डीजीओले ल्यायो विश्वकप अफर : हस्ताक्षरित जर्सीदेखि भियतनाम टुरसम्म जित्ने मौका

काठमाडौं । विश्व फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर डीजीओ र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ हेर्ने दर्शकलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेका छन् । कम्पनीले ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान घोषणा गर्दै आधिकारिक माध्यमबाट विश्वकप हेर्ने ग्राहकलाई विभिन्न पुरस्कार प्रदान गर्ने जनाएको छ । अभियानअन्तर्गत डीजीओ एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्ने ग्राहकले मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी जित्ने अवसर पाउनेछन् । डीजीओका अनुसार सिजन पास खरिदकर्ताका लागि मेस्सीको हस्ताक्षरित जर्सीसँगै क्रिस्टियानो रोनाल्डोद्वारा हस्ताक्षरित पोर्चुगलको जर्सी, नेयमारद्वारा हस्ताक्षरित ब्राजिलको जर्सी, भियतनाम भ्रमण प्याकेज, ५५ इन्च स्मार्ट टिभी तथा मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाइको व्यवस्था गरिएको छ । यस्तै मोबाइल पास खरिद गर्ने ग्राहकले भियतनाम भ्रमण प्याकेज, ५५ इन्च र ४३ इन्च स्मार्ट टिभी तथा स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएको छ । अभियानमा सहभागी हुन ग्राहकले डीजीओ एप डाउनलोड गरी दर्ता गर्नुपर्ने, एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्नुपर्ने तथा कम्पनीका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेज फलो गर्नुपर्नेछ । कम्पनीका अनुसार अभियान जुन २१ देखि जुलाई १५ सम्म सञ्चालन हुनेछ। नेपालभित्रका सक्रिय डीजीओ प्रयोगकर्तामात्र यसमा सहभागी हुन पाउनेछन् । विजेताको छनोट निष्पक्ष रूपमा गरिने र पुरस्कार नगद वा अन्य वस्तुसँग साट्न नपाइने कम्पनीले जनाएको छ ।

एन्फालाई फिफाले गर्याे निलम्बन, नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फामाथि निलम्बनको निर्णय गरेको हो । निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सदस्यका सबै अधिकार गुमाएको छ । यससँगै एन्फाका प्रतिनिधि टोली तथा नेपाली क्लब टोलीहरूले निलम्बन कायम रहुञ्जेल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले जनाएको छ ।

स्विट्जरल्यान्डको लगातार दोस्रो जित, क्यानडालाई २-१ ले हराउँदै समूह विजेता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा स्विट्जरल्यान्डले क्यानडामाथि २-१ को महत्वपूर्ण जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । भ्यानकुभरमा भएको खेलमा रुबेन भार्गास र जोहान मान्जाम्बीले दोस्रो हाफको सुरुआती १२ मिनेटभित्र १-१ गोल गरी स्विट्जरल्यान्डलाई २-१ को जित दिलाएका हुन् । क्यानडाले खेलमा फर्कने प्रयास गरे पनि स्विस टोलीले आफ्नो लय कायम राख्दै तीन अंक सुरक्षित गर्‍यो । यस जितसँगै स्विट्जरल्यान्डले समूह चरणमा ३ खेलबाट ७ अंक जोड्यो । उसले पहिलो खेलमा कतारसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा बोस्निया-हर्जगोभिनालाई ४-१ ले पराजित गरेको थियो । अन्तिम खेलमा क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो । यता क्यानडाले पनि प्रभावशाली प्रदर्शन गरे पनि हार टार्न सकेन । क्यानडाले पहिलो खेलमा बोस्निया-हर्जगोभिनासँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा कतारलाई ६-० ले हराएको थियो । स्विट्जरल्यान्डसँगको हारका बाबजुद पनि क्यानडा समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ । समूह ‘बी’ को अर्को खेलमा बोस्निया-हर्जगोभिनाले कतारलाई ३-१ ले हराएको थियो । त्यससँगै बोस्निया तेस्रो स्थानमा रहँदा कतार अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।