नेपाल इन्स्योरेन्सद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २० गते सामाखुशीमा आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरण, जीवन/ निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरू, सर्भेयरहरू सहित २५ संस्थाहरूबाट २८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेको इन्स्योरेन्स लिमिटेड प्रथम, नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड द्वितीय र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तृतीय भएको छ । उक्त टीमका खेलाडीहरूलाई कम्पनीको संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान प्रदान गरेका थिए । प्रतियोगितामा नेपाल माईक्रो इन्स्योरेन्सका रोमन सिंह उत्कृष्ट गोलरक्षक, हिमालयन एभरेष्टका सुनिल थापा उत्कृष्ट डिफेन्डर, हिमालयन एभरेष्टकै दिनेश कुमार सिंह उत्कृष्ट गोलकर्ता भएका छन् भने नेको इन्स्योरेन्सका युकेश तामाङ्ग टुर्नामेन्टका उत्कृष्ट खेलाडी चयन भएका छन् । साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए बापत रेफ्रिहरू र उक्त प्रतियोगिताका लागि मैदान उपलब्ध गराइदिने सामाखुशी फुटसलका राजु महर्जनलाई कम्पनीका अध्यक्षले मायाको चिनो दिएका थिए ।
आज लिग चरणको अन्तिम खेल हुँदै, प्रतिष्ठाका लागि कर्णाली र जनकपुर भिड्ने
काठमाडौं । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपरान्ह ३:३० बजे हुने खेलमा कर्णाली याक्स र साबिक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । ६ खेलबाट समान २ अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान रोड रेसको आयोजना गरेको छ । महासंघले शनिबार १८ औँ निर्माण दिवसको अवसर पारेर रोड रेसको आयोजना गरेको हो । महासंघले खुल्ला १० किलोमिटर, कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रान ५ किलोमिटर रोड रेसको आयोजना गरेको हो । रेसमा विदेशी तथा स्वदेशी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । रोड रेसको पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभूवन आर्मी क्लवका राजन रोकाय पहिलो, आर्मी क्लवकै सञ्जय श्रेष्ठ दोस्रो र सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो भए । महिला खुल्ला १० किलोमिटरतर्फ त्रिभूवन आर्मी क्लवकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लवकै निशा सार्की र राज्यलक्ष्मी रावल क्रमशः दोस्रो तथा तेस्रो भए। खुला १० किलोमिटरमा पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । कर्पोरेट पुरुषमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने कर्पोरेट महिलातर्फ सोनु घतानी, नगिना महर्जन र रजिना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । भेट्रान्स पुरुषतर्फ धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने भेट्रान्स महिलातर्फ कल्पना महर्जन, सर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो दोस्रो तेस्रो भए । विद्यार्थी ९छात्र० तर्फ हस्तबहादुर सुनार, अजय वि।के र रञ्जित राउत क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने छात्रातर्फ भगवती खड्का, सर्मिला वि।के र आयुष्मा आचार्य क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रान ५ किलोमिटर रोड रेसका विजेता महिला तथा पुरुषले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा कुल ४ सय ७१ जनाको सहभागिता रहेको निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष रवि सिंहले अब प्रत्येक वर्ष रोड रेस सञ्चालन गर्ने जानकारी दिए । उनले महासंघले पहिलो पटक आयोजना गरेको रेसमा अन्तर्राष्ट्रियस्तरबाट समेत सहभागीता भएको बताए। ईटाली, चीन, जापानका धावकहरुले समेत सहभागिता जनाएको अध्यक्ष सिंहको भनाइ छ ।आगामी दिनमा एफक्यान रोड रेस मार्की इभेन्ट हुने उनको घोषणा छ । १० किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपष्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, तिलगंगा अस्पताल हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय फर्केर टुङ्गिएको हो । ५ किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपष्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तीनकुने हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय आएर समाप्त भयो । एफक्यान रोड रेशको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले गरेका थिए ।