर उचाइसम्मका पुल रहेका छन । विभिन्न प्रकृतिका मुख्य, सहायक र विशेष पुलहरूको निर्माण कार्य अगाडि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत जम्मा छ स्थानका पुल निर्माण कार्य सम्पन्न भइसकेको छ । सुरुमा आयोजनाअन्तर्गत तीनवटा सुरुङ मात्रैको डिजाइन थियो, पछि आवश्यकताअनुसार संख्या बढाएर ७ बनाएको मेजर कार्कीले जानकारी दिए । आयोजना अवधिमा काटिएका रूखहरूको सट्टामा एक बरारर २५ का दरले ७ लाख १६ हजार १५० बिरुवा रोप्नुपर्नेमा हालसम्म ६ लाख ६५ हजार २८५ बिरुवा रोपिएको जानकारी सेनाले दिएको छ । समस्याका चाङ देशको भाग्य र भविष्य बदल्न सक्ने उक्त आयोजना समस्याको चङ्गुलवाट टाढा रहेको देखिँदैन । राजनीतिक नेतृत्वको असक्षम चाल र उच्च प्रशासनिक नेतृत्वको तत्कालको लाभहानी हिसाबको मारमा द्रुतमार्ग परेको छ । चार वर्षमै सम्पन्न गर्ने गरी अगाडि बढाइएको आयोजना ८ वर्ष बित्दासम्म बल्ल आयोजनाको ज्येष्ठ मसान्तसम्मको समष्टिगत भौतिक प्रगति ४१ दशमलब ३७ प्रतिशत र समष्टिगत वित्तीय प्रगति ४२ दशमलब ७४ प्रतिशत रहेको छ । चार वर्षमा सम्पन्न गर्ने लक्ष लिइएको आयोजनाको प्रगति विवरण आठ वर्षसम्म कुल लक्ष्यको आधामात्रै निर्माण सम्पन्न हुनु आफैमा उदेकलाग्दो अवस्था हो । आगामी २०८३ चैत्र मसान्तसम्म निर्माण सक्ने डेडलाइन तोकिए पनि अहिलेसम्म काठमाडौं, भक्तपुर र ललितपुरका लागि लिङ्क रोडको कुनै अवधारणा नै आएको छैन । २०८३ सालको चैतभित्र निर्माण सक्ने सरकारी लक्ष्य तोकिए पनि अझै काठमाडौँ, भक्तपुर र ललितपुरसँग जोड्ने लिङ्क रोडबारे कुनै स्पष्ट योजना देखिएको छैन । मन्त्री दाहाल भन्छन्, ‘लिङ्क रोड तत्कालको समस्या होइन, जिरो प्वाइन्ट टुंगो नलागेसम्म यसको छलफल पनि सकिएको छैन ।’ तर पूर्वाधार विज्ञहरूका अनुसार उपत्यकाका तीनै जिल्लासँग समुचित लिङ्क रोड नबनाई दुर्तमार्ग सञ्चालन गरेमा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन थप अस्तव्यस्त हुने निश्चित छ । यस्तो छ वार्षिक खर्चको फाँटबारी ०७३ सालमा प्रारम्भिक सम्भाव्यता अध्ययनदेखि हालसम्म यो आयोजनामा ६५ अर्ब रुपैयाँ खर्च भइसकेको छ । अझै करिब १५० अर्ब रुपैयाँ खर्च हुन बाँकी छ । यस आयोजनाको कुल खर्च २१२ अर्ब हुने आँकलन गरिएको छ । आगामी आर्थिक वर्षका लागि ३० अर्ब ७ करोड रुपैयाँ विनियोजन भएको छ । यद्यपि राज्यले प्रत्येक वर्ष बजेट बढाउँदै आएको देखिए पनि भौतिक प्रगति भने औसतमा २५ प्रतिशतभन्दा माथि जान सकेको छैन । अपार रणनीतिक उद्देश्य बोकेको सडक अर्थविद तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्दप्रसाद पोखरेलका अनुसार आउँदो दश वर्षभित्र काठमाडौं उपत्यकाको जनसंख्या एक करोड पुग्ने सम्भावना छ । यति ठूलो जनसंख्या बोकेको सहरको सन्दर्भमा विचार गर्दा हालको सडक संरचना भरपर्दो र विश्वसनीय नभएको प्रष्ट देखिन्छ । यसैले उपत्यकाभित्रको आवागमन सहज, द्रुत र कुशल बनाउने वैकल्पिक मार्गको आवश्यकता दिन प्रतिदिन बढ्दो छ । निर्माणाधीन फास्ट ट्र्याक यस दिशामा एक ऐतिहासिक पहल हो । यदि यो आयोजना समयमै सम्पन्न हुन्छ भने उपत्यकाभित्र यात्रा गर्न एक घण्टा वा कममै सम्भव हुनेछ । जनघनत्व सन्तुलनका हिसाबले पनि काठमाडौंका लागि फास्ट ट्र्याक कोसेढुङ्गा सावित हुने प्राडा पोखरेलको विश्वास छ । अत्यधिक जनघनत्व भएका क्षेत्रहरूबाट उपत्यका बाहिर बसोबासको आकांक्षा बोकेका नागरिकहरूका लागि यो मार्गले वैकल्पिक गन्तव्यहरू जोड्न मद्दत पुर्याउनेछ । जनसंख्याको सन्तुलन मात्र होइन, यो आयोजनाको ढिलाइले आर्थिक क्षेत्रमा पनि ठूलो क्षति पुर्याइरहेको छ । लामो, घुमाउरो तथा ट्राफिकले ग्रस्त सडकहरू प्रयोग गर्दा सार्वजनिक र निजी यातायातका साधनहरूले अत्यधिक इन्धन खपत गरिरहेका छन् । सिधा र छोटो मार्गबाट यात्रा गर्दा इन्धनको खपत कम हुन्छ, जसले देशको आयात लागत घटाउने र वातावरणीय दृष्टिले पनि सकारात्मक प्रभाव पार्ने पूर्वाधार इञ्जिनियर खड्क सेन ओलीले बताए । त्यस्तै, व्यापार, आपूर्ति शृङ्खला कृषि उत्पादनको बजार पहुँच, पर्यटक आवागमन जस्ता क्षेत्रहरूमा पनि फास्ट ट्र्याकले उल्लेखनीय योगदान पुर्याउनेछ । समय र स्रोत दुबैको बचतले देशको समग्र आर्थिक उत्पादकत्वमा सकारात्मक वृद्धि ल्याउनेछ । अन्ततः यो आयोजना केवल एक सडक निर्माण परियोजना नभएर नेपालको सहरी व्यवस्थापन, आर्थिक समृद्धि र रणनीतिक ढाँचाको महत्त्वपूर्ण अंग बन्ने सम्भावना बोकेको दीर्घकालीन लगानी हो। शुल्क लाग्ने सडक, नेपालमा टोल करको सुरुवात आजसम्म नेपालमा सडक प्रयोग गरेबापत सिधा रूपमा शुल्क (टोल कर) तिर्ने प्रचलन देखिँदैन । यद्यपि सडकका विभिन्न नाकाहरूमा सवारीसाधनबाट सवारी कर वा अन्य शुल्क उठाउने काम भइरहे पनि विशुद्ध टोल कर उठाउने परिपाटी हालसम्म प्रचलनमा आएको छैन । तर अब नेपालमा पहिलोपटक टोल कर प्रणाली सुरु हुने संकेत देखिएको छ । सिस्ने खोला–नागढुङ्गा सडक खण्ड सम्भावित पहिलो टोल सडकका रूपमा हुने देखिन्छ । काठमाडौं–तराई मधेस सडकमा टोल प्रणाली लागू गर्ने विषयमा चर्चा चलिरहे पनि हालसम्म यस विषयमा सरकारी निर्णय वा स्पष्ट नीति तय भइसकेको छैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले यसबारे खुलासा गर्दै भने, ‘सडक प्रयोग शुल्क अर्थात टोल करको विषयमा अहिलेसम्म मन्त्रालयस्तरमै औपचारिक बहस भएको छैन । तर सम्भाव्यता अध्ययन, कार्यान्वयन मोडल र कानुनी आधार तयार गर्ने तयारी भइरहेको छ ।’ यदि टोल प्रणाली लागू गरिने हो भने यो नेपालको सडक पूर्वाधार व्यवस्थापन र आर्थिक दिगोपनतर्फको महत्वपूर्ण मोड सावित हुन सक्छ । प्रयोगकर्ताबाट प्रत्यक्ष शुल्क उठाएर सडक मर्मत, व्यवस्थापन तथा पुनःलगानीका लागि नयाँ ढोका खुल्ने अनुमान गरिएको छ । टोल टयक्सको विषयमा सरकारी तहमा छलफल नभएपनि यस विषयमा छलफल भने सुरु भइसकेको छ । सडकको निर्माण व्यवस्थापन गरीरहेको नेपाली सेनाको आग्रहमा इन्जीनियरीङ्क अध्ययन संस्थान पुल्चोक इञ्जिनियरिङ कलेजले तयार पारेको अध्ययन प्रतिवेदनमा टोल कर बारे चर्चा गरिएको पाइन्छ। उक्त प्रतिवेदनमा कार, भ्यान, जिप लगायतका साना गाडीलाई चार सय रुपैयाँ, मिनी बसहरूलाई आठ सय रुपैयाँ, टु एक्सल ट्रकलाइ १ हजार ५ सय र मल्टी एक्सल ट्रकलाइ २ हजार ५ सय चार्ज गर्ने प्रस्ताव गरिएको छ।
सफल उद्यमीको सहयात्रा : पृथक पार्टीका खम्बा, व्यवसायमा दोस्ती
काठमाडौं । नेपाली व्यावसायिक क्षेत्रमा दुइटा यस्ता पात्र छन्, जसको नाम लिइएन भने त्यो क्षेत्र नै अधुरो र अपूरो हुन्छ । जसका कथा र कहानी आर्थिक विकासमा वर्णन गरिएन भने ती कथा र कहानीहरू पनि अपूर्ण बन्छन् । हामीले विदेशी अर्बपतिहरूका कथामा पाउने स्वाद, रस, संघर्ष र सफलता तिनै पात्रहरूमा पनि भेटाउँछौं । ती दुई पात्र र उद्यमी हुन्- मीनबहादुर गुरुङ र उमेश श्रेष्ठ । लिटिल एन्जल्सको साँघुरो कक्षाकोठाबाट सुरु भएको उमेशको शैक्षिक साम्राज्य र एउटा खुद्रा व्यापारबाट सुरु भएको मीनबहादुरको भाटभटेनीको भयानक व्यापार पक्कै पनि तारिफयोग्य, वर्णनयोग्य र अनुशरणयोग्य छ । नेपाली सुपरमार्केट व्यवसायमा मीनबहादुर पर्यायवाची बनेका छन् भने शैक्षिक व्यवसायमा उमेशले पृथक किसिमको ‘कोर्ष क्रिएट’ गरेका छन् । नेपालको व्यावसायिक क्षेत्रमा पृथक पहिचान बनाउन सफल यी दुई पात्र अब एउटै पथमा हुनेछन् । अर्थात् अब लगानी गर्ने ठूला व्यावसायिक योजना तथा परियोजनामा उमेश र मीनबहादुर सँगसँगै हुनेछन् । अहिले दुवै उद्यमीले अर्बपतिको पहिचान बनाएका छन् । दान, दक्षिणा र आर्थिक सहयोगमा पनि उदार हृदय भएका यी दुईको सुरुवाती व्यावसायिक जीवन पनि एकैखाले छ । एउटा सामान्य परिवारमा जन्मिएका उनीहरूले आफ्नै मिहिनेत र संघर्षबाट अर्बपति बन्न सफल भए । विसं. २०३७ सालमा ६५ जना विद्यार्थी र पैँसट्ठी हजार रुपैयाँको पुँजीमा लिटिल एन्जल्स स्कुल सुरु गरेका उमेश आज एक दर्जन शैक्षिक संस्थाका मालिक छन् । ती शैक्षिक संस्थामा १७ हजार बढी विद्यार्थी र १५ सय बढी कर्मचारी छन् । उनले शिक्षासँगै होटल, जलविद्युत, कृषि, जडिबुटी, बैंक र घरजग्गा लगायतका सयभन्दा बढी कम्पनीमा लगानी गरेका छन् । उनी व्यवसायसँगै राजनीतिमा पनि सफल पात्रका रूपमा चित्रण गरिन्छन् । अहिले नेपाली कांग्रेसको कोषाध्यक्षको जिम्मेवारीमा पनि उनी छन् । अहिले उमेशले सुरु गर्ने हरेक नयाँ परियोजनामा सहयात्रीका रूपमा देखिएका छन् व्यवसायी मीनबहादुर पनि । उनीहरू एक अर्काले सुरु गर्ने नयाँ परियोजनामा व्यावसायिक साझेदारका रूपमा देखिने गरेका छन् । मीनबहादुरले पनि भाटभटेनी सुपरमार्केटको सफलतामार्फत छोटो समयमै नेपाली अर्बपतिको छवि बनाए । ३५ हजार रुपैयाँको सानो व्यापारबाट सुरु भएको भाटभटेनीका अहिले देशभर २७ वटा डिपार्टमेन्टल स्टोरहरू सञ्चालनमा छन् । जसले करिब ५ हजार जनालाई रोजगारी दिएको छ भने वार्षिक ३० अर्ब रुपैयाँ बढीको कारोबार गर्दै आएको छ । मीनबहादुर गुरुङ अहिले उनी भाटभटेनीको विस्तारसँगै घरजग्गा, स्वास्थ्य, ब्रोकर, हाउजिङ, गार्मेन्ट तथा हस्पिटालिटी क्षेत्रमा पनि प्रवेश गरेका छन् । व्यवसायमा साझेदारी विगतमा एक्लाएक्लै व्यवसाय गर्ने गुरुङ र श्रेष्ठले अहिले भने एकपछि अर्को नयाँ परियोजनामा साझेदारी गरिरहेका छन् । त्यसको सुरुवातको मोड भने पृथक छ । व्यवसायमा चाहेको सफलता मिलेपछि उमेशले सक्रिय राजनीतिमा लाग्ने योजना बनाए । त्यही सिलसिलामा उनले २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र न.२ बाट प्रत्यक्षमा चुनाव लड्ने तयारी गरे । चुनाव प्रचार-प्रसारको क्रममा गाउँगाउँमा पुगे । किसानहरूका समस्या सुने । अधिकांशको एउटै गुनासो थियो, ‘कृषि उत्पादन भए पनि बजार पाइएन ।’ उनले अब आफू पनि कृषि गर्ने र अरूको कृषिजन्य सामग्री पनि खरिद गर्ने योजना बुने । त्यसपछि बजार बुझ्न उनी चितवनका गाउँगाउँ सँगै कर्णालीका जुम्ला, हुम्ला, सुदूरपश्चिमको बझाङ र दार्चुला, बागमतीको दोलखा र पूर्वको ताप्लेजुङसम्म पुगे । सबै ठाउँको एउटै समस्या कृषिजन्य सामग्रीले बजार नपाएको निष्कर्ष निकाले । ‘मैले बजार खोज्नुपर्छ भन्ने सोचें, त्यसका लागि एकचोटि ठूलो परिमाणमा वस्तु सप्लाई हुनुपर्ने थियो, त्यही सिलसिलामा भाटभटेनीसँग कुरा गरें, भाटभटेनीका मीनबहादुरजीले पनि कृषिजन्य वस्तु भाटभटेनीले खरिद गर्ने सहमति जनाउनुभयाे,’ श्रेष्ठले भने । उमेश श्रेष्ठ त्यहीँबाट सुरु भएको हो मीनबहादुर र उमेशको व्यावसायिक दोस्ती । अब उनीहरूले थप व्यावसायिक साझेदारी गर्ने योजना बनाए । गर्ने के भन्ने अलमल थियो । त्यही बेला दरबारमार्गमा रहेको अन्नपूर्ण होटलको सेयर बिक्री गर्ने कुरा दुवैले सुने । र, अब त्यहाँ पनि उनीहरू दुवै जना सेयर खरिद गरेर होटल सञ्चालन गर्ने भए । उनीहरू दुवै जनाको अहिले सो होटलमा बहुमत सेयर छ । २५ तले अन्नपूर्ण स्क्वायरको अहिले निर्माण कार्य भइरहेको छ । ६ अर्ब रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको यो परियोजनामा ६ हजार जना क्षमताका ठूला हलहरू, ४० वटा अपार्टमेन्ट र ३३० वटा कोठाहरू रहने बताइएको छ । होटलमा लगानीपछि उनीहरूको दोस्ती थप प्रगाढ बन्यो । अब उनीहरूले चितवनमा अत्याधुनिक कोल्ड स्टोर निर्माण गर्ने योजना अगाडि सारे । त्यसमा अन्य लगानीकर्तालाई पनि भित्र्याए । करिब २ अर्ब रुपैयाँ लगानी हुन सक्ने अनुमान गरिएको यो परियोजना ७२ हजार स्क्वायरफिट क्षेत्रफलमा फैलिने छ । यसलाई चितवनको कृषि उत्पादनका लागि ‘गेम चेन्जर’ परियोजनाका रूपमा लिइएको छ । जसले किसानहरूलाई फलफूल, तरकारी, आलु र गाजरजस्ता उत्पादनहरूलाई ६ महिनासम्म ताजा राख्न मद्दत पुर्याउने छ । यसको निर्माण कार्य सुरु भइसकेको छ भने एक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी छ । जसको व्यवस्थापकीय नेतृत्व पूर्वबैंकर किरणकुमार श्रेष्ठले गरिरहेका छन् । अहिले किरण श्रेष्ठ पनि उमेश श्रेष्ठको नजिक रहेर काम गरिरहेका छन् । मीनबहादुर र उमेशको व्यावसायिक साझेदारी त्यतिमै रोकिएन । उनीहरू थप नयाँ परियोजनामा साझेदारी गर्ने तयारी गरिरहेका छन् । केही दिनअघि मात्रै भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट उद्योगको शिलान्यास भएको छ । यो परियोजनामा पनि उनीहरूले मिलेर लगानी गरेका छन् । साढे एक अर्ब रुपैयाँ लागतको यो परियोजनाले १ हजार २ सय जनालाई रोजगारी दिनेछ । उद्योगले अमेरिका र युरोपमा स्वदेशी उत्पादन निर्यात गर्नेछ । भाटभटेनीका चिफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलले नयाँ परियोजनाले व्यापार वृद्धिसँगै निर्यातमा पनि टेवा पुग्ने बताए । उनका अनुसार यो परियोजनाले देशको आर्थिक विकासमा पनि ठूलो सहयोग गर्नेछ । अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने उद्योग आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिनेछ । परियोजना १० महिनाभित्र सञ्चालनमा आउने उनको भनाइ छ । भैरहवामा गार्मेन्ट उद्योगको शिलान्यासमा मीनबहादुर गुरुङ र उमेश श्रेष्ठ । उनीहरूले ऊर्जा र सौर्य ऊर्जामा पनि साझेदारी गरेका छन् । मीनबहादुरको भाटभटेनी र उमेशको रिन्यु होल्डिङ्स प्रालिबीच भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानलाई उपयोग गरेर १२.७५० मेगावाट बराबरको सौर्य ऊर्जा उत्पादन तथा सहकार्य गर्ने सम्झौता पनि भएको छ । रिन्यु होल्डिङ्सले सोलार, हाइड्रोलगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ स्टेशन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गरिरहेको छ । उमेशसँग नजिक रहेर काम गरिहेका रिन्यु होल्डिङ्सका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले उमेश र मीनबहादुरबीच अब ठूल्ठूल्ला परियोजनामा साझेदारी गरेको देखिन सक्ने बताए । ‘उहाँहरूले कृषि र ऊर्जामा ठूलो सपना देख्नु भएको छ, सम्भवतः अब चाँडै ऊर्जामा नयाँ साझेदारी भएको तपाईंले सुन्न सक्नु हुनेछ,’ उनले भने, ‘अब उहाँहरू दुई जनाबीच हरेक ठूला परियोजनामा साझेदारी हुनेछ ।’ पृथक पार्टीका खम्बा नेपालमा एउटा राजनीतिक दलमा लागेको व्यक्तिले अर्को पार्टीमा आबद्ध व्यक्तिलाई हेय तथा नटेर्ने प्रवृत्तिको विकास भइरहेको छ । यो प्रवृत्ति राजनीतिक दलका सक्रिय कार्यकर्तामा मात्रै होइन, व्यावसायिक तथा अन्य क्षेत्रमा आबद्ध व्यक्तिमा पनि देखिन्छ । तर, मीनबहादुर र उमेशले राजनीतिक आबद्धतालाई चटक्कै बिर्सेर व्यावसायिक साझेदारीलाई सफल बनाउनका लागि एकपछि अर्को परियोजनामा सहकार्य गरिरहेका छन् । सँगसँगै अगाडि बढेर आर्थिक संवृद्धि हाासिल गर्न सकिन्छ भन्ने बुझाइका साथ उनीहरूले अब सँगसँगै व्यावसायिक साझेदारी अगाडि बढाउने योजना बनाएका छन् । निजी क्षेत्रले पनि उनीहरूको साझेदारीलाई चासोका साथ हेरेको छ । उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्ष हुन् । उनले राजनीति सुरु गरेको छोटै समयमा सांसददेखि मन्त्रीसम्म बन्ने अवसर पाए । उनी विसं २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा समानुपातिक सांसद बनेका थिए । त्यसपछि उनी स्वास्थ्य राज्यमन्त्री पनि बने । एक सफल व्यवसायी भएकोले पनि उनलाई नेपाली कांग्रेसले महत्त्वपूर्ण अवसर दिँदै आएको छ । पार्टीलाई चाहिने बेला उनले आर्थिक सहयोग पनि गर्दै आएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका उनी विश्वासिला पात्रका रुपमा परिचित छन् । व्यवसायी मीनबहादुर गुरुङ भने नेकपा एमाले निकट मानिन्छन् । विगतमा उनीमाथि नेकपा माओवादी केन्द्र निकट भनेर चर्चा हुँदै आए पनि केही महिनाअघि नेकपा एमालेलाई पार्टी कार्यालयका लागि १० रोपनी बढी जग्गा दान गरेपछि उनले आफू एमाले निकट भएको सन्देश प्रवाह गरे । उनले एमालेलाई दिएको करिब एक अर्ब रुपैयाँबराबरको दान अहिले विवादमा पनि छ । उनले आफैले पार्टी कार्यालय निर्माण गरिदिने घोषणा गरिसकेका छन् । उनले पार्टीलाई विभिन्न आर्थिक सहयोग पनि गर्दै आएका छन् । नेकपा एमालेलाई आर्थिक सहयोग आवश्यक पर्दा मीनबहादुर बलियो खम्बाका रूपमा प्रस्तुत हुन्छन् भने कांग्रेसलाई आर्थिक सहयोग चाहिँदा उमेश अगाडि सर्ने गरेका छन् । उनीहरू दुवै जना राजनीतिक रूपमा फरक-फरक पार्टीमा आबद्ध भए पनि व्यावसायिक रूपमा भने एकैधारमा उभिएका छन् । निजी क्षेत्रले पनि उनीहरूको साझेदारीलाई चासोका साथ हेरेको छ । सम्बन्धित सामग्री : हजारबाट अर्बौंको यात्रा, सफल उद्यमी उमेशको कथा (भिडियोसहित)